2019 December 09/ 06:11: 15am

    रातभर झमझम पानी पर्दा पनि मन पोल्न छोडेको छैन । समय यसरी उल्टो फर्केला भनेर त मैले सोच्न समेत एक मिनेट खर्च गरिनँ जीन्दगीमा । यस्तो चंगोलमा फसेकी म त्यसको पीडा बोध भएको छ तर त्यसबाट निस्कन सकेको छैन म । सायद आफूलाई जिन्दगीभर माफ समेत गर्न सक्दिन होला । खै किन मान्छे यति सम्म क्रुर हुन्छन् होला । म त सानै थिए यस घटना र मेरो भुमिकाको असर बारे मलाई के थाहा र ? तर जान्ने बुझ्नेहरु किन पैसाको निम्ति यति धेरै पापकर्म गर्छन् मैले बुझिनँ । जब बुझ्दैछु आजकाल जीन्दगी संग गुनासो मात्र छ, प्रायश्चित मात्र छ । मेरा जस्तै सपनाहरु अरुका पनि थिए होलान् हुन त सम्पुर्ण घटनाको जिम्मेवार म मात्र त थिइनँ तर पनि मेरा कर्म र भूमिकाले जे गर्यो त्यसको भागिदार म पनि हुँ भन्ने लाग्छ र म लज्जीत छु । आफ्नै शीर ठाडो पारेर हिड्न सक्ने औकात छैन म सँग प्रायश्चितको आगो दनदन दन्किएको छ मेरो छातीमा । म आफैँ भित्र मरिरहेको छु दिनदिन । किनकिन जीन्दगी सँग कुनै आशा नै नरहे झैँ लाग्छ मलाई । उकुसमुकुस छु । न कसैलाई भन्न सक्छु न कसैलाई साट्न नै सक्छु । आफैँ भित्र तड्पिनुको विकल्प नै छैन आज । 
    खै कहाँबाट सुरु गरौँ । म सँग साहस नै छैन तर पनि हिम्मत बटुल्दैछु कि आफ्नो पापको प्रायश्चित गर्न नसके पनि गुम्सिएको पीडालाई यो स्तम्भ मार्फत पोखँु । सामान्य परिवारमा जन्म भयो । आमाको गर्भमा हुँदै बाबा बितेको रे अनुहार समेत थाहा छैन मलाई । आमाले मजदुरी गर्दै समाजको अनेक लाञ्छना सहँदै हुर्काइन् पनि । एक त एकल महिला कि त्यसमाथि पनि म छोरी मान्छे थिए, गरिबी त झनै विकराल थियो । समाजले जसरी प्रयोग गर्न चाह्यो सोही अनुसार भइदिनुपर्ने रहेछ हामी महिलाले अनि गरिबले । मान्छेको जीन्दगी माथिको राजनीति पनि हामीले नै सफल बनाइदिनुपर्ने, कस्तो तितो यथार्थ छ हाम्रो समाजको । आमाको अनेक दुःखमा म अर्को दुःख थिए । नबुझ्ने हुनेखानेका परिवारका बच्चाजस्तै मेरा चाहाना र मागले मेरी आमा हैरान थिइन् । गाउँ घरका अन्य केटाकेटी साथीहरुसंग खेल्ने क्रममा कसैलाई केहि भयो भने पनि दोष म माथि नै थोपरिन्थ्यो । उतिबेला त प्रतिशोधको भावना आउँथ्यो तर आजकाल बुझ्दै छु गल्ति नगरेपनि कमजोरहरु नै पेलिनुपर्ने रहेछ । गाँउमा सबै बालबालिकाको खेल्ने मैदान एउटै थियो । स्कुल सकेपछि भेला भएर सँगै खेल्थ्यौँ सबै जना १०÷१५ जना नै सँगै हुन्थ्यौ हामी । सामान्य तरिकाले चलि नै रहेको थियो । हाम्र्रो नियमित तालिका भनेकै उठ्यो आमाले पकाएको खाना खायो विद्यालय गयो फर्केपछि उहि खेल मैदानमा साँझ नपरुन्जेल खेल्यो र घर फर्कियो अनि गृहकार्य गर्ने, पढ्न,े खाना खान,े सुत्ने । सामान्यतया हाम्रो गाउँका सबै बालबालिकाको दैनिकी नै थियो यो । 
