2019 March 22/ 02:40: 39am

                      त्यो दिन साँच्चै आँखामा आँशु थिएन । प्रायः सधै आँखाबाट आँशु बग्ने थिए । मान्छेको जीवन अचम्मको हुँदो रहेछ । सोचेको र चाहेको केहि नपुग्ने । जे चाहना छैन त्यो टुप्लुक्क आईपुग्ने । अथक मेहनत, परिश्रम र उत्कट चाहना राख्दा प्राप्ती हुन नसकेको विषय अकस्मात आईलाग्दा मान्छेको खुशीको सीमा रहला ? त्यतिबेला कसैको आँखाबाट खुशीको आँशु बग्ला तर मेरो आँखामा आँशु सुक्यो । अहोरात्र त्यहि विषयलाई कोट्याईरहँदा थिलथिलो बनेको घाउ अकस्मात निको हुन गयो । भाग्य र कर्मका बारेमा लामो समय मान्छेहरुको बहस चलिरहेको छ । आफु अनुकूल ब्याख्या गरिरहँदा कसैले भाग्य भन्छन् कसैले कर्म । दुवै उतिक्कै महत्वपूर्ण हुने रहेछ । 
    २७ वर्ष अघिको धेरै कुराहरु मलाई थाहा थिएन । तर पनि कसैले सुनाउँदा त्यस बारेको कौतुहलता जागिरहन्थ्यो । धेरै लामो प्रयास पनि सार्थक हुन सकेको थिएन । कहिलेकाँहि भगवानलाई सरापिरहेको थिएँ । बेकार सरापेछु जस्तो पनि लाग्छ आजकाल । भगवानसँग पुकार गरिरहँदा कुरा कुनै न कुनै दिन सुनुवाई हुँदो रहेछ । भगवान छैन भन्नेहरुका लागि पनि त्यो झापड भएको छ । कुनै दिन मैले पनि कहाँ छौ भगवान् ? भनेर कराएको थिएँ । निरन्तरको मेरो सुनुवाई कतै न कतै भईरहेको आभाष भयो । विज्ञान प्रविधिको युगमा कम्युटरले त भनेकै बेला फाईलहरु खोज्न सक्दैन । विश्वास, भरोसा र आत्मविश्वास कायम रहँदासम्म एक दिन न एक दिन भगवानले मान्छेको पुकारा सुन्दा रहेछन् । नदेखिने तर सत्यको पक्षमा रहिरहने त्यस्तो विषयमा धेरै बहस किन गर्नु पर्छ र ? भगवानै नमान्नेहरु त भैसीको पुजा गर्छन् । बलि दिन्छन् । चाडवाड, रितिथिती, धर्म संस्कृतिको कुरा गर्छन् । हामी जाबो निम्सराहरुको के कुरा गर्नु ? दोलखा जिल्लामा मेरो जन्म भएको रहेछ । जन्म दिने बाबु आमा भए पो ठ्याक्कै थाहा पाउनु । तर भन्नेहरुले २०४६ सालमा भएको जनआन्दोलनको समयमा ४ वर्षको थिईस् भनेको आधारमा मैले मेरो जन्म त्यो समयामा भएको रहेछ भन्ने अनुमान गरेको हुँ । म भन्दा पछि जन्मिएकी बहिनी त्यतिखेर ९ महिना मात्रै रहिछन् । दोलखाको विकट गाविसको ठाउँमा रहेछ हाम्रो घर । थोरै बारी । घरमा अधिँयामा पालेको बाख्रा । त्यहि भरमा बुबा आमाको जीवन चलिरहेको रहेछ । उहाँहरुको उमेर पनि त्यतिखेर भर्खर २४÷२५ मात्रै रहेछ । हजुरबुबा हजुरआमाको पनि सानै उमेरमा निधन भएकाले बुबा पनि अरुको भरमा हुर्किनु भएको रहेछ । छिमेकीहरुको साहारा, बुबाको काकाहरुको ब्यवस्थापनमा उहाँको विवाह समेत भएको रहेछ । घर न परिवार कसले दिने छोरी । तर पनि उहाँहरुको मेहनत र जिम्मेवारीमा बुबाले विवाह गर्नुभयो । सानैदेखि अभिभावक नभएकाले उहाँको बानी कुलतमा लागेको रहेछ । 
