2019 May 23/ 07:19: 24am

भाग्य पनि खै कता कता ? मान्छे भएर जन्मिए पछि मान्छेले मान्छेको ब्यवहार गर्न सकेन र मानवियता देखाउन सकेन भने जन्मनुको के अर्थ ? केहि मान्छे मात्रै ढुंगा जस्तो साह्रो भएका हुन्छन् । तर अधिकांश ब्यत्तिहरु कोमल मन भएका हुन्छन । मान्छेले दुख र आपत पर्दा सहयोग गरेन भने त्यसको अर्थ के नै भयो र ? अजम्वरी बुटी लिएर कोहि जन्मिएको छैन र हुँदैन पनि । एक दिन सबै मर्नु पर्छ । तर जन्मिए पछि समाजलाई केहि न केहि दिनस पर्छ । समाजमा योगदान पु¥याउन सकियो भने मात्रै जन्मनुको सार्थक हुन्छ । समाजमा केहि योगदान पु¥याउन मान्छेले खाई नखाई मेहनत गरेकै हुन्छन् । हुनेले रकम दान गर्ने र नहुनेले जे छ त्यहि गर्ने हो भने मात्रै पनि मुलुक सम्वृद्ध हुन सक्छ । राज्य सबैका लागि हो । राज्यले प्रदान गर्ने सेवा सुविधा पनि सबैका लागि हुनु पर्छ । संविधानले पनि शिक्षा र स्वास्थ्य लगायतका आधारभुत विषयलाई अनिवार्य गरेको छ । सबै नागरिक उक्त सेवाबाट बञ्चित हुनु परेको छ । स्वास्थ्यमा लाग्ने खर्चले नेपालीहरुको उठिबास लागेको छ । सक्नेहरुले त देश विदेश जहाँ पुगेर भए पनि उपचार गराउँछन् । नसक्नेहरुले सिटामोल समेत खान सक्ने अवस्था छैन । लोककल्याणकारी राज्यमा नागरिकले उपचार नपाएर मर्नु पर्ने र औषधीका लागि हात पसारो पर्नु पर्ने अवस्थाको अन्त्य गर्नु पर्छ ।
जिल्लाको विकट क्षेत्र रोशी गाउँपालिका महादेवटार साविक ७ निङ्गाले स्थायी बसोबास गर्ने विष्णुबहादुर रखाल मगरको छोरा हो म । मेरो जन्म २०६० मंसिर १७ गते ललितपुरमा भएको हो । मेरो बुबाआमा ईटा भट्टामा काम गर्नुहुन्थ्यो । त्यहि समयमा मेरो जन्म भएको रहेछ । पछि मलाई गाउँमा लिएर जानुभयो । म छ वर्ष भएपछि मेरो बुबाले मलाई पढाउनको लागि गाउँकै श्री थानापति प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना गरि दिनुभयो । म दिदीहरुको साथमा स्कूल जाने आउने गर्थे । म पढ्ने क्रममा प्रथम श्रेणी हासिल गर्दै गएँ । म पढेको स्कूलमा पाँच कक्षा भन्दा अरु कक्षा पढ्नको लागि थिएन । त्यस स्कूलका प्रिन्सिपल सत्यनारायण चौधरीले मलाई साह्रै माया गर्नु हुन्थ्यो । मेरो पढाई देखेर उहाँ प्रशन्न हुनुहुन्थ्यो । म स्कूलमा पढ्दा सबैसँग मिलेर बस्ने मिलनसार स्वभावको थिएँ । सरहरु प्रति आदर सम्मान गर्ने गर्दथे । समय क्रम वित्दै जाँदा मैले त्यस स्कूल छाडेर अन्यत्र स्कूलमा भर्ना गर्नु पर्ने भयो । किन भने त्यस स्कूलमा कक्षा ५ सम्म मात्र पढाई हुुन्थ्यो । सोहि अनुरुप मेरो बुबाले मलाई मामा घरको नजिकमा रहेको श्री सम्भेश्वर आधारभूत विद्यालयमा भर्ना गरि दिनु भयो । म मामाघर नजिकमा रहेको स्कूलमा पढ्न गइरहन्थे । त्यस विद्यालयको प्रिन्सिपल शत्रुधनकुमार यादव हुनुहुन्थ्यो । त्यस विद्यालयमा मेरो पढाई राम्रो हुँदै गयो । मैले दोस्रो स्थान हासिल गर्न सफल भएँ । त्यस विद्यालयमा पनि म नम्र सहनशील र मिलनसार नै थिएँ । पढ्दै जाने क्रममा दोस्रो त्रैमासिक परीक्षा पनि सुरु भयो । म परीक्षाको तयारीमा लागें । परीक्षा राम्रै हुँदै थियो । तर एउटा विषयको परीक्षा दिन भने सकिनँ । म परीक्षाको तेस्रो दिन ढलेर स्कूल जान नसकेपछि मैले बुबालाई फोन गरेर मैले परीक्षा दिन नसकेको कुरा बताएँ । उहाँ फोन गरेको भोलिपल्टै लिन आउनुभयो । बुबा पनि एक रात मामा घरमै बस्नु भयो । भोलिपल्ट बुबाले मलाई बोकेर गाउँको घरमा लिएर आउनुभयो ।
