2019 June 27/ 04:51: 24am

जीवनमा धेरै कुरा आफ्नै अनुभव हो । भोगाई महत्वपूर्ण शिक्षा रहेछ । मास्टर्स गर्ने ब्यक्तिले पनि ब्यवहारिक शिक्षा प्राप्त गर्न सकेन भने त्यसको कुनै अर्थ छैन । बुढापाकाहरुले भनेको सुन्ने र ब्यवहारमा उतार्ने हो भने पनि जीवन धेरै सहज हुन्छ । आफ्नै अनुभव र भोगाईले ब्यक्तिलाई परिपक्व बनाउँदो रहेछ । के महिला, के पुरुष । ब्यक्तिका स्वार्थ बाझिए पछि भएको कुरा पनि सत्य हुन सक्दैन । सत्य कुरा असत्य हुन जान्छ । सामाजिक सञ्जालले त्यस्ता विषयलाई बढावा दिएको छ । पत्याउनु कसरी ? नपत्याउँ  कसरी ? गलत संगत, सम्वन्ध र अभ्यासले जीवन तहस नहस बनाउँदो रहेछ । त्यसकै शिकार भएको छु म । 
    लागु औषधको गलत बाटोमा मेरो प्रवेश भयो । जीवनका अनेक भोगाईहरुले मलाई त्यो मोडमा पु¥यायो । काभ्रेपलाञ्चोक जिल्ला अरनिको र विपी राजमार्गको केन्द्र हो । बनेपा ब्यापारीक शहरमा विभिन्न जिल्लाका ब्यक्तिहरुको बसोबास र ब्यवसाय संचालन भएको छ । खुल्ला राजमार्गका कारण राजधानीबाट अन्यत्र र अन्यत्रबाट राजधानीमा लागु औषध तथा अन्य तस्करीका सामानहरु लैजान सहज छ । प्रहरीले बेला बेला गरेको कारवाही वा चेकजाँचका क्रममा लागु औषध ओसारपसारमा संलग्नहरुलाई पक्राउ गरेको भए पनि त्यसको मुख्य जरो अझै पत्ता लगाउन सकेको छैन र लाग्न पनि कठिन छ । उमेर हुर्कदै गएका युवा युवतीहरु लागु औषधको नशाबाट लठ्ठ भएका छन् । विशेषगरी कक्षा ११÷१२ र ब्याचलर तह अध्ययन गर्ने विद्यार्थीहरु लागु औषध प्रयोगकर्ताका रुपमा देखिएका छन् । बनेपामा पान पसल राख्दै आएका केहि ब्यक्तिहरु त्यसका स्थायी श्रोत हुन् । केहि समय अघि एकजना पान पसले लागु औषध कारोबारमा पक्राउ परेका थिए । अहिले पनि दैनिकजसो त्यहि अभियोगमा युवाहरु पक्राउ परिरहेका छन् । सुनसरी जिल्ला लौकही गाविस ६ का १९ बर्षिय धनवीर कुमार मण्डल लागु औषधका दलाली कारोबारी हुन् । उनलाई भारत देखि सन्तोष यादवले सुनसरीसम्म लागु औषध ल्याईदिने गरेका रहेछन् । सुनसरीको बसपार्कमा यादवले लागु औषध ल्याई दिए पछि धनविर त्यहि सामान बोकेर काभ्रे आईपुग्छन् । सन्तोषका ग्राहक धेरै छन् । धेरै युवाहरुले उनिहरुबाटै लागु औषध ओसारपसार हुने गरेको छ । उनि एक्ला चाँहि होईनन् । 
