2025 May 14/ 07:06: 05am

    प्रेम । धोका । विवाह । आत्महत्या । सम्बन्ध विच्छेद । जतिबेला पनि जो सँग पनि हुन थालेको छ । तथ्याङ्ककहरुले पनि त्यस्तै देखाएको छ । प्रेम पनि पहिलो, दोश्रो, तेश्रो, चौथो । विवाह पनि त्यस्तै । तर पनि मान्छे कोहिसँग पनि सन्तुष्ट छैन । किन होला ? माया प्रेम अनि घृणा । संसार नै प्रेमले चलेको छ । घृणा र युद्ध त सायद प्रेमका लागि जायज मानिएला । तर पनि आवश्यक छैन । आवश्यक प्रेम हो । प्रेमले संसार जित्न सकिन्छ । प्रेमका कारण भएका सबै सहज र सरल जितहरुको ब्याख्या धेरै छन् । प्रेममा पाएका धोकाहरुको बयान गरी साध्य छैन । केहि साता अघि राष्ट्रको सेवा गर्ने कसम खाएर भर्ति भएका दुई प्रहरीका सिपाहीले प्रेमकै कारण आफैले आफैलाई गोली हानेर जीवन त्याग गरे । गाउँघरमा यस्ता थुप्रै घटना सुनिरहेका छौ । जसले हामीलाई समाज कता जाँदै छ भन्ने कौतुहलता जगाएको छ । प्रेम र मायामा विश्वासको खडेरी परिरहेको छ । बर्षात्मा पानी नपरे जस्तै सम्बन्धमा आएको अविश्वास कसरी पुर्ने ? सम्बन्धमा पर्न थालेका खाडल कसरी पुर्ने ? किन धाँजा फाट्दै छन सम्बन्धहरु । 
    त्यहि विछोडको पीडा हो । पीडामा मल्हम लगाउन, मनमा भएको बह पोख्न यो स्तम्भको प्रयोग गरेको छु । सबैका भोगाईहरु उस्तै उस्तै होलान् । तर सबैले भोगेको भोगाई भन्दा आफ्नो भोगाईहरु फरक लाग्दो रहेछ । किन खन्याएँ ? मुटुभरीको माया, भए भरको प्यार ? अनी आत्मा देखिको विश्वास । मनमा राखी भगवानलाई भन्दा धेरै किन माँने ? तिमीलाई निरु भनि बोलाउन चाहे तर मेरो भावना र चाहना बेकार बन्यो । अक्षता, पाती, नैबेध अनी मेरो निष्ठामा तिमीले लात हानेर धुजा धुजा पा¥यौं । सर्पलाई दुध पिलाए पनि विष नै ओकल्छ भन्थे, तिमीलाई पनि त्यस्तै भयो । सायद यो सबै मेरो मात्रै अनुभूति हो । तिम्रो अनुभूति फरक होला । तिमीलाई लागेको सहज पनि होला । प्रेम भनेको प्राप्ति मात्रै हो भन्ने मेरो बुझाई भयो होला । प्राप्ति मात्रै प्रेम थिएन होला । होईन होला । मलाई यसको ब्याख्या गर्नु आवश्यक पनि थिएन र छैन । मेरो प्रेम, मेरो चाहना, मेरो लक्ष्य, मेरो सर्वस्व तिमीलाई पाउनु थियो । तिमीसँगै रम्नु थियो । तिमीसँगै जम्नु थियो । जीवनका हरेक चाहना र सपना तिमीसँगै पूरा गर्नु थियो । ति सबै बेकार भए । बेकार रहेछन् । तिमी किन यस्तो धोकेबाज भयौ होला ? दोष तिम्रो मात्रै हो कि मेरो पनि ? गम्भीर भएर सौचौ भने दोष अनेक होलान् । छन् । तर पनि गर्नु केहि छैन । विगतका कल्पनाहरुलाई सहज बनाउनु बाहेक मेरो अरु कुनै उपाय छैन । 
    बधाई छ निरु तिमीले नयाँ संसार अनी दाम्पत्य जीवन शुरु गरिछौ । तिमी छुट्टै धन, मान इज्जत र प्रतिष्ठाले जुरो बढाउँदै जान्छौ होला । म त दिन दिनै तिम्रै यादमा सुनकोशी झै बगिरहेको छु । सायद अब त बगिरहन पनि सकिदैन कि ? ठाउँ पनि छैन, माथी निस्किने त कुरै भएन । सोचेको पनि थिएन जिन्दगीमा यति धेरै पटक यति चाँडै असफल बन्नु पर्छ भनेर । स्कूले दिनहरु सम्झ त निरु, आखाँमा राखी नानी बनाएको थिएँ । बगैंचाको फुल मानी पानी हालेको थिएँ । बिफल सारा बिफल । तिमीले