2018 November 19/ 09:18: 47am

अमिर खड्का
अध्यक्ष
सक्रिय प्लस नेपाल, काभ्रेपलाञ्चोक

जन्म, बाल्यकाल, औपचारिक शिक्षाः दोलखा जिल्लाको विगु चिलंखा गाविसमा २०३५ सालमा मेरो जन्म भयो । दुई दाई, दुई दिदी पछि मेरो जन्म भयो । हामी पाँच सन्तान छौं । म कान्छो छोरा थिएँ । १२ वर्ष दोलखा जिल्लामा हुर्किएपछि २०४७ सालमा हामी काठमाडौ आयौं । अत्यन्तै विकट थियो । बत्ति, सडक, विद्यालयको माध्यमिक तह, स्वास्थ्य सेवा सुविधा थिएन । परिवार सामान्य थियो । अन्यन्तै कष्टकर जीवन थियो ग्रामिण क्षेत्रको । बुबा किसान, आमा घर गृहिणी । खेतिपाती, पशुपालन मुख्य पेशा ब्यवसाय थियो । कक्षा ७ सम्म अध्ययन गर्ने निमावी तहको विद्यालय मात्रै थियो । मैले त्यहि विद्यालयमा कक्षा ७ सम्म अध्ययन गरें । त्यसपछि मेरो अध्ययन काठमाडौमा भयो । 
    बाल्यकाल भुल्नै सकिदैन । बाल्यकालका यादहरुले सबैलाई झस्काई रहन्छ । मलाई झनै झस्काई रहन्छ । म जुन गाउँ र परिवारमा थिएँ त्यहाँ केहि पनि थिएन । विद्यालयमा फि तिर्न समेत पैसा हुँदैन थियो । कक्षा १÷२ मा अध्ययन गर्दा शुल्क तिर्नु प¥यो भनेर शिक्षकहरुले भन्नु हुन्थ्यो । घरमा बुबालाई भन्दा हेडमास्टरलाई म आफै भनौला भन्नु हुन्थ्यो बुबा । त्यसको दुई वटा कारण थियो । एउटा बुबासँग पैसा हुँदैन थियो । अर्काे बुबाको आफन्त हेडमास्टर हुनुुहन्थ्यो । पैसाको कारोवार हुँदैन थियो । अन्न साटासाट गर्ने चलन धेरै थियो । अन्न साटासाट र भारोपर्मले जनजीवन सामान्य बनाउँथ्यो । विद्यालयमा शिक्षकहरुको कारवाहीमा धेरै पटक परेको छु । गृहकार्य नगरेका कारण कक्षा कोठामा कुखुरा बनाउने, उठबस गराउने काम हुन्थ्यो । भलिबल, गुच्चा, डण्डिवियो, कपर्दी जस्ता खेलहरुमा धेरै समय वित्थ्यो । विद्यालयमा शिक्षकहरुले खेलेर मात्रै बस्छौं गृहकार्य नगरेको भनेर कुटाई धेरै खाएँ । गृहकार्य गर्न कापि हुँदैन थियो । कापि छैन भनेर भन्न सक्ने अवस्था थिएन । बुबा आमाको कुटाई कहिल्यै खाईन । घरमा उहाँहरुसँग पनि पैसा नभएकाले पनि मैले लामो हात गरिन । बुबा कहिलेकाँहि तास खेल्ने, रक्सि खाने गर्नु हुन्थ्यो । उहाँले केहि कमाएको पनि त्यता पनि खर्च हुन्थ्यो कि जस्तो लाग्यो । पैसा नभएकाले पनि होला मलाई झिक्नु पर्छ जस्तो पनि लागेनत । साथीहरुले कहिले काँहि चकलेट खाँदा, विस्कुट खाँदा मुखमा पानी पानी हुन्थ्यो । गाउँमा एउटै मात्र पसल हुन्थ्यो । 
