2019 August 19/ 11:48: 52am

    कर्म, भाग्य । कसलाई दोष दिउँ म ? मान्छेका आ–आफ्नै भोगाईहरु हुन्छन् । मेरा पनि आफ्ना भोगाईहरु छन् । कहिलेकाँहि लाग्छ संसारमा किन मानवचोला भएर जन्म लिन पुगें होला ? सोच्छु हामी जस्तो प्राणीले जीवनबाट किन हार खानु ? थुप्रै प्रश्नहरुको चाङ्गबाट मैले निश्कर्ष निकाल्छु तब न मान्छेको जीवन । ढुंगा हो र ? मान्छेको मन त पग्लिन पनि सक्छ । कठोर बन्न पनि सक्छ । दुःखसुखको अनुभूति गर्न पनि सक्छ । समाज परिवर्तनका लागि उसको जीवन अर्पण गर्न पनि सक्छ । मरेपछि पनि उसले आफ्नो कृति फैलाउन सक्छ । रुख हो र ? घाँसपात हो र ? वा कुनै भौतिक चिज हो र मान्छेको जीवन ? कि धरहरा जस्तो बन्नुप¥यो । त्यसका लागि पनि थुप्रै चुनौती होलान् । मान्छेको विवेक मात्रै प्रयोग गर्ने हो भने उसले पाउने हरेक सुख सुविधा, ऐस आराम सबै उसको मन भित्रै छ । उ भित्रै छ । असन्तोष पनि मान्छे नै हो । एक पछि अर्काे गर्दै प्राप्त गर्न खोज्ने पनि मानव नै हुन् । 
    दुर्गम सुगम जिल्लाको बनोट नै यस्तै छ । केलाई सुगम मान्ने ? सडक, बत्ति, खानेपानी, विजुली, शिक्षा वा अरु कुनै ? मैले देख्छु सुगम मान्छेको चेतना हो । चेतना भयो भने जस्तोसुकै संकटमा पनि मान्छे सुखको अनुभूति गर्न पुग्छ । सुखानुभूती गर्न पाउनु मान्छेका लागि स्वर्ग भन्दा ठुलो कुरा हो । हुन त मान्छे स्वर्ग र नर्कको बयान गर्छ । उसले भोगेर आएको त होईन । धार्मिक ग्रन्थहरुमा लेखेकै आधारमा मान्छेले आफ्नो सृष्टि, विश्वास र कर्म चलाईरहेको छ । त्यसमै मान्छे कहिले युद्ध गर्छ । कहिले बहस गर्छ । कहिले त्यहि ग्रन्थ झुटो भन्दै निहुँ खोज्छ । धर्म, पापका कुरा गर्छ । कलियुगमा धर्मका कुरा भन्दा पापका कुरा धेरै सुनिन्छन् । मान्छे मार्ने, अपहरण गर्ने, बलात्कार गर्ने सामान्य कुरा हुन थालिसके । त्यो पनि घर भित्रैकाले भित्रकै मान्छेलाई बलात्कार गर्ने त झनै सामान्य भैसक्यो । गौतम बुद्ध जन्मेको देश भनेर चिनाउन पनि कहालीलाग्दा घटनाहरुले मन रुन्छ । देश विदेशमा नेपाली भन्ने बितिक्कै स्वाभिमानी, अग्लो हिमाल सगरमाथा र शान्तिको देश गौतम बुद्ध भनेर चिन्छन् । सम्मान छुट्टै छ । हिजो जस्तो आज छैन । श्रीमती, छोराछोरी र श्रीमानसँगको सम्वन्ध पनि राम्रो छैन । श्रीमती र परिवारका लागि दुःख गर्न गएको श्रीमान घर फर्कँदा कोहि हुँदैनन् । श्रीमानहरुको पनि रामकहानी छुट्टै होला । तर पनि समाजमा रोपिएको, घोलिएको विषले एकपछि अर्काे गर्दै अश्लीलता, अपराध बढाएको भने साँच्चै छ । 
    ठ्याक्कै मेरो जीवनमा त्यस्तै भएको छ । काखभरी सन्तान छन् । जो सन्तानका लागि दुःख गर्न घरबाट बाहिर निस्किएको छ । उसलाई पाउन र उसले पाउन प्रेममा गरेका बाचा सबै बिर्सिएको छ । प्रविधिकै आधारमा फेसबुकमा कोहि ब्यक्ति भेट्छ र जीवन दिने कसम खान्छ । आफ्नै शुक्रकिटबाट जन्माएका लालाबालालाई चटक्कै त्याग्न पुग्छ । घरमा भएकी अंगालोभरीको श्रीमती विर्सन्छ र भरभराउँदो उमेरकी कलिली युवतीलाई प्रेमको नाटकमा फसाउँछ । बर्षाै बर्ष घरमै नल्याई लुकाएर राख्छ । उसको गर्भमा पहिलो प्रेमलाई धोका दिदै शुक्रकिट भरिदिन्छ र आमा बनाउने प्रयास गर्छ । जब आमा बन्ने महिना नजिकिदै जान्छ उसको पापको भकारी भरिदै जान्छ । आखिर महिला हो एउटी महिला अर्काे महिलाको अगाडी किन सौता बन्न जान्छ ? प्रश्नहरु धेरै छन् । कति सोच्ने र कति विर्सने ? नमोबुद्ध न.पा. वडा नं. ३ साबिक मेथिनकोट गाविस ९ बस्ने बाबुराम दमाईको छोरा ३४ वर्षको भुवन परियारसँग मेरो २०६५ साल बैशाख १० मा प्रेम बिवाह भएको थियो । प्रेम विवाह पछि हामीहरुबाट २ छोरा र १ छोरीको जायजन्म भएको छ । पतिले अघिल्लो वर्ष देखि मलाई हेँला गर्ने, पुर्ण व्यबहार गर्ने, छोरा छोरीहरु समेतलाई बेवास्ता गर्दै आएका थिए । मैले ज्याला मजदुरी गरी परिवारको जिविकोपार्जन गरी आएको छु । पतिले बेवास्ता गरी घरमा बस्न नदिनु भई घरबाट निकाला समेत गरेकाले भकुण्डेबेशी स्थित डेराकोठामा बस्दै आएको थिएँ । मंसिर २५ गते विहान म घरमा गएको थिएँ । घरमा मेरो श्रीमान भुवन परियार दमाई र रेश्मा भन्ने उर्मिला परियार समेतलाई साथमै देखें । मैले उनलाई उनी को हुन् भनि श्रीमान्सँग सोधें । मैले विवाह गरी ल्याएको कान्छी श्रीमती हुन् अब देखि सधैंभरी यही घरमा रहन्छिन् भने । घरमा जेठी श्रीमती र छोराछोरी हुँदा हुँदै किन विवाह गरेको ? 
