2019 December 09/ 05:16: 59am

    कहिले काँहि नसोचेको घटना हुन्छ । जुन कुरा कल्पना समेत गरिएको हुँदैन । त्यस्ता घटनाले जीवनभर पीडा बाहेक केहि दिदैन । कसैको अहित हुने घटनामा कहिल्यै संलग्नता भएन र हुँदैन पनि । सडकको छेउमा बसेर मिठो बोली, गुणस्तरीय सेवाका साथ सद्भाव सहित भोको पेटमा तातो खाना दिने हाम्रो अभियानमा अवरोध पु¥याउन केहि तत्वहरु सक्रिय हुँदा रहेछन् । पौरखमा बाँच्नु पर्छ, पसिना चुहाउनु पर्छ, मेहनतबाटै जीवनको समृद्ध छ भन्ने हाम्रो मुल मर्म कहिल्यै विचलित भएन । जुठा भाँडामै हामीले भविश्य खोज्ने प्रयत्न ग¥यौं । रहर थिएन । हाम्रो बाध्यता हो यो । बाध्यतालाई अवसरका रुपमा बदल्ने प्रणलाई मेरो परिवार र आफन्तहरु साथ दिए । भगवान जस्ता ग्राहकहरुले मलाई सदैव विश्वास पनि गर्नु भयो । त्यसकै खातिर मैले दिन, रात, घाम पानी, गर्मी नभनी सेवासँगै ब्यवसाय संचालन गरिरहेको छु । मान्छेको स्वभाव अनुसारको सेवा दिने प्रयास पनि गरिरहेका छौं । मनमै पस्न त को पो सक्छ र तर उसले ब्यक्त गरे अनुसारको सेवा दिन निरन्तर लागिरहेका छौं । लागिरहने छौं । जीवनभर कमाएको सम्पतिलाई धुँवामा उडाउने रहर कसलाई होला र ? मुलुकमा कानून छ । संविधान छ । लोकतन्त्रमा सबैको अधिकारको संरक्षण त होला नि ? स्वतन्त्र रुपमा आफुले गरी खान कतैबाट अवरोध नहुनु पर्ने हो । कानुन अनुसार गरिएका सबै पेशा ब्यवसायमा सुरक्षा पनि पाउनु पर्छ । हुनु पनि पर्छ । जुन तन्त्र आए पनि दबाब, तनाव, अभाव र प्रभावले मात्रै काम गर्छ कि भन्ने अनुभुति भएको छ । 
    काभ्रेको दोलालघाट आफैमा पर्यटयिक स्थान हो । मैले यसको ब्याख्या पनि गरिराख्नु पर्दैन । अरनिको राजमार्गको केन्द्र हुँदै पछिल्ला केहि वर्ष देखि कोशिपारीसम्म नियमित बस चल्न थालेपछि ब्यक्तिहरुको मात्रै होईन सवारी साधनहरुको पनि केन्द्रका रुपमा रहेको छ । दोलालघाटको पर्यावरण, प्राकृतिक मनोरम र यसले बनाएका ऐतिहासिक पक्षहरुले दोलालघाट घुम्न आउने र रमाउनेहरुको संख्या बढिरहेको छ । सुरक्षाको हिसावले पनि दोलालघाट उपयुक्त मानिन्छ । दोलालघाटको खोलाबाट उत्पादन हुने बालुवा होस् वा माछा सबैको आर्कषण मानिन्छ । काभ्रेपलाञ्चोक जिल्लाको अलावा रामेछाप, दोलखा, सिन्धुपाल्चोक तथा सिन्धुलीसम्म पनि त्यहि मार्ग हुँदै आवतजावत हुन्छ । सडकको सुधारले १२ महिना नै सडकमा गाडी गुड्ने अवस्था छ । सबै क्षेत्रको केन्द्र मानिनएको दोलालघाटमा मैले केहि वर्ष अघि देखि होटल राखेको थिए । नियमित रुपमा काम गरेको झण्डै ५ वर्ष हुन थालेको छ । साविकको दोलालघाट गाविस थियो । हाल भुम्लु गाउँपालिका वडा नम्वर ८ पर्दछ । घटना बाजा बजाएर हुँदैन । विपत्ति पनि जानकारी दिएर आउँदैन । २०७६ असार १९ गते बिहान अन्दाजी साढे ४ बजेको समयमा भुम्लु गाँउपालिका वडा नं. ०७ पल्लो टोलमा घटना भयो । मेरो ससुराली त्यहि हो । म ससुराली गएको बखत उक्त घटना भएको थियो । मेरो प्रदेश नं. ३, ०२–००६ प २८७० नम्बरको २२० सि.