2019 August 19/ 11:10: 43am

    साथी संगत जीवनको महत्वपूर्ण कुरा हो । बाल्यकाल सुखी र खुसी जे होस् त्यसले खासै मतलब राख्दो रहेनछ । साथीहरुको संगतले सुखीलाई दुःखी र दुःखीलाई सुखी बनाउँदो रहेछ । त्यस्ता थुप्रै अनुभवहरु छन् । साविक भुग्देउ महाकाल गा.वि.स.वडा नं. २ साविक भई हाल बेथानचोक गाउँपालिका वडा नं. ६ स्थायी घर भई उग्रतारा जनागाल गा.वि.स.वडा नं. ३ अर्थात बनेपा न.पा. वडा नं.१० पुलबजार भन्ने स्थानमा मेरो बसोबास छ । विकट क्षेत्रको जन्म, हुर्काइ र शहरको बसोबासले मलाई खराब संगतमा पु¥याएको महसुस भएको छ । पटक पटक प्रहरीको निगरानीमा पर्दै आएको थिएँ । २०७५ साल जेष्ठ २९ गते पक्राउ परेपछि मेरो केहि होस खुलेको छ । मसँगै रहेका दुई साथीहरु अझै फरार छन् । पुरा नाम र ठेगाना थाहा छैन । हामीले भि पाटनर(डक्टर) भनेर चिन्ने एक जना र साविक नासिकास्थान गा.वि.स.वडा नं.२ साविक घर भई हाल बनेपा न.पा.वडा नं.१३ घर हुने १९ बर्षिय अशोक थापा फरार छन् । बाल्यकालको संगत र हुर्कँदै गरेको उमेरमा अभिभावकको निगरानीमा समेत अटेर गरी गलत बाटोमा लाग्ने हाम्रो भविष्य सुन्दर होला र ?
    बनेपा न.पा.वडा नं. ८ स्थित पुण्यमाता खोल्सा नजिकको खाली चौरमा मलाई शंकास्पद अवस्थामा प्रहरीले फेला पा¥यो । मेरो शरीर खानतलासी गरी मेरो जिन्स पाईन्टमा रहेको नाईट्राभेट १० लेखेको ४५ चक्की र पर्समा रहेको सात सय पचासी फेला पा¥यो । तत्काल मलाई पक्राउ गरी मेरो साथबाट बरामद गरेको लागु औषध जस्तो देखिने नाईट्राभेट १० ट्याबलेट मध्येबाट केहि नमुना निकाली प्रयोगशाला पठाएको रहेछ । कक्षा ८ मा अध्ययन रहँदा देखि नै मैले मादक पदार्थ र चुरोट सेवन गर्दै आई रहेको थिएँ । साथी संगतीमा लागी मैले लागु औषध सेवन गर्न सुरु गरेको थिएँ । पछि मैले लागु औषध सेवन गर्न सुरु गरेको केहि समय पछि बनेपा तिर कामको सिलसिलामा चिनजान भएका साथीहरुले चिनाई दिएको भि पाटनर (डक्टर) भनेर चिनिने सँग कुराकानी भई विक्री वितरणको लागि थप छलफल गरेका थिए । बनेपाको पुलबजारमा २ पत्ता लागु औषध नाईट्राभेट १० लिएको थिएँ । मैले लिएको लागु औषध म सँगै काम गरी बस्ने अशोक थापालाई ९ सयमा बेचेको थिएँ । मैले किन बेच गरी रहेको केहि समय पछि भि पाटनर (डक्टर) भनेर चिनिने संँग पुनः पाँंच पत्ता अर्थात ७५ चक्की नाईट्राभेट १० किनबेचको लागि बनेपा न.पा.वडा नं.८ पुण्यमाता खोलाको खाली चौरमा बसी रहेको अवस्थामा प्रहरीले मलाई पक्राउ गरेको थियो । त्यो भन्दा अघि पक्राउ गरेको भए मलाई अलिक धेरै परिणाममा फेला पारेको हुन्थ्यो । धेरै परिणाम नभएकाले मलाई अझै  सहज भएको महसुस भएको छ । बनेपामा यस्तो कारोवार लामो समय देखि हुँदै आएको छ ।
