2019 October 17/ 01:18: 07am

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले मुलुकी फौजदारी कार्याविधि (संहिता) ऐन २०७४ को दफा ३१ को उपदफा बमोजिम प्रस्तुत गरिएको बैकिङ्ग कसुर अपराध सम्बन्धी कसुरमा गरेको अनुसन्धानबाट समेत उनिहरु दोषि देखिएका छन् । प्रहरीलाई २०७५ माघ २३ गते दिनको ३ बजे घटनाका बारेमा जानकारी भयो । २०७५ माघ २४ गते प्रहरीले उजुरी दर्ता गरेको थियो । २०७५ माघ १७ गते राष्ट्रिय बाणिज्य बैंक बनेपा शाखामा रकम जम्मा गर्न गएको थिएँ । मेरो चेक बुक सोही बैंकमा छुटेको रहेछ । धेरै पछि मात्रै मैले त्यो कु्रा थाहा पाएँ । चेक बुक छुटे पछि सोही बैंकमा तत्कालिन समयमा कार्यरत रहेका अमृत श्रेष्ठ र रोशनराज श्रेष्ठले छुटेको चेक बुक लिई सोहि बैंकमा रहेको मेरो दस्तखत नमुना हेरी केहि दिन सम्म उक्त दस्तखत किर्ते गर्न सिकेछन् । मेरो किर्ते गरेको दस्तखत आरोपित कसुरदार गोबिन्द सापकोटालाई ००३१०२३६०६ नम्बरको चेक थान १ काटी दिई उक्त चेकमा २०७५ माघ १८ गतेको मिति राखेर बाणिज्य बैक धुलिखेल शाखाबाट २०७५ माघ २१ गते ७० हजार रुपैयाँको चेक साट्न लगाएका रहेछन् । उक्त चेक अनाधिकृत रुपमा सटनी गरी रकम निकालेको जानकारी पाए पछि मैले अभियुक्तहरुलाई कानुन बमोजिम कार्बाही गरी पाँउ भनि २०७५ माघ २३ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी गरेको थिएँ । उजुरी दिए लगत्तै प्रहरीले बनेपा ७ चारदोबाटोबाट रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं. ०१ गोटगाँउ घर भई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. ०७ भिमशेन स्थान बस्ने बर्ष २२ का अमृत श्रेष्ठ, दोलखा जिल्ला मेलुङ्ग गाउँपालिका वडा नं. ०६ मेलुङ्ग घर भई काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं.१० पुलबजार बस्ने बर्ष २१ का रोशनराज श्रेष्ठ, काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं.१ रयाले बस्ने बर्ष २२ का गोबिन्द सापकोटालाई प्रहरीले पक्राउ गरेको थियो । 
    अनुसन्धान अधिकृत प्रहरी निरिक्षक दिपककुमार रायले घटनालाई गहिरो अनुसन्धान गरी दोषिलाई कडा कारवाही गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । प्रहरी समक्ष अभियुक्त मध्येका गोविन्द सापकोटाले यस्तो बयान दिएका रहेछन् । ‘म केही बर्ष अगाडि देखी पिङवयल फियर सोसाईटी मार्फत भारतमा काम गरी कमाई खाई आएको थिएँ । त्यहि क्रममा मेरो स्वास्थ अबस्था ठिक नभई गर्मीको कारण गएको दशैंमा घरमा आई आफुले काम गरेको फर्निसिङ्ग सम्बन्धी कम्पनी खोल्नका लागि तयारी गरिरहेको थिएँ । त्यहि क्रममा मैले एउटा सटर पनि प्राप्त गरेको थिएँ । सटर प्राप्त गरेपछि मैले त्यसकै लागि प्रकृया अगाडी बढाउने क्रममा चिनजानका एक ब्यक्ति भेट भए । उनी बनेपामा रहेको एउटा क्याम्पसमा तेश्रो वर्षमा अध्ययनरत रहेछन् । क्याम्पसमा अध्ययन गर्दा गर्दै ईन्टरसिपको लागी उनि राष्ट्रिय बाणिज्य बैंक बनेपा शाखामा गएका रहेछन् । मैले अमृत श्रेष्ठ र रोशनराज श्रेष्ठ समेत दुई जनालाई १५÷२० दिन अगाडी भेटघाट गरी कुराकानी गरेको थिएँ । त्यहि चिनजानका आधारमा उनिहरुले मलाई चेक भेटेको र सही समेत मिलाएकोले साटेर ल्याउ भनी अह्राएका थिए । उनिहरुले