2019 March 22/ 02:36: 57am

    जीवनका उत्कृष्ट ब्यक्तिहरुको जीवन कस्तो होला ? भोगाई, गराई र भनाईमा कति अन्तर होला ? थुप्रै प्रश्नहरु मनमा उब्जने गरेका थिए र छन् पनि । महिलाहरुले मात्रै भोग्नु पर्ने समस्याहरुमा पुरुषहरु कति जिम्मेवार होलान् ? महिलाहरु असुरक्षित हुँदा समाज समृृद्ध हुन सक्ला र ? समाजको समृद्धका लागि मनदेखि नै सुरक्षाको अनुभूति आवश्यक रहेछ । प्रविधि र पहुँचका आधारमा हुने विकास र सम्वृद्धीले मुलुकलाई फाईदा गर्दैन । सुरक्षाको अनुभुति राज्यले उपलब्ध गराए पनि घर भित्रको असुरक्षा तथा आफन्तबाट हुने असुरक्षाबाट महिला तथा बालबालिकाहरु पीडित छन् । धेरै स्थानमा भएका घटनामा आफन्तको सहभागिता छ । प्रहरी तथ्याङ्क त्यहि भन्छ । घटना त्यहि देखिन्छ । तर पनि पीडितहरु आफन्त विरुद्ध मुख खोल्न सक्दैनन् । 
    इलाका प्रहरी कार्यालय बनेपामा २०७५ असार १२ गते एउटा उजुरी प¥यो । त्यो उजुरी मेरो थियो । प्रहरीले मैले दिएको उजुरीका आधारमा सरकारी मुद्दा सम्वन्धी ऐन २०४९ को दफा १७ बमोजिम जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता ग¥यो । आफन्त र चिनजानकै ब्यक्तिहरुबाट महिला तथा बालबालिकाहरुले असुरक्षित हुनुपर्ने देश नेपाल मात्रै होईन । विभिन्न देशमा यस्ता समस्या छन् । अविकसित देशहरुमा यस्तो समस्या हुन सक्छ । मुलुकमा भएको द्वन्द्वका क्रममा द्वन्द्वरत पक्षहरुबाट पनि यो समुह असुरक्षित हुन सक्छ । विगतका घटनामा पनि त्यो देखिएकै थियो । विश्वास गर्ने कि नगर्ने ? गर्दा पनि असुरक्षित हुने नगर्दा पनि सुरक्षित नहुने ? हाम्रो गाउँमा सुनसरी जिल्ला हरीनेग्रा नगरपालिका वडा नम्वर ६ घर भई बनेपा नगरपालिका १ बस्दै आएका २० बर्षिय विष्णुदेव मण्डलको कतुर्तले सिङ्गो गाउँ बद्नाम हुन पुग्यो । उक्त गाउँ असुरक्षित महसुस हुन पुग्यो । असुरक्षाका बाबजुत हाम्रो सक्रियता र प्रहरीको सहयोगले उक्त ब्यक्ति पक्राउ परेपछि मनले शान्ती प्राप्ती गरे झै भयो । तर मनले भनेजस्तो कारवाही नेपालको कानुनले दिने ब्यवस्था रहेनछ । त्यसकारण पनि अपराधी र अपराधिक मानसिकतामा गुज्रिरहेकाहरुको मनोबल बढ्न जाँदो रहेछ । 
    सुनसरी जिल्ला घर भई कामको सिलसिलामा दुई बर्ष अगाडी देखि बनेपा न.पा.वडा नं.१ नाला अमलडोल भन्ने स्थानमा बस्दै आएका थिए । स्थानीय एक ब्यक्तिको घरमा काम गरेर बस्ने उनी दुई वर्षसम्म त्यहाँका स्थानीय जस्तै भएको थिएँ । उसले काम गर्ने स्थानमा मेरो आवत जावत थियो । उसले काम गरेको पसलमा प्राय हामी सामान लिन आउने जाने गरेका थियौं । उसले मलाई त्यहि बेला देखि नै गिद्दे नजर लगाएको रहेछ । म र मेरो परिवारसँग पनि उसको चिनजान रहेछ । उसले बयानमा पनि त्यहि भनेको रहेछ । २०७५ असार १२ गतेको कुरा हो । उ पसलको काम छाडेर खेतको काममा गएको रहेछ । खेतको काम सकेर साँझ फकँदै गरेको अवस्थामा मैले उसलाई बाटोमा देखेको थिएँ । खेतबाट फर्किएर उ त्यहि घरमा गयो । उ सधै त्यहि पसलमा काम गर्ने भएकाले मलाई उसको मतलब पनि भएन । बाटोमा को आउँछ को जान्छ थाहा हुने कुरा पनि भएन । चिनेका आधारमा बोलचाल हुनु स्वभाविक पनि हो । बोल्दैमा कोहि मान्छेसँग सम्वन्ध अगाडी बढाउनु पर्छ भन्ने पनि होईन । बाटोमा भेटेको समयमा सञ्चो विसञ्चो सोध्दैमा उसको लागि जीवन दिन तयार हुनु पर्ने हो र ? अझ पुरुषहरुको सोचाई महिलाहरु बोल्ने वित्तिक्कै आफ्नै भई हाले जस्तो ब्यवहार गर्न मिल्ने हो र ? 
