2019 April 21/ 11:48: 38pm

    प्रेम र विवाह । माया बस्दो रहेछ । प्रेम स्थायी नहुने रहेछ । शारिरीक प्रेम र भावनात्मक प्रेम । पछिल्लो समय प्रेम भावनात्मक भन्दा शारिरीक आवश्यकतामा जोडिन पुगेको छ । यस्तो प्रेम जो कोेहिसँग जतिबेला पनि हुने र जतिबेला पनि टुट्न थालेको छ । पुरुषहरु मात्रै होईन महिलाहरु पनि त्यस्तै अवस्थामा पुगेका छन् । घरमा श्रीमानको माया चित्त नबुझेर परपुरुषसँग लाग्ने श्रीमतीहरु पनि छन् । श्रीमानहरुको कुरै नगरौं । महिलाहरुले ईशारा दिने वित्तिक्कै लठ्ठ हुने रहेछन् । एउटी महिला जसलाई जीवनभर माया दिने कसम खुवाउँदै विवाह गरेर घर भित्र्याएको हुन्छ । उसलाई धोका दिदै अर्काे महिलालाई पनि पुरुषले त्यहि कसम खान्छ । हुन त हामी महिलाहरुको पनि कमजोरी छ । घरमा श्रीमती, बच्चा छ भन्दा भन्दै त्यस्तो श्रीमानसँग सौता बनेर जानु महिलाकै कमजोरी होला । त्योभन्दा धेरै पुरुषहरु जसले झुक्याएर महिलासँग सम्वन्ध बढाउँछ । सम्वन्ध गाढा हुँदै गएपछि विवाहमा परिणत गर्छ र घरमा भएकालाई धोका दिन्छ । श्रीमतीलाई मात्रै धोेका दिदैन परिवार र समाजलाई पनि धोका दिईरहेको हुन्छ ।
    नेपालमा महिला माथी हुने हिंसाका घटना बढेको बढ्यै छन् । १६ दिने हिसा विरोधी अभियान देशभर मनाईन्छ । त्यसको पनि खासै अर्थ देख्दिन मैले । जसले हिंसा विरोधी घटनामा सक्रिय सहभागिता जनाउँदै चर्काे भाषण गरिरहेको हुन्छ उसकै घरमा महिलाहरु माथी अनेकखालका हिंसा भईरहेका हुन्छन् । हिंसाका ब्याख्या धेरै होलान् । महिलाका भन्दा धेरै पुरुषहरुका हिंसा होलान् । तर पनि सदियौ देखि महिलाहरुले भोग्नु परेका पीडाहरुलाई अन्त्य गर्न महिलामैत्री कानुन बनाईएका छन् । अझ नयाँ संविधान पछि भदौ  १ गतेबाट कार्यान्वयनमा आएको संहिता कानुनले महिलाहरुलाई हरेक क्षेत्रमा संरक्षण गरेको छ । कानुन एकातिर छ । कानुनका समस्याहरु अर्कातिर छ । कानुन अनुसार ब्याख्या खोज्दा पनि ब्यवहार मिल्दैन । ब्यवहार मिलाउँदा कानुनले दिदैन । समस्या जहाँका त्यहि छन् । महिलाहरु पीडित माथी पीडित हुँदै छन् । प्रविधि, स्वतन्त्रता तथा अधिकारका नाममा फैलिएको सामाजिक सञ्जालले परिवार विखण्डन हुन थालेका छन् । अपराधिक घटनाहरु बढिरहेका छन् । एकले अर्कालाई अविश्वास गर्दा उत्पन्न हुने परिणामले समाजमा नकारात्मक सन्देश दिईरहेका छन् ।