    विद्यालयमा खाजा लैजाने चलन पनि थिएन । विहान घरमा खाएर गएपछि एकै पटक बेलुका खान आईपुग्नु पर्दथ्यो । अभाव धेरै भएको महसुस अहिले भयो । त्यतिखेर त्यो सामान्य लाग्थ्यो । खेतबारीको काम गर्ने बेला खेताला टन्नै हुन्थे । दाउरा काट्न वा अन्य केहि काममा खोजिएका खेताला हुँदा मलाई विद्यालय जान रोक हुन्थ्यो । म आमाको सहयोगी हुन्थें । उहाँलाई सहयोग गरेर खाजा पकाउने, लैजाने काम गर्दथें । विद्यालय विदाको समयमा, विहान बेलुका हामी बाख्रा, गाई गोरु चराउन जान्थ्यौं । पानी लिन जाने, नियमित पानी भरेर ल्याएर खाना खाएर विद्यालय जाने गरेका थियौं । विद्यालयमा खासै अतिरिक्त कृयाकलाप भएनन् । कहिलेकाँहि शिक्षकहरु आफै भलिबल खेल्नुहुन्थ्यो । शुक्रबार उहाँहरुको पालो सकिएपछि हामी खेल्थ्यौं । कक्षा ७ सम्म अध्ययन गर्दा कहिल्यै फेल भईन । २०४७ सालमा काठमाडौ प्रवेश गरें । मेरो दाई दिदीहरु पहिला नै काठमाडौ आई सक्नु भएको थियो । माध्यमिक तह अध्ययन गर्न सदरमुकाम चरिकोट आउनु पर्दथ्यो । चरिकोटमा डेरा लिएर बस्नु र काठमाडौ बस्नु उस्तै थियो । दाई दिदीहरु काठमाडौ बसेर अध्ययन गर्ने र काम नै गर्न शुरु गरिसकेको अवस्थामा मलाई काठमाडौ बोलाउनु भएको थियो । असाध्यै विकट थियो गाउँ । रातभर स्याल कराएर सुत्न सकिदैन थियो । घाँस दाउरा भकारो नियमित काम थियो गाउँको । 
    चरिकोट आएँ । गाडी कस्तो हुँदो रहेछ थाहा थिएन । पांग्रा भएको गाडी देख्दा घरमा पनि पांग्रा हुँदो रहेछ भन्ने लाग्यो । त्यहि पांग्रा भएको घर चढेर काठमाडौ आएँ । काठमाडौ शहर देख्दा अचम्म लाग्यो । गाउँको केटो हरेक कुरामा अचम्ममा परें । दाई टुरिस्टहरुसँग काम गर्नु हुँदो रहेछ । भाईले राम्रो अंग्रेजी सिकोस भन्ने उदेश्यले मलाई दुई कक्षा घटाएर कक्षा ५ मा भर्ना गरिदिनु भयो । बोर्डिङ्गको पढाई मलाई अत्यास लाग्यो । बल्ल बल्ल एबिसिडी जानेको मान्छे सबै विषय अंग्रेजीमा पढ्न गाह्रो भयो । दाई एकजनाको कमाई थियो । विस्तारै बुबा आमालाई पनि दाईले काठमाडौ ल्याउनु भयो । जेठी दिदीको विवाह भईसकेको थियो । कान्छि दिदी सहितको हाम्रो परिवारलाई समस्यै थियो । दाईले नीजि विद्यालयको शुल्क पनि तिरिदिनु पर्दथ्यो । त्यसले उहाँलाई झनै गाह्रो बनाएको थियो । नीजि विद्यालयका अध्ययन गर्नै नसक्ने भएपछि मैले कक्षा ८, ९ र १० सरकारी विद्यालयमा अध्ययन गरें । डिल्ली बजारमा रहेको विद्यालयमा शुरु शुरुमा अध्ययन राम्रो थियो । अरु भन्दा राम्रो भएँ नीजि विद्यालय भएकाले । तर त्यो राम्रो धेरै समय रहेन । विस्तारै अध्ययन विग्रन थाल्यो । अध्ययन विग्रिएकै कारण कक्षा ९ र १० को परिक्षा राम्रो भएन । हुँदा हुँदा एसएलसीमा एक विषय लाग्यो । त्यहि विषय लाग्नु जीवनमै ठुलो पीडा भयो । गलत बाटोमा त्यहि समयबाट सहभागि भएँ । दोश्रो वर्ष एसएलसी त पास गरें तर बाटो गलत भईसकेको थियो । आईए पहिलो वषयमा पनि फेल भएँ । दोश्रो वर्ष अध्ययन गर्नै सकिन । कक्षा १० अध्ययन गरिरहँदा दुईवटा दाजु नै विदेश जानु भएको थियो । घरमा आमा र बुबालाई हेप्ने बानी बसिसकेको थियो । उहाँहरुले मलाई केहि भन्न र गर्न नसक्ने भएपछि म विस्तारै कुलतमा फस्दै गएको थिएँ । 