    खेतबाट फर्किएर उसले घरमा रक्सी खाएको रहेछ । बाटोमा फकिँदै रक्सी खाएको ब्यक्ति घरमा आउँदा मात्तिसकेको रहेछ । म पसलमा पुग्दा उसको अनेक रुप देखेको थिएँ । पसल गएर फर्कने क्रममा उसले मलाई रोक्यो । बाटोमै रोकेर अगाडी बढ्न नदिए पछि मैले प्रतिकार गर्न खोजें । उ प्रतिकार सहन तयार भएन । उसले मलाई त्यहि बाटोमा च्याप्प समायो । जिस्क्याउँदै अगाडी बढ्यो । एकै पटक मसँग विवाह गर भन्यो । अमलडोल स्थित बाटोमै पर्ने मकै बारीको साँधमा विष्णुदेव मण्डलले पछाडीबाट घाँटी अठ्याई मकै बारीमा लडाई मुख थुनी मार्छु काट्छु भनि संवेदनशील अंगमा समाति जबरजस्ती करणी गर्न खोज्यो । भर्खर १४ वर्षको हुँदै थिएँ । मेरो मानसपटलमा न विवाह, न प्रेम अर्थात फरक लिङ्गसँगको सामिप्यता ? बाल्यकालमै त्यस्तो कुराको अनुभूति पनि छैन । उमेरले पनि ७ वर्ष फरक छ । २० वर्षको केटा मान्छेले १४ वर्ष नपुग्दैको म बालिका माथी लगाएको गिद्दे नजरले मलाई आघात पुग्यो । उसले शुरुमा धेरै पटक विवाहका लागि दबाब दियो । उसको दबाब नमाने पछि मलाई मुख र घाँटी थुनेर मार्न खोज्यो । मैले चिच्याएँ । कराएँ । उसले मेरा संवेदनशिल अंगहरुमा समाउँदै जर्बजस्तिकरणी गर्ने प्रयास पनि ग¥यो । संयोगले म मारिनँबाट जोगिएँ । बलात्कृत हुनबाट जोगिएँ । 
उसले पनि प्रहरीमा यसो भनेको रहेछ । ‘पसलबाट केहि तल आई नाम थाहा नभएको पसलमा मादक पदार्थ सेवन गरी साँझको ७ बजेको समयमा घरमा फर्कि रहेको अवस्थामा बाटोमा उनले देखें । उनलाई मैले पहिला देखि नै चिनेको भएर कुराकानी हुन्थ्यो । बोलचाल पनि राम्रै थियो । उनले पनि हरेक समयमा म सँग राम्रै सँग कुराकानी गर्ने भएकाले मलाई उनीसँग कुरा गर्ने आँट बढेको थियो । त्यस दिन पनि उनलाई बाटोमा देखेपछि मेरो मनोबल बढ्यो । रक्सी नखाई उनलाई मैले केहि कुरा भन्न सकेको थिईनँ । जब रक्सी खाएँ । रक्सीले मलाई हौसला बढायो । साहस बढायो । आज मौका पनि मिलेको छ । आजकै दिन यिनलाई मनको कुरा भन्छु भन्ने आँट आयो । बाटोमा उनलाई देखेपछि मैले उनलाई आफ्ना कुरा भन्ने प्रयास गरें । प्रेम भन्दा पनि अघि बढेर मैले उनलाई विवाह गर्छौ भनि जिस्काउँदै थिएँ । उनले मलाई भनेर हुदैन ममीले मान्नु हुन्न भनेर जवाफ फकाईन् । कुरा हुँदै थियो । उनले ममी र बाबालाई सोध्नु पर्छ भन्दै थिईन् । मैले उनलाई समाउन पुगें । मकै बारी पनि भएकाले मेरो मनोबल बढ्यो । साँझ पनि थियो । उनलाई समाएर अंगालोमा बाँधें । उनले