2024 April 26/ 05:29: 05am

सच्युतराज उप्रेती
जिल्ला समन्वय अधिकारी
जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोक

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः २०१९ साल माघ १० गते जिल्लाको साविक भुम्लुटार गाउँ विकास समिति वडा नम्वर ३ र हालको भुम्लु गाउँपालिकामा मेरो जन्म भएको थियो । बाल्यकालको शिक्षा प्रकाश प्राथमिक विद्यालयबाट भयो । कक्षा ५ सम्मको अध्ययन सकेपछि फलाँटे स्थित शारदा माविबाट कक्षा १० सम्मको अध्ययन भयो । धुलिखेलको सञ्जीवनी हाई स्कुलबाट २०३६ सालमा एसएलसी दिएर पास गरें । त्यसपछि रत्नराज्यलक्ष्मी क्याम्पसबाट प्रमाणपत्र तह अध्ययन गरें । ब्याचलर र एमए तहसम्मको अध्ययन त्रिचन्द्र कलेजबाट गरें । 
    मेरो पारिवारीक पृष्ठभूमि शैक्षिक वातावरणमय थियो । हजुरबुबाले राजधानीमा बसेर अध्ययन गरेर जागिर खानु भएको रहेछ । तत्कालीन समयको परीक्षा प्रणालीमा उहाँले एक नम्बरमा नाम निकाल्नु भएको रहेछ । उहाँले आफ्नो नाम निस्किएको गोरखापत्र घ्याम्पोबाट निकालेर हामीलाई देखाउनु भएको थियो । उहाँलाई बन्दिपुरको कृषि फर्ममा नियुक्ति गरेर पठाईएको रहेछ । त्यहाँ जागिर खान जान्न भनेर उहाँले नियुक्ति च्यातिएर फर्कनु भएको रहेछ । बरु म भंैसी गोठालो हुन्छु जागिर खान्नँ भनेर उहाँ फर्कनु भएको रहेछ । उहाँ फर्किएपछि बुबालाई पनि उता लगिएको रहेछ । बुबा उतै बसेर अध्ययन गर्नु भएको रहेछ । अध्ययनसँगै उहाँले जागिर खानु भएको रहेछ । पोखरामा जागिर खानु भएछ । हजुरबुबाहरु, बुबाहरु जागिरमा भए पछि असहज भएन । बुबा सधै रामायण भाका राखेर अध्ययन गर्नु हुन्थ्यो । अध्ययन गर्ने र लेख्ने कुरा त्यहिबाट भयो । काकाहरु राजधानीमा बसेर अध्ययन गर्नु भएको थियो । केहि परिवार गाउँ फर्कियो । कविप्रसाद गौतमको प्रचार थियो त्यतिबेला । उहाँको कविताको किताब थियो । आमाको माईती अर्थात मामाघरमा पनि अध्ययन गर्ने वातावरण थियो । घरबाट काठमाडौ जाँदा आउँदा लहरीमा २५ पैसा तिरेर कविताको किताब किनेर अध्ययन गर्दथें । हजुरबुबा, बुबा र काकाहरु समेत शैक्षिक ब्यक्तित्व भएकाले अध्ययनमा समस्या भएन । 
    विद्यालयको अवस्था दयनीय थियो । पाटी, माटोको थुप्रोमा लेख्ने चलन थियो । परालको चकटी लिएर विद्यालय जाने गरेका थियौं । सरस्वती पुजा, विद्यालयमा हुने अन्य कार्यक्रमहरुमा भाग लिने गरेका थियौं । जिल्ला शिक्षा कार्यालयमा एकजना शिक्षक हुनुहुुन्थ्यो । उहाँ गएर हामीलाई पुरस्कार स्वरुप दर्जन दर्जन कापी कलम दिँदा उर्जा प्राप्त हुन्छ । त्यतिबेलाका मिठा क्षणहरु अहिले पनि सम्झँदा मिठो लाग्छ । हामी ज्ञानी विद्यार्थी थियौं । तर पनि तिजको चौथीको दिन संगतका कारण गाउँमा सुन्तलाका दाना, काँक्रा, फर्सी लगायतका अन्य फलफुलका विरुवा वा फलहरु बिगार्ने काम हुन्थ्यो । पछि आत्मग्लानी हुन्थ्यो । फलाँटेमा हामी ४०÷५० जनाको समुह जान्थ्यो । हामीभन्दा अलिक सिनियर दाईहरु बाटोमा तास खेल्नु हुन्थ्यो । मैले एकपटक तास खेलेको हेरेको थिएँ । कसले जानकारी गराएछ शिक्षकले पेटमा चिमोट्नु भएको थियो । उहाँको बानी नै के थियो भने औंलाले पेटको छाला च्यापेर चिमोट्ने । असाध्यै दुख्थ्यो । त्यो बेला देखि कहिल्यै त्यस्तो काम गरिएन । कहिलेकाँहि अभिभावकको कारवाहीमा परिन्थ्यो । हामी विदाको समयमा गाई बस्तु चराउने, घरको काममा सहयोग गर्ने गर्दथ्यौं । अभिभावकको सल्लाह विना हामी केहि काम गर्दैन थियौं । त्यसले हामीलाई सहयोग, माया र प्रेसर सबै हुन्थ्यो । 
    बुबा केहि समय विरामी हुनुहुुुन्थ्यो । एसएलसी दिने बेला थियो । बुबालाई काठमाडौंमा लगेर विर अस्पतालमा भर्ना गरिएको थियो । म धुलिखेलमा बसिरहेको थिएँ । राति अस्पतालमा बुबालाई अस्पतालमा साथी बस्ने र दिउँसो परीक्षा दिन आउने गरेको थिएँ । बुबालाई टिकाउन सकिएन । उहाँको सद्गद् गरेपछि हामी गाउँको परम्परा अनुसार दोलालघाट आयौं । एसएलसी पनि सकिएको थियो । गाउँमा प्रहरी आतंक भएको रहेछ । २०३६ सालको जनमत संग्रह थियो । गोविन्दनाथ उप्रेतीलाई पक्राउ गर्न प्रहरी गएको रहेछ । उहाँलाई नभेटेर फर्किएका प्रहरीहरु माईक बोकेर दोलालघाटमा पानी खाईरहेका रहेछन् । हामीलाई पनि डर थियो । माध्यमिक विद्यालयको माग गर्दै हामीले आन्दोलन गरेका थियौं । हामीलाई पनि प्रहरीको थ्रेट थियो । शौच बारेको अवस्थामा पनि प्रहरीले छाड्ने अवस्था थिएन । गाउँमा पुरुषहरुको संख्या थिएन । एसएलसी दिए लगत्तै बुबाको निधन भएकाले आर्थिक अभाव पनि थियो । हजुरबुबाले शिक्षक जागिर खान पठाउनु भयो । जिल्लामा जनार्दन नेपाल शिक्षा अधिकारी हुनुहुुँदो रहेछ । उहाँलाई आएर भेटें उहाँले सम्भव छैन भन्नुभयो । गाउँकै एकजना दाईसँग त्यो रात धुलिखेलमा बसें । उहाँले मलाई शिक्षक जागिर खाएर नअल्झिन अनुरोध गर्नुभयो । उहाँले घर नजानु काठमाडौ जानु भन्नुभयो । अस्थायी जागिर पनि मिल्यो । एसएलसी रिजल्ट पनि भयो । पास पनि भएँ । अनि लोकसेवा जसरी पनि पास गर्नु पर्छ भन्ने सोच थियो । अस्थायी जागिर पनि सकियो । स्थायी जागिरका लागि प्रयास शुरु भयो । संचार राज्यमन्त्रीले तोक लगाएर सूचना विभागमा खरदार पदमा पठाउनु भयो । महानिर्देशकलाई लेखेको पत्र बोकेर म सूचना विभागमा गएँ । तीन पाँग्रे ट्याम्पु चढेर गएँ । नक्सालमा थियो अफिस । उहाँ आफैले नियुक्ति लिएर मात्रै आईज भनेर गेटमा छाडिदिनु भएको थियो । पत्र बुझाएँ । उहाँले रेस्पोन्स त गर्नु भयो तर अन्र्तवार्ता दिएर मात्रै नियुक्ति हुन्छ भन्नुभयो । अन्र्तवार्ताका लागि ११ बजे पुुगें । १ बज्दा पनि शुरु भएन । अर्काे सूचना निकालेर स्थगित गरिएको रहेछ । महानिर्देशकसँग भेट गरें । उहाँले मेरो निवेदन निकालेर सरी भन्नुभयो । विभागिय मन्त्रीले दिएको तोक भन्दा प्रधानमन्त्रीले दिएको तोक ठुलो भयो । सूर्यबहादुर थापाले पठाएको ब्यक्तिलाई नियुक्ती गर्नुपर्ने रहेछ । उहाँले स्थायी जागिरका लागि प्रयास गर्नु भन्नुभयो । धेरै स्थानमा त्यहि बेला मैले जागिरका लागि प्रतिस्पर्धा गरें । 
