2025 June 17/ 04:41: 50pm

    भारतमा अंग्रेज शासनबाट स्वतन्त्रताका लागि महात्मा गान्धिको आब्हानमा भएको शान्तिपूर्ण आन्दोलनमा नेपालबाट बनेपाका राजदास बादे र हंशराज श्रेष्ठको गान्धीसँग सम्पर्क हुन पुग्यो । फलस्वरुप दुबै जनाले स्वदेशी कपडा (खद्दर) तयारी र पहिरनमा जोड दिए । त्यसबाट कयौ परिवारलाई रोजगारीको मौका मिल्यो । आयमुलक स्वदेशी ब्यवसाय प्रर्वद्धनका साथै शिक्षा प्रचार गर्न र राजनीतिक जागरण ल्याउन सक्रिय भूमिका खेल्न थाले । नेपालमा पनि जहाँनिया निरंकुश जहानियाँ शासन अन्त्य गरी प्रजातन्त्र ल्याउने काममा राजदास सहभागी भए । राजदास बादे सामाजिक सुधारक थिए । समाज सुधारका बाधक विभिन्न अन्धविश्वास, कुरीतिहरु र विकृतिहरु हटाउनु वान्छनीय छ भन्ने कुरामा उहाँमा विश्वास थियो । बादेकै सक्रियतामा बनेपामा ब्यवहार सुधार गुठी स्थापना भएको थियो । 
    २००४ सालमा छिमेकी मित्रराष्ट्र भारत अंग्रेजहरुको शासनबाट स्वतन्त्र भए पछि नेपाली जनतामा पनि निरकुंश राणाशासन विरुद्ध लडी प्रजातन्त्र ल्याउने सिलसिलामा राजदास बादे राजनीतिमा सक्रिय थिए । २००६ सालमा नेपाली काँग्रेसबाट राजनीतिमा सक्रिय हुन बादेले विश्वेश्वरप्रसाद कोईराला, मातृकाप्रसाद कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँग निकटता बढाए । २००० सालमा खोलेको सहकारी २००५ सालमा सरकारले बन्द गरी काठमाडौ सारे पछि बादेले बनेपालीलाई उच्च शिक्षा दिलाउन आवश्यक ठानी काठमाडौका विभिन्न विद्यालयमा पढाउन अभिभावकहरुलाई उत्प्रेरणा दिएका थिए । २००१ सालमा बनेपाको लायकु दरवारमा प्राथमिक स्तरको अनौपचारिक स्कुल पनि खोलेका थिए । बनेपाको पुलबजारमा सार्वजनिक पक्की टहरामा औपचारिक प्राथमिक सह शिक्षालय (घरेलु आधार स्कुल) स्थापना गर्न र आवश्यक शिक्षाको ब्यवस्था गर्न राजदास बादेको सक्रियता रह्यो । विद्यार्थीहरुलाई पनि अधिकारका लागि आन्दोलनमा पठाउने, आय आर्जनका लागि हाते चर्खाद्वारा कपास कात्न लगाउने अभियान शुरु गरेका थिए । राजदास बादेका उल्लेख्खनीय कार्य मध्ये राणाकालीन विर्ताप्रथा र शोषण विरुद्ध लड्नु थियो । विर्ताका नाममा राणा परिवारहरुले अनाधिकार र अनुचित तरिकाले कयौ जनता तथा किसानहरुको शोषण गर्ने गर्थे । बनेपा उपत्यकाका धेरै खेत जग्गाहरु सुरशमशेर जबराको विर्ता भनी किसानबाट वाली, तिरो र अन्य विभिन्न प्रकारका कर, झाराहरु लिने गर्थे । यहि विर्ता प्रथा विरुद्ध उनि निरन्तर लडिरहेका थिए । २००७ साल पछि प्रजातन्त्रको विकास र सुदृढिकरणका लागि आम निर्वाचन र जननिर्वाचित सरकारको स्थापनाको सपना पुरा भएको अनुभव गर्न नपाउँदै २०१४ सालमा पार्टीकै कार्य सम्बन्धी यात्राको सिलसिलामा हवाई दुर्घटनामा परी उनको निधन भएको थियो । उनी नेपाली काँग्रेसका केन्द्रिय कार्य समितिमा सदस्य थिए । 
    राजदास बादेले छिमेकी देश भारतमा प्रजातान्त्रिक सरकार बनिसकेकाले त्यसकाो फाईदा उठाउँदै त्यहाँबाट हातहतियार नेपालमा भित्र्याउन सजिलो हुने भएकाले पुर्वी नाका हुँदै काठमाडौमा हातहतियार ओसार्ने काममा समेत सहयोग गरे । बनेपामा उनकै रेखदेखमा बुलाल र हर्षलाल ख्वाखल बादेको घरमा यस्तै हतियारहरु जम्मा  गरी बैठक कोठामा घाममा सुकाउने र सफा गर्ने गरिएको थियो । राजदासका भाईहरु धनदास बादे श्रेष्ठ आफ्नो नीजि गाडी आफै चलाउने भएकाले र निजको अन्य चालकहरुसँग निकटतम् सम्बन्ध भएकाले ति हतियारहरु गोप्यताका साथ काठमाडौ पु¥याउन सजिलो थियो । यहि अभियोगमा २००७ सालमा राजदास बादे, भाई धनदास बादे श्रेष्ठ र हतियार राख्ने घर धनी हर्षलाल ख्वाखल बादे श्रेष्ठलाई गिरफ्तार गरिएको थियो । राणा शासन विरुद्ध राजनीतिक कृयाकलापमा लागेको अभियोगमा उनिहरु तिनै जनालाई थुनामा राखिएको थियो भने राजदास बादेको घरमा प्रहरीले खानतलासी गरेको थियो । उक्त कुरा नेपाली काँग्रेस काभ्रेद्वारा मधु आचार्य सभापति भएका बखत प्रकाशन गरिएको पुस्तक विचार दर्पणमा हरिभक्त प्रधानले काभ्रे काँग्रेस र राजदास बादे श्रेष्ठ शिर्षकमा लेखेका छन् । राजदास बादेले जनताको स्वास्थ्य सेवा गर्ने सिलसिलामा एडभेन्टिष्ट मिसन अस्पताल बनेपामा खोल्न लगाउन प्रारम्भिक अवस्थामा लायकु दरवारमा क्लिनिक खोल्न लगाई डाक्टरहरुलाई विना घरभाडा आफ्नै घरमा बस्न सहयोग गरेका थिए । भरपाई आन्दोलन, भद्र अबज्ञा आन्दोलन र बिर्ता उन्मुलन आन्दोलनका हस्ती अग्रज योद्धा, राणा शासन विरुद्धको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका प्रजातान्त्रिक योद्धा, सामाजिक अभियन्ता, प्रजातन्त्र सेनानी समेत रहेका राजदास बादे काभ्रेपलाञ्चोक जिल्लामा मात्रै नभई राष्ट्रिय राजनीतिमा समेत परिचित थिए । तत्कालीन सरकारले पनि बनेपामा राजदास भने पछि विश्वास गरेका हुन्थे । राजदासका बाबु भिमबहादुर बादे श्रेष्ठ थिए । उनको तीन छोरा मध्ये जेठा थिए राजदास । तिनै जनाको निधन भई सकेको छ । पछिल्लो समय गोपालदास बादेको ९७ वर्षको उमेरमा निधन भएको थियो । राजदास बादे, धनदास बादे र गोपालदास बादे । राणाद्वारा फाँसीको सजाय सुनाई सर्बस्वहरण समेत सुनाईएको थियो । भरपाई आन्दोलन, भद्र अबज्ञा आन्दोलन र बिर्ता उन्मुलन आन्दोलनको नेतृत्व गरी बनेपालाई राणाहरूको बिर्ताबाट मुक्ति दिलाएका थिए राजदास बादेले । राजदास बादेकै नेतृत्व र अगुवाईमा खेतबारी बन्धकी राखी अति चर्काे ब्याजमा काडेका जनताको ऋण सरकारका तर्फबाट तिरी, साहुको हात परेका जमीन उतिहरुलाई फकाई दिन बनेपामा सहकारी र बैंक खोल्ने अभियानको नेतृत्व गरेका थिए । त्यो २००० सालको कुरा थियो । 