सि. को पल्सर मोटरसाईकल थियो । केहि महिना अघि मात्रै उक्त मोटरसाईकल मैैले खरिद गरेको थिएँ । ससुराली घरमा बर्खान्त भएकोले मिति २०७६ असार १८ गते मोटरसाईकल लिई ससुराली गएको थिएँ । ससुराली घरमा मोटरसाईकल जाने बाटो नभएकोले बाटोमा नै मोटरसाईकल रोकेर गएँ । प्राय ससुराली जाँदा मैले त्यहि मोटरसाईकल रोक्ने गरेको थिएँ । अरु ब्यक्तिहरुले पनि त्यस क्षेत्रमा जाँदा त्यहि स्थानमा मोटरसाईल रोक्ने गरेका थिए । 
    त्यो रात म ससुराली घरमै बसें । भोली पल्ट असार १९ गते बिहान राती ४ बजेको समयमा मेरो मोटरसाईकलमा आगो लागेको देखें । म चिच्याएँ । । कराएँ । बाटोमा रोकेर राखिएको मोटरसाईकलमा आफै आगो लाग्यो कि ? कसैले लगाई दियो ? सोच्नै सकिन । एक्कासी दनदनी बलेको मोटरसाईकलमा मेरो पसिना जोडिएको याद आयो । उज्यालो नहुँदा देखि मध्यरातसम्म जुठा भाँडासँग खेलेको याद आयो । तातो आगोमा बसेर तरतरी पसिना काँडेर सबै सँग जीजी हजुर गरेको याद आयो । खाई नखाई श्रम गरेर थोपा थोपा जम्मा गरी त्यसमाथी पनि ऋण गरेर खरिद गरेको मोटरसाईकलमा आगो बलेको देख्दा आफ्नै मुटु जलेको भाव आयो । त्यहि पीडामा मैले कसैलाइै केहि भन्न सकेको थिईन् । एकोहोरो चिच्याएँ मात्र । त्यस लगत्तै म घटना स्थलमा गएँ । कस्ले आगो लगाई उपद्रव गरेको भनी बुझें । बुझ्दै जाँदा बासु गिरीसंग केही महिना अगाडी मैले संचालन गरेको होटल लजमा बस्न खान नदिएको र तँलाई पख्लास मैले जानेको छु भनी धम्की समेत दिएको याद आयो । शुरुमा कसैलाई त्यो कुरा भनिन । मनमै राखें । शंका त थियो मलाई त्यसले कुनै दिन मलाई केहि गर्छ कि भनेर । अझै पनि उसले जेल भित्रैबाट धम्क्याउन छाडेको छैन । त्यतिबेला त्यसले नै उक्त घटना घटाएको कुरा सम्झन गाह्रो भएन । बाटोमा पार्किङ्ग गरी राखेको मोटरसाईकलमा रिईसिबी साध्न उसले आफ्नै घरबाट पेट्रोल ल्याई मोटरसाईकलमा खन्याई सलाई समेत कोरी आगो लगाई उपद्रव गरेको रहेछ । तत्कालैै मैले प्रहरीलाई उक्त घटनाको बारेमा जानकारी गराएँ । मुलुकी फौजदारी कार्याबिधी (संहिता) ऐन २०७४ को दफा ३१ को उपदफा (१) वमोजिम प्रस्तुत गरिएको मुलुकी अपराध  संहिता, २०७४ अन्तरगत अपराधिक दपद्रव गरेको कसुर अभियोगमा उजुरी दर्ता गरें । जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घटना विवरण सहितको फाईल पेश गरेको थियो । २०७६ असार २० गते उजुरी दर्ता भयो । असार १९ गते दिउसो साँढे ४ बजेको समयमा उक्त घटना भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका वडा नम्वर ८ दोलालघाटमा मेरो स्थायी बसोबास हो । प्रहरी मार्फत सरकारी वकिलले पेश गरेको मुद्दामा जिल्ला अदालत काभ्रेपलाञ्चोकले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । तर पनि उसको डर, धम्कि र त्रास कायमै छ ।         
