2018 December 15/ 09:41: 36pm

    समाजमा अहिले पनि कुरिती, कुसंस्कार र अन्धविश्वास कायम छ । पछिल्लो पुस्ताले यस्तो कुरामा कमै विश्वास गरेको भए पनि पहिलेका मान्छेहरुमा यस्ता कुराले घर जमाएको छ । रुढीवादी कुराहरुको विश्वासमा समाजमा अनेकखाले  घटनाहरु समेत हुने गरेका छन् । पुस्ता हस्तान्तरण, प्रविधिको विकास, मानब सभ्यतासँगै भएका विकासले मानव चेतना प्रशिक्षत हुन समय लाग्दो रहेछ । पहिले पहिले बोलिने भाषाहरु पनि त्यस्तै हुन्थे । सबैको मुखमा त्यस्तै शब्दहरुको वर्षा हुन्थ्यो । विस्तारै ऐन कानुन निर्माण हुँदै गयो । राज्य र कानुन नै नहुँदा धार्मिक ग्रन्थहरुका आधारमा समाजलाई अगाडी बढाउने एउटा अभियान मानव विकाससँगै परिवर्तन भएको थियो । राज्य भयो । कानुन बन्यो । कानुनहरु पनि समय अनुसार परिवर्तन हुँदै गए । समाजको आवश्यकता र चाहना अनुसार कानुनका परिभाषा लगाउन थालियो । पुरानै अभ्यास र कानुनका बारेमा ज्ञान नहुनेहरुलाई अझै यस बारेमा अभ्यस्त हुन बाँकी छ । नयाँ परिवेश र संविधानले जनतालाई थप अधिकार प्रत्यायोजन गरेको छ । अधिकार उपभोगका लागि कानुनहरु पनि निर्माण भएका छन् । मौलिक हकको संरक्षणका लागि सरकारले निर्माण गरेका कानुनहरु ब्यवहारमा देखिन थालेका छन् । 
    लोकतन्त्रमा छाडातन्त्र मौलाउँदै गएको छ । विशेषगरी २०६२÷२०६३ को जनआन्दोलन पछि मुलुकमा धेरै खाले संर्घष र अधिकारका आन्दोलन भए । राज्यको पुर्नसंरचनासँगै त्यस्ता अधिकारहरु संस्थागत भए । कुप्रथा र कुसंस्कृतिको अन्त्य पनि हुँदै गयो । अहिलेको पुस्ता त्यस्तो मान्न तयार छैनन । तर पनि समाजमा त्यस्ता कुराले गाँजेको छ । अझ भुकम्प गए पछि त्यस्ता केहि घटनाहरुले समाजमा अस्थिरता र अराजकता फैलायो । श्रम र मजदुरीका लागि मान्छेहरु घरबार त्याग्न थाले । भुकम्पका कथा धेरै छन् । शशस्त्र युद्ध र त्यहि बेलाको आन्दोलनले समाजका केहि कुरितिहरुको अन्त्य गरायो । जातभात, छुवाछुत सम्वन्धी भएका हेपाईहरु क्रमश अन्त्य हुँदै गए । जातका नाममा अहिले खेति फस्टाईरहेको छ । जातिय अधिकारका नाममा दुरुपयोग पनि भएको छ । तर यहि जात हो यसले यस्तो गर्नु हुँदैन भन्ने चेतना अब सकिएको छ । सबै मान्छे एउटै हुन् । महिला र पुरुषको मात्रै जात छ । कम्युनिष्टहरुले पनि धेरै यहि कुरालाई उचाल्दै आएका थिए । मुलुकमा अहिले कम्युनिष्टहरुकै शासन छ । शासनमा बसेकाहरुले पनि सत्ताको बागडोर सम्हाल्दा जनता र राष्ट्रको सेवालाई पहिलो प्राथमिकतामा राखेका छन् । सधै जनताले जित्ने र जनताकै पक्षमा हुने शासन र कानुन बनुन । जसले कार्यान्वन गर्छ उसलाई पनि दबाब भन्दा पनि स्वतन्त्र भएर कानुन कार्यान्वन गराउने वातावरण बनोस् । 
    पारिवारीक भोगाई धेरै छन् । भुम्लु गाउँपालिका वडा नम्वर ६ मा मेरो स्थायी बसोबास । कँडेल परिवारको बसोबास छ । सबैका शत्रु र मित्रु स्वभाविक नै हुन् । आफ्नो गरेर खाएको देख्न नसक्नेहरु पनि छन् । एक दुई दिन सामान्य झगडा हुँदा त मैले केहि भनेकै थिईन । हरेक दिन मान्छेले मान्छेलाई गर्ने ब्यवहार फरक हुन थालेपछि समाजमा कसरी बस्न सक्छ र ? उमेरले ७३ वर्षको भई सकेको छु । घरले जा जा र बनले आईज आईज भन्ने उमेरमा