    काममा जाँदा र फर्कदाँ पनि रक्सी खाने । धेरै रक्सी सेवन पछि गाउँघरमा अनेक नाममा झगडा गर्ने । सुध्रन्छ कि भनेर उहाँकै काकाहरुले बुबाको विवाह गरिदिनु भएछ । विवाह पछि पनि उहाँको बानी सुध्रनु भन्दा झनै धेरै रक्सी सेवन गर्ने आदत हुन थालेछ । आमाले सम्झाउँदा पनि उहाँले रक्सी छाड्न सक्नु भएनछ । मामाघर पनि नजिकै भएकाले धेरै पटक उहाँको कुटाईले आमा माईती जाँदा कुटेरै हैरान । विवाहको ६ वर्ष पछि मात्रै मेरो जन्म भएको रहेछ । मेरो जन्म भएको डेढ वर्षमै बहिनीको जन्म भएछ । सुत्केरी अवस्थामा पनि आमाले पाएको यातनाको कुरा गरी साध्य छैन रे । पटक पटक श्रीमान छाडेर भाग्दा समेत उहाँ कुटाई खानबाट जोगिनु भएनछ । महिलाहरुले लोग्ने मान्छेहरुबाट भोग्नुपर्ने यातनाको त्यो एउटा रुप मात्रै हो । आजकाल धेरै खालका यातनाहरु भोगिरहेका छन् महिलाहरुले समाजमा । त्यतिबेलाको महिलाहरुको पीडा र आजभोलीका महिलाहरुको पीडा ठ्याक्कै फरक छ । बुबाको निधन रक्सीकै कारण भएछ । सानै उमेरमा बुबाको निधन भएपछि आमाले भोग्नु परेका समस्या कति धेरै होलान् । विवाह भएको लामो समय सन्तान जन्मनु नपर्ने ? सन्तान जन्मिएर तिनै सन्तानको भरमा बाँच्ने साहस बढ्दै जाँदा लोग्नेको निधन हुनुपर्ने । एकल जीवन जिउँदा भोग्नुपर्ने अनेक लाञ्छना र आरोपबाट आमा कसरी मुक्त हुने ? जिउँदै लोग्ने हुँदा त समाजले लगाउने आरोपबाट उहाँ मुक्त हुन सक्नु भएको रहेनछ । भएको श्रीमान्को अवस्था त्यस्तो भएकाले विवाह गरेकै भोलिपल्ट देखि उहाँले अरुको घरमा काम गरिरहनु भएको रहेछ । त्यहि कामबाट आएको ज्यालाले उहाँले आफ्नो मात्रै होइन लोग्नेको पेटका लागि समेत जोहो गरिरहनु भएको थियो । त्यसकै आडमा लोग्नेले रक्सीको सुरमा गरेका ताण्डव नृत्यको साक्षी समाज थियो । तर उसले आमाको गर्भमा रहेका हामीहरुको बारेमा पनि अनेक लाञ्छना लगाएका रहेछन् । म रक्सीको सुरमा घरमा हुन्न तर मेरो श्रीमती गाउँका दुनियाँ मान्छेसँग काममा जान्छे र कसको गर्भ बोकेर आउँछे । महिलाहरुले भोग्नुपर्ने लाञ्छनाका रुप पनि कति हो कति ? बुबाको निधन पछि पनि आमाले हाम्रा लागि धेरै संघर्ष गर्ने योजना बनाउनु भएको रहेछ । तर त्यहि समाजले उहाँलाई बसिखान दिएन । भक्तपुरमा घर भएका नेवार समुदायका एकजना ब्यापारी गाउँमा जाँदा उनले एकजना बच्चा पाल्ने कुरा बताएका रहेछन् । कताबाट हो उहाँले त्यो कुरा सुन्नु भएछ । मेरो शरीर उहाँकै जिम्मामा भयो भनेर आमाले सुम्पिदिनुभएछ २०४६ सालको अन्त्यतिर । बहिनीको चिन्ता रहेछ आमालाई । बहिनी त अझै सानै थिई । ६ महिनाको बच्चालाई कसरी सुम्पनु । आमाको सामु धेरै ठुला चुनौतीका पहाड रहेछन् । आफ्नो खुशीका लागि भन्दा पनि छोरा छोरीले मेरो र बाबुको कारण भविश्यमा कुनै दुःखको महसुस नगरुन् भन्ने उद्देश्यले सम्पन्न परिवारमा सुम्पन्न खोज्नु भएको रहेछ । महिलाहरुमा अथाहा मायाको खानी हुन्छ । अझ बालबालिकाहरु प्रति उनिहरुको माया भनिसाध्य हुँदैन । भविश्यको समेत चिन्ता गर्ने आमाका बारेमा कसैले प्रश्नै उठाउँनै सक्दैन । आमा जस्तोसुकै होस्, उनले जे जे गरुन् तर पनि आमाले सन्तानका लागि देख्ने सपना भनेको सुखकै हुन्छ । खुशीकै हुन्छ । 