एसएलसी पछिः पहिलो वर्ष एसएलसी फेल भए पछि मलाई तनाव भयो । त्यहि तनावको ब्यवस्थापन गर्न गलत संगतका साथीहरुसँग भेट हुन थाल्यो । प्रेममा पागल जस्तै भएको थिएँ । त्यसलाई पनि अगाडी बढाउनु थियो । दोश्रो पटक एसएलसी दिएर पास भएँ । पहिला एउटा विषयमा मात्रै फेल भए पनि एक वर्ष कुर्नुपर्दथ्यो । 
    दोश्रो वर्ष पास भएँ । क्याम्पस भर्ना भएँ । साथीहरु चुरोट खान सिकाउँथे । गाँजा खान सिकाउँथे । त्यहि कारण क्यामपसको अध्ययन राम्रो हुन सकेन । क्याम्पस अध्ययन पनि छाडिदिएँ । दाईहरु विदेश गई सक्नु भएको थियो । बुबा आमा मात्रै भएकाले मलाई हेप्न सजिलो भएको थियो । दाईहरुसँग अलिक डराउँथें । डराउने मान्छे नै घरमा नभएपछि म स्वतन्त्र थिएँ । गाँजा, चुरोट खाने समुहमा मिसिन पुगें । गुण्डागर्दी गर्ने, मान्छे कुट्ने, हिरोईजममा ध्यान जान थाल्यो । त्यो कुरा रोकिन सकेन । बुबाले केहि नभन्ने, आमालाई थाहा नै नदिने । काठमाडौमा थुप्रै अग्रजहरु हुनुहुन्थ्यो । गलत संगतकै कारण मलाई कुलतमा फसायो । 

