2020 November 30/ 11:03: 48am

चन्द्रप्रसाद हुमागाई
प्रबन्ध निर्देशक
इन्टेरियर पोईन्ट प्रालि
डाईरेक्टर, सेक्युयर इन्भेष्टमेन्ट कम्पनी
अध्यक्ष, आईपी विल्डर्स 

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः साविक कुशादेवी गाविस नयाँगाउ हालको पनौती नगरपालिका वडा नम्वर २ मा मेरो जन्म २०३९ साल फागुन २२ गते भयो । गाउँकै पञ्चकन्या प्राथमिक विद्यालयबाट मेरो अध्ययन शुरु भयो ।  तीन दिदी र तीन दाजुभाई मध्ये म कान्छो सन्तान थिएँ । पछि कुशादेवी माविमा भर्ना भएँ । कक्षा ६ सम्मको अध्ययन सकेर म काठमाडौ आएँ । सानैमा मेरो बुबा बित्नु भयो । बुबा बित्नु भएपछि मेरो काँधमा परिवारको दायित्व थपियो । दाजुहरु अलग बस्न थाल्नु भएको थियो । ममी एक्लै हुनुहुन्थ्यो । म र ममी रहँदा मलाई विवाह गर्न दबाब थियो । तर मैले जीवनमा केहि गर्ने सोचले आमालाई दाजुहरुको जिम्मेवारीमा छाडेर निस्किएँ । ३ वर्ष पछि फर्कने बाचा थियो । 
    काठमाडौं आएर मैले दुधको काम गरें । विहान राति २ बजे उठेर ९ बजेसम्म काम सकाउने र विद्यालय जाने गरेको थिएँ । केहि समय त्यो काम गरेर म विदेश पुगें । ट्राभलमा काम गर्दा गर्दै दुबई पुगेको थिएँ । दुबई गएर केहि समय काम गरें । ट्राभलमा काम गर्दा गर्दै उहाँहरुसँग चिनजान भएको थियो । विदेश जाने तयारी भए पनि मसँग विदेश जाने पैसा थिएन । उहाँहरुले नै फ्रि भिसा फ्रि टिकटमा मलाई विदेश लैजाने उहाँहरुको प्रस्ताव आयो । मैले सहमति जनाएँ । अफिसियल कागजातका लागि पनि उहाँहरुले नै पैसा लगानी गरिदिनु भएको थियो । मलाई इन्टेरियर सम्वन्धी कामका लागि उहाँ लैजानु भएको थियो । उहाँ लगेर मलाई तालिम प्रदान गर्नुभयो । तालिम पछि इन्चार्ज बनाएर कामको जिम्मेवारी दिनु भयो । ५ वर्ष त्यहाँ काम गरेर फर्किएँ । नेपाल आएर चार जना साथीहरु मिलेर हामीले इन्टेरियर ब्यवसाय शुरु गरें । 
    १ सय ४ रोपनी जग्गा अहिले ढुंगा खानीलाई दिएका छौं । बहिरा महादेव नजिकै ४० रोपनी जति जग्गा थियो । जग्गा जमिन धेरै थियो तर गर्ने मान्छे कोहि थिएन । खान लगाउन पुग्ने तर धेरै नहुने । अध्ययनका लागि खासै मन लाग्दैन थियो । ममी एक्लै भएकाले मलाई थप जिम्मेवारी बढेको महसुुस भयो । दाजु भाउजु अलग भएकाले मलाई आमाको माया र मेरो लक्ष्यसँगको फरक छुट्टयाउन समय लाग्यो । जर्बजस्ति ममीलाई मैले नमान्दा नमान्दै दाजु भाउजुकोमा छाडेर घर छाडेर निस्किने निर्णय गरेको थिएँ । आमाको सल्लाह त्यस्तो थिएन । उहाँले विवाह गरेर घरमै बस्ने र भएका खेती किसानी गर्ने भन्ने थियो । अहिले सबै जग्गा त्यहाँको विक्री गरेर पनौतीमा बस्न थालेका छौं । आमासँगको बाचा पूरा गर्दै आमासँग म नै बसिरहेको छु । पनौतीमा घर बनाएर स्थायी बसोबास त्यतै भएको छ । 
    बाल्यकालका केहि उट्फट्याङ्ग थिए । विवाहमा गर्दुवा राख्न जाँदा त्यहि पैसाले तास खेलेर गर्दुवा नै नराखी फर्किने गरेका थियौं । एकदिन तास खेलिरहँदा लक्ष्मण हुमागाईले फेला पारेर हामीलाई कारवाही गर्नु भयो । त्यो बेला देखि त्यो क्रम रोकियो । उहाँलाई बाटोमा अरु बेला भेट्दा पनि हामी अनुहारमा हेर्न सक्दैन थियौं । अहिले जस्तो भात सधैं खान पाईदैन थियो । पनौती देखि भारी बोकेर जानु पर्दथ्यो । घरमा भएका केहि सामाग्री विक्री गरेर चामल किन्ने गरेका थियौं । मकै विक्री गरेर चामल किनेर ल्याउथ्यौं । विद्यालयमा पनि कारवाहीमा परिन्थ्यो । संस्कृत पढाउने शिक्षकले एक पटक कारवाही गर्नुभयो । गुरु सर हुनुहुुन्थ्यो । कुशादेवी माविमा गुरु सर भनेपछि हामी असाध्यै डराउँथ्यौं । उहाँले कान तान्दा रगत नै आएको थियो । कहिलेकाँहि औलाको बीचमा डट्पेन राखेर च्याप्नु हुन्थ्यो । एकपटक अभिभावकको कारवाहीमा पनि परियो । ठुलोबुबाको नाम मनोरथ हुमागाई रहेछ । घरमा बोलाउने नाम अर्कै थियो । मेरो किताबको विचमा उहाँको चिठी राखिएको रहेछ । विद्यालय जाँदा मेरो किताबको विचमा भएको पत्रको चर्चा भयो । त्यो पत्र विद्यालयमा हरायो । बेलुका घरमा आउँदा उहाँले आफ्नो पत्र खोज्नु भयो । म डराएँ । मलाई नमज्जाले कुट्नु भयो । घर छाडेर सानीआमाको घरमा गएर केहि दिन बसेको थिएँ । विद्यालयबाट घर फर्केर आउँदा घरमा खाजा हुँदैन थियो । खाजा लैजाने कुरा पनि हुँदैन थियो । घरमा हुने कुखुराको अण्डा, काँक्रो विक्री गरेर खाजा खान्थ्यौं । जसले भाँडा माझ्थ्यो त्यसले आमाबाट ५० पैसा पाउँथ्यो । दिदीहरु म सबैजना मिलेर भाँडा माझ्ने गरेका थियौं । घरमा भएका अरु खालका सामानहरु पनि विक्री हुन्थ्यो । कुशादेवीमा सबै सामानहरु विक्री हुन्थे । साथीहरु हरि आचार्य, केशव आचार्य लगायत सुर्ति खाने, पनौतीमा साईकल सिक्न आउने गरेका थियौं । घर परिवारलाई समेत केहि नभनी लाहुर जाने वाहानामा घर छाडेर हिड्यौं । घरमा अध्ययन गर्न मन नलाग्ने, विद्यालय जान पनि मन नलाग्ने, गए पनि भाग्न थालेपछि हामी लाहुर भागेका थियौं । लाहुर भागेका हामी सबैजना भक्तपुरमा गलैचा बुन्न थाल्यौं । जानेका थिएनौं तर पनि काम गर्न थाल्यौं । केहि दिन पछि जेठो दाईले फेला पारेर घर लैजानु भयो । हामीलाई झनै विद्यालय जान लाज लाग्यो । त्यसपछि दाजुले आफुले गर्ने दुधको काममा लगाउनु भयो । त्यतिबेला पनि ७÷८ सय दैनिक कमाई हुन्थ्यो । अहिलेसम्म पनि दाईले चाँहि त्यहि काम गरिरहनु भएको छ । मलाई चाँहि त्यो काममा पछि रुची भएन । दिदीको विवाह भयो । कान्छी दिदीको विवाह पछि उहाँहरुको काम थिएन । भिनाजुको पनि खासै काम नभएकाले त्यो काम उहाँहरुलाई सुम्पिदिएर हामी हिडेका थियौं । त्यतिबेला हामीले कुचो विक्री गर्दथ्यौं । लब्सी विक्री गरेर केहि सामान लिएर विक्री गर्न आएका थियौं । बुबा, ठुलोबुबाहरुसँग ति सामानहरु विक्री गरेर घर जाने गरेका थियौं । काठमाडौ बस्न थाले पछि दुध पसल, विद्यालय हुँदै गाडी सिक्न थालेको थिएँ । गाडी सिके पछि मैले केहि समय ट्राभलमा काम गरें । ट्राभलमा काम गर्दा गर्दै विदेश जाने अवसर प्राप्त गरेको थिएँ । त्यो भन्दा अघि विदेश जाने खोजेको भए पनि मसँग रकम थिएन । राहदानी बनाएँ तर विदेश जाने पैसा भएन । राहदानी बनाएर धेरै महिना गोजीमा बोकेर हिडेको अनुभव थियो । 
    दुध पसलसँगै आर्मीको जागिर खान गएँ । तीन महिना तालिम पनि गरें । मामा पनि हुनुहुुन्थ्यो । जसरी पनि आर्मी बन्छु भन्ने मेरो सोच तीन महिनामै फेल भयो । सशस्त्र द्वन्द्वको समय थियो । नेपाली सेना भित्रको मोह त्यतिबेला भंग भए पछि फेरी अर्काे काममा लाग्ने निर्णय भयो । अध्ययन निरन्तरता हुन सकेन । मैले प्राईभेट अध्ययन गरें । कक्षा ८ सम्म पढेपछि केहि समय रोकियो । प्राईभेट अध्ययन गरेर ब्याचलरसम्मको अध्ययन सकाएँ । फेरी विदेशबाट फर्किए पछि इन्टेरियर विषयमा आर्ईएस्सी गरेर थप अध्ययन गरें । अध्ययनलाई समयले रोकिँदो रहेनछ । मान्छेका सोचाई रहेछ । आवश्यकता अनुसार चल्ने रहेछ ।  मैले कहिल्यै कल्पना गरेको थिईनँ । जीवनमा केहि गर्छु भन्ने थियो तर यस्तै गर्छु भन्ने थिएन । जीवनका अनेक मोडहरुले इन्टेरियर ब्यवसायमा मोडिदियो । 