मलाई गाउँमा ल्याए पछि बुबाले जान्नेहरुलाई देखाउनु भयो । मेरो शरीर हेर्दा जान्नेहरुले यसलाई जण्डिस लागेको रहेछ भनेर ३, ४ दिन जण्डिसको औषधी खुवाउनु भयो । तर मलाई त्यस औषधिले केही असर गरेन । त्यसपछि बुबाले मलाई काठमाडौंको सितापाईला जण्डिस हस्पिटल लिएर जानुभयो । त्यहाँ मेरो चेकजाँच भयो । त्यहाँको डक्टरले पनि मलाई रगतको मात्रा कमी छ अन्य हस्पिटलमा लगेर रगत जँचाउनु भन्नु भयो । त्यसपछि बुबाले शिर मेमोरियल हस्पिटलमा लगेर भर्ना गरिदिनु भयो । त्यतिखेर डक्टरले मलाई सिधै आइसियूमा लिएर उपचार गरि दिनु भयो । त्यहाँको डक्टरले बुबालाई रगत खोजेर ल्याउनुहोस भन्नुभएछ । बुबाले रगत खोजेर ल्याउनु भएछ । त्यसपछि त्यो रगत मेरो शरीरमा चढाइयो । पछि मेरो विस्तारै होस खुल्दै गयो । उपचार गर्ने क्रममा डक्टरहरुले मलाई के रोग लागेको हो पत्ता लगाउन सकेनन । त्यहाँ कार्यरत डक्टरहरु कविराज राई र सामना श्रेष्ठले कसोगरी यो बालकलाई बचाउन सकिन्छ भनेर सल्लाह गरेर भक्तपुर क्यान्सर हस्पिटल पठाउनुभयो । त्यसपछि मलाई भक्तपुर क्यान्सर हस्पिटलमा भर्ना गरिदिनुभयो । त्यहाँ पनि मेरो शरीरको रगतको चेकजाँच गरियो । त्यहाँ पनि रोग पत्ता लगाउन नसकिएपछि त्यहाँको डक्टरहरुले महाराजगञ्ज हस्पिटल लिएर जानु भन्नुभयो । डक्टरको सल्लाहबमोजिम मलाई महाराजगञ्ज स्थित हस्पिटलमा भर्ना गरियो ।  सबैतिर मेरो रोग पत्ता नलागेपछि फेरी जावलाखेलको हस्पिटलमा जान रिफर गरियो । त्यहाँ पनि सोचेजस्तो उपचार भएन । त्यहाँको डक्टरले हामी उपचार गर्न सक्दैनौ भनेर भनेपछि बुबाले फेरि शिरमेमोरियल हस्पिटलमै फर्काएर ल्याउने क्रममा बाटोमा सूर्यविनायक आईपुग्दा शिरमेमोरियल हस्पिटलको डक्टर सामनाले बुबालाई फोन गर्नुभयो । उहाँले बाबुको के छ हालखबर भन्नुभयो । बुबाले डाक्टरसाब कहिँ गएपनि समस्याको समाधान भएन भनेर त्यहि हस्पिटल फर्कदै छु भनेर डक्टरलाई भन्नुभयो । डक्टरसाबले हुन्छ ल्याउनुस् हामी सकेको उपचार गर्छाै भन्नुभयो । बुबाले बाबुको उपचारमा धेरै खर्च लागेको र रोग पनि पत्ता नलागेको कुरा डक्टरसामु भन्नुभयो । यो कुरा सुनेर डक्टरले मेरो उपचार निशुल्क गरिदिनुभयो । तर मेरो निशुल्क त्यहाँ सम्भव थिएन । त्यहाँको डक्टरले बानेश्वरमा रहेको सिभिल हस्पिटलको डक्टर विशेष भन्नेलाई ब्लड सम्बन्धीको डक्टर पत्ता लगाउनुभएछ । त्यस डक्टर विशेषलाई भेट्ने समय मिलाइदिनुभयो । तर डक्टरसाबलाई भेट्न बुबाले सक्नुभएन । पछि बुबाले शिर मेमोरियल हस्पिटलको डक्टरलाई अनुरोध गरि मेरो नाममा चिठी लेखी उपचारको लागि सिफारिस गरिदिनुभयो । त्यसपछि हामी सिभिल हस्पिटलमा गयौं । त्यहाँको डक्टरले मलाई हेर्नुभयो । त्यसपछि डक्टरले बाबुलाई बोनम्यारो अरु टेष्ट गराउनुहोस् भनेर भन्नुभयो । म त्यस हस्पिटलमा भर्ना भएँ । मेरो बोनम्यारो टेष्ट गरियो । रिपोर्ट पनि आयो । रिपोर्टमा मेरो बोनम्यारो फेल भएको जानकारी आयो । त्यहाँको डक्टरले मेरो बुबासँग कुरा गर्नुभयो । बुबाले मेरो छोरालाई के गर्दा निको हुन्छ भनेर सोध्दा