    यस्तै पीडामा परें म । बाबु आमाको आँखा छल्दै प्रेम गरें । प्रेम अन्धो हुने रहेछ । अन्धो प्रेमले मलाई जीवनभर धुरुधुरु रुवायो । प्रेममा मान्छे खुशी हुन्छन् । प्रेम प्राप्ती मात्रै हो भन्ने सोच भएका हामीहरुलाई गुमाउन पुग्दा चोट पुग्ने रहेछ । प्रेमका प्रतिकका रुपमा जन्मिएका लालाबालाहरुले बाबुको माया खोज्ने बेला कसलाई देखाउने ? धोका दिनु पनि कति ? के गर्दा ब्यक्तिको मन जित्न सकिन्छ । शरीर नै सुम्पदा पनि मान्छेले आफ्नो ठान्दो रहेनछ । काभ्रेपलाञ्चोक जिल्ला खानीखोला गाउँपालिका वडा नम्वर २ घर भएका सोमप्रसाद जिम्बासँग मेरो प्रेम बस्यो । उमेरमा प्रेम बस्नु स्वभाविक रहेछ । स्वभाविक भए पनि उनैसँग प्रेम गर्नु अचम्म थियो । धेरै ब्यक्तिहरुले प्रस्ताव राख्दा अस्विकृत गरेको थिएँ । बुबाले मागि विवाह गरौं भन्दा पनि मानिरहेको थिईन् । छैंटीका दिन भावीले जे लेख्यो त्यहि भोग्नुपर्ने रहेछ । भोगाई आफ्नो आफ्नोे हुन्छ । मेरो भन्दा धेरै दुःख पाउने ब्यक्तिहरु धेरै हुन सक्छन् । मेरो दुःख धेरै ठुलो पनि नलाग्ला । सबैलाई यस्ता घटनाहरुले घेरिरहेका हुन्छन् । भर्खर २४ वर्षको कलकलाउँदो उमेर छ । दुधे बालकहरु छन् । यिनीहरुको भविश्यका लागि पनि मैले संघर्ष गर्नुको विकल्प छैन । त्यहि संघर्षका लागि कानुनी बाटो समातें । कानुनका हरेक छिद्राहरु समात्दै मैले भोगेका पीडाहरुको बदला लिन वा पीडाहरुलाई कम गराउन निरन्तर संघर्ष त गरिरहें । संघर्षले पाईला अगाडी बढाउँदा कसैले खुट्टा तान्न खोज्दा रहेछन् । कसैले साथ दिन लागे जस्तो गर्दा रहेछन् । संसार यस्तै रहेछ । दया देखाउन खोज्ने मान्छेहरुको स्वार्थ झनै बुझिनसक्नु रहेछ ।
    २०७१ साल बैशाख २४ गते जिल्ला खानीखोला गाउँपालिका वडा नम्वर २ घर भएका सोमप्रसाद जिम्बासँग मेरो प्रेम विवाह भयो । प्रेम पछि विवाहमा परिणत भएकाले मलाई खासै असहज थिएन । त्यहि बेला देखि हाम्रो पति पत्निको सम्वन्ध कायम भएको थियो । हामीबाट एक छोरा र एक छोरी जन्मिएका छन् । विवाहको केहि वर्षमै जन्मिएका सन्तानले हामीलाई खुशी नै दिएका थिए । लगातार सन्तान जन्मिएपछि मैले घर परिवार र सन्तानको रेखदेख बाहेक अरु केहि गर्न सकिन । अवस्था पनि त्यस्तै बन्यो । विस्तारै सन्तान ठुला हुँदै गए । म घरबाट निस्कन सकिनँ । श्रीमान सोमप्रसाद सधै काममा जाने गरेका थिए । घर बनाउने स्थानमा मिस्त्रीको काम गर्दै आएका उनले नियमित काम गर्दा घर परिवार राम्रोसँग चलाउन पुगेको थियो । बच्चाहरु जन्मिएको ३५ दिन भित्र जन्मदर्ता गराउनु पर्छ भन्ने थियो । मैले उनलाई अनुरोध गरें उनले मान्दै मानेनन् । अहिले के को हतार ? किन चाहियो जन्मदर्ता ? भन्दै अपशब्द प्रयोग गर्न थाले । प्रेम गरेर विवाह गरेकाले होला उनले धेरै हेप्न थाले जस्तो लाग्ग्थ्यो । अर्काे मनले काम गरेर कमाउन नसकेको भन्ने लाग्यो होला जस्तो अनुभूति गरें । हरेक सोचाई उनका लागि