ब्यवसायमा प्रवेशः दुध पसल जिम्मेवारी दिए पछि नेपाली सेनामा जागिर खान गएँ । गाडी सिकें । त्यो छाडेर ट्राभलमा काम गर्न थालें । ट्राभलमा काम गर्दा गर्दै जीवनले नयाँ मोड लियो । जसले मलाई यहाँसम्म ल्याउन सहज बनायो । केहि समय मैले मेडिकलमा पनि काम गरें । साथीहरुसँगको संगत, बोलिबचनले मलाई राज ओभरसिजमा पु¥यायो । मेरो बुबा पछिको बुबा राज ओभरसिज भयो । ट्राभलमा उहाँकै सहयोगमा त्यो क्षेत्रमा लागें । 
    अन स्किल लेभलमा मैले दुबई जाने अवसर पाएँ । ४० जनाको कोटामा म फ्रि भिसा फ्रि टिकटमा गएँ ।  उहाँ पुगेर मलाई ड्राईभिङ्ग सिक्न लगायो । त्यसमा असफल भएँ । नेपालमा पास भएको ब्यक्ति त्यहाँ सफल हुन सकिनँ । त्यहाँ असफल भए पछि मैले इन्टेरियर तालिम लिएँ । त्यहाँका ठुला ठुला अफिसहरुको इन्टेरियर डिजाईन गर्ने अवसर पायौं । त्यहाँकोे १ हजार रुपैयाँ थियो तलब । यहाँको २० हजार त्यति बेला त्यो ठुलो थियो । सेवा सुविधा र सहजता ३९ जनालाई फरक र मलाई फरक भयो । अझै सहज भयो मलाई । ५ वर्ष त्यहाँ काम गरेपछि नेपाल फर्किएर केहि गर्ने सोच बनाएको थिएँ । विदामा आएको समयमा मैले नेपालमा आएर कम्पनी दर्ता गरें । त्यतिबेला नेपालमा इन्टेरियर ब्यवसायको अध्ययन पनि गरें । फेरी  दुबई फर्किएँ । राजिनामा दिएँ । राजिनामा स्विकृत गराएर नेपाल फर्किएँ । कम्पनी दर्ता गरेको थिएँ । त्यसमा तत्काल काम गर्ने योजना बनाए पनि सम्भव भएन । विवाह गरें । अब पनौतीमा नै बस्ने योजना बनाएँ । 
    बनेपाको चारदोबाटोमा रहेको फेन्सी पसल किन्ने योजनामा २५ हजार बैना दिएँ । दुई दिन लाग्ने भयो सामानको हिसाब गर्न । १२ लाख भन्दा धेरै खर्च हुने भयो । श्रीमान श्रीमती दुबैलाई फेन्सी पसलसम्वन्धी जानकारी दिएन । दुई जनाले मात्रै संचालन गर्न कठिन थियो । सामानको हिसाब गर्दा गर्दै म चिया खान बाहिर निस्किएका बेला आईडी बैंकको इन्टेरियर गरेको देखें । त्यहाँ गएर बुझें । आकृति इन्टेरियरले गरिरहेको रहेछ । फोन गरें तत्काल मलाई बोलावट भयो ।  किनेको पसल बैना समेत छाडेर म काठमाडौ गएँ । काठमाडौं गए लगत्तै मैले माछापुछ«े बैंकमा काम गरें । तत्काल अर्काे कम्पनीमा पनि काम गरें । डेढ महिनामा त्यो काम सकें । मेरो कामबाट प्रभावित भए । त्यो अवधिमा मैले सबै कुरा सिकें । सामान आउने बाटो पनि पत्ता लगाएँ । म सँग दुबईमा काम गर्ने साथीहरुलाई नेपाल बोलाएँ । हामी चार जना मिलेर कम्पनीलाई अगाडी बढाउने निधो ग¥यौं । मकर मेला चलिरहेको थियो । एक वर्ष पुरानो भए पछि हामीलाई सहज भएको थियो । २ वर्षपछि साथीहरु जर्मन जाने कुरा गर्नु भयो । मैले पनि जर्मन जान उहाँहरुसँगै ५० हजार र राहदानी बोकेर गएको थिएँ । उसको कुरा सुनेपछि म फर्किएँ । साथीहरुले ३÷३ लाख रकम बुझाउनु भयो । त्यो दलाल रहेछ पैसा खाईदियो । मैले कम्पनी एक्लै बनाईसकेको थिएँ । काठमाडौंको तिनकुनेमा कम्पनी थियो । केहि समय सब कन्ट्रयाकमा काम गरें । पहिलो पटक हामीले न्युरोडमा रहेको फाईनान्सले बाग्लुङ्गमा काम ग¥यौं । नेटवर्कले काम हुँदै गयो । अन्नपूर्ण बैंकका ७ वटा शाखामा काम ग¥यौं । अरु सहकारी, बैंक लगायतका क्षेत्रमा काम गर्दै गयौं । 