    मलाई असाध्यै मन पर्दथ्यो संगीत, कला, साहित्य । वातावरण आफै मिल्दो रहेछ । भागवत गीता, देवी भागवतका नियमित पाठहरु चल्थे बुबाका । जात्राहरु पनि हुन्थे गाउँमा । सांस्कृतिक कार्यक्रमहरुमा पनि हामी रमाउँथ्यौं । लोक, भजन, तामाङ लगायतका संस्कृतिहरु पनि देखिन्थे । विष्णु रिजाल नेपाली शिक्षक हुनुहुुन्थ्यो । हरेक दिन केहि न केहि सुनाउनु पर्दथ्यो । मैले कविता शैलीमा सुनाउँथे । नाटकमा केटी बनेर अभिनय गर्दथें । हालका गृहमन्त्री रामबहादुर थापा शिक्षक हुनुहुुन्थ्यो । उहाँले मादल बजाउनु हुन्थ्यो म नाच्दथे । मलाई अहिले पनि चासो लाग्छ । तर नियमित गर्न सकिनँ । कविहरु भेट्दा, साहित्य सुन्दा आनन्द आउँछ । नेलको रेडियो थियो हाम्रो घरमा । रेडियोमा बोल्ने चाहना थियो । नारायण गोपालका गीतहरु सानैमा सुन्थे । बुबाहरु पिँढीमा अडेस लागेर बसिरहँदा म रेडियो भित्र बोलेका मान्छेहरुका बारेमा चासो राख्थें । त्यहाँ भित्र पस्ने विषयमा सोच्थें । नभन्दै पछि एक पटक मलाई रेडियोमा बोल्ने अवसर मिल्यो । ६ जनाले परीक्षा दिएकोमा ५ जनाको नाम निस्कियो । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुहुन्थ्यो । बासुदेव मुनाल, राम दाईले भ्वाईस टेष्ट लिँदा हामी पास भयौं । मुख्य उद्घोषिका कल्याणी दिदीले अभ्यास गराउनु भयो । प्रशासनमा परीक्षा दिँदा रेडियोमा नाम निस्किएको थियो । असाध्यै कडा थियो । रेडियोको महत्व थियो । त्यतिबेलाका थुप्रै साथीहरु छन् । केहि विभिन्न पेशामा सक्रिय छन् । रेडियोमा बोल्न केहि तयारी गरें र बोल्न थालें । एक हप्तामा पुरै रेडियोमा बोल्न सकें । २०४० सालको कुरा थियो त्यो । त्यहाँ काम गर्दा गर्दै खरदारमा नाम निस्कयो । लोकसेवा दिईरहेको थिएँ । त्यहाँबाट छाडेर जानु पर्ने भयो । खरदारमा भन्दा त्यहि राम्रो थियो । अध्ययन गर्ने समय पनि मिल्दथ्यो । हजुरबुबाले मलाई सधै खरदारको नियुक्ति लिन कहिले जाने भनिरहनु भएको थियो । धादिङमा थियो मेरो पोस्टिङ । यता महानिर्देशकले मलाई रेडियो छाडेर नजानु भन्नु भएको थियो । राम थापा, बासुदेव मुनाल, दामोदर अधिकारी लगायतसँग सल्लाह गरें । उहाँहरुले पनि नछाड्नु भन्नु भयो । हजुरबुबाको कुरा टार्न नसकेर म धादिङमा गएँ । धादिङमा पाएको जिम्मेवारीमा म खुशी हुन सकिनँ । उमेर र कार्यक्रम सँगसँगै रहेछ । बचत कार्यक्रममा मेरो जिम्मेवारी जहाँ दुई नम्वरी र जनतामारा कार्यक्रम रहेछ । त्यहाँबाट फर्किएर संचार सचिवलाई भेटें । दुई दिनको अथक प्रयास पछि उहाँलाई भेट गरेर मैले सरुवा मिलाएँ । त्यहाँबाट फेरी सूचना विभागमामा कार्य गरें । झण्डै ८÷९ वर्ष त्यहि काम गरें । विभिन्न कार्यालय र जिम्मेवारीमा काम गर्दा गर्दै अहिले आफ्नै जिल्लामा कार्यरत छु । 