    सामान्य झैँ हामी सबै सँगै खेलिरहेका थियौँ । मेरो घर भन्दा माथि घर भएकी रमिता साथि आइनन्, उनी बोर्डिङ स्कुल जान्थिन तर म भने गाउँकै सरकारी स्कुल जान्थेँ तर साँझ खेल्ने मैदान भने एउटै हो, उहि पिपलटारे मैदान । किन आइनन् भन्ने पनि लागेन किनकी कहिलेकाहिँ होमवर्क बढि हुँदा र परिक्षाको समयमा अरुबेला पनि आउँदिन थिइन् । सामान्य भैmँ नै लाग्यो । खासै अरु साथीले पनि किन आइनन् भन्ने कुराको ख्याल गरेनन् । हामी खेलिनै रहेका थियौँ । हामी भन्दा एक दुई बर्ष उमेरले दाईहरु पनि हाम्रा साथी थिए । त्यतिकैमा एक हुल प्रहरीहरु भ्यान सहित हामी खेलिरहेको ठाउँमा आए र सोधे रोहन को हो ? हामी सबै डरायौँ, कोहि पनि बोलेनौ । किनकी हामीले त्यसभन्दा अघि त्यति नजिकबाट त्यति धेरै प्रहरीहरु देखेकै थिएनौ । फेरी प्रहरीले सोध्यो रोहन को हो ? भनेर अझै हामी बोलेनौ । त्यसपछि रमिता र उनकी आमा भ्यानबाट झरेर रोहन उहि हो भनेर रोहनलाई चिनाइन् त्यतिकैमा प्रहरीले रोहनलाई समात्यो र भ्यानमा राखेर लग्यो । हामी दौडेर रोहनको घरमा गएर सबै कुरा सुनायौँ । रोहनको आमा त्यहिँ ढल्नुभयो । रोहनको बुबा छिमेकका काकाहरुलाई लिएर चौकीतिर लाग्नुभयो । हामी पनि डरले आ–आफ्नो घर लाग्यौ । रातभर डरले आमाको अंगालोबाट हात समेत नझिकिकन सुतेँ खासै निद्रा पनि परेन । बिहान आमाले रातभर कत्ति बरबराईस् सात्तो गयो कि समेत भनेको याद छ । साह्रै डर लागिरहेको थियो । स्कुल जान समेत कसरी जाने झैँ भयो तर पनि जानै पर्यो । तर पनि आमालाई घरी घरी सोधिरहेँ आमा रोहनलाई किन पुलिसले लगेको ? आमाले मलाई थाहा छैन आजबाट खेल्न गइस् भने खुट्टा भाँचिदिन्छु भनेर हकारिन् । स्कुलबाट फर्कदा त घरमा एक हूल अपरिचित मान्छेहरु मलाई नै कुरिरहेका थिए । म वास्तै नगरि घरभित्र छिरेँ आमाले बोलाईन् अनि म निस्केँ । निस्केपछि म नै अपराधि जसरी सोधपुछ गरियो । मैले मलाई केहि जानकारी नभएको बताएँ । आखिर मलाई थाहा पनि त केहि थिएन । पछि आमाले भन्नुभयो कि रोहनले रमितालाई बलात्कार गरेको रे अनि उसलाई पुलिसले पक्रेको रे । म त के भए नै थाहा छैन जब कि मैले बलात्कार भनेको के हो समेत बुझेकी थिईनँ । र मेरै उमेरकी रमिता, खै कसरी भयो यस्तो मलाई थाहा नै भएन । दिन बित्दै गयो । हाम्रो खेल्ने थलो सुनसान बन्दै गयो घरबाट खेल्न जाने दायाँ बायाँ जाने कुरामा बन्देज झैँ लाग्यो । म लगायत खेल्ने साथीहरु सबैलाई पुलिसकोमा लैजाने कुरा भएछ । त्यसको अघिल्लो दिन मेरो घरमा फेरी एक हूल मान्छेको भिड लाग्यो रात परेपछि । नेता, बुद्धिजीवी, संघसंस्थाका प्रतिनिधि सबै थिए । म आफैँ पीडित भइसकेकी थिए । अनेक तरहले मैले बलात्कार गरेको देखेको भनिदिनुपर्ने दवाब आयो बलात्कार भनेको नै नजानेकी मलाई दादाले रमिता लगायत मेरो पनि यहाँ चलाउनु भयो उहा चलाउनुभयो यसो गनुभयो उसो गर्नु भयो भन्न लागाइयो । मैले देखेको छैन म भन्दिन भन्दा मलाई फकाउने, हप्काउने तर्साउने लगायतका कुरा भयो । आमालाई समेत नानाथरी भने । गाउँका नेता आए, अपराधिलाई उम्कन दिनुहुन्न तैले भन्नै पर्छ भने । मलाई किन यति धेरै गरिराछन् मेरो बाल मस्तिष्कले कसरी बुझोस् । आमालाई प्रलोभन समेत दिनपछि परेका थिएनन् तिनिहरुले । मैले अझै पनि नदेखेको कुरा भन्दिन । मलाई दादा र साथी दुवैको माया छ भने दुबै जना अस्ति