    इन्टेरियर महत्वपूर्ण क्षेत्र हो । सानो स्थानलाई पनि कसरी ब्यवस्थापन गर्ने ? सजावट महत्वपूर्ण कुरा हो । बास्तुशास्त्र पनि त्यसमा समेटिएको हुन्छ । कलरको मिसावट र डिजाईन पनि मिल्छ । इन्टेरियरमा डेढ लाख देखि २० लाखसम्म एउटा रुममा खर्च भएको हुन्छ । बजेट अनुसारको खर्च हुन्छ । घरको नक्सा दर्ता गरेपछि इन्टेरियरका लागि आउने गरेको छ । इन्टेरियरको ले आउटका आधारमा घर बनाउन थालेका छन् । यसमा मान्छेको विश्वास र आवश्यकता धेरै छ । ८५ प्रतिशत ब्यक्तिहरु अहिले बास्तु मान्न थालेका छन् । एकजना ब्यक्ति बास्तु नमिलेको भन्दै १ करोड भन्दा धेरै खर्च गरेको छ । घर भित्रका भान्सा, शौचालय, पुजा कोठा, सुत्ने कोठाको पनि डिजाईन गरिरहेको हुन्छ । नेपालमा यसको माग बढिरहेको छ । विदेश जानु नराम्रो होईन । सिप सिकेर नेपालमै फर्कनु पर्छ । मर्ने बेलाको समय नेपाल आएर नेपाली भन्न सुहाउँदैन । नेपालमा केहि योगदान गर्ने गरी फर्कनु पर्छ । हामी अहिले २५ भन्दा धेरै ब्यक्तिहरुलाई रोजगार दिएको छु । विभिन्न क्षेत्रको सिप आवश्यक छ । स्किल लिएर विदेश जाने र दक्ष बनेर फर्कने । नेपालमा फर्केर केहि गर्र्ने योजनाका साथ विदेशिनु पर्छ । नेपालमा हरेक क्षेत्रमा पैसा नै पैसा छ । काम नगर्ने मान्छेहरुका लागि अवसर छैन । जसले मेहनत गर्छ उसका लागि नेपालमा जति अवसर र आनन्द कहिँ छैन । हाम्रो कम्पनी पनि बृृद्धि हुँदै गएको छ । अहिले विदेश जाने मान्छेहरुका कारण स्वदेशमा आवश्यक जनशक्ति छैन । अहिले १० जना बराबर एक जनाले गर्न सक्ने गरी प्रविधि भित्र्याईएको छ । पैसा दिन्छु भन्दा पनि काम गर्ने मान्छे पाईदैन । पहिला काम पाउन गाह्रो थियो । अहिले मान्छे पाउन गाह्रो छ । 
    इन्टेरियर कम्पनी चलाउँदा चलाउँदै साथीहरुको समुहले सेक्युयर इन्भेष्टमेन्ट कम्पनी चलाउन थालेका छौं । पुराना लिलामी हुने सामानहरुको खरिद विक्री गर्ने, शेयरको काम गर्ने गरी कम्पनी खोलेका हौं । आईपी विल्र्डसले निर्माणको काम पनि गर्छाैं । फरक फरक कम्पनीको उदेश्य फरक फरक तर हाम्रो कामसँग सम्वन्धित भएकाले हामी आफैले चलाएका हौं । मैले शुरु गरेको काममा म सन्तुष्ट छु । छोटो समयमा २ हजार भन्दा धेरै ग्राहक हुनुहुन्छ । शुरुमा काम नपाएर पीडा भयो । अहिले काम बढी भयो कि क्या हो भन्नुहुन्छ । काम लिनु ठुलो कुरा होईन लिएर गुणस्तरीय सेवा दिनु प्रमुख कुरा हो । काभ्रेमा बुडोल साकोसको ८ वर्ष अघि काम गरेका थियौं । ८ वर्ष पछि फेरी उहाँहरुले काम गर्ने अवसर दिनु भयो । एक वर्ष सम्म हामी निःशुल्क सर्भिस दिन्छौं । काभ्रेका अन्य थुप्रै संस्थामा इन्टेरियर सेवा दियौं । अझै फराकिलो सोच र योजनाका साथ सेवा दिने योजनामा छौं । ग्राहकहरुको सन्तुष्ट नै हाम्रो चाहना हो । त्यसलाई आजसम्म पूरा गरेका छौं । 