जागिर जीवनः हाम्रो समयमा विषय शिक्षक हुँदैन थिए । अहिले त्यस्तो छैन । अंग्रेजी किताब एउटा मात्रै थियो । गणितको एकजना शिक्षक हुनुहुन्थ्यो । श्याम श्रेष्ठ मंगलटबारबाट पढाउन जानु भएको थियो । भुम्लुटारबाट ट्युसन पढ्न फलाँटेसम्म पुगेका थियौं । असाध्यै धेरै मेहनत गर्नु पर्दथ्यो । धुलिखेलमा हुद्दराज बुबा हुनुहुुन्थ्यो । उहाँले हामीलाई एसएलसी पास ग¥यौं भने कानमा धागो बाँधेर हिड्छु भन्नु हुन्थ्यो । दबाब र चुनौती दुबै थियो । अवसर पनि थियो । त्यसकारण पनि मेहनत गरेर अध्ययन ग¥यौं । नभन्दै सोचेको जस्तो दोश्रो डिभिजन आयो । माला लगाएर घुमाईहाले गाउँमा । एसएलसी रिजल्ट आउँदै गर्दा कात्तिके पाखामा गाई बस्तु चराई रहेको थिएँ । भदौमा मात्रै भएको थियो रिजल्ट । रिजल्ट भएको धेरै दिन भई सकेको रहेछ । एकजना साथी पास भएर फर्किँदै रहेछन् । सोधें उनले आफु मात्रै पास भएको र अरुकोे बारेमा थाहा नभएको बतायो । मनमनै तनाव भयो । राम्रोसँग गाई बस्तु हेरिनछु । दिउँसै गाई बस्तु घरमा आएछन् । आँगनमा रहेका बस्तुहरुले सबै अन्न खाए । म तनाव भएर घरमा आएर सिरकले मुख छोपेर सुतें । साँझपख बाटोमा निस्किएँ । एकजना मंगले दाईले पत्र दिनुभयो । एउटै कोठामा जाँच दिने साथीले मलाई पत्र लेखेका रहेछन् । मेरो अर्काे साल निस्कने भनेको छ तिम्रो चाँहि दोश्रो डिभिजनमा निस्किएछ । उ साथी अहिले छैन । केहि सन्तुष्टी त भयो तर सबै खुशी हुने कुरा भएन । हजुरबुबाले गोरखापत्र मगाउनु भएको रहेछ । धारामा नुहाउँदै गर्दा स्वामीको रुख मुनी रातो माटोले मेरो नम्वर लेखेर राख्नु भएको रहेछ । खुशीले गद्गद् भएँ । म मात्रै होईन घरमा खुशीको सीमा रहेन । 
    एसएलसी दिने वितिक्कै राजधानी गएँ । राति क्याम्पस अध्ययन गर्ने र दिउँसो काम गर्ने गर्न थालें । शुरुमा अस्थायी र पछि स्थायी जागिरमा थिएँ । रातको समयमा क्याम्पस अध्ययन गरेर घरम पुग्दा ढिलो हुन्थ्यो । भाउजुले खाना पकाउनु हुन्थ्यो । राति खाएर सुत्यो विहान उठेर अफिस गयो । क्याम्पसमा केहि साथीहरुले कक्षामा हसाउँनु हुन्थ्यो । रमाईलो हुन्थ्यो । शुरु देखि नै सूचना विभागमा काम गर्न थालेको थिएँ । रेडियोबाट