एचआईभी संक्रमितः विस्तारै मलाई नियमित रुपमा चुरोट, गाँजा हुँदै ड्रग्स खाने बानी पर्न थाल्यो । सुईको माध्यमबाट लिन थालेपछि मलाई एचआईभी सरेछ । हामी सबै एउटै सिरिन्ज प्रयोग गर्ने गरेका थियौं । पैसा हुँदैन थियो । पैसा नभएको बेला घरमै घोप्टो परेर रोएर बस्थें । ५ रुपैया पैसा नहुँदा सिरिन्ज किन्न सकिदैन थियो । मैले कहिल्यै पैसा चोरिन । लुटिन । अरु चोर्ने काम पनि गरिन । जति गरें घरबाटै गरें । सिध्याएँ घरकै सम्पति सिध्याएँ । घरबाट धेरै रोक्ने प्रयास भयो । सुधार गृहमा पु¥याउनु भयो । भारतको दिल्लीसम्म लगेर राख्नु भयो । आफैले पनि छाड्ने प्रयास गरें । अन्य औषधी खाएर पनि छाड्ने प्रयास गरें । पहिला जुन साथीसँगतमा थिएँ त्यहि साथीहरु भेट्दा बानी छुटाउन सकिएन । 
    काठमाडौका दाजुहरु बनेपामा बस्न थाल्नु भएको थियो । १३ वर्ष अघिको कुरा हो । बनेपामा रहेको एड्रा नेपालले एचआईभी संक्रमित परिक्षण गरायो । मलाई पोजेटिभ देखायो । मन खिन्न भयो । त्यहि बेला देखि मैले सबै चिज खान छाडिदिएँ । साथीहरुको संगत छाडिदिएँ । एचआईभी संक्रमितहरुको पक्षमा काम गर्न थालें । खुल्न नसकेकाहरुका लागि एआरभी औषधी सेवन, विभिन्न खालका परिक्षण गराउने अभियानमा निरन्तर लागें । दिलिप दाई सक्रिय प्लसको अध्यक्ष हुनुुहन्थ्यो । पछि उहाँको निधन भयो । म अध्यक्ष छु । अहिले पनि हामी उहाँहरुकै अधिकारका लागि लडिरहेका छौं । अहिले धुलिखेल अस्पतालबाट औषधी उपलब्ध हुन्छ । ४७ जनाले औषधी नियमित लिनु हुन्छ । तर जिल्लामै रहेर विर अस्पताल, टेकु अस्पताल विभिन्न स्थानबाट औषधी लिनु हुन्छ । ३ सय १५ जना हाम्रो सम्पर्कमा हुनुहुन्थ्यो । अहिले २ सय ८० जना मात्रै हुनहुन्छ । केहिको निधन भयो केहि अन्यत्र जिल्लामा जानु भएको छ । विशेषगरी विदेशबाट फर्कनु भएका एकल महिलाहरु, श्रीमानहरु एचआईभीबाट संक्रमित हुनुहन्छ । अधिकांश शारिरीक सम्वन्धबाट संक्रमित हुनुहन्छ भने केहि लागु औषध सेवनबाट संक्रमित हुनुुहन्छ । जति पनि संक्रमित हुनुहुन्छ प्राय अशिक्षित हुनुहुन्छ । दाताहरुको सहयोगमा विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । चेतनाको कमी छ । अझै चेतना अभावका कारण संक्रमित हुनेहरुको संख्या धेरै छ । 
    मलाई पीडा सहने बानी थियो । एचआईभी संक्रमित भए पछि निशुल्क सुधार गृहमा राख्ने अवसर रहेछ । उपचार गर्दै सुधार गृहमा बस्न थालेपछि मेरो त्यो क्रम सबै तोडियो । त्यसपछि म काभ्रेमा आएँ । १२ वर्ष देखि निरन्तर म जिल्लामा काम गरिरहेको छु । काम गरिरहेपछि ध्यान पनि नहुने रहेछ । खाली दिमाग सैतानको बास रहेछ । मलाई एचआईभी भईसकेको छ अरुलाई बचाउनु पर्छ भन्ने सोच आयो । समाजसेवी भन्ने शब्द नै थाहा नहुँदा समाजसेवा गर्छु भन्दो रहेछु । अहिले सेवा गरिरहेको छु ।संक्रमितहरुलाई बोकेर हिडिरहेको छु । उहाँहरुको उपचारमा निरन्तर कृयाशिल भईरहेको छु । 
    एक पटक दुर्घटनामा परें । बाईकबाट लडेर हात भाँचिएको थियो । अस्पताल पुग्दा डाक्टरलाई आफ्नो कुरा गोप्य राख्ने गरी भनेको थिएँ । उहाँले परिवारका सबै सदस्यहरुलाई भन्नु भएछ । परिवारले शुरुमा मन खिन्न बनायो । तर पछि मलाई सहयोग ग¥यो । माया दिए । ११ वर्ष देखि औषधी सेवन गरिरहेको छु । १३ वर्ष देखि एचआईभी संक्रमित भएर सेवामै लागिरहेको छु । एचआईभी भएको कुरा सबैलाई थाहा छ । केहि केहि मान्छे अझै अगाडी राम्रो भन्ने तर पछाडी घृणा गर्ने गर्छन् । तर मेरो परिवारका सबै सदस्यहरुले मलाई असाध्यै धेरै माया गरेका कारण आजसम्म म निरन्तर खटिरहेको छु । बाँचीरहेको छु । अझै केहि गर्ने जोश बढिरहेको छ । सरकारी सहयोग खासै छैन । सामाजिक रुपले विस्तारै सहजता हुँदै छ । 

