2025 July 14/ 05:26: 18am

    अँ म त भगु संगै बिहे गर्ने हो साह्रै मन पर्यो भन्दै झन् गफ गर्न मच्चीइन् । मेरो नाम भगवान भए पनि मामाघरमा सबैले भगु भन्नुहुन्थ्यो मलाई । यत्री ठुली केटीले म जस्तो सानो केटासंँग किन बिहे गर्छु भनेकी होली ? मनमनै चिन्ता पर्न थालेको थियो । उसको उमेर त्यस्तै सोह्र सत्र थियो होला म एघार बाह्रको मात्रै । त्यहि पनि अलिक होचो थिएँ । उसले माया गरेर दिएको पाकेका बेलौती पनि मलाई फकाउन दिए जस्तो लाग्न थाल्यो । मलाई त साँचै उसले मसंँग नै बिहे नगरी नछाड्ने भै भने कसरी उसलाई दुलही बनाउने होला ? दुलही भएपछि के गर्नु पर्ने हो भन्ने पनि थाहा नभएको त्यो उमेरमा एक्कासी आईलागेको यो तनावले म भित्र भित्रै उकुसमुकुस भैरहेको थिएँ । म उसलाई बिहे गर्दिनँ भन्न सकिरहेको थिइनँ । भनिहाले पनि मेरो कुरा सुनिदिने कोहि थिएन । मावल्नी दिदीहरुले झन् उल्टै उसलाई उक्साउदै ए तिमी त हाम्री भाई बुहारी बन्ने नै हौ त ? अलिक मिठो मिठो खान देउ है हाम्रो भाईलाई भन्दै मच्चाईरहनु हुन्थ्यो । घरबाट मसंँग साथमा गएकी मेरी सहोदर दिदी भने खासै त्यति धेरै बोल्नु भएको थिएन । दिदीको लागि पनि त्यो ठाउँ नौलो र तिनी अलिक नौलै थिइन् तर पनि दिदीले यो सानै छ यसको बिहे गर्ने बेला भएको छैन भनि दिए हुन्थ्यो नि जस्तो चाँहि लाग्थ्यो । 
    दशैंको रमझम चलिरहेको थियो । म आफै हिंडेर पुग्न सक्ने भए पछि पहिलो चोटी दिदीसंँग मामाघर दशैंको टिका लगाउन जाँदै थिएँ । घरबाट हिंडे देखि नै हरेक कुरा नौलो लागिरहेको थियो । दिदी भने त्यस अगाडी नै धेरै चोटी हिंडेकोले बाटो बिराउने सम्भावना थिएन । बाटोमा समथर खेत पर्दथ्यो । खेतको बाटो हिड्दै गर्दा एक जना महिला भेटिइन् उनि पनि त्यतै जाँदै रहेछिन् । उनी एकोहोरो बोल्दै थिईन् । बेलुका घाम अस्ताउने बेला हामी घुमाउने खोला नजिक पुग्यौं । त्यहाँ निकै डर लाग्दो थियो । त्यहाँ मरेका मान्छे पुर्ने ठाउँ र निकै निर्जन ठुलो बगैंचा पनि थियो । त्यो स्थान हुँदै खोला तरेर केहि उकालो हिंडे पछि मात्रै हाम्रो मामाघर आउंँथ्यो । डांँडाघरको पँधेरो नजिकै पुग्दा त्यहाँ कान्छी माईजु पानी लिन आउनु भएको रहेछ । त्यहीं झुम्म रुखै रुखले ढाकिएको छहारी र त्यो मुनि पँधेरो रहेछ । त्यहाँ भुईंभरी कटुसको फलहरु देखिन्थ्यो । कटुस भित्रको फल खाए पनि बाहिरको बोक्रा सहितको त्यो फल र बोट पहिलो चोटी देखेको थिएँ त्यो पनि मेरो लागि नयाँ थियो । मामाघर पुग्दा घरमा हजुरबुबा र दुई दिदीहरु मात्रै हुनुहुन्थ्यो । हजुरआमा, मामा, माइजु लगायत मामाको अरु परिवार मधेश मै हुनुहुन्थ्यो । मामाघरमा माया गर्ने हजुरआमा नहुँदा साह्रै खल्लो र नरमाइलो हुँदो रहेछ तर पनि दिदीहरु भएकोले त्यति साह्रो भएन । त्यो दिन टिकाटालो गर्न कान्छो हजुरबुबा र साँइलो हजुरबाको घर अनि अरु यता उति र खानपान आदी गर्दैमा बितिहाल्यो । भोलिपल्ट पनि बस्यौं हामी तिन ताक मान्छेले दुईतिरबाट ठेलेर मुर्रा घुमाएर रस निकालिने उखु पेल्ने कोल