प्रेम र विवाहः बाल्यकालमा प्रेम भएन । पछि झनै हुने कुरा भएन ।  प्रस्तावहरु पनि आएनन् । मेरो लक्ष्य नै जीवनमा केहि गर्ने र मात्रै विवाह गर्ने भन्ने सोच थियो । त्यसैले होला मलाई प्रेम भन्दा पनि मागि विवाहको योजना थियो । बुबा वित्ने वित्तिक्कै विवाह गरिदिने अभिभावकहरुको चाहना थियो । मैले पूरा हुन दिईनँ । २६ वर्षको उमेरमा मैले भिनाजुहरुको सल्लाहमा मागी विवाह गरें । मेरो जीवन संचालनमा सहयात्रा गर्न सक्ने ब्यक्तिको खोजीमा थिएँ म । मैले उनिसँग कुरा गरें । मेरो कुरामा सहमत भएकाले हामीले विवाह ग¥यौं । उनी ब्याचलर अध्ययन गर्दै थिईन् । विवाह पछि मास्टर्स गरिन् । अहिले इन्टेरियरको अध्ययन गरिरहेकी छिन् । हामी दुबैले त्यहि विषयको अध्ययन गर्दै यसलाई थप ब्यवस्थित र प्रविधियुक्त बनाउने योजनामा छौं । कहिलेकाँहि सामान्य ठाकठुक स्वभाविक हो । दुई सन्तान छन् । एक छोरी र एक छोरा । केहि समय हामी पनौतीमा नै बस्यौं । दैनिक काठमाडौबाट पनौती आउने जाने गर्दा मेरा तीनवटा दुर्घटना भए । त्यसपछि हामी काठमाडौ बस्न थाल्यौं । आमा र दिदी पनौतीमा बस्न थाल्नु भयो । आमालाई काठमाडौ लैजाने चाहना पुरा भएन । 