    त्यस्तो गिरोहबाट जिल्लाका विभिन्न क्षेत्रमा लागु औषधका ट्याब्लेट, सिरिन्जहरु विक्री वितरण भईरहेको छ । गोप्य रुपमा हुँदै आएको कारोवारमा प्रहरीले अप्रेसन मार्फत गिरोहका सदस्यहरु पक्राउ गर्दै आएको छ । धनवीरलाई पक्राउ गरेपछि उक्त तथ्यहरु खुलेका हुन् । क्याम्पस, विद्यालयका छात्राबासहरुमा शुरुमा निशुल्क लागु औषधका ट्याब्लेट वितरण हुन्छ । प्रयोगकर्ताहरुले निःशुल्क खान थालेपछि बानी बस्छ र किनेर खान मन लाग्छ । जब बानी पर्छ त्यतिबेला १५ ट्याब्लेट भएको पाताको ८ हजारसम्म मुल्य लिने गरेका छन् । बनेपा बाहेक पनौती, धुलिखेल, पाँचखाल, भकुण्डे, नाला क्षेत्रमा लागु औषध प्रयोगकर्ता र कारोबारीहरु गोप्य रुपमा परिचालित भएका छन् । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकीहरु मातहत पक्राउ परेका समुहलाई झण्डै एक वर्षमा लागु औषधका दर्जन मुद्दा दर्ता भएका छन । प्रहरीले पनि हामीलाई सुध्रन अवसर दिएको छ । हामी सुध्रने अवस्थामा छौं । मलाई असाध्यै संकट भएको छ । प्रहरीको हिरासतमा लागु औषध खान नपाउँदा खाना खाएको छैन । मैले झोल भएको पदार्थ मात्रै खाएको छु । जसका कारण मलाई केहि राहत भए पनि खान नपाएर मर्ने अवस्थामा पुगेको छु । 
    अभिभावकहरुलाई मेरो सुझाव छ आफ्ना सन्तानको ख्याल समयमै गर्नुस् । उनिहरुको रेखदेखका लागि पैसा मात्रै सबथोक होईन फलोअप र वातावरण महत्वपूर्ण हो । सबै बालबालिकाहरुले यसको प्रयोग गर्ने अवस्था छ । सरोकारवाला निकायहरुले समयमै ध्यान दिन सकेनन् भने अबको केहि वर्ष यो खुलेआम प्रयोग हुन्छ । लागु औषधको प्रयोग गर्दा जीवनको स्वर्णिम आनन्द प्राप्त भएको अनुभूति हुन्छ । शरीरका संवेदनशिल अंग अण्डकोष नजिकै तिघ्राको कापमा लागु औषध भरिएको सुई रोपिन्छ । शरीरका सबै भागहरुमा एकै पटक प्रदान गर्ने आनन्द नै जीवन हो । मैले आनन्दका लागि मात्रै खाएँ । यसमै छ जीवन । सिरिन्ज हरेक मेडिकलहरुमा निःशुल्क राखिएको हुन्छ । पहिले पहिले एउटै सिरिन्ज धेरैले प्रयोग गर्दा विभिन्न खालका रोगहरु सर्ने गरेको थियो । त्यसको रोकथामका लागि सिरिन्ज फरक फरक र एक पटक प्रयोग गरेपछि पुनः प्रयोग नगर्ने गरी निःशुल्क वितरण शुरु गरिएको हो । सिरिन्जमा प्रतिबन्धात्मक औषधी नुफिन, डाईजीफाम, फोमागन मिसाईन्छ र प्रयोग गरिन्छ । हातका नशाहरुबाट दिने आनन्द भन्दा अण्डकोष नजिकै दिईने नाईन्टी डिग्रीको सिरिन्जले मात्रै जीवनको स्वर्णिम आनन्द दिन्छ । यो सिरिन्ज र स्थानको प्रयोग गरेपछि लागु औषधी प्रयोगकर्ताले अर्काे स्थान रोज्नै सक्दैन । यो औषधी नेपालमा खरिद विक्री सम्भव छैन । भक्तपुर र काठमाडौका केहि मेडिकलहरुमा लुकिछिपी विक्री भए पनि सिधै छिमेकी देश भारतबाटै आयात हुन्छ । डिलरहरु मार्फत भगवानलाई हात जोडेर नमस्कार गरे जसरी नै खरिद गरेर ल्याउनु पर्छ । तर पनि प्राप्त हुँदैन । 