जिम्मेवारी परिवर्तन भएको थियो । सूचना विभागबाट मलाई सेन्सर प्रतिनिधिको रुपमा खटाईयो । राजा, ब्यवस्था विरोधी केहि भए हेर्नु पर्ने थियो । मिठा मिठा र तिता तिता कुराहरु पनि भए जागिरमा । पत्रिकामा आएका सबै कुराहरु माथि माथि देखाउनु पर्दथ्यो । उहाँहरुको मुखमा हुन्थ्यो समाचार कुन प्रकाशन गर्ने नगर्ने अधिकार दिने भन्ने कुरा ? त्यो सबै पाण्डुलिपी हेरेर फाईनल गर्नु पर्दथ्यो । त्यतिबेला बम पड्कियो । रामराजाले पड्काउनु भएको रहेछ । पत्रिकाको अनुगमन गर्न हबल्दार लिएर रातभर हिड्नु पर्दथ्यो । पदम ठकुराठीको पत्रिका अलि चर्चित थियो । त्यहाँ मलाई असह्य भयो । सूचना विभागमा दुई कार्यालय गाभिए । कला र मुद्रण । मलाई धौलागिरीमा कार्यालय खोल्ने गरी चार महिनाका लागि पठाईयो । राजाको सवारी थियो । चार महिना भनेर गएको चार वर्ष वित्यो । अञ्चल कार्यालय खारेजी पछि अख्तियारमा बसें । ४÷५ वर्ष अख्तियारको सेवा पछि हिमाल आरोहणमा जाने अवसर मिल्यो । पारिवारीक र बृत्ति विकासका लागि ७÷८ वर्षसम्म पर्यटन मन्त्रालयमा बसें । पछि मन्त्रीपरिषद्को कार्यालयमा बसें । त्यतिबेला सार्वजनिक खरिदको कार्यालय स्थापना भयो । त्यहाँको जिम्मेवारी केहि समय सम्हालें । बाणिज्य, आपूर्तिमा रहेर पनि काम गरें । जिल्ला निर्वाचन कार्यालय दोलखामा रहेर केहि वर्ष काम गरें । ३ तहकै निर्वाचन सम्पन्न गरेको केहि समय पछि समन्वय अधिकारी भएर काम गर्ने अवसर पाएँ । यहाँ भन्दा अघि नुवाकोटमा काम गरें । नुवाकोटबाट ७ महिना देखि काभ्रेमा कार्यरत छु । ३६ वर्षको अवधीमा धेरै खालको अनुभूति भयो । निजामति सेवामा मान्छे भन्दा काम प्यारो हुने रहेछ । तल्लो तह देखि माथिल्लो तहका कर्मचारीहरुसम्म र मन्त्रीपरिषद्, मन्त्रीसँग रहेर पनि काम गर्ने अवसर प्राप्त गरें । कर्मचारीहरुको रबैया र स्वार्थका कारण कर्मचारीहरुकै मनोबल गिर्ने रहेछ । 
    जागिरको लामो समयमा कहिलेकाँहि छाडेर अन्यत्र लागौं भन्ने सोच आयो । जागिर छाड्न धेरै पटक तयार भएको थिएँ । महत्वकांक्षा धेरै नभए पछि पीडा पनि नहुँदो रहेछ । अहिले पनि मैले जागिर छाड्ने तयारी गरेकै हुँ । तर पनि वातावरण मिलिरहेको छैन । 