सामाजिक क्षेत्रः कामसँगै सामाजिक क्षेत्र प्रमुख कुरा हो । आफ्नै जिल्लाका केहि सरकारी विद्यालयमा केहि सेवा गर्ने अवसर प्राप्त भएको छ । भालेश्वर, कुशादेवी मावी, सुन्थानमा रहेको विद्यालयमा केहि न केहि सहयोग पु¥याएका छौं । मानव सेवा आश्रममा पनि सहयोग गर्ने अवसर प्राप्त गरेका छौं । विद्यालयमा निर्माण हुने साईन्स ल्यावमा केहि सहयोग पु¥याउने सोच अनुसार हरेक वर्ष एउटा विद्यालयमा सहयोग गर्ने योजनामा नै राखेका छौं । 

राजनीतिः ब्यक्तिको आस्था स्वभाविक हो । मैले सक्रिय राजनीति गरेको छैन । गर्ने योजना पनि छैन । ब्यवसायीक भएकाले सबै क्षेत्र र पार्टीका नेताहरु हाम्रा लागि समान हुन् । राजनीति गर्ने ब्यक्तिको स्वभावसँग मेरो स्वभाव मिल्दैन । 

भावी योजनाः काठमाडौमा भएको कारखानालाई खोपासीमा स्थापना गर्ने योजनाका साथ केहि जमिन खरिद गरेको छु । शो रुम छैन तर पनि कारखानाबाटै सामान दिएर भ्याएको छैन । थ्री डी मार्फत सामान देखाएर अर्डर लिन्थ्यौं । छानेर सामान लैजान पाए हुन्थ्यो भन्ने उहाँहरुको चाहनालाई पुरा गर्ने सोच बनाएको छु । नेपालले लिएको लक्ष्य सुखी नेपाली समृद्ध नेपालको नारालाई पुरा गर्ने सोच छ । तर को सँग जोडिने ? कसरी जोडिने ? चाहना भए पनि त्यहाँ पुग्न सकेको छैन । तर पनि आफ्नो क्षेत्रबाट नियमित काम गरिरहेको छु । 

अविश्मरणीय क्षणः मेरा विगतका दिनहरु नै अविश्मरणीय क्षण हो । बहिरा महादेव भन्ने स्थानको ब्यक्ति आज यो स्थानमा छु । मैले कहिल्यै विर्सन सक्दिनँ । त्यो बेलाको कुशादेवीको त्यो स्थान आज पनि विकट छ । त्यहाँबाट हुर्केर केहि गर्ने उदेश्यका साथ घरबाट निस्किएको म विभिन्न आरोह अवरोह पार गरें । बुबा आमाको जन्म भयो तर कर्म दिने बेला पिवी गुरुङ्ग जो राज ओभरसिजका अध्यक्ष हुनुुहन्छ । उहाँले मलाई विदेश जाने सपना भएर पनि जान नसकेको अवस्थामा पठाउनु भयो । जसका कारण आज म यो स्थानमा आई पुग्न सफल भएको छु । यस्ता धेरै ब्यक्तिहरु हुनुुहुन्छ जसले मेरो उन्नती र प्रगतिका लागि सधै सकारात्मक मात्रै सोच्नु भयो । 

जीवनः भोगाई । अनुभति । कर्म । 

प्रेमः आवश्कता । प्रेम विना हरेक सम्बन्ध असम्भव । 

विवाहः जीवनको महत्वपूर्ण पाटो । 

शारिरीक सम्वन्धः ब्यक्तिको चाहना र आवश्यकता । 

अन्त्यमाः जसले मलाई विश्वास ग¥यो । सहयोग पु¥यायो सबैमा आभार । सुझाव र सल्लाह निरन्तर पाउँ । कर्म गरौं सफलता अवश्य मिल्नेछ ।