सहि बन्दै गए । उनले एकपछि अर्काे घटनामा मलाई यातना दिदै गए । प्रेममा म रिसाउँदा सम्झाउन आउने ब्यक्ति रिसाउँदा समेत वास्ता गर्न छाडे । आवश्यकतामा पनि साथ दिन छाडे । सन्तानको भविश्यका लागि गरिएका सबै कामहरुमा उनको अवरोध मात्रै रह्यो । त्यसपछि दिन दिनै घरमा झगडा जस्तै हुन लाग्यो । उनको मन म र मेरा सन्तान प्रति हुन छाड्यो । माया र ममताको भण्डार नै सकिएको अनुभुति हुँदै गयो । उनले अन्ततः विवाह गरेको त्यति धेरै समय वितिसक्दा समेत विवाह दर्ता गर्न मानेनन् । विवाह दर्ता गरेर नागरिकतामा श्रीमानको नाम लेखाउन चाहेनन् ।
    मैले पटक पटक उनलाई विवाह दर्ता, बालबालिकाहरुको जन्म दर्ता र मेरो नागरिकताका लागि अनुरोध गरें । उमेरले उनी म भन्दा दुई वर्ष कान्छो छन् । २२ वर्ष मात्रै भएका उनले घरमा अर्काे श्रीमती विवाह गरेर लगेको खबर सुन्न पुगें । मैले पत्याउनै सकिनँ । नभएको घटनाले किन मलाई तनाव दिएको छ भन्ने लाग्यो । कुरा त्यस्तो थिएन । २०७५ साल फागुन २० गतेको घटना हो । धेरै भएकै छैन । एक महिना पनि पुगेको छैन मेरो जीवनमा ठुलो बज्रपात आईलाग्यो । उनी घरमै थिए भन्ने खबर पाएर म खानीखोला पुगें । खानीखोला पुग्दा उनीसँगै अर्की महिला देखें । उनलाई मैले उनी को हो भन्न नपाउँदै म माथी मुक्का र गाली बर्षियो । मैले आँखै देख्न सकिनँ । एकाएक घरको वातावरण मसानघाटको जस्तो हुनपुग्यो । अर्की महिलासँग पनि कुरा गरें । उसले त म तिम्रो सौता हो भनिन् । उनको र मेरो पनि एकछिन भनाभन प¥यो । रिसको वेगमा मैले उनको कपाल समात्न खोज्दा मलाई रोकियो । त्यस लगत्तै उनिहरु दुबै जना मिलेर मलाई तैले के गर्छेस् गर जहाँ जान मन लाग्छ जा भन्दै लछारपछार गरियो । त्यस लगत्तै मले कानुनी उपचारका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा जाहेरी दिएँ । उसले १७ बर्षकी महिलासँग विवाह गरेको रहेछ । नेपालको पछिल्लो कानुनले २० वर्ष उमेर नपुगेको ब्यक्तिसँग विवाह गर्न समेत रोक लगाएको छ । उमेर नपुगी विवाह गर्न रोक मात्रै लगाएको छैन दोश्रो विवाह गर्न समेत बन्देज गरेको छ । कानुनी मान्यता नदिए पनि उनिहरु सजायँ भोगिसकेपछि श्रीमान श्रीमतीकै रुपमा बस्नेछन् । उनिहरुबाट जन्मेको बच्चाको अभिभावक बन्ने छन् । कानुन एकातिर हुन्छ ब्यवहार अर्काेतिर ।