चल्तीमा थियो । हाम्रा लागि त्यो कोल नौलो नभए पनि उखु समेत खाने सुरले उखु पेलेको हेर्न गयौं र साइँलो हजुरबाको घर मा प्रशस्त उखु खायौं । मामाघरका दुइटी दिदी मेरो घरको दिदी र म बाहेक हाम्रो ग्रुपमा अर्की एकजना दिदीहरुको साथी पनि थपिइन् जसले त्यो दिन मसंँग बिहे गर्छु भनेकी थिइन् । त्यसदिन दिदीहरुसँंग हामी धेरै ठाउँ घुम्यौं कोल भन्ज्याङ्ग, खर्क, गैह्रा आदि । साथमा दिदीहरुकै साथी तिनै मैया पनि र प्रायः त्यतिबेला उखु र बेलौती लगायतका फलफुल प्रशस्त थिए । जतासुकै ति फलफुल खाँदै अनेक तरहका गफ गर्दै हिड्यौं । म त खास बोल्दैनथे दिदीहरुको गफ सुन्ने मात्रै हुन्थ्यो । त्यसै पनि कम बोल्ने मान्छे म त्यस माथि नौलो ठाउँ र मन मिल्ने मान्छे नभएको अवस्था त्यो गाउँमा प्रसस्तै बेलौतिका बोट भएको र जताततै पाकेको बेला भएकोले हामी बेलौती खान पाखो तिर गएका थियौं । तर उनले त्यसरी खुलेआम मसंँग बिहे गर्छु भने पछि न त पाकेका बेलौतिमा रुचि भयो । न त मामाघर गएकोमा खुशी नै क्ष् बरु मामाघर नआएको भए हुन्थ्यो भने झैं भयो । कमसेकम मामाघर नआएको भए यो केटीसंँग बिहे गर्न त पर्दैनथ्यो भने झैं भयो मनमा एक्लो र उदास महसुस भैरहेको थियो । नाना तरहका कुराहरु खेलिरहेको थियो । मामाघर दशैंको टिका लगाउन गएको म बिहे गरेर दुलही लिएर घर जाँदा के भन्ने हुन् भन्ने डर भन्दा पनि लाज बढी लागेको थियो । त्यसमाथि आफु समानको उमेरकी नभएर ठुली केटी उनि तरुनी र सबैकुरा बुझ्ने भैसकेकी थिइन् । स्कुले ड्रेस आकाशे शर्ट र निलो फ्रकमा थिइन् । अग्ली र राम्री थिइन् । ज्यान पनि परेकी । हाम्रा अरु दिदीहरु भन्दा उनि अलिक बढी नै बोल्ने गर्थिन् । मनमनै सोच्थें कि हाम्रातिर त बिहे गर्ने कुरा गर्दा मात्रै पनि केटीहरु रुन्थे या झगडा गर्थे र यदि बिहे नै छिनेको छ भने झन् घरबाट बिरलै बाहिर निस्कन्थे तर यो त केटि मान्छे भएर पनि बिहे गर्छु भन्न कति लाज नलागेको होला । म आफुलाई भने अझै बच्चै सम्झन्थें र घरमा कहिले काहीं कसैले बिहे गर्ने कुरा गरेर जिस्क्याउदा समेत रुन्थें । सायद त्यहि उमेरको बच्चाहरुलाई अचेल त्यसो भन्दा रुंदैनन् । बरु नपत्याएर हाँस्छन् होला । खासमा उनीहरु त्यहीका भएकोले र अलिक ठुला भएकोले कुन रुखमा धेरै पाकेका बेलौती छन् । कसरी ति रुखमा चढ्ने सबै बानी परिसकेकाले मलाई बेलौती टिपेर दिने गरेका हुन् । सुरुमा त उनले दिएका पाकेका पहेला बेलौती मिठो मानी मानी खाएको थिएँ तर जब उनले मसँगै बिहे गर्ने कुरा गरिन् अनि ति बेलौतीमा मन गएन । रिसाएर फाल्न पनि सकिनँ । मनमनै उनले मसंँग बिहे नगरी नछोड्ने भईन भने के गर्ने होला ? कसरी बिहे गर्ने होला ? कसरी दुलही मान्ने होला भन्ने कल्पनामा हराउन थालें । टोलाउन थालें । 