    अपराध कर्ममा सलग्न बासु गिरीले प्रहरी समक्ष घटना स्विकारेका छन् । गिरी १० बर्ष अगाडी देखी किनारा पसल ब्यवसाय गरी जिबिका चलाउदै आएका थिए । मेरो ससुराली घर र उनको घर सँगसँगै हो । घर नजिकै रहेको हुँदा म ससुराली जाँदा उसँग देख भेट भएको थियो । प्रहरीमा गिरीले दिएको बयान यस्तो थियो । ‘काभ्रेपलाचोक जिल्लाको भुम्लु गाँउपालिका वडा नम्बर ८ दोलालघाटमा होटल रगेष्ट हाउस संचालन गरी आएका युवकबहादुर चौलागाईलाईलाई म राम्रो सँग चिन्दछु । करिब २ महिना महिना अगाडी म भतिजो बर्ष ३८ को  शिबराज गिरी बिरामी रहेको हुँदा उपचार गराउन धुलिखेल अस्पताल गएको थिएँ । धुलिखेल अस्पतालबाट उपचार गराई  आफ्नो घर जान अरनिको राजमार्ग हुँदै फर्कने क्रममा दोलालघाटमा सवारी दुर्घटना भएका कारण सोहि दिन घरमा पुग्न सकिन । घरमा पुग्न नसके पछि बास बस्नु पर्यो भनि बेलुका ८ बजेको समयमा चौलागाईको कोशिपारी होटल गेष्ट हाउसमा पुगें । उसले तलाई यहाँ छैन भन्यो । मलाई रिस उठ्यो । त्यति खेर हामी बीच सामान्य धकेलाधकेल भयो । म र भतिजालाई बास बस्न नदिए पश्चात मैले उसलाई तेरो ससुराली घर मेरो घर नजिकै हो पख्लास तँ मोटरसाईकल लिई मेरो घरको बाटो आउलस भनि धम्क्याएको थिएँ । सोहि दिन म दोलालघाटको बाटो किनारामा र भतिजो सोही नजिक बिद्यालयमा सुती भोली पल्ट बिहान आफ्नो  घरमा गयौं । त्यो घटना देखि मलाई उसँग रिस र इख दुबै बढ्यो । उसँग बदला लिन्छु भन्ने मनमा ईख राखी  रहेको थिएं । असार १८ गते होटलवाला चौलागाई र उसको श्रीमती ससुराली घर भुम्लु गाउँपालिका वडा नम्वर ७ पुगेका रहेछन् । उनिहरु भर्खरै किनेको नयाँ मोटरसाईकलमा गएको मैले जानकारी पाएँ । मोटरसाईकल उसको घरसम्म जाँदैन थियो । त्यो अवसर मैले छोप्ने निर्णय गरें । आसार १९ गते बिहान राती अन्दाजी ४ बजेको थियो । पहिलाको बदला लिन्छु भन्ने सोच राखी युवकबहादुर चौलागाइईलाई भेटे ढुंगाले हान्छु नभेटे डिजेल पेट्रोल खन्याएर उसले चढी आएको मोटरसाईकल जलाई दिन्छु भन्ने सोच लिएर आफ्नै घरमा रहेको डिजेल समेत साथैमा लिएर उसको ससुराली घरमा गएँ ।  त्यहाँ पुग्दा युवक र उसको श्रीमती सँगै देखे । ढुंगा हान्दा उसको श्रीमतीलाई लाग्ने भएकोले त्यसो गर्न मनले मानेन । म सडकमा आएँ । उसले बाटोमा साईड लगाएर रोकेर राखेको प्रदेश नम्वर ३–०२–०० ६ प २८७० नं.