मानिनन् । नमानी कराउन लागेपछि मैले मुख थुन्दा निजको घाँटीमा मेरो नङले कोतारिन पुग्यो । त्यस लगत्तै उनी दौडिएर घर पुगिन् । म पनि बसिरहने घरमा पुगें । उक्त घटना मैले त कसैलाई भन्ने कुरा भएन । उनलाई पनि नभन है जे भयो भयो भनेको थिएँ । उनले मानिनछिन् । उनी र उनका बाबुले प्रहरीकोमा उजुरी गरेका रहेछन् । उनलाई म प्रेम गर्दथें । प्रेम नस्विकारे पछि उनले एकै पटक विवाहको प्रस्ताव पनि मानिनन् । विवाह पनि नहुने ? प्रेम पनि नहुने ? त्यस लगत्तै मैले उनलाई समातेर आफ्नो मायाको अंगालोमा बेरेको मात्रै हुँ ?’ 
    २०७५ असार १२ गते साँझ ७.१५बजेको समयमा बनेपा न.पा.वडा नं.०१ अमलडोलमा १४ बर्षिया छोरीलाई विष्णुदेव मण्डलले पछाडीबाट घाँटी अठ्याई मकै बारीमा लडाई मुख थुनी मार्छु काट्छु भनि संवेदनशील अंगमा समाती जबरजस्ती करणी गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दर्ता गरिएको थियो । प्रहरीले घटना स्थलमा पुगी मुचुल्का तयार गरेको रहेछ । बारीको साँध सिमानामा हरियो मकैको बोटहरु रहेको तर मकैको बोटहरु भाँचिएको अवस्थामा फेला पारेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । बारीमा रहेको माटोहरु खुट्टाले खोस्रिएको अवस्थामा रहेको थियो । प्रतिवादी विष्णुदेव मण्डलले १४ वर्ष उमेर समेत नपुगेकी बालिकालाई हातमा समाती तानी पछाडीबाट घाँटीमा न्याकी बारीमा लडाई घाँटी र मुख थुनी संवेदनशील अंगहरुमा समाती कसैलाई भनेमा मारिदिन्छु भनि जबरजस्ती करणी गर्न खोजेको अवस्थामा स्थानिय मानिसहरुले देखि कराए पछि विष्णुदेव मण्डल उक्त स्थानबाट भाग्दा निजले लगाएको रातो कालो रङको चप्पल पनि सोहि स्थानमा छोडी भागी गएका थिए । त्यसकै आधारमा पनि प्रहरीलाई अपराधी पत्ता लगाउन सहज भयो । हुन त म आफै जिउँदो प्रमाण थिएँ । मकैबारीमा बालबाल जोगिनुमा मेरो भाग्य पनि होला तर ठुलो कुरा चाँहि गाउँका अन्य मान्छेहरु त्यहि बाटो हुँदै घर फर्कँदै थिए । 
    बारीमा चर्काे स्वर सुनिए पछि स्थानीयहरु पनि चकित भएका रहेछन् । छिमेकीहरु पनि दौडिएर उक्त स्थानमा पुगेका थिए । उनिहरु पुग्दा पनि उसले मेरो मुख थुनेको थुन्यै थियो । त्यो ब्यक्तिले मलाई बाटोमा हिडेको देखेर घरबाट दौडिएर आएको रहेछ । दिउँसो खेतबाट फर्किँदा रक्सी खाएर घरमा पुगेको ब्यक्ति मलाई बाटोमा देखेर दौडिएर आउँदा मकैबारी नजिक फेला पारेको थियो । भर्खरै एसईको रिजल्ट भएको थियो । दिउँसो एसईईको रिजल्ट भएकाले