जस्तै म संगै खेल्न आउनुपर्छ भने । त्यसपछि मलाई झुक्याईयो मैले यो सब प्रहरीकोमा भनेमा रोहन दादा तथा रमिता दुबै पहिले जस्तै खेल्न आउने भन्दै रातभर मलाई छोडेनन् आमाले त मुन्टो हल्लाउदै नभन्न आग्रह नगरेकी होईनन् तर मैले मात्र साथीहरु संगै खेल्न पाउने स्वार्थका लागि उनिहरुको साथ लागे जसोजसो भन भने उसैउसै भन्दै गए । मलाई के थाहा कि मेरो बयानका कारण रोहन दादा कहिल्यै नआउने गरि जेल जान्छ भनेर । मलाई आजसम्म पनि थाहा छैन कि रोहनले साँच्चिकै रमितालाई बलात्कार गरेको थियो भनेर । र म विश्वास गरुँ कसरी जबकी मेरो आँखाले न केहि देख्यो न महसुस नै ग¥यो । विश्वास नगरुँ आफ्नै छोरीलाई  बलात्कार नै नगरी कोहि आमाले बलात्कार ग¥यो भन्न कसरी सक्छे र ? तर रमिता माथि घटना घटेको भए पनि मेरो गल्ती भनेको अरुको लहलही र झुक्यानमा परेर गलत कुरा बयान गरेँ रोहन गलत हो होइन मलाई थाहा छैन तर मैले जे बोलेँ गलत बोलेँ भन्ने कुराले म सधैँ छटपटिरहेको छु । अदालतले जेल पठाएको रे । गाँउभरी हल्ला भयो फलानो अपराधि हो भनेर । रोहनको पक्षमा बोल्ने त्यतिबेला मैले कोहि देखिनँ । उ पनि बच्चा नै थियो भन्ने सहानुभूति त परै जाओस् । यदि रोहनले गल्ति गरेकै थियो भने उसले सजाय पायो ठिकै छ तर गल्ति थिएन भने त्यसको परिणाम के हुन्छ यो समाजले त्यो कहिले सोचेन । म जस्तो अबोधलाई समेत फकाई फुलाई गलत बोल्न लगाईयो । किन स्वतन्त्र रुपमा आफ्ना कुरा समेत बोल्न दिदैन यो समाज । स्वतन्त्र रुपमा भन्न सम्म दिएको भए पनि मलाई त्यति आत्माग्लानी हुन्न थियो होला, त्यसले त्यति पोलेको छ मलाई जति आगोले किन पोल्थ्यो होला । प्रत्यक्ष रुपमा मैले गल्ति गरेको पनि होइन, देखेको पनि होइन र मलाई कसैले केहि गरेको पनि होइन भन्ने सत्य मैले मेरी आमा बाहेक कसैलाई भनिनँ । 
    आमाले रोहनको परिवार मार्फत एकपटक मेरो सत्य कुरा अदालतमा सुनाउन प्रयास पनि गरेकी थिईन् तर ढिलो भइसकेको थियो । केहि फाइदा नभएको बुझेपछि म झन् पिडामा परेको छु । जति उमेर बढ्दै छ जति बुझ्ने हुँदै छु त्यो घटनाले मलाई अझै सताउँदैछ । कस्तो समाज छ हाम्रो पैसा विना त निरपराधि समेत अपराधि बन्नुपर्ने, भएको अपराध समेत छोपिने । नेता भ्रष्ट, कर्मचारी भ्रष्ट अड्डा अदालत सबै भ्रष्ट । निमुखाले निस्कलंक बाँच्न सक्ने अवस्थै छैन । आज पनि पैसाको निम्ति राजनीति गर्ने र जागिरको निम्ती आफ्नो नैतिकता समेत गुमाउनेहरु देख्दा साह्रै दुःख लाग्छ । त्यस घटनापछि रमिताको परिवार काठमाडौँ बसाईँ सर्यो । रोहनको परिवारले पनि खै कता तराई तिर बस्न गएको भन्ने सुनेकी थिए । तत्पश्चात न त रमिता सँग बोलचाल र भेटघाट छ ।  रोहन जेलमै छ या छुट्यो मलाई थाहा छैन । मेरो बाल मस्तिष्कले गल्ति गरेको मैले महशुस त पक्के गरेँ तर एक पटक रोहन संग भेटेर सत्य तथ्य भन्न पाए आत्माले शान्ति पाउँथ्यो कि भन्ने छ र रमिता सँग भेटेर प्रष्ट हुन मन छ आखिर सत्य के थियो ? अरु त यस्तै हो यो निरिह समाज सँग मेरो केहि अपेक्षा नै छैन बस् यत्ति मात्र । 

आशा काफ्ले 
भक्तपुर