    बनेपा नगरपालिका वडा नम्वर ६ हो मेरो स्थायी जन्म । हाल बनेपा नगरपालिकाको वडा नम्वर १० मा बस्छु । अनुभव हो यो । बाल्यकालमा म असाध्यै मेहनती, इमान्दारी र सोझो ब्यक्तिको रुपमा चिनिएको रहेछु । विद्यालयको जेहन्दार विद्यार्थी थिएँ म । कक्षा ९ मा बनेपाकै एक नीजि विद्यालयमा अध्ययन गर्दा गर्दै मैले एक दिन साथीले ल्याएको ट्याब्लेट खाएँ । शुरुको दिन के थियो त्यसले के हुन्छ बुझेकै थिईन । त्यो पनि कक्षा कोठामै खाएकाले खासै मतलब पनि भएन । खाएपछि भने मैले थोरै बुझें । ५० रुपैयाँमा १० ट्याबलेट किनेर घरमै ल्याई खाएपछि मात्रै मैले जीवनको मज्जा त्यसमै भएको बुझ्न थाँले । अध्ययनमा उत्कृष्ट भएपछि मलाई सबैले माया गर्नुहुन्थ्यो । म सबैको नजरमा राम्रो भएकाले मेरा गतिविधिमा शुरुमा कसैले चासो दिएन । विश्वासमा चलिरह्यो । पैसाको अभाव कहिल्यै भएन । बुबा आमाले मेरा लागि जे जे भने पनि पु¥याउनु भयो । अन्ततः मेरो ध्यान र सोच पढाईमा जान छाड्यो । म कक्षा ९ मै फेल भएँ । घरबाट गाली आउनु स्वभाविक थियो । बनेपामा छाडेर मलाई भक्तपुर स्थित मामा घरमा लगेर राखियो । तीन छोरा मध्ये म जेठो थिएँ । माईलो र कान्छो सानो भएकाले मलाई खासै मतलब पनि थिएन । घरबाट मलाई यति स्वतन्त्र भयो कि पैसाको कुनै परवाह नै भएन । अभिभावकले जति आवश्यक छ उति नै दिने गरेका थिए । भक्तपुरमा म अझै विग्रिएँ । बुबाआमाले त नियन्त्रणमा राख्न नसकेको छोरो म मामाहरुले कसरी नियन्त्रणमा लिनु ? त्यहाँको संगतमा म दिउँसै झ्याप हुन थाँले । म लगायत उक्त विद्यालयका धेरै साथीहरु त्यहि अभियानमा सक्रिय भए । म कक्षा ९ त पास भएँ कक्षा १० मा फेरी फेल भएँ । बल्ल बल्ल एसएलसीमा सहभागि भएको थिएँ पास हुनै सकिनँ । एसएलसी उत्तिर्ण त्यसपछि मेरो प्राथमिकतामा परेन ।
    यता मेरो माईलो भाईको संगत पनि त्यस्तै भयो । दाजुभाई नै त्यहि संगतमा परेपछि परिवारमा तनाव नै भयो । अन्ततः ७ वर्ष अघि भाईको लागु औषध प्रयोग गर्दागर्दै ओभरडोजका कारण निधन भयो । बुबा र आमा विभिन्न रोगले वितेपछि म झन् तनावमा भएँ । मैले र भाईले बुबा आमालाई धेरै दुःख दियौं । उहाँहरुको आत्माले पनि शान्ति नपाउने गरी हामीले दिएको दुःखले उहाँहरु हैरानीमा पर्नुभयो । जण्डिस रोगले बुबाको मृत्यु भयो । छोराहरु सबै कुलतमा लागेपछि आमा पनि तनावमै वित्नुभयो । त्यो ह्दयविदारक घटनाहरुका कारण मलाई झनै तनाव भयो । तनावकै कारण लागु औषधको प्रयोग छाड्न सकिनँ । बुबा आमाको निधन हुनु अघि मैले भक्तपुरको सिद्धि स्मृति अस्पतालको सहयोगमा काभ्रे जिल्लामा पहिलो पटक म लगायतको समुहले जनचेतनामुलक अभियान संचालन ग¥यौं । मलाई कुलतबाट बाहिर निकाल्न अभियानकर्ताहरुले धेरै सहयोग गर्नुभयो । अझ कुलतमा लाग्दा पनि सुरक्षित कसरी रहने भन्ने कुरा मैले मात्रै होईन अरुलाई