    प्रहरीले मेरो उजुरी लगत्तै मुलुकी फौजदारी कार्याविधि (संहिता) ऐन २०७४ को दफा ३१ को उपदफा (१) वमोजिम बिबाह सम्वन्धी कसुर (बहुबिबाह मुद्दा) मा कारवाही प्रकृया अगाडी बढायो । फागुन २० गते दिउसो प्रहरीकोमा उजुरी दर्ता गरेको थिएँ । प्रहरीले उनिहरुलाई पक्राउ गरी कारवाही प्रकृया अगाडी बढायो । पक्राउ परेका श्रीमान सोमप्रसादले यस्तो बयान दिएछन् । ‘रेश्मी जिम्बा तामाङ संग २०६९ फाल्गुन महिनामा प्रेम बिबाह भई हामीहरुको सहबासबाट छोरा सुमन जिम्बा र छोरी शसिकला जिम्बाको जायजन्म भएको हो । म घर बनाउने काम गर्दै आएको छु । घर बनाउने मिस्त्री काम गर्ने क्रममा मेरो साथीले मेरो मोबाईल मागेर फोन गरेको थियो । त्यहि नम्वरमा पछि मलाई फोन आउन थाल्यो । फोनमा कुरा हुँदा हुँदै उनीसँग भेट भयो । हामी बीच नजिकिँदो सम्वन्ध बस्दै गयो । माया साटासाट गर्ने क्रममा हामी २०७५ सालको बैसाख महिनामा बनेपा स्थित होटलमा बास समेत बस्यौं । उनीसँगको हिमचिम धेरै भएपछि मेरी जेठी श्रीमतीले मलाई कचकच गर्न थालिन् । उनको कचकच धेरै हुन थालेपछि मैले पुस महिनामा विवाह गर्ने निधो गरें । उनीसँगको पे्रम सफल बनाउन मैले उनलाई मकवानपुर जिल्ला स्थित काका नाताको ब्यक्तिको छोरीको विवाहको अवसर पारी तराई घुम्ने वाहनामा दुबै जना भागेका थियौं ।  मकवानपुर स्थित काकाको घरमा बसी काकाको छोरीको विवाह भएको केही दिन पछि काका नाताको ब्यक्ति बितेको कारण ४५ दिन जती मकवानपुरमा बस्यौं । किरियाको काम सकेर दुबै जाना फाल्गुन महिनाको १४ गते पनौती नगरपालिका नजिकै आफ्नै कोठामा कान्छी श्रीमती र म बस्यौं ।’ उसले अझै थपेछ –‘जेठी श्रीमती मंसिर महिनाबाटै माईत गई बसेकी थिईन् । उनले कहिल्यै घरमा आउन्न भनेकाले मैले उनकै दबाबमा कान्छि श्रीमती विवाह गरेको हुँ । म आउनु अघि उ आएर पनौती बसिरहेको रहेछ । उसले हामी बसेको डेरामै आएर झगडा ग¥यो । प्रहरी बोलायो र पक्राउ गरेर लग्यो ।’
    बयानका क्रममा उसले कान्छी श्रीमतीको उमेर २० वर्ष भईसकेको बतायो । विवाह अघि पनि उसँग शारिरीक सम्पर्क भएको र विवाह पछि मात्रै उसको उमेर कम रहेको थाहा भएको जानकारी दियो । १७ बर्षिया कान्छि श्रीमतीले पनि सहमतिमा शारिरीक सम्पर्क राखेका बयान दिएकी रहिछन् । उनिहरु बीचको प्रेम सम्वन्धलाई कसिलो बनाउन सम्वन्ध बढेको र उसकै ललाई फकाईमा विवाह गरेको बयान दिईन् । घरमा श्रीमती र बच्चा समेत छैन भन्दै ढाँटेर प्रेम गरेको र प्रेम गरेपछि विवाह समेत गर्न उसले नै झुक्याएको तर प्रेम र सम्वन्ध सहमतिमै भएको बयान दिएकी रहिछन् । घरमा श्रीमती र बच्चा हुँदा हुँदै वेवास्ता गरेर अर्की उमेर बढ्दै गरेकी युवतीसँग प्रेम, शारिरीक सम्वन्ध अनि विवाह ? कस्तो पुरुष ? कस्तो सोच ? मोवाईलबाट शुरु भएको सम्वन्धले पाँच जनाको जीवन अन्धकार बनायो । कस्तो प्रेम ? कस्तो सम्वन्ध ? कसलाई विश्वास गरौं । तर पनि संर्घष गरौं ।
रेश्मी जिम्बा तामाङ
खानिखोला, काभ्रे