    देशभर सहकारीमा देखिएको समस्या समाधान गर्न संसद्ले बनाएको सांसद सूर्य थापा संयोजक रहेको संसदीय समिति सक्रिय छ । हामीले धेरै पटक काभ्रेपलाञ्चोक जिल्लाको सहकारी इतिहासका बारेमा विभिन्न फोरमहरुमा जानकारी गरायौं । तर हाम्रो कुराको सुनुवाई भएन । लामो समय पछि माननीय सुर्य थापाले काभ्रेपलाञ्चोक जिल्लाको सहकारीको इतिहासका बारेमा विषय उठान गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छौं । नेपालको ईतिहासमा हालसम्म चितवन जिल्लाको शारदा नगरमा २०१३ साल चैत्र २० गते बखान ऋण सहकारी संस्था स्थापना भई संचालनमा आएको संस्था नै नेपालको पहिलो सहकारी संस्था भएको उल्लेख छ । संसदिय समितिले उक्त तथ्य गलत भएको पत्ता लगाएको छ । सहकारीको इतिहास अहिले पनि आधिकारिक छैन । सरकारी तथ्यांकमा पहिलो पटक साहुहरुको ऋणबाट मुक्त हुन २ हजार सालमा पूर्व १ नम्वर बनेपामा बैंक र को–अपरेटिभ सोसाईटीका नाममा जनतालाई ऋण मुक्त गराउने अभियान सरकारले नै शुरु गरेको तथ्यहरु फेला परेका छन् । सहकारी सम्बन्धी अध्ययन गरिरहेको समितिले उक्त विषयमा थप सूचना र तथ्याङ्कहरु संकलन गरिरहेको छ । ‘त्यस बखतको नेपाल पुस्तक’को भाग २ मा (१९८६–१९९७) साल भाग ३ (१९९७–२००२ साल) मा काभ्रेपलाञ्चोक जिल्लामा तत्कालीन सरकारले को–अपरेटिभ संस्था खोलेको उल्लेख छ । बनेपामा ती संस्थाहरु खोल्न पर्ने अनेक कारणहरु मध्ये ठोस कारण थियो–बनेपाका अति लोकप्रिय राजदास बादे श्रेष्ठको सहयोगमा बनेपामा ऋषिदेखि कुटिर उद्योगको केन्द्र, यातायातको सुविधा, पूर्व पहाडको ढोका जस्तो र बनेपाकालीहरुको औद्योगिक मनोबृत्ति । राजदास बादे श्रेष्ठ बनेपामा लोकिप्रिय नेता र समाजसेवी मात्रै थिएनन् । लाएण्ड भोर्गेज बंैक र को–अपरेटिभ सोसाईटीबाट त्यहाँका दुःखी जनताले उठाउन सक्ने फाईदा पनि उनले राम्रो मर्म बुझेका थिए । मे.ज. विजय र प्रो.