डक्टरले बोनम्यारो प्रत्यारोपण गर्नुपर्छ भन्नुभयो । उहाँले अरु सल्लाह पनि दिनुभयो । उहाँले बोनम्यारो भाई वा बहिनीबाट पनि प्रत्यारोपण गर्न मिल्ने तर किन्नको लागि करोडौं रुपैयाँ पर्ने उहाँले भन्नुभयो । मेरो दुईवटा बहिनीहरु छन् । त्यसपछि दुईवटी बहिनीको बोनम्यारो टेष्ट गराउनुभयो । तर ५० प्रतिशत भन्दा मिलेन । बुबाले डक्टरसँग छोरीहरुको बोनम्यारो टेष्ट ५० प्रतिशत मात्र मिलेको कुरा जानकारी दिनुभयो । त्यसपछि डक्टरसाबले त्यसो भए अब औषधिबाटै उपचार गरौं भनेर भन्नुभयो । तर बुबासँग पर्याप्त रकम थिएन । भएको रकम सबै उपचार खर्चमा सकिएको थियो । बुबा मेरो उपचार खर्च कसरी जुटाउने भनेर चिन्तित हुनुहुन्थ्यो । बुबासँग विदेशमा कमाएर ल्याएको पैसाले जोडेको ४ आना घडेरी जग्गा थियो । त्यहि घडेरी २७ लाख ७५ हजारमा विक्री गरी मेरो उपचारमा खर्च गर्नु भयो ।
मेरो स्वास्थ्य पहिलेको भन्दा अलि कम हुँदै आयो । ममा पढ्ने जाँगर आयो । पछि बुबाले बनेपामा रहेको शिक्षासदन माध्यमिक विद्यालयमा भर्ना गरि दिनु भयो । म सकेको बेलामा स्कूल जाने आउने गर्थे । मेरो रोगको अवस्था र पारिवारीक समस्या बुझेर त्यहाँको प्रिन्सिपल पुकार कर्णजीतले विद्यालयको तर्फबाट ५ लाख ९ हजार आर्थिक सहयोग गर्नु भयो । बुबाले मेरो उपचारको लागि आफ्नो सम्पत्ति सबै सकाउनुभयो । साथसाथै सहयोगी हात फिजाउनुभयो । अहिले मेरो स्वास्थ्यमा केहि सुधार आएको छ । तर मेरो रातो रक्तकोष र सेतो रक्त कोष बनाउने रक्त कोशिकाले काम नगरेको हुनाले मेरो शरीरमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएकोले बहिनीहरुबाट पनि त्यो सम्भव भएन । औषधि उपचारबाट पनि लामो समयसम्म सम्भव नहुने भएकोले बुबा आफैंबाट बोनम्यारो प्रत्यारोपण गर्ने विचारले बुबाको बोनम्यारो टेष्ट गराउनु भयो । बुबाको बोनम्यारोबाट सम्भव हुने भएकोले मैले बाँच्ने आशा राखेको छु । तर बुबाको बोनम्यारो प्रत्यारोपण गर्नको लागि पनि १६ देखि १८ लाख लाग्ने भएको हुनाले मेरो परिवारलाई आर्थिक संकट परेको छ । म बाँच्न चाहन्छु । संसार हेर्न चाहन्छु । मलाई नयाँ जीवन दिनुहुन सबैमा विनम्र अनुरोध गर्दछु । मेरो इच्छा भनेका बाँचेर देशको सेवा गर्ने रहेको छ । मेरो जीवन तपाईहरुकै हातमा छ । सेवा नै ठूलो धर्म हो । मलाई तपाईहरु जो कोहीले सहयोग गर्न सक्नुहुनेछ । यसको लागि तपाईहरुले मेरो कृषि विकास बैंक बनेपामा रहेको खाता नं. ०२१२६०१२४५०३८०१५मा रकम गरेर सहयोग गर्न सक्नुहुनेछ । त्यसैगरी मेरो बुबा विष्णुबहादुर रखाल मगरको नं. ९६१४९५६१०७ मा फोन गरेर प्रत्यक्ष रुपमा भेटेर पनि सहयोग गर्न सक्नुहुनेछ । अथवा मैले अध्ययन गरिरहेको विद्यालय शिक्षा सदन मावि बनेपामा आई मलाई सहयोग गर्न सक्नुहुनेछ । शिक्षा सदन माविमा अध्ययन गर्ने गुरुहरुले मेरा लागि ज्यान दिनु भएको छ । उहाँहरुकै सहयोले मैले श्वास फेर्न पाएको छु । अझ बाँच्न मन छ मलाई । बचाउनुस् । तपाईको थोरै सहयोगले मेरो पुर्नजिवन हुनेछ । अन्तमा तपाईहरु समक्ष यहि विन्ती चढाउन चाहन्छु तपाई एकजनाले गरेको सहयोगबाट मेरो जीवन बच्न सक्छ । मैले नयाँ जीवन पाउन सक्छु । कृपया मलाई सहयोग गर्नुस् । मैले यो संसार हेर्नुछ ।

राजु रखाल
बनेपा, काभ्रे