    गाउँघरमा कसैकसैले केटी भगाएर ल्याएका घटना सम्झें । उनीहरुका घरकाले कसरी बिहे गरिदिन्थे र कसरी बस्थे ति कुराहरु सम्झें । अनि उनि यत्तिकै अहिले म घर फर्कंदा नै मसँग भागेर जाने हो कि भनेर पनि त्रसित भएँ ? घरमा भनेर सहमति मै बिहे गर्ने होलिन् भन्ने कुरा पनि सोंच्न भ्याएँ त्यतिन्जेलसम्म । उनीहरु रुख रुख चाहर्दै हिंड्थे यता भने मेरो मनमा कत्रो भूइंचालो गैरहेको थियो । तिनीहरुलाई केहि वास्ता र मतलब थिएन तर पनि म चुपचाप उनीहरुका पछिपछि हिंड्थे । घरीघरी दिदीहरुले ए त्यसो भए त तिमीलाई हामीले बुहारी भन्नुपर्ने भो भन्दै उनलाई समेत जिस्क्याउन्दै हुनुहुन्थ्यो । उनि भने झन् मच्चिंदै मैले कति माया गरेर राख्छु मेरो बुढालाई, मिठो मिठो खान दिन्छु भन्थिन् । त्यतिबेला मामा घरको दिदी लगायत तिनैजना दिदीहरुको कसैको पनि बिहे भएको थिएन । दिदीहरुको उमेर र मेरो उमेरमा चार पांँच बर्ष भन्दा बढीको फरक थिएन । यता घरमा त ठुल्दाईको समेत बिहे भएको थिएन । अरु दिदी र दाईको त झन् हुने कुरै भएन म बुबाआमाको सन्तान मध्येको चौथो रोलको साइँलो थिए । ठुल्दाईको सम्म बिहेको कुरा चल्दै गर्दा म बच्चोको बिहे गर्दा कुन हालत हुन्थ्यो म कल्पना पनि गर्न सक्दैनथें । खासमा मलाई बिहे गरे पछि कसरी श्रीमती पाल्ने, लाउन खान दिने भन्ने कुराको जिम्मेवारीको बोध नभएकोले त्यो चिन्ता पनि थिएन । विहे गरेर दुलही पाल्नुपर्ने कुराले चिन्ता परेको थिएन मलाई । गाउँघरमा भित्रिएका बुहारीहरुका लोग्नेको कमाई नभए पनि सामान्य रुपमा घरबार चलेको देखेको थिएँ । अहिले जस्तो कुनै कमाई नभई बिहे नगर्ने परिपाटी थिएन उबेला । त्यसैले पनि बिहे गरे पछि आफैले पाल्नुपर्ने जिम्मेवारीले पनि त्यो चिन्ता लागेको हैन । यति सानैमा विहे गर्दा दुनियाँले के भन्लान् भन्ने कुराले गर्दा सबैभन्दा बढी लाज लाग्ने समस्या थियो । बिहे गरे पछि दुनियाँले जिस्क्याउँछन्, नानाथरी कुरा गर्छन् घरमा बा–आमाले के भन्ने होला ? अनि छरछिमेकका साथी भाईले झन् कति जिस्क्याउँने हुन् त्यसमाथि स्कुलमा त झन् मुख देखाउन पनि सक्ने थिइन । मेरो स्कुल जाने बाटो नै बन्द हुन् सक्थ्यो । 
    बिहे गरेपछि खासै धेरैले पढेको देखिन्नथ्यो उतिबेला । त्यसै पनि घरमा दाजुभाई र दिदीसंँग कहिले काहीं यसो झगडा हुँदा एक अर्कोमा आफ्नै क्लासका सहपाठी केटी साथीको नाम जोडेर बोलाउँंने, नाम काट्ने र धेरै रिस उठाउने चलन थियो । त्यत्तिमै पनि रुने र पिट्न झगडा गर्न थाल्ने म बिहे नै गरेपछि त झन् के बाँकी रहन्थ्यो र ? त्यसरी नाम जोडिएका क्लासका केटी साथीहरुसंँग बोल्न पनि अफ्ठ्यारो र लाज लाग्थ्यो स्कुलमा । कहिले काहीं आमाले काखमा लिएर टाउको सुम्सुम्याउन्दै मेरो काले कहिले ठुलो भएर दुलही ल्याएर मलाई सुख कटाउने होला भन्नु हुँदा त जुरुक्क आमाको काखबाट उठेर खुट्टा बजार्दै रुन्थें तर त्यहाँ त त्यस्तो घुर्की देखाएर रुने ठाउँ पनि थिएन र भएन । यति हुँदा हुँदै दोमन, दोधार र अन्योलमा पिङ्ग खेल्दा खेल्दै बेलुकी भैहाल्यो । हामी फर्कने तरखर ग¥र्यौं । अब के गर्लिन् के भन्लिन् भन्ने जिज्ञासा मनमा लागिरहँदै गर्दा मैयाँले मायालु पाराले मेरो गाला चिमोटेर सबै संँग बिदा भएर गईन् । उनि बिहेको बारेमा केहि नभनी बिदा भएर गए पनि