    हामी प्रहरी हिरासत भित्र रहँदा रहँदै प्रहरीले यस्तो अभियानमा सक्रिय धेरै ब्यक्तिहरुलाई पक्राउ गरेको छ । २०७२ चैत्र १९ गते ३ किलो गाँजा र २० ग्राम चरेश सहित एकजना साविक कुशादेवी गाविसबाट पक्राउ परेका रहेछन् । २०७३ साउन २३ गते आधा किलो गाँजा सहित १ जना साविक बनेपा नगरपालिका ११ बुडोलबाट पक्राउ परेका रहेछन । लागु औषध डिजेबल ऐम्बल २४ थान, पेनरग्रेन ऐम्पल थान २२ र नोफेन थान २२ सहित साँगाबाट १ जना पक्राउ परेका रहेछन । हामी प्रहरीको घटनाको बास्तविकता बताईरहँदा छक्क पर्ने गरेका छौं । लागु औषधको ओसारपसार र प्रयोग दिन दुई गुणा र रात चौगुणा फैलँदो छ । त्यहि सिलसिलामा नाईट्राभेट १० लागु औषध सहित चारजना बनेपा १० घरबाटै पक्राउ परेका रहेछन् । विपी राजमार्ग र अरनिको राजमार्ग हुँदै निरन्तर लागु औषध र गाँजा ओसारपसार गरिरहेको केन्द्र बनेपा बनाउने गरेका छन् । छिमेकी देश भारतमा निद्रा नलाग्दा प्रयोग गरिने उक्त औषधी नेपालमा प्रतिवन्ध छ । हामी युवाहरु कुलतमा फस्दै गएको, लागु औषधकै कारण भविश्य अन्धकार बनाउँदै लगेको अभिभावकहरुको गुनासोसँगै प्रहरीको अभियान पनि तिब्र बनाईएको रहेछ । हामी जस्ता सोझा युवाहरुलाई लागु औषध बरामद हुँदा मोटरसाईकल, भाडाका सवारी साधन, होटल, ब्यक्तिगत घर, डेरा, पोल्टिफार्म, मोटर पार्टस मार्फत प्रयोग गरिने गरिएको छ ।
    हामी पक्राउ परिसके पछि पनि बनेपाका तीन स्थानबाट लागु औषध ओसारपसारकर्ता पक्राउ परेका छन् भने विपी राजमार्गको भकुण्डेबाट पनि ओसारपसारकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाले छुट्टा–छुट्टै चलाएको मुद्दामा थुप्रै युवाहरु यो अभियोगमा हिरासतमा छन् । जर्बजस्तिकरणीको मुद्दा पछि ठुलो संख्यामा पक्राउ पर्ने लागु औषध नै हो ।  पुष १६ गते विहान विराटनगरबाट काठमाडौ आउँदै गरेको भाडाका गाडीमा सवार दुई जना ब्यक्तिले ल्याउँदै गरेको नाईट्राभेट १० लागु औषध प्रहरीले बरामद गरेको थियो । दिउँसो साढे ४ बजे विपी राजमार्गको भकुण्डेबेशीमा गाडी खानतलासी गरी सुनसरी जिल्ला गढी गाउँपालिका वडा नम्वर ३ घर भएका २० बर्षिय सरोजकुमार मेहत्ता र सोहि ठेगानाका २१ बर्षिय मनोजकुमार मेहत्तालाई ५० पत्ता सहित पक्राउ गरेको थियो । १ पत्तामा १५ चक्की लागु औषध हुन्छ । एक पत्ताको उनिहरुले विक्री गर्ने मुल्य १ हजार देखि १ हजार ५ सय सम्म रहेको छ ।  सरोज बनेपामा रहेको ब्लक कारखानामा काम गर्दै आएका थिए भने मनोज कारनपुर युपि होटलमा काम गर्दै आएका थिए । भारतका विभिन्न स्थानबाट लागु औषध नेपाल ल्याई बनेपा र आसपासका शहरमा विक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । यसका ओसारपसारकर्ताहरुले हामी जस्तो निम्न आय स्तर भएका मजदुरहरुको प्रयोग गरी युवाहरुलाई कुलतमा फसाउने गरेका छन् । युवाहरुको भविश्य भन्दा पनि युवाहरुले जालमा पारी लामो समयसम्म त्यसमै अल्मल्याउने र जीवन बर्बाद पार्ने यसको मुख्य योजना हो ।
    इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक निरञ्जन भट्टराईको टोलीले बनेपाको साँगा इलाकाबाट पौष १३ र १७ गते ८२ पत्ता नाईट्राभेट १० बरामद गरेका थिए । पौष १३ गते अरनिको राजमार्ग स्थित बनेपा नगरपालिका वडा नम्वर १३ साँगा मन्दिर जाने बाटोमा ५० पत्ता अथार्थ १५ सय १४ चक्की लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा तनहुँ जिल्ला सुक्ला गण्डकी नगरपालिका १ घर भएका २४ बर्षका उत्तम कार्की र खोटाङ्ग जिल्ला चिउरी डाँडा नगरपालिका घर भएका २५ बर्षिय आशिष थापालाई पक्राउ गरिएको थियो । अनुसन्धान र गस्तिकै क्रममा सोहि टोलीले पौष १७ गते राति साढे ८ बजेको समयमा अरनिको राजमार्गको साँगा बनेपा १३ मा काठमाडौबाट बनेपा तर्फ आउँदै गरेको अवस्थामा मोटरसाईकल सहित दुई जनालाई पक्राउ गरिएको थियो । विराटनगर महानगरपालिका १५५ घर घएका वर्ष २३ का प्रसिल थापा क्षेत्रीले बोकेको झोलामा २५ पत्ता लागु औषध फेला परेको थियो । उनी बा २६ प ३९२४ नम्वरको बाईकमा मोरङ्ग जिल्ला सुनबर्सी नगरपालिका ६ घर भएका ३६ बर्षिय देवकुमार राजबंशीसँग आउँदै थिए । प्रहरीले दुबै जनालाई पक्राउ गरेको थियो । सोहि दिन राति बनेपा ८ चाँदनीचोकबाट बनेपा नगरपालिका १० जनागाल घर भएका २३ बर्षिय सबिन हुमागाई, महोत्तरी जिल्ला लक्ष्मिनिया गाउँपालिका ३ घर भएका ४० बर्षिय लालबाबु मण्डल र सोहि ठेगानाका २४ बर्षिय अजय शाहलाई ७ पत्ता नाईट्राभेट १० सहित पक्राउ गरेको थियो । जिल्लाका विभिन्न स्थानमा चालु आर्थिक वर्षको साढे ५ महिनामा मात्रै १२ वटा मुद्दा दर्ता भएका छन् । १० वटा मुद्दाबाट १४ जना पक्राउ परेका छन् भने अघिल्लो वर्ष सोहि अभियोगको १२ वटा मुद्दामा १६ जना पक्राउ परेका थिए । पक्राउ परेकाहरु सबैलाई लागु औषध ऐन २०३३ अनुसार मुद्दा चलाईएको छ ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्याङ्कमा पछिल्लो ३३ महिनामा लागु औषध ओसारपसार सम्वन्धी २५ वटा मुद्दा दर्ता भएका छन् । उक्त मुद्दामा ४८ जना पक्राउ परेका छन् । केहि अझै फरार छन् । बेरोजगार युवा, विद्यालय तहका बालबालिकाहरु र सडक बालबालिकाहरुले लागु औषध प्रयोग गर्ने गरेका छन् । लागु औषध डरलाग्दो अवस्थामा ओसारपसार हुन थालेको छ । सरकारले पटक पटक युवाहरुका लागि विभिन्न रोजगारमुलक र आयमुलक कार्यक्रम ल्याएको छ । गलत संगत र यसको प्रयोगले युवाहरुलाई मन्द विषका रुपमा लागु औषध प्रयोग गर्न सिकाईएको छ । माथिका केहि उदाहरण मात्रै हुन् । अहिले प्रत्येक घर घर लागु औषध भित्रन थालेको छ । अभिभावकहरु सचेत नहुने हो भने लागु औषध प्रयोग विनाको घर नहुन सक्छ । ग्रामिण भेगबाट आउने र मजदुरी गर्ने ब्यक्तिहरु यसको पहिलो शिकार भएका छन् । सुविधासम्पन्न घरमा बस्ने युवाहरुको संगत र पैसा अभाव नहुने भएकाले त्यस्ता ब्यक्तिहरुलाई विक्री वितरण गर्ने मजदुरी गर्ने युवाहरु छन् । भारतका विभिन्न शहरबाट विपी राजमार्ग हुँदै बनेपालाई सेन्टर बनाई काठमाडौ, भक्तपुर, ललितपुर र नेपालका अन्य शहरमा पनि सहजै ओसारपसार गर्ने लागु औषधको नियन्त्रण सम्भव छ कि छैन ? यो एक्लो प्रहरीको प्रयासबाट मात्रै सम्भव छैन ।
    ग्रामिण भेगको मेरो जन्म । परिवार । आफन्त सम्झन्छु । गलत बाटो र त्यसले दिएको हैरानी अहिले सम्झिरहेको छु । कसलाई भनौ ? मनको बह कसरी पोखौं । सचेत नागरिकले आफ्ना सन्तानको ख्याल पु¥याउन सकिएन भने भोली घर, समाज र राष्ट्र नै यस्तो गलत बाटोबाट कहाँ पुग्छ होला ?

आशिष थापा
जनागाल, काभ्रे