मैले कसको कुभलो चिताउनु । सरकारले जेष्ठ नागरिकहरुका लागि ल्याएको ऐन कार्यान्वयन नहुँदै हामी पीडित बन्न पुगेका छौं । जेष्ठ नागरिक भत्ता, सामाजिक सुरक्षा भत्ता, उपचार भत्ता, सवारी साधनमा छुट तथा अन्य विषयमा राज्यले दिएका सुविधाहरुले हामीलाई सहज बनाएको छ । केहि ब्यक्तिलाई परिवारकै सदस्यबाट भएको अन्याय र अत्याचारका बारेमा बोल्न सक्ने अवस्था छैन । म त्यस्तै अन्यायमा परेको ब्यक्ति हुँ । कानुनले न्याय दियो । न्याय दिन सक्रिय ब्यक्तिहरुलाई धन्यवाद दिन चाहन्छु । तर पनि मैले पाएको मानसिक यातनाको क्षतिपुर्ति र सामाजिक रुपमा पाएको बदनाम कहिल्यै फर्केर आउँदैन । 
    उनी ६८ वर्षका रहेछन । खिलराज कँडेल हो उनको नाम । २०७५ असार ३ गते ३ गते बिहानको समय थियो । अन्दाजी झिसमिसेमा विहानको साढे ४ बजेका थियो होला । भुम्लु गाउँपालिका वडा नं.६ स्थित घरमा खिल बहादुर कंडेलले मलाई बोक्सी भनी बोक्सीको आरोप लगाई गाउँमा बस्न दिनु हुँदैन, यसले दिएको र छोएको केही खानु हुँदैन, खायो भने मान्छे मर्छ, तँलाई मारेर गाडे पनि कोही कसैलाई थाहा हुँदैन भन्ने जस्ता बिभिन्न अपशब्द तथा गालीगलौज गरी अमानबिय तथा अपमान जनक ब्यबहार गरे । मैले केहि समय उनको कुराको प्रतिवाद पनि गर्न खोजें । तर उनका अगाडी मेरो केहि सिप लागेन । अहिलेको समयमा पनि बोक्सी हुन्छ र बोक्सी भएकै कारण मैले कसको कति के विगार गरें ? यस्ता धेरै प्रश्न उनलाई तेस्र्याएँ । तर पनि उनले त्यसको कुनै परवाह गरेनन र मलाई एकोहोरो गाली मात्रै गरिरहे । मैलै त्यसपछि घर सल्लाह गरें र उनलाई कानुन अनुसार कारवाहीका लागि माग गर्ने निर्णय गरें । सोहि ब्यहोराको जाहेरी जिल्ला प्रहरी कार्यालय काभ्रेमा दर्ता गराएँ । बुढो उमेर हुँदै गएपछि लाग्ने आरोप र अपमान जनक ब्यवहारले मान्छेको मन कस्तो होला ? कसलाई मर्नु पर्देन ? कसले लिएर आएको छ आजिवन बाँच्ने बुटी ? अनि मान्छेले बोक्सो लागेर अहिलेसम्म नेपालमा अथार्त विश्वमा कति मान्छे मरेका छन् ? अझ पशु पक्षी कति मरे ? वाहियात प्रश्नको जवाफ को सँग हुन्छ ? भैसीले दुध कम दिनु, मान्छे विरामी पर्नु्, बालबालिका विरामी पर्नु कुनै बोक्सिको कारण हो ? के हो बोक्सी भनेको ? 
    मैले जाहेरी दिएपछि मेरो घरमा आएर प्रहरीले मुचुल्का समेत तयार गरेको थियो । मुचुल्कामा भएको घटनाको जस्ताको तस्तै ब्यहोरा उल्लेख गरिएको थियो । प्रहरीले मेरो सहयोगका लागि तत्काल प्रहरी टोली पठाएको थियो । यस्तो भन्ने र गर्ने ब्यक्तिलाई कानुन अनुसार कारवाही हुन्छ भन्ने कुरा मैले थाहा पाएपछि प्रहरीलाई खवर गरेको हुँ । हामी जेष्ठ नागरिकहरुलाई यस्तो अपमान र ब्यवहार भईरहेको छ भने तपाईहरु पनि कानुनको सहयतामा न्याय पाउन सक्नुहुन्छ । यो घटना आज मलाई परेको छ । भोली तपाईहरुलाई पनि पर्न सक्छ । सबैका घरमा जेष्ठ नागरिक हुनुुहन्छ । उमेर ढल्कँदै गएपछि जब काम गर्न सकिदैन अनि सबैको झिजोझर्काे हुन जाँन्छ । सम्पतिका लागि केहिले अभिभावकलाई नै घरबाट निकालेका घटना सुनिन्छन् । सम्पति हुँदा र नहुँदा पनि फरक छ । त्यहि कारण राज्यले दिएको सुविधा हामीले उपयोग गर्नु पर्छ । कतिपय स्थानमा त्यो रकम पनि उनिहरु आफैले