अह्राएको आधारमा मैले चेक लिएर साट्न जाने हिम्मत गरेको थिएँ । उनिहरुले दिएको चेक बोकी म राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय धुलिखेलमा पुगें । चेक साटियो । चेक साटिए लगत्तै उनिहरु दुवैजना रोशनराज श्रेष्ठ र अमृत श्रेष्ठलाई मैले सबै रकम दिएँ । मैले त्यो रकम लिएको पनि छैन । त्यसपछि म आफ्नो काममा ब्यस्त भएँ । त्यहि क्रममा माघ २३ गते मलाई साथी अमृत श्रेष्ठले फोन गरी बोलाए । ईन्टरसिपमा काम गर्ने राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय बनेपामा बोलाए पछि म आएँ । त्यहाँ आउँदा प्रहरी आएको रहेछ । प्रहरीले मलाई समेत पक्राउ गरेर ल्याएको थियो । अरु विषयमा मेरो संलग्नता छैन । उनिहरुले गरेको किर्तेका बारेमा पनि मलाई जानकारी थिएन । कसको चेक हो ? कति रकम खातामा छ ? त्यो पनि मलाई जानकारी थिएन । म कुनै पेशा ब्यवसाय गर्ने सोचले भारतबाट नेपाल फर्किएको थिएँ । साथीहरुको आग्रह अस्विकार गर्न नसक्दा मैले दुःख पाएँ ।’ 
    अर्का अभियुक्त अमृत श्रेष्ठले पनि अभियोग स्विकार गरेका छन् । प्रहरी सामु उनले यस्तो भनेका रहेछन् । ‘म बनेपाको एक क्याम्पसमा विविएस तेश्रो बर्षमा अध्ययनरत छु । अध्ययनको क्रममा ईन्टरसिपको लागी कलेजले राष्ट्रिय बाणिज्य बैंक बनेपा शाखामा दुई महिनाको लागि पठाएको थियो । मैले कलेजको अनुमतिमा उक्त शाखामा आई काम गरिरहेको थिएँ । त्यहि क्रममा २०७५ माघ १७ गते बेथानचोक गाउँपालिका वडा नं. ०४ घर भएका रामबहादुरको छोरा बर्ष ४० का शुकदेव राष्ट्रिय बाणिज्य बैंक बनेपा शाखामा आई आफ्नो काम सकी घर तर्फ जाने क्रममा उनले आफ्नो बैंकको आफ्नो खाताको ४÷५ वटा चेक फर्म भर्ने टेबलमा छाडी गएछन् । उक्त चेक मैले भेटै पश्चात सँगै ईन्टरसिपमा आएका रोशनराज श्रेष्ठ सोही बैंकको कम्प्युटरमा काम गरी बसेको अबस्थामा मैले उक्त चेक निजलाई देखाई निज ब्यक्तिको खाताबाट सही तथा के कति ब्यालेन्स रहेको छ भनी सोधें । उसको खाता चेक गर्दा ४ लाख जति पैसा देखियो । निजको सही समेत मेरो साथीले मिल्छ वा मिल्दै भनी सत्तरी हजार मात्र भरी चिनजानको साथी गोबिन्द सापकोटालाई भेटी चेक भेटेको र सही समेत मिलाएको कुरा बताई साटिन्छ साटिन्न चेक गर्न भनी राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय धुलिखेलमा पठाएका थियौं । उक्त चेक साटी रकम समेत लिई आए पछि उक्त पैसा लिई साथी रोशनराज श्रेष्ठले आफु संँग राखेका थिए । भोलिपल्ट दिउँसो शुकदेव तामाङले आफ्नो चेक हराएको र पैसा समेत निकालेको म्यासेज आएको कुरा बताए पश्चात हामीले उक्त पैसा निकालेको बतायौं । हामीले निकालेको रकम शाखा कार्यालय बनेपामा कार्यरत कर्मचारीहरुको अगाडी २०७५ माघ २१ गते फिर्ता दियौं । शुकदेब तामाङ खाना खान भनी बाहिर गएको अबस्थामा धुलिखेल शाखाका म्यानेजर आई प्रहरीमा कम्प्लेन गरी २०७५ माघ २३ गते म समेतलाई प्रहरीले पक्राउ गरी ल्याएको थियो । उक्त समयमा ७० हजार निकालेको एसएमएस सुकदेवको मोबाईलमा नगएको हो भने हामीले उनको खातामा भएको अन्य रकम पनि निकाल्ने योजना बनाएका थियौं । पैसा निकाले र ल्याएका मात्रै थियौं । भागबण्डा गरिसकेका थिएनौं । अध्ययन गर्न गएका हामीहरुले त्यस्तो गर्नु हुँदैन थियो । तर पनि लोभले लाभ, लाभले विलाप भन्ने उखान हाम्रो जीवनमा मिल्न गयो । कानुन अनुसार हामी कारवाही भोग्न तयार छौं । बाँकी भविश्य पनि नविग्रियोस भन्ने चाहना छ । जे नहुनु थियो त्यो भयो । यसले हामीलाई जीवनमा ठुलो पाठ भएको छ ।’ 