पनि सिकाएँ । मैले आफुले लागु औषध कहिल्यै छाडन् सकिनँ तर छाड्न सकिने बारेमा बताउँदै गएँ, त्यसको बेफाईदाका बारेमा बताउँदै गएँ, त्यहि अभियानबाट थुप्रै ब्यक्तिहरु लागु औषध प्रयोगकर्ताहरु पुरानै अवस्थामा फर्किएका छन् । म भने यहि स्थानमै रमाउन थालें । एडिक्टको पीडा एडिक्टले बाहेक अरुले बुझ्नै सक्दैन । अरुले छि छि र दुरदुर गर्छन् । माया र ममता आवश्यक भएपनि कसैले त्यसो नगर्दा हाम्रो संगत पनि लागु औषध प्रयोगकर्तासँग मात्रै हुन्छ । हामीहरु एक अर्का प्रति माया गर्छाै । जसका कारण विवाह, प्रेम हाम्रा लागि त्यति महत्व हुँदैन । विवाह भईसकेका पुरुषहरु श्रीमतीको मायाका कारण लागु औषधको प्रयोग घटाउँदै गएका छन् भने हामीलाई केहि चासो र परवाह नै छैन । शारीरिक सम्वन्धको प्यास पनि हामी सिरिन्जबाटै मेटाउँछौं । जिल्लामा यस्ता थुप्रै सेन्टरहरु छन् । ओसारपसार भन्दा पनि हामी आफै प्रयोग गर्नमा जोड दिन्छौं । ड्रग्स टेस्ट नै गर्नु हुँदैन । टेष्ट गरेपछि निस्कन सकिदैन । जीवन के हो ? प्रेम के हो ? उसले मात्रै बुझेको हुन्छ । शिक्षितले लागु औषध प्रयोगकर्ताको भावना बुझ्दैन, बुझेपनि बेवास्ता गर्छ । बुबा, आमा र भाई वितेपछि म र भाई बस्दै आएका छौं । कान्छो भाई लागु औषध प्रयोग गर्दैनन् । उनी बनेपामै काम गर्थे । अहिले बैदेशिक रोजगारमा छन् । केहि जग्गा र घर भाडा वापतको पैसाले काम चलाई रहेका छौं । प्रहरीले पक्राउ गरेपछि मैले अरु साथीहरुलाई जीवनको अनुभव सुनाईरहेको छु । 
    लागु औषधको आयात, प्रयोगकर्ता, खरिदविक्रीका बारेमा अनुसन्धान भईरहेको छ । म कसैलाई विक्री गर्दिनँ । आफै प्रयोग गर्ने मात्रै हो । मलाई पैसाको मतलब भए पो विक्री गर्नु ? हामी सुध्रन चाहन्छौं तर हाम्रो बानी नै खराब भईसक्यो । बनेपा नगरपालिकाको खोला सिमानामा दिउँसो हामी साथीहरु बसिरहेका थियौं । हाम्रो साथबाट प्रहरीले ४ सय ५७ ट्याबलेट लागु औषध बरामद ग¥यो । उक्त ट्याब्लेटको मुल्य निर्धारणका लागि छलफल चलिरहेको थियो । साथीहरुलाई अफ्ठयारो पर्छ भने पछि भोलिपल्ट मैले साँगाबाट प्रहरीलाई पक्राउ गराएँ । मलाई सुनसरी जिल्ला लौकही गाविस ६ का १९ बर्षिय धनविर कुमार मण्डलले ल्याईदिएका थिए सामान । उनी पहिला पान पसलमा काम गर्दथे । बाहिर पान पसल भित्र त्यस्तो कारोवार हुन्थ्यो । देखाएर कारोवार नहुने भएकाले लुकिछिपी कारोवार हुने गरेको हो । भगवानलाई हात जोडेर आर्शिवाद माग्दा तत्काल प्राप्ति होला तर लागु औषध ल्याउनेहरुले सहजै दिन मान्दैनन् । यो कुलतबाट छुट्न त कठिन छ नै कुलतमै लाग्न नदिन अभियान चाल्नु पर्ला कि ? 
     

रमित श्रेष्ठ
बनेपा, काभ्रे