प्रेम र विवाहः कक्षा ८ अध्ययन गर्दा एकजना साथीसँग भेट भयो । उनले मलाई र मैले उनलाई प्रेम गर्न थालिसकेका रहेछौं । तर हामी दुबैले प्रस्ताव राख्न सकेका थिएनौं । उनी पनि बाहिरी जिल्लाबाट राजधानी आएकी रहिछन् । कक्षा ८ मा हामी दुवै जना पास भएका थियौं । विद्यालय जाँदा र आउँदा हामी सँगै हुन्थ्यौं । कक्षा ९ अध्ययन गर्न उनि आईनन् । धेरै समय पछि उनले पत्र पठाईनँ । उनि किन आईनन् भन्ने कुराले मेरो दिमागमा डेरा जमायो । पास उनि भएकी थिईन । पत्र आएपछि केहि ढुक्क भएँ । उतिबेला हुलाकमा रजिस्टरी गरेर पत्र पठाउने चलन थियो । त्यो प्रेम पत्र थिएन मात्र साथीले साथीलाई लेख्ने पत्र थियो । 
    २/३ महिनामा पत्र आदान प्रदान भई रहन्थ्यो । कक्षा ९ र १० को पढाई त्यहि कारण विग्रियो भन्ने लाग्छ । उनको याद र पर्खाईले मलाई पिरोल्न थाल्यो । एसएलसी दिएर विदाको समयमा म उनकै गाउँमा पुगें । एकजना साथी उनकै गाउँको हामी सँगै पढ्थ्यौं । त्यो साथीले सँगै जाउ भनेको थियो । मैले पैसा नभएका कारण उसँग जान सकिन । पछि पैसा ब्यवस्थापन गरेर उसको गाउँमा पुगेको थिएँ । बसमा १६ घण्टा मुडामा बसेर उनको गाउँ पुगें । बसबाट ओर्लिएर डेड दिन लगाएर हिडेर गाउँ पुग्दा बाटोमै उनलाई भेटें । साथीको घरमा पुग्नु अगावै उनलाई भेटेपछि मन फुरुङ्ग भयो । केहि दिन बस्दा उनलाई भेट्न सकिन । काठमाडौ फर्कने दिन उनलाई कागजको डल्लोमा मन पराउँछु भन्ने कुरा लेखेर बुझाएँ । उनी एसएलसी र आईए पास गरेपछि काठमाडौ आएकी थिईन् । उनले प्रेमको जवाफ फर्काउन समय लगाईन । म कुरिरहें । पछि काठमाडौमा भेट भयो । स्कुल पढ्दाकै साथीले उनी कलेज पढ्ने कुरा बतायो । हामीले टेलिफोनमा कुरा गरें । उनले विवाह गरौं भनिन् । मैले प्रेममा यत्रो समय कुरें विवाह चाँहि तुरुन्तै किन निर्णय भेटेरै कुरा गरौ न भनें । उनलाई घरबाट कडा अनुशासन भएकाले निस्कन सम्भव भएन । उनले पछि विवाह गरिसकिछन् । साथी मार्फत उनको घरमा टेलिफोन गर्न लगाएँ । २०५९ सालमा उनको अर्काे सँग विवाह भएपछि म प्रेममा पागल जस्तै भएँ । धेरै समय कुर्दा पनि उनीसँग विवाह नभएपछि एकखालको तनाव अनुभव भयो । विवाह पछि उनलाई भेटेको पनि छैन । भेट पनि नहोस् भन्ने सोचिरहेको थिएँ । आजसम्म भेट पनि भएको थिएन । प्रेम पहिलो थियो । विछोड भयो । अर्काे प्रेममा पुगिन ।
    मन पराउने धेरै थिए मलाई । उनकै कारण सबैको प्रस्ताव अस्विकार गरें । मेरो भुल थियो वा साँच्चै प्रेम थियो । २७ वर्षको उमेरमा मलाई एचआईभी देखियो । कुलतले मलाई गलत बाटोमा पु¥याई सकेको थियो । संक्रमित भए पछि संक्रमित नै भएकी एकल महिलासँग मैले विवाह गरें । उनीबाट पहिल्यै जन्मिएको एउटा बच्चा छ । हामी दुबैले उक्त बच्चालाई पढाई रहेका छौं । हामी तिनै जना संक्रमित छौं । बच्चालाई पहिलाको विद्यालयबाट निकालेर छात्राबासमा राखेका थियौं । त्यहाँबाट निकालेर अहिले फेरी एउटा छात्राबासमा राखेर पढाई रहेका छौं । उनलाई नियमित औषधी खुवाएर शिक्षा प्रदान गरिरहेका छौं । श्रीमान श्रीमती भए पछि कहिलेकाँहि ठाकठुक हुनु स्वभाविक हो । त्यस्तो ठुलो झगडा भएको छैन । वैवाहिक जीवनका झण्डै ९ वर्षको समय छोटो जस्तो लागेको छ । हामी खुशी छौं । अन्य एचआईभी संक्रमितहरुलाई सेवा दिन सकिरहेका छौं । 


अविश्मरणीय क्षणः जतिबेला मैले परिवारको माया र मतता छाडेर गलत बाटोमा लागें त्यो क्षण सम्झिरहन्छु । अर्काे त्यहि कारण आज निरन्तर सेवामा लागिरहेको छुृ । दुबै क्षण अविश्मरणीय छन् । 

जीवनः संघर्ष । 

प्रेमः आवश्यकता । दुई आत्माको मिलन । 

विवाहः जीवन हो । 

शारिरिक सम्वन्धः आत्मियता ।