साथीहरुको घरमा पुगेर मैले पनि परीक्षाका बारेमा खुशी साटेर फर्किएको थिएँ । एसइईको खुशी सँगै मेरो जीवनमा अर्काे बज्रपात भएको थियो । खुशी र दुःख एकैपटक बज्रिएको मेरो जीवनका पाटाहरुका प्रत्येक पलहरु अविश्मरणीय भए । बुबा र छिमेकीहरुको सहयोगमा हामीले प्रहरीकोमा निवेदन दर्ता गराएका थियौं । प्रहरीले उजुरी दर्ता भए लगत्तै प्रकृया अगाडि बढायो । उनलाई पक्राउ गरेर ल्यायो । जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता ग¥यो र अदालतमा पेश ग¥यो । अदालतमा प्रहरीले यस्तो राय पेश गरेको थियो । ‘प्रतिवादी विष्णुदेव मण्डलले २०७५ असार १२ गते साँझको समयमा बनेपा न.पा.वडा नं.१ स्थित मकै बारीको साँधमा हात समाती तानी पछाडीबाट घाँटीमा समाई लडाई मुख थुनि मार्छु काट्छु भनि संवेदनशील अंगहरुमा समाती जबरजस्ती करणी गर्न खोजी घाँटी निचोर्दा घाँटीमा समेत चोट लागेकोले उक्त कार्य जबरजस्ती करणी उद्योग गरेको भन्ने मुद्दाको कसुर अपराधको वारदात स्थापित हुन आयो । प्रतिवादीले के कस्तो प्रकारको कसूर अपराध गरेका रहेछन् र निज उपर के कुन कानुन अनुसार कारवाही र सजाय हुन माग दावी लिने हो भनि राय लिँदा प्रतिवादीलाई हदै सम्म कानुनी कारवाही गरी पाँउ भनि सही छाप सहित स्थानीयहरुले समेत कागज गरिदिएकाले प्रतिवादी विष्णुदेव मण्डलले गरेको उल्लेखित कार्य मुलुकी ऐन जबरजस्ती करणी महलको दफा १ नं. को (क) र ५ नम्बर बमोजिमको कसुर गरेको देखिँदा सोही महलको दफा ३ को (३) नम्बर बमोजिम हदै सम्मको सजाँय हुन माग दाबी गरिएको छ ।’ 
    प्रहरीको माग दावी अनुसार उ अहिले कारागारमा गल्तिको प्रायश्चित गरिरहेको छ । हुर्के बढेका छोरी चेलीहरु माथी लगाउने गिद्दे नजरले कहिलेसम्म असुरक्षित भएर बस्नु पर्ने हो ? एसईईको रिजल्टको खुशीमा दौडिरहेकी म त्यो घटनाले केहि समय विक्षिप्त भएँ । उच्च शिक्षा अध्ययन गरी भविश्यमा राम्रो र असल मान्छे बन्ने योजनामा केहि समय ठेस लाग्यो । तर पनि कानुनले उसलाई दिएको सजायँले मलाई न्याय भएको अनुभूति भएको छ । अहिले म उच्च शिक्षा अध्ययन गरिरहेको छु । राम्रो अध्ययन गरेर मुलुक र जिल्लाको लागि केहि गर्ने सपना बोकिरहेको छु । समाजमा यस्ता थुप्रै घटनाको साक्षी हामी छौं । यस्ता घटनाबाट जोगिन पहिले तपाईले आफ्नो मनलाई सुरक्षित बनाउनुस् । अनि आफू सुरक्षित बन्नुस् । धेरै घटना चाँहि तपाई हाम्रै कारण र ब्यवहारबाट भएका त छैनन् ? 

सम्झना केसी
बनेपा, काभ्रे