प्रयोग गर्न पाएको अवस्था छैन । मान्छे भित्रको मानवता हराएपछि सबै घटना हुँदा रहेछन् । मान्छे भित्रको हरी जब सकिन्छ तब मान्छेले गर्ने कुकर्म शुरु भयो । मलाई जसले बोक्सि भन्यो उसले पनि घटनालाई यसरी स्विकारेको अवस्था थियो । ‘म बिगत १७÷१८ बर्षदेखी नै झारफुकको काम गर्छु । सुन्तली कंडेलको घर र मेरो घर संगै पर्छ, घरायसी बिषयमा बिबाद भएका कारण उनीसँग हाम्रो बोलचाल छैन । उनले प्रायजसो मेरो बारीको बाटो हुँदै हिड्ने हुँदा मलाई रिस उठ्यो । २०७५ असार ३ गते बिहान म उनको घरमा गई मेरो बारीमा किन हिडेको अबदेखी नहिड भनेको हुँ । उनी मसँग झगडा गर्न आईन । रिसाएर मलाई कराउन थालीन् र मलाई एक्कासी तँ झारफुक गर्ने बोक्सा त हो नि भनी मलाई भनेपछि मलाई रिस उठी तँ पनि बोक्सी हो भनेको हुँ, मैले उनलाई अन्य कुनै अपशब्द तथा उनले भनेजस्तो अमानबिय तथा अपमान जनक ब्यबहार गरेको छैन । सोही बिषयलाई लिएर म उपर बोक्सीको आरोपमा उजुरी दिएकी हुन् । मलाई र उनलाई एकै प्रकारको कारवाही होस् । रिसको आवेगमा भनिएको कुरालाई उनले मुद्धा बनाईन् भने मैले किन नबनाउने ?’
    उनले आफु कानुनको कठघरामा परेपछि यस्तो भनेका थिए । त्यस्तो कुरा थिएन । म उनको बारी हुँदै हिड्ने गरेको हुँ । बर्षाै देखि हिडी आएको बाटो उसले प्रयोग नगर भनेर भन्न मिल्छ ? कानुनले समेत बाटो उपयोग गर्न रोकेको अवस्था छैन । देख्ने सुन्नेहरु सबैले उसले गरेका अभद्र ब्यवहारका बारेमा जानकारी दिन्छन् । पीडित सुन्तली कँडेललाई बोक्सी भनी बोक्सीको आरोप लगाई गाउँमा बस्न दिनु हुँदैन, यसले दिएको र छोएको केही खानु हुँदैन, भन्ने जस्ता बिभिन्न अपशब्द तथा गालीगलौज गरी अमानविय तथा सामाजिम मर्यादा बिपिरितका कार्य गरेको भनी जाहेरी दरखास्तका आधारमा घटनास्थल मुचुल्का घटना बिबरण कागज तथा प्रतिवादीले गरेको बयान कागजबाट खिलराज कँडेलको उक्त कार्य बोक्सीको आरोपको वारदात पुष्टि भएको प्रहरीको ठहर थियो । प्रहरीले उक्त मुद्धामा प्रतिवादीलाई खिलराजलाई सुन्तली कँडेललाई अमानविय तथा अपमानजनक व्यवहार गरी सामाजिक मानमर्यादाको साथै आत्मासम्मान समेतमा चोट पुर्यााएकाले बोक्सीको आरोप (कसुर र सजाय) ऐन २०७२ को दफा ३ को उपदफा १ को (ख) र (ग) नं. अनुसारको कसुर अपराध गरेको पुष्टि भएकाले सोही ऐनको दफा ११ को उपदफा १ को (ख) बमोजिम दण्ड सजाय हुन र सोही ऐन दफा १२ बमोजिम उचित क्षेतीपुर्ती समेत दिलाई भराईदिने माग दावि गरेको थियो । 
    अदालतले मलाई न्याय दिएको छ । उनले त्यस पछि मलाई नबोले पनि त्यस्तो आरोप लगाएका छैनन । तर पनि उनले लगाएका बचनले मन दुखेको छ । दुखेको मन कसरी सिलाउने ? कसरी मल्हम लगाउने ? आफन्त नजिक नहुनु र पराई नजिक हुनु राम्रो होईन । अहिलेका समयमा धामीझाँक्रिको कुरामा कति सत्यता होला । हुन त हाम्रो पालामा त्यहि कुरा महत्वपूर्ण थियो । आवश्यक पनि थियो । विश्वास पनि थियो । तर अहिले समय बदलिएको छ । बदलिएको समय अनुसार हामी चल्न सकेनौ भने मन फाट्छ । फाटेको मन जोड्ने अरु कुनै उपाय हुँदैन । उपाय भनेको कानुन हो । तपाईहरुलाई पनि यस्तो भएको छ भने कानुनको सहायता लिनुस न्याय पाईन्छ । 
सुन्तली कँडेल
भुम्लु ६, काभ्रे