मेरा नाममा पठाएका पत्रमा कोरेका शब्द अनी समर्थन गरेका सम्झना, शब्द अनि प्रेम रुपी बाणी । निरु, मेरो अनुपस्थितिमा ति अँध्यारा र कहाली लाग्दा जीवन । म बिनाको जीवन । ती त केवल कल्पना रहेछन । एसएलसी परीक्षाका दिनहरु सम्झ त निरु, कति रमाइला थिए । बन्दको समयमा कयौ किलोमिटर सडक पार गरि गोरखनाथ बाबाको शरणमा पुगेको, पाल्चोकी माई गएको, चिया बगान घुमेको । एक कप चियामा दुई मुख लगाइ पिएको अनी चैतमासको घाममा दहीको चिसो संगै माया बाँडेको । हो, निरु अब त यी सब पानामा पनि नकोरिने इतिहास बनिसक्यो । केवल मलाई तड्पाइ रहने इतिहास । एसएलसी परीक्षा पछि तिमीलाई भेट्ने जति प्रयास गर्दथें । तिमी त्यसको विपक्षमा लाग्यौ । जे होस् तिम्रो ममीको न्यानो मायामा आफुलाई भाग्यमानी ठान्दै रमाइ रहे । मेरो ठुलो असफलताको पिडा देखेर माथिबाटै भगवानले तिम्रो ममीलाई मेरो सेवा गर्न आदेश दिए जस्तो लाग्यो मलाई । नत्र त आफ्नो छोरा जस्तै ठान्ने तिम्रो मम्मीले त्यस पछि किन बिर्सनु भयो त ? जे होस् तिम्रो मायालाई मुटुमा राखेर उज्ज्वल भविस्यको कामना गर्दै म अध्ययनको लागि पोखरा लागे । तिम्रो फोनको प्रतिक्षामा कैयौँ दिनहरु बिताए । तिम्रो साथ जीवनभरी पाइराँखु भनि मनकामनामाई सँग प्रार्थना गरे । पशुपतिनाथसँग भाकल गरेँ । कुनै भगवानले पनि मेरो भाकल र कामना सुनेनन् । सायद मेरो भाग्यमा तिमी थिएनौ कि ? 
    राजधानीमा बस्नै सकिनँ । घरबाट धेरै टाढा पश्चिम जाने कुरा भयो । केहि समय पोखरा बसें । पोखराको ठाउँ बाच्नै प¥यो, बुढा बाबाआमालाई कति दुःख दिनु । एउटा स–सानो जगिरमा झुन्डिएँ । बिहानको पढाई, दिउँसो जागिर व्यस्त बने पनि मनभरी तिम्रो मायाको भारी बोकेर दिनरात काट्दै गरे । तिमी राजधानीमा बस्न थाल्यौ । हुलाक अनी फोनका सुबिधा नभएका होइनन् तर तिमीले सम्झनै चाहिनौ । मैले तिम्रो अनी तिम्रो भाईको स्कूलको नाममा दुई वटा पत्र रजिस्ट्ररी गरि पठाए तर तिमीले कानमा तेल हालेर बसिरह्यौ । मलाई थाहै रहेनछ म त तिम्रो एकोहोरो मायामा डुबेर तिमीलाई माछापुछ«ेको शिरमा उभ्याई सराङ्गकोटबा हेर्न लागेछु । फेवातालको पानीमा डुबुल्की मार्दै तालबाराही मन्दिरमा निरुसँगै रानीवनको शितलतामा रम्न लागेछु । तर मेरा यी सब सपना, लक्ष्य कथा जस्तै बन्यो । भन्न मन लाग्यो आफ्ना भक्तहरुको दुःखमा साथ दिएर न्यानो माया दिन सक्दैन भने के भगवान् ? पीडा नै पीडामा पिल्सिएर दिन बित्दै गए । म तिम्रो मायाको ओत नपाएर पुसको ठण्डिमा झै कठाग्रिँन लागे । साउने झरिमा झै रुझ्न लागे, चैतको घाममा डढ्न थालें । भदौरे भेल सँगै बगे । खोलो किन माथि फर्किन्थ्यो र निरु । म मनभरी मायाको पोको लिएर तिमीलाई अर्पण गर्ने प्रतिक्षामा रहे तर तिमी गल्छेडो पर्खेर बसेकी रहिछौं । अवसर पाउने वितिक्कै तिमीले गल्छेडोबाट आफ्नो असली रुप देखायौ । गल्छेडो कुरेर बस्ने हो भने हात्तीको पिठ्युमा पनि धाप मार्न पाईन्छ भन्थे तर उखान मात्रै रहेछ । तिमीसँगै एकपटक भेट नहँुदै तिमीले हाम्रो संसार अलग बनाई सकिछौ । मैले तिम्रो फुलरुपी मायालाई हावा, पानी, मलजल गरेर हुर्काउन चाहे तर तिमीले मलाई केवल तुसारो, असिना अनी एसिड मात्र ठान्यौ । बधाई छ निरु तिमीलाई, तिम्रो माया फुलाएर चारैतिर बास्ना छर्ने अनी मुनामदन बनेर अर्काे ईतिहास रच्ने योजना मात्रै होईन तिमीले मलाई बिफल बनाउ । हो निरु बल्ल थाहा पाए निदाएको भन्दा निदाएको बहाना गर्ने मान्छेलाई ब्युझाउन गाह्रो हुदो रहेछ ।