प्रेम र विवाहः बाल्यकाल असाध्यै कडा थियो । हाम्रो समयमा केटीहरुसँग बोल्नु पनि अपराध जस्तै मानिन्थ्यो । प्रेम पत्र लेख्ने, प्रेम विवाह गर्ने चलन पनि थियो । तर परिवारका कारण त्यो अवस्था रहेन । केटीहरु देखि पछि सिधा भएर हेर्न सकिँदो रहेनछ । केटीहरुसँग बोल्नु पर्दा विद्यालय नै जाँदैन थियौं । 
    २०४६ साल बैशाख २४ गते अभिभावकहरुको चाहना अनुसार विद्यालयको कक्षा ८ मा अध्ययन गर्दा गर्दैकी युवतीसँग मागी विवाह भयो । तिमालेमा तिवारी थरका कुटुम्बहरु बसाई सराई गरी आउनु भएको रहेछ । माघमा केटी हेर्न गएर विवाह नगर्ने भन्ने सोच बनाएर बसेको थिएँ । दाईले देखाउन लैजानु भएको थियो । पछि उनैसँग बैशाखमा विवाह भयो । दाम्पत्य जीवनमा कहिलेकाँहि ठाकठुक हुनु स्वभाविक हो । त्यो भएन पनि जीवन राम्रो हुँदैन । सेवामा जहाँ जहाँ पुग्छु त्यहाँ त्यहाँ उनि सँगै लैजाने गरेको छु । मिठो वातावरण सधै बनिरहेको छ । एक छोरा र एक छोरी छिन् । मिडिया विषय लिएर छोरा अध्ययन गर्दैछन् भने छोरी एमविए अध्ययनको तयारीमा छिन् । परिवारबाट सन्तुष्ट छु । जागिरबाट पनि सन्तुष्ट छु । देखेर होईन भोगेर पाईने हो । सेवा एउटा लिने हो । जे छ त्यसमै रमाउने हो । 

राजनीतिः कहिल्यै रुची भएन । क्याम्पसमा त्यस्तो हुन लाग्यो भने म जाँदै जाँदैन थियो । अहिले पनि मलाई रुची र चासो छैन । 

साहित्यः मैले लेखेको एउटा कविता २०४० सालमा रेडियो नेपालमा प्रसारण गरेको छु । २०४२ सालमा गोरखापत्रमा प्रकाशन गरेको थिएँ । पछि केहि अन्य मिडियाहरुमा पनि कविताहरु प्रकाशन भए । मधुपर्कमा निद्राको खोजी भन्ने कविता छापिएको थियो । अहिले पनि कहिलेकाँहि गुन्गुनाउने गरेको छु । लेख्ने गरेको छु । तर किताबका रुपमा संग्रहका रुपमा प्रकाशन गर्ने सोच छैन । 

भावी योजनाः गाउँमै गएर कृषि पेशामा संलग्न हुने योजना छ । 

जीवनः भोगाई । 

प्रेमः अनुभूति ।

विवाहः संयोग ।

शारिरीक सम्वन्धः प्रकृतिको उपहार ।