२२० सि.सि.को पल्सर मोटरसाईकल देखें । हातमा डिजेल थियो । मोटरसाईकलको तेल अन अफ हुने स्थानको तार छुटाई मोटरसाईकल सफा गर्ने कपडा निकाले । त्यो कपडामा पेट्रोल छर्के । मैले लगेको डिजेल पनि राखें । लाईटरले उक्त कपडा सल्काई मोटरसाईकलमा आगो लगाई दिएँ । मैले मोटरसाईकलमा आगो लगाएको युवकबहादुर चौलागाई समेतका ब्यक्तीहरुले देखेका थिए । उनिहरु जलेको मोटरसाईकल नजिक आई आगो निभाए । म आप्नो घर तर्फ जाँदै थिएँ । उनिहरुले मलाई घरमा नै भेटेर किन मोटरसाईकलमा आगो लगाईस् भन्दै लछार पछार पारी कुटपिट समेत गरे । तत्काल प्रहरीलाई पनि खवर गरेका रहेछन् । उनिहरु आफैले घर नजिक डाँडासम्म ल्याएका थिए । त्यहाँ प्रहरी पुग्यो र मलाई पक्राउ गरी दोलालघाट प्रहरी चौकी मार्फत धुलिखेल पठाईएको थियो । उसको पल्सर मोटरसाईकल म एक्लै जलाएको हुँ । कानुन अनुसार लाग्ने क्षति पुर्ती तिर्न म तयार छु ।’ 
    प्रहरीले उक्त घटनामा आवश्यक अनुसन्धान गरी २०७५ चैत्र १५ गते नगद तिनलाख पन्ध्रहजारमा खरिद गरेको उक्त मोटरसाईकल भुम्लु गाँउपालिका वडा न.०७ को पल्ला टोल स्थित सडकमको छेउमा पार्किङ गरी राखेकोमा बासु गिरीले पुर्ब योजना बनाई घरबाट डिजेल पेट्रोल लिइ कपडामा डिजेल पेट्रोल छर्केर मोटरसाईकलमा झोसी जलाई काम नलाग्ने अबस्था बनाई दिएको पुष्टी गरेको छ । प्रहरीले मुलुकी अपराध संहिता,२०७४ को परिच्छेद २६ को दफा २८५ को उपदफा १ र २ (ख) बमोजिम कसुर अपराधमा सोही ऐनको दफा २८५ को दफा (३) (घ) बमोजिम सजाय गर्न र सोही दफाको उपदफा ४ बमोजिम क्षति पुर्ति सहितको माग दाबि गरेको छ । भुम्लु गाँउपालिका वडा न.०७ का संजिब कुमार खरेल, यादब राज खरेल, ध्रुबराज खरेल लगायतले घटनाका बारेमा प्रहरीलाई सत्यतथ्य जानकारी गराउनु भएको छ । यस्तो अपराधि कार्य गर्ने बासु गिरीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्बाही र सजाय हुनु पर्छ भन्ने बयान उहाँहरुले प्रहरी समक्ष दिनु भएको छ । सोहि बयान र घटनाको प्रमाणका आधारमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले उसलाई पुर्पक्षका लागि जिल्ला कारागार पठाएको छ । प्रहरीले गरेको अनुसन्धानले पनि उक्त कुरा प्रमाणित गरेको छ । उसको धम्की, उसको स्विकारोक्ति र हामीले प्रष्ट देखेका आधारहरु छन् । तर अहिले पनि उसले जेल भित्रैबाट त्यसको मोटरसाईकल जलाएँ पैसा तिर्दिन । निस्किए पछि सकेको अझै गर्छु भन्दै धम्कि दिएको रहेछ । मुलुकमा कानुन छ । कानुन अनुसार उसलाई प्रहरीले पक्राउ गरी अदालतले जेल पठाएको छ । हामी निमुखा, गरिवहरुले न्याय नपाउला भनेर विश्वास गर्न सकिएला र ? 

युवकबहादुर चौलागाई 
दोलालघाट ८, भुम्लु गाउँपालिका, काभ्रे