    तिम्रो यात्रामा ठेस लाग्न पुगेको एउटा ढुङो रहेछु म । अनी उकाली चढ्दा आएको पसिना रहेछु । आज म तिम्रो मायामा पागल बनेर दिनको भोक न रातको निन्द्रामा छु । गाउँजाँदा हरेकपल तिम्रो मायाको आशामा रमाउँदै मनभरी मायाको लालमोहन, रसबरी, पेडा अनी लड्डु तिम्रै लागि ल्याउँथे तर अब तिम्रो बस्ती मेरो लागि मरुभुमी बन्यो । तिमी माइती गाउँ आउँदा फर्केर पनि माथि डाँडातिर हेर्ने चेष्टासम्म नगर्नु ।  त्यहाँ मेरो रोइरहेको आत्मालाई जिस्काए सरह हुनेछ । सदासर्वदा तिम्रो स्वागतमा रम्ने मेरो घर मुनीको हरियो र फुलैफुलको रुख अहिले सुकेर ढलिसकेको छ । अनि तिम्रो आगमनको प्रतिक्षामा रम्ने मेरो कटेरी खरानी भैसेकेको छ । निरु, काठमाडौको बसाई साथमा नयाँ संसार चैन छ होला ? ठिक छ मौसमी तिम्रो व्यवहारमा अब एकरुपता आओस् । मेरो जीवन दुई दिनको होला तर तिमी हजार बर्ष बाँच्नु । माया, ममता, सम्मान र पुरस्कारको सम्मानले पुरिनु । मलाई एउटा लामखुट्टे बर्षामा बाँच्नको लागि रगत चुस्न आउने परजीवी भनेर चित्त बुझाउनु जुन माया नपाएर भोकै फर्कियो । मैले तिम्रो जीवनमा जति पीडा दिन आए, कलेजोलाई समेत दुःख दिएँ । हृदय देखि क्षमा चाहन्छु । तिमीलाई पिडा त के तिम्रो पाइला पर्ने ठाउमा समेत रहने छैन केवल तिम्रो भलाईका लागि, तिम्रै सफलताका लागि । म कुरुप, गरिब, अक्षिशित अनी बेसहारा तिमीसँग सातै जुनी भेट हुने छैन । तिम्रो भरिभराउ र उज्ज्वल जिवनका लागि मैले आफुलाई तिमी भन्दा सयौ कोष टाढा जिउने कसम खाएँ । सायद यहि मेरो पागलपन होला । भुल होला । 
    सच्चा प्रेम यस्तो पो हुँदैन थियो कि ? कुनै बेला आफैसँग प्रश्न पनि गर्छु । तिम्रो उन्नती र प्रगति देख्न सक्नु पर्ने पो प्रेम थियो कि ? म भित्र प्रेमसँगै दन्किएको आगो, इष्र्या, तिमीलाई अरुले गरेको मायामा जलन भएको मनले त्यो कुरा सम्झाउनै सकेको छैन । म जुन बनेर तिमीलाई शितलता छर्न चाहन्थे, फुल बनेर बास्ना छर्न चाहन्थे, अनी तिम्रो मायामा पौडदै माछा झै बाँच्न चाहन्थे । तिमीसँंगै ग्रेटवाल चड्न चाहन्थे । सगरमाथाको शिरमा हाम्रो प्रेम पत्र बिछ्याउदै बिछोडमा तड्पनेहरुलाई मिलनको पाठ पढाउन चाहन्थे, तर मेरा यी लक्ष्यहरु धुजाधुजा भए । काँचको गिलास झै फुटे । जतिसुकै काँतर र कुरुप भए पनि हाम्रो मायाको हिरो बन्न चाहन्थे तर आज तिम्रो तिरस्कारमा विक्षिप्त बनेर जीवन र मृत्युको दोसाँधमा छट्पट्टाइरहेछु केबल मृत्युको पर्खाइमा । यो अर्काे अनौठो रोग पो हो कि ? धेरैले गरेको आत्महत्याले मलाई उक्साई रहेको छ । झस्काई रहेको छ । उनका अगाडी हाम फालेर मर्ने कि ? केहि गरेर देखाउने ? नामर्द जसरी ज्यान नै फाल्नु प्रेम होला र ? प्राप्ति भन्दा गुमाउनु धेरै प्रेम हो कि ? 

श्रवण संजेल
सिन्धुपाल्चोक, हालः पोखरा