    म आमाबाट पनि छुट्टिन पुगें । अर्काको घरमा काम पनि गर्ने र अध्ययन गर्ने योजना अनुसार साथ लागेर अन्यत्र पुगेछु । पढाई असाध्यै राम्रो थियो । म सधै प्रथम हुन्थें । जसले मेरो अध्ययनको जिम्मेवारी लिएको थियो उसले नियमित विद्यालयमा रकम तिरिदिएन । त्यो घरमा मलाई मानसिक यातना मात्रै हुन्थ्यो । मेरो विषयमा छिमेकीहरुलाई थाहा रहेछ । त्यहि कारण मेरो अध्ययन पनि विग्रँदै गएको थियो । घरका कामहरु सबै गरेर मैले अध्ययन गरिरहेको थिएँ । छिमेकीले सोध्दा पनि घरको इज्जत भनेर कसैलाई भनिन । मेरो परीक्षा शुरु हुँदै थियो । विद्यालयमा पैसा तिरेको थिईन । धेरै पटक भन्दा पनि वास्ता नगरेपछि मैले भनेको थिईनँ । तर पनि विद्यालयमा परिक्षा दिन गएँ । छिमेकी दाईले परीक्षा नछुटाउनु यसको बारेमा सोचौंला भनेपछि म खुशीले गद्गद् भएँ । जसले मलाई विद्यालयमा धेरै माया गर्दथ्यो । त्यो साथी अर्थात दाईलाई मनको कुरा भनें । उसले घरमा बुबा आमालाई भनेको रहेछ । त्यो परिवारले मलाई कक्षा १० सम्मको शुल्क तिरि दिने विद्यालयलाई बचन दिएर गएछ । म आभारी मात्रै भईनँ उहाँहरुको ऋणी पनि भएँ । तर कुरो त्यस्तो भएन । त्यो कुरा घरमा थाहा पाएपछि मलाई झनै कारवाही भयो । मैले त्यो साथीलाई उहाँहरुको सहयोग नलिने कुरा बताएँ । पछि मलाई पहिलाको भन्दा अलिक राम्रो गरियो । तर मैले उमेर बढ्दै गएपछि घरमा गर्नुपर्ने सबै काम गरें । भाँडा माझ्ने, लुगा धुने काम मेरो नियमित भित्र पर्दथ्यो । खाना पकाएर समेत विद्यालय जाने गरेको थिएँ । सबै काम सकेर विद्यालय जाँदा पनि कक्षा १० सम्म मैले पछाडी फर्कनु परेन । 
    कक्षा ९ मा पुगेपछि मैले मेरो बास्तविकता सबै थाहा पाएँ । त्यति बेला देखि मैले मेरो आमा खोज्न थालें । सम्भव भएन । बहिनीको बारेमा चासो हुन थाल्यो । उ कता के गर्दै होली ? कुनै दिन उसको र मेरो भेट हुन सक्ला र ? यस्तै कुरा सोच्दा सोच्दै मैले कक्षा १२ भक्तपुरको ख्वप उच्च माविबाट सकाएँ । नगरपालिकाको सहयोगमा संचालन भएको उक्त कलेजले म जस्ता उत्कृष्ट जेहेन्दार विद्यार्थीहरुलाई सहुलियत प्रदान गरेको थियो । विहान बेलुका घरकै काम गरेर विद्यालय जान मलाई त्यो परिवारले पनि रोकेन । पहिला भन्दा धेरै माया ममता थियो । म जिम्मेवार सदस्य बनेको थिएँ । कुनै दिन आफु जन्मेको ठाउँ र जन्म दिने आमाको बारेमा जान्न र चिन्ने जिज्ञासा सधै भईरह्यो । खुशी र सुखी । साथीभाईको अनुहारमा भएको प्रसन्नता । मेरो प्रगतिमा रमाउने आमा बुबाको अनुहार सम्झन्थें । धिक्कार्थे । रुन्थें । एक्लै कतिबेलासम्म रोएर निदाउँथे पत्तो भएन । तर पनि एक दिन मेरो आमा र बहिनी मेरो अगाडी आईपुग्छन जस्तो अनुभुति भइरहन्थ्यो । ब्याचलर तहसम्मको अध्ययन सकाएर मैले सहकारी बैंकमा जागिरको लागि आवेदन दिएँ । 