    अमृत र गोविन्दकै जस्तो बयान दिएका छन् रोशनराज श्रेष्ठले । साथी अमृतका लहैलहैमा लागेर गरेको गल्ति उनले पनि स्विकारेका छन् । उनले आफुले गरेको गल्तिको सजायँ भोग्न तयार रहेको बयान दिएका छन् । अझ प्रहरीकोमा उनले भएको रकम फिर्ता गरिसकेपछि यस्तो सजायँ भोग्नु नपर्ला भन्ने सोचेको बताए । प्रहरीले बैकिङ्ग कसुर अनुसार कारवाही चलाए पछि उनिहरुले भविश्यको चिन्ता ब्यक्त गरेका थिए । प्रहरीले उनिहरुको साथबाट केहि सामाग्रीहरु पनि बरामद गरेको थियो । प्रहरीले आर्थिक लाभ लिने मनसायले गरेको उक्त अपराधका सम्वन्धमा जिल्ला सरकारी वकिलको कार्यालय मार्फत अनुसन्धानको सिलसिलामा मिसिल संलग्न हुन आएका जाहेरी दरखास्त,  आरोपित कसुरदारको बयान कागज, घटना विवरण कागज, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको जवाफ पत्र तथा बैंक स्टेटमेन्ट समेतका आधार प्रमाणबाट आरोपित कसुरदार अमृत श्रेष्ठ, रोशनराज श्रेष्ठ र गोबिन्द सापकोटा समेतले जाहेरवालाको चेक फेला पारी बैंकमा ईन्टरसिपको लागी खटिएको आरोपित कसुरदारहरु मध्ये रोशनराज श्रेष्ठले बैंकमा रहेको कम्प्युटरबाट जाहेरवालाको ब्यक्तिगत विवरण हेरी खातामा रहेको हस्ताक्षर किर्ते गरी अर्का आरोपित कसुरदार गोबिन्द सापकोटालाई राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय धुलिखेलमा सटही गर्न पठाई बैकिङ्ग कसुर अपराध गरेको हुँदा निज आरोपित कसुरदारहरुलाई बैकिङ कसुर तथा सजाय ऐन २०६४ को परिच्छेद २ को देहाय दफा ५ र  १२ नं. को कसुर अपराधमा सोही ऐनको दफा १५ (२) बमोजिम सजाय हुनुपर्ने मागदाबी पेश गरेको थियो । 
    प्रहरीले २०७५ फागुन ७ गते उक्त मुद्दालाई सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गरेको थियो । अध्ययन गर्न गएका विद्यार्थीहरुले समातेको गलत बाटोलाई नियन्त्रण गर्न प्रहरीले तत्काल देखाएको तदारुकता र बैंकले लिएको एक्सनले म खुशी छु । म जस्ता थुप्रै सर्वसाधारणको रकम बैंकमा जम्मा गरिएको हुन्छ । अझ राष्ट्रिय बाणिज्य बंैक र नेपाल बैंकमा त सरकारले समेत विश्वास गरेर हामी जस्ता ब्यक्तिहरुको रकममा सुरक्षा प्रदान गरेको छ । बैंकले दिएका सबै सुविधा सर्वसाधारणले उपयोग गर्न सक्दैनन । मैले पनि एसएमएस सिस्टम नराखेको भए तत्काल मलाई त्यो कुरा जानकारी हुँदैन थियो । उक्त कुरा जानकारी नभए पछि मैले बैकमा आएर गुनासो गर्न सक्दिन थिएँ । मेरो खातामा चार लाख रकम छ भनेर म ढुक्क भएर बसेको भए सायद तत्काल अपराध गर्ने ब्यक्ति पक्राउ गर्न सम्भव थिएन । मेरो हकमा त्यो कुरा लागु भयो एसएमएसका कारण मेरो रकम जोगियो । चेक बुक हराएको समेत जानकारी नपाउने ब्यक्तिहरुका लागि बैकले कसरी उनिहरुको खाता सुरक्षित राखिदिन सक्छ ? गम्भिर प्रश्न बनेको छ । हरेक बैंकमा त्यस्ता ब्यक्तिहरु हुन सक्छन् । उनिहरुका भरमा ब्यक्तिले विश्वास गरेर राखेको रकम कसरी सुरक्षित बनाउन सकिएला ? 

 

सुकदेव तामाङ
चलाल, काभ्रे