    छोरा १० वर्षिय समिर परियार, छोरी ५ वर्षिय सन्ध्या परियार र काखमा ३ वर्षको छोरा शिशिर परियार हुँदा हुँदै उनले किन अर्काे विवाह गरे ? मेरो प्रश्न खस्दै थियो उनले तैले जे गर्न सक्छस् गर म तलाई हेरचाह गर्न पनि सक्दिन र यो घर समेतमा बस्न दिन्न भने । रेश्मा भन्ने उर्मिला परियारको कोखमा ४÷५ महिनाको गर्भ समेत रहेछ । घरमा पुगेको श्रीमतीलाई माया गरेर सम्झाउनुको सट्टा उनिहरु दुबै मिलेर मलाई कुटपिट समेत गर्न खोजे । त्यहि बेला उनिहरुले रेश्माको पेटमा बच्चा समेत भएको बताएका थिए । नेपालको प्रचलित कानूनले एउटी श्रीमती हुँदा हुँदै अर्काे विवाह गर्न छुट दिएको छैन । त्यो घटना तत्काल मैले छिमेकीहरुलाई भनें । आफन्तहरुलाई भनें । मौखिक जानकारी दिएको भए पनि लिखित जाहेरीका लागि समय लाग्यो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलमा मुलुकी फौजदारी कार्याबिधी (संहिता) ऐन २०७४ को दफा ३१ को उपदफा (१) वमोजिम बिबाह समन्धी कसुर (बहुबिबाह मुद्दा) मा कारवाहिको माग गरेको छु । २०७५ पुष १ गते दिउँसो उजुरी गरेको थिएँ । नमोबुद्ध नगरपालिका वडा नम्वर ३ चरुवामा मेरो स्थायी बसोबास हो । पुष १ गते दिएको जाहेरीलाई प्रहरीले तत्काल कारवाही प्रकृया अगाडी बढायो । पौष ३ गते बेलुका ५ बजेको समयमा धुलिखेल नगरपालिका वडा नम्वर ६ बाट उनलाई पक्राउ ग¥यो । भुवन र रेश्मा दुबैलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु ग¥यो । त्यतिबेला मात्रै मलाई प्रहरी भएको र नेपालमा गरिबहरुका लागि पनि कानून भएको अनुभूति भयो । कानुनको नजरमा गल्ति गर्ने ब्यक्तिले सजायँ पाउँछ भन्ने अनुभूत गरायो । रेश्मा भन्ने उर्मिला परियारसँग उनले विवाह गरेपछि मलाई लुकाउँदै आएका रहेछन् । श्रीमान् भुवनले प्रहरीमा यस्तो बयान दिएका रहेछन् । ‘२०६१ सालमा नेपाली सेनाको सुचीकार दर्जामा नोकरी गर्दै आएको थिएँ । २०६५ बैशाख १० गते अगाडी संगीता परियारसँग प्रेम विवाह भई घर ब्यबहार चली आएको थियो । उनीबाट १ छोरा र १ छोरीको जाय जन्म भई राम्रो सम्बन्ध रहेको थियो । प्रेम विवाह भएकाले मलाई असाध्यै उनको माया लाग्थ्यो । म बिदामा कहिले काँही घर कोठामा आउँदा श्रीमतीले राम्रो ब्यबाहार नगर्ने अन्य केटासँग फोन गर्ने म तँ संग बस्दिन अर्को विवाह गर भन्ने जस्ता छुद्र बचन लगाउँदै आएकी थिईन् । श्रीमतीसँग घर ब्यबहार राम्रो नभए पश्चात मैले कान्छी श्रीमती रेस्मा भन्ने उर्मिला परियारसँग फेसबुकमा चिनजान गरेको थिएँ । फेसबुकमा कुराकानी हुँदा हुँदै उनको र मेरो प्रेम बस्यो । उनले पनि माया र प्रेमका कुरा गरिन् । श्रीमान् भएर घरमा भोग्नु परेको पीडाका बारेमा बताएँ । उनले पनि दुःखमा परेकालाई साथ दिने प्रतिवद्धता ब्यक्त गरिन् । प्रेममा पर्दै गए पछि फेसबुकको माया गहिरिदै गयो । फेसबुकले हाम्रो मायालाई विवाहमा परिणत गरिदियो । २०७५ बैशाख २३ गते प्रेम विवाह गरी काठमाडौ स्थित डेराकोठामा राखें । मैले उनलाई घरमा श्रीमती भएको बताएको थिईनँ । श्रीमतीलाई पनि भनेको थिईनँ । न घरको श्रीमतीलाई थाहा थियो । न कोठाकी श्रीमतीलाई । उनलाई मैले पहिला नै घरमा भएको श्रीमतीले छाडेर गएको बताएको थिएँ । हुन पनि हो उनी मलाई छाडेर अन्यत्र डेरा गरि बसिरहेकी थिईन् । मेरी कान्छी श्रीमती २०७४ सालको मंसिर महिना देखी ललितपुर स्थित सातदोबाटोमा आई सिलाईको काम गर्दै आएकी थिईन् । विवाह गरी काठमाडौमा सँगै बस्न थाले पछि हामी बिच सम्वन्ध रह्यो । हाम्रो सम्वन्धबाट ८ महिनाको गर्भ बसेको छ । उनी अहिले गर्भवती छिन् ।’ 
    प्रहरीले मेरो जाहेरी लियो । दुबै जनालाई पक्राउ गर्यो । उनिहरुको बयान पनि लियो । उनिहरुले भने जस्तो पनि थिएन । केहि कुरा मैले पनि आवेशमा भनेको थिएँ होला तर म अन्यायमा परेको थिएँ । उनी काम गरेको पैसा मलाई दिदैन थिए । घरमा भएका छोरा छोरीको मतलब नै नभए पछि म काम गरेर छोराछोरी पाल्नका लागि बाहिर निस्किएको थिएँ । उनले कमाएको पैसा सबै त्यहि कान्छि श्रीमतीलाई बुझाउने गरेका रहेछन् । बैशाख देखि उनी मेरो सम्पर्कमा पनि थिएनन् । प्रहरीले यस्तो राय पेश गरेको रहेछ –‘भुवन परियारले उसको जेठी श्रीमती, छोरा २ तथा १ छोरी समेत घरमा हुँदा हुदै कानुन बमोजिम सम्बन्ध बिच्छेद नभएको अबस्थामा रेश्मा भन्ने उर्मिला परियारलाई दोस्रो कान्छी श्रीमतीको रुपमा विवाह गरी ल्याएका रहेछन् । आरोपित अभियुक्त रेश्मा भन्ने उर्मिला परियार समेतले निज अभियुक्त भुवन परियार दमाईको श्रीमती र २ छोरा १ छोरी समेत छ भन्ने थाहा जानकारी हुंदा हुंदै बिबाह गरी भुवन परियार दमाई सँग दोस्रो विवाह गरी आई बहुबिबाह कसुर गरेकोले कसुरदारहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १७५ को उपदफा १ र २ को कसुरमा सोही ऐनको दफा १७५ को उपदफा ४ बमोजिम सजाय गरी उपदफा ५ बमोजिम विवाह बदर गराई पाउँ ।’
    साक्षीहरुले समेत घटनाका बारेमा विस्तृत विवरण दिएका थिए । मेरो जेठाजुले समेत प्रहरीलाई भएको घटनाका बारेमा यस्तो बयान दिएका रहेछन् । ‘जाहेरवाली संगीता परियार मेरो भाई बुहारी हुन । कसुरदार भुवन परियार दमाई मेरो भाई हुन् । २०७५ मंसिर २५ गते दिन म घरमा थिए । बुहारी र भाई भुवन परियार बीच २०६५ साल बैशाख १० प्रेम विवाह भई निजहरुको सम्बन्धबाट २ छोरा र १ छोरीको जाय जन्म भई घर परिवार चली आएको थियो । अघिल्लो वर्ष देखि बुहारीलाई हेँला पुर्ण व्यबहार गर्ने, छोरा छोरीहरु समेतलाई बेवास्ता गरेकोमा हाल ज्याल मजदुरी गरी परिवारको जिविकोपार्जन गरी भकुण्डेबेशी स्थितमा डेरा कोठा गरी बसी आएको सत्य हो । घरमा जेठी श्रीमती भएको र उनको ब्यवस्थापन नहुँदै अर्काे विवाह गर्नु गल्ति हो । उक्त दिन पनि भाईले बुहारीलाई कुटपिटको प्रयास पनि गरेकै हो । त्यसकारण बहुविवाह गर्ने भाई भुवनलाई कानून अनुसार कारवाही हुनुपर्छ ।’ 

 

संगिता परियार
नमोबुद्ध काभ्रे