भिमबहादुर भन्दा पनि उनी बढी इच्छुक थिए । ती संस्था बनेपामा चाँडो खोलाईन र चलाउन । नव गठित लाएण्ड भोर्गेज बंैक (साहुको ऋण चुक्ता गरी हलुका ब्याज लिने गरी जमिन साहुबाट निखनी किसानलाई फिर्ता दिने) र को–अपरेटिभ सोसाईटी भन्ने नयाँ अड्डाका हाकिममा गोविन्दप्रसाद गोर्खाली, उनको मातहतमा हरिबहादुर प्रधान, अजिरमान श्रेष्ठ, मुखियामा रामकृष्ण श्रेष्ठ, कारिन्दा हरिकृष्ण मल्ल र पालेहरु तुरुन्त नियुक्ति भएका थिए । वीरगञ्जका भक्तबहादुर श्रेष्ठ बनेपामा खुलेको बैंक र को–अपरेटिभ सोसाईटीका मेनेजेर थिए । बनेपामा २ हजार सालको भदौ महिनामा उक्त बैंक र सोसाईटी खुल्ने कुराले पुर्व नम्वर १ का गरीब जनता खुशी भएका थिए । खेतबारी बन्धकी राखी अति चर्काे ब्याजमा काडेका जनताको ऋण सरकारका तर्फबाट तिरी, साहुको हात परेका जमिन उनिहरुलाई फकाई दिने र कृषि, घरेलु इलमीलाई आवश्यक बीज अथवा औद्योगिक कोरा जिनिस सुपथ मोलमा किन्ने र उनिहरुले तयारी गरेको सामान उचित भाउमा बेच्ने प्रबन्ध मिलाई दिने यि संस्थाका मुख्य काम थिए । विक्रम सम्वत २००० सालमा गठित ती दुई संस्था २०१६ सालको भूमिसुधार ऐन भन्दा क्रान्तिकारी भएको उक्त पुस्तकको पृष्ठ संख्या २४२ मा उल्लेख गरिएको छ । 
    उक्त बैंक र को–अपरेटिभ सोसाईटी २००५ चैत्र १ गते देखि बन्द गरिएको उल्लेख छ । उक्त बंैकमा काम गर्ने कर्मचारीहरु असिस्टेन्ट हरिबहादुर प्रधानके र इन्पेक्टर अंजीरमान सिं प्रधानकेलाई ५ सय ५० रुपैयाँ दिने गरी २००६ साल जेठ १० गते निर्णय भएको थियो । कम्याण्डरी किताब खाना दर्ता फाँट हाकिम कारिन्दाले पुर्जी हेरी लाएण्ड मोर्टगेज बैंकका तपसीलका जवानहरुलाई २००५ साल चैत्र १ गते देखि खारेज भएकोमा सो जवानलाई राष्ट्रिय आर्थिक योजना समितिको काममा लाई राख्नु भन्ने हुकुम थियो । नानी मे.ज.विजय शम्शेर जबराले उक्त पत्र लेखी पठाएका थिए । म निरन्तर सक्रिय भएँ । मैले समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिको सदस्यका रुपमा (२०७४–२९७६) मा कार्य गरें । जिल्ला र राष्ट्रिय स्तरमा निरन्तर यो अभियानमा म लागिरहें । बल्ल मेरो कुराको सुनुवाई भयो । तत्कालिन समयमा काभ्रेपलाञ्चोक जिल्लाकै केशव बडाल राष्ट्रिय सहकारी महासंघका अध्यक्ष थिए । बनेपामा सहकारी स्थापना र त्यसको शुरुवात तथा निरन्तरताका बारेमा साहित्यकार, इतिहासविद मोहन दुवाल ज्ञाता हुनुहुन्छ । उहाँसँग सोहि सम्वन्धी तथ्यहरु पनि छन् । बनेपाको शिर मेमोरियल अस्पताल स्थापनामा पनि राजदास बादेको सक्रियता थियो । बनेपाको सहकारी स्थापना र त्यस पछिका अवस्थाका बारेमा विभिन्न तहका ब्यक्तिहरुलाई जानकारी भए पनि औपचारिक रुपमा विषय प्रवेश भएको थिएन । संसदीय समितिले उक्त विषयलाई इतिहास पुर्नलेखनको माध्यमबाट बनेपा र काभ्रेको नाम दर्ज गराउने छ । यो हामी समग्र काभ्रेबासी र सहकारीकर्मीहरुको खुशीको कुरा हो । 

दिपक पौडेल
सहकारी अभियान्ता
महादेवस्थान, काभ्रे