भोलि बिहे गरेर सँगै जाने हुन् कि हैनन् त्यो प्रष्ट भएको थिएन अथवा फेरी बिहेको कुरा गर्न आउँछिन् कि आउँदिनन् भनेर मेरो मन यत्तिकैमा शान्त भएन तर दिदीहरु सँग उनले गरेको बिहेको कुरा सोध्न पनि सकिनँ । उनि गएपछि फेरी मैले आफै बिहेको कुरा कोट्याउँदा झन् दिदीहरुले ए तैंले पनि मन पराइस् ? साँचै बिहे गर्ने नै हो ? कुरा चलाम त भन्ने जस्ता जवाफ आउने पक्का भएकोले स्वयं त्यो कुराको निधोको लागि सोध्न सकिनँ । घर पुगेपछि पनि म नखुलेर बसेको देखेर दिदीहरुले नै कुरा उप्काउँदै तिमीलाई त्यो केटिले बिहे गर्छु भनेर पीर मानेर नबोलेको हो कि क्या हो ? दिनभरी पनि बोलेनौ ठुस्स परेर हिंडी रह्यौ भन्दै विचरा हाम्रो बालखा भगु भाइलाई अहिल्यै किन पो बिहे गर्न दिन्थ्यौं ? त्यसले त जिस्क्याएको पो साँच्चै झैं मानेछौ तिमीले त । कति लाटो हाम्रो भाई त्यत्ति कुरा पनि नबुझेर यत्रो बेर फुलेर बसेको ? दुलही पाल्न प¥यो भनेर डराएको हो कि क्याहो भन्नु भो ? दिदीले पनि थप्दै यो त अलिक घोइरे छ एउटा कुरा चित्त बुझेन भने यस्तै हो जहिले पनि एकोहोरिएर बस्छ भन्नु भयो । बल्ल दिदीहरु मात्रै भएको मौकामा मेरो वाक्य फुट्यो र उनले मसंग बिहे गर्ने कुराले नै त्यस्तो गरेको बताएँ । अनि किन झन् तिमीहरुले समेत मलाई गिज्याएका र उसैलाई साथ दिएको त भनेर कराएँ । दिदीहरुले साँचै हो त अनि ? जिस्क्याउन पनि नपाइने के भयो त ? जिस्क्याएर त्यो भोलि नै तिमीसँग जाँदिनँ क्यारे । अब चुप्प लागेर खुशी भएर बस । दिनभरी वर्षा यामको कालो बादल झैं धुम्मिएको मेरो मन बेलुका मात्रै खुलेर प्रफुल्ल भएको थियो । सामान्य अवस्थामा आएको थिएँ । बिहे गर्न नपर्ने र दुलहीको कुरा सकिएकोले ठुलै दशा कटेको जस्तो मन हलुङ्गो भएको थियो । क्षण भरमै म फुरुंग हुँदै दिदीहरु सँग गपिÞmन थालेको थिएँ । धन्न दिदीले पनि घरमा आएर ति मैयाको बारेमा अरु कसैसँग र उनको नाम लिएर मलाई केहि भन्नु भएन । 
    एक चोटी अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ भनेझैं त्यसको धेरै वर्ष पछि फेरी त्यस्तै घटना पुनरावृत्ति भयो । म करिब एक्लो नै भएको थिएँ । यसपटक भने केटी आफैले त्यस्तो कर गरेको नभएर केटि तपÞर्mका आफन्तहरुले मलाई उम्कनै नसक्ने गरि घेरा हालेर जबर्जस्ति बिहे गरिदिन खोजेका थिए । एकान्तमा दाई र भिनाजुलाई केटी मन परेन भन्न पनि पाइरहेको थिएन । लमी बनेर गएको मेरो भिनाजु र ठुल्दाईलाई मनाएर त्यो बिहेबाट छुटकारा पाउनको लागि निकै पापड बेल्नु प¥यो मलाई । यसपाली भने म साँचैको बिहे गर्नको लागि केटी हेर्न गएको थिएँ । बाल्यकालको त्यो घटनाले उमेरावस्थामा पनि झस्काई रह्यो । आज पनि उत्ति नै ताजै र स्मरणमा रहेको त्यो घटनाले मलाई बेलौती पाक्ने समय र मामाघर सम्झने वित्तिक्कै झसङ बनाउँछ । पुराना घटनाले जीवनमा नयाँ उर्जा र हौसला पनि दिँदो रहेछ । साहस र आँट पनि भरिँदो रहेछ । बालापनको त्यो बेहोसी साँच्चै कति निर्दाेष विश्वास थियो । 

शितल भट्टराई
तनहुँ, हालः काठमाडौं