    कहिले कैलाली, कहिले कञ्चनपुर हुँदै म काभ्रेमा पनि रहें । त्यहाँ रहँदा मैले सिन्धुपाल्चोक, दोलखा, रामेछापका बारेमा धेरै जान्ने अवसर पाएँ । बंैकमा ब्यस्त थिएँ । विहानै कुनै तनाव थिएन । एक्कासी मेरो अगाडी नमस्कारको आवाज आयो । सबै ग्राहकहरु मेरा लागि देउता सरह हुन् । मैले सोचें ठुलो समस्या छ । समस्या भन्दा पनि मैले घर परिवार सोध्दै गएँ । उहाँको पनि समस्या त्यस्तै रहेछ । घरघरै चुल्हो हुनु स्वभाविक हो । अभिभावक गुमाएका थुप्रै सन्तानलाई कसैले यातना दिएका छन् भने कसैले साथ । मेरी आमा पनि सन्तानको खुशीमा भन्दा दुःखमा धेरै रुनु भएको थियो । उहाँ मसँग रुन थाल्नु भयो । उहाँले आफुलाई सम्हाल्न सक्नु भएन । कारण अर्कै थियो । उहाँको छोराको समस्या त्यस्तै रहेछ । छोराले प्रगति भन्दा पनि दुर्गति गरेको रहेछ । गलत संगतका कारण उसले पाकेट मार्ने, चोरी गर्ने काम गर्दाे रहेछ । आमा दिउँसभर भारी बोकेर छोराकै लागि दुःख गर्ने  छोराको गलत संगत सुधार्न नसकिने अवस्थामा उहाँले पटक पटक आत्महत्याको प्रयास गर्नु भएको रहेछ । छोरा नशामा लठ्ठ परेर आएको समयमा एक पटक त घाँटी थिचेर आफु मर्ने र उसलाई पनि मार्ने प्रयास विफल भएको रहेछ । मर्ने मान्छे मरेर गए पनि बाँच्नेले किन सुख पाउन सकेनन् ? सायद अभिभावक भएको भए त्यस्तो हुँदैन थियो कि ? त्यतिबेलासम्म मैले मेरो आमालाई भेटिसकेको थिएँ । 
    उहाँको दुखान्त घटना सुनेपछि मैले मेरी आमालाई सम्झिएँ । मेरी आमा पनि गाउँमै हुनुुहन्छ । पछि आमालाई सुख दिने मेरो सपना विस्तारै पुरा हुँदै गए पनि सम्भव भएको थिएन । सन्तानकै कारण अभिभावकले दुःख पाउनु र अभिभावकका कारण सन्तानले दुःख पाउने उस्तै रहेछ । अझै धेरै सन्तानको भविश्य जोखिममा पर्दाे रहेछ । आमालाई खुशी दिने सपनामै म विलिन हुन पुगेछु । उहाँको काम सकाएर पठाए पनि मलाई दिनभर त्यहि घटनाले तड्पाई रह्यो । मलाई दिएको यातना भन्दा पनि सन्तानका लागि अभिभावकहरुले कति दुःख ब्यहोर्दा पनि पृथ्वी जस्तो ऐया भन्दा रहेनछन् भन्ने लागिरहेको छ । कहिलेकाँहि सोच्छु जन्मिए र पो गल्ति गरें कि ? म रुन सकिनँ । सधै रोएको मान्छे त्यो दिन मेरो आँखाबाट आँशु बगेन । सबै कुरा सुनें र आमालाई पनि सुनाएँ । सम्भव छ त आमा र म सँगै बस्न ? आमाको माया । छोरी विवाह गरेर जानु पर्ने रहेछ । अरुको माया र प्रेममा फसिसकेको ब्यक्ति । अरुकै सहयोगमा हुर्किएँ । काम गरें । विस्तारै लोकसेवा आयोगको परिक्षा दिएँ । सुब्बामा प्रशासन तर्फ नाम निकाल्न सफल भएँ । स्थायी जागिर सँगै नयाँ जीवन शुरु गरें । योजना छ अब आमालाई पनि सँगै राख्ने । अभिभावकको माया सन्तान माथी सन्तानको माया ढुंगा माथी भन्ने उखानबाट मुक्त हुनुपर्छ । जेष्ठ नागरिक तथा जसले जन्म दिन्छ उसलाई दुःख दिनु पाप हो । त्यस्तो सन्तानले मरेपछि पनि सुख पाउँदैन । उसको आत्माले शान्ति पाउँदैन । हिजोको घटना र यातनालाई सुखमा बदल्ने प्रण गरेको छु । 

शशिकला पाख्रिन
भक्तपुर