2021 October 19/ 05:17: 25pm

    ब्यक्तिको जन्म, मृत्यु र कर्म । कहाँ कहिले हुन्छ कसलाई जानकारी हुन्छ ? जन्मे पछि भोग्नुपर्ने तमाम भोगाईहरुमा मान्छे संघर्ष गरिरहेको हुन्छ । लेखान्त त्यहि छैंटीकै दिनको हो । यतिबेला म जिल्ला कारागार कार्यालय काभ्रेको घेराबार भित्र खुल्ला छु । सम्झन्छु पाप धुरीबाट नै कराउने रहेछ । लालाबाला छोरीहरु छन् । यो उमेरमा जेलको चिसो हावा खाईरहँदा पनि मैले आफ्नो अपराधको पीडाबोधलाई कम गर्न सकिरहेको छैन । उसै त पुषको ठण्डी झन जेलको हावा । त्यो दिन सम्झन पनि चाहन्नँ । बनेपामा प्रहरीले हिरासतमा राखिरहेको थियो । परिवारका आफन्तहरु भेट्न आउँदा सन्तान बोकेर आएका थिए । उनिहरुको अनुहार देखेर आफैलाई मारौ मारौ जस्तो लाग्यो । सम्झें बाँचिरहे त उनिहरुको अनुहार हेरेर पनि बाँच्ने श्वास भरिन्छ कि ? 
    श्रीमती मारेर १९ दिनसम्म लुकेको कहानी छ मेरो । प्रहरीले गहिरो अनुसन्धान गरेर मलाई पक्राउ ग¥यो । नमार्नु पर्ने श्रीमती मारि हालें अब के गर्ने ? कता जाने ? कसलाई भन्ने ? भन्यो भने पनि प्रहरीले कारवाही गरिहाल्छ । बरु भन्दै नभनी बस्यो कसैले थाहा पाउँदैन भन्ने लाग्यो । अपराध कसरी लुक्न सक्थ्यो र ? अपराध जहाँ गए पनि छिप्न सक्दो रहेनछ । नेपाल प्रहरीले चाह्यो भने जस्ता अपराधहरुमा पनि अनुसन्धान गर्न सक्दो रहेछ । नेपालका केहि चर्चित घटनाहरुमा नेपाल प्रहरीले अनुसन्धान गर्न नसकेको आरोप लागेको छ । घटनालाई राजनीतिकरण गरायो भने अपराध छिपाउन सहज हुँदो रहेछ । निष्पक्ष अनुसन्धानमा प्रहरीले अपराधीलाई पानी मुनी गएर लुके पनि पत्ता लगाउँदो रहेछ । केहि दिन अघि हाम्रै कारागारबाट एकजना चोरी अभियोगका ब्यक्ति अदालतबाटै भागे । उनलाई प्रहरीले फेरी पनि अपराध गरिरहेकै अवस्थाबाट पक्राउ ग¥यो । अपराध गरेर जेलमा बस्नु अनि फेरी छुटेपछि फेरी अपराध गर्नु मान्छेको पेशा रहेछ । केहि ब्यक्तिहरु त्यहि अभियानमा हुँदा रहेछन् । जेल भित्रका कथा कति हो कति ? उसै जेल जीवन भनिएको हैन रहेछ । राजनीतिक बन्दिहरुले भोग्नुपर्ने र बस्ने जेल फरक होला तर मैले भोगेको जेल फरक रहेछ । 
    सरकारले हरेक वर्ष विभिन्न अवसरमा जेलमा बस्ने हामी जस्ता कैदी बन्दीहरुलाई सजायँ माफ दिने गरेको रहेछ । यो वर्ष पनि त्यस्ता केहि ब्यक्तिहरु जेलको सजायँ मिनाहा भएर घर फर्किएका छन् । केहि अपराधमा संलग्न भएकाहरु कोभिड १९ पछिको संक्रमणले गरेको ब्यवस्था अनुसार रिहा भएका छन् । केहि जेलमा नै नआई फरार रहेकै अवस्थामा छुटेका छन् । घटना, प्रकृति र अवस्थाका कारण जेल जीवन भोगिरहेका नागरिकहरुको भोगाई विल्कुल फरक छ । म त भन्छु मान्छे सकेसम्म जेल नै जान नपरोस् । कुनै कारण त्यस्तो परिस्थिति आईलाग्दा पनि सहन सकोस् । जेलबाट आफ्नो नयाँ जीवनको शुरुवात गर्न सकोस् । घर परिवार इष्ट मित्रले समेत छिःछिः र दुरदुर गर्ने यस्तो जेल जीवनबाट मुक्ति पाउन कठिन छ । केहि त छुटेका पनि छन् । आवेशमा वा योजनामा जसरी भए पनि अपराध मानव जीवनमा गर्नु नपरोस् भन्ने चाहना जेलमा पुगेका ब्यक्तिहरुलाई महसुस हुन्छ । कोहि त्यहि महसुसले सुध्रन चाहन्छन् कोहि फेरी अपराधमा संलग्न हुन्छन् । 
    मेरो चाँहि फरक छ घटना । मैले श्रीमती मारेर लुकिरहेको अवस्थामा १९ दिन पछि ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको थियो । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाको टोलीले मलाई पक्राउ गरेको थियो । श्रीमती मारेको १५ दिनसम्म त कसैले पत्तो नै पाएका रहेनछन् । श्रीमती मारेर म निजगढ हुँदै मकवानपुर गएको थिएँ । मैले मारेर फालेको श्रीमतीको शव स्थानीयले १५ दिन पछि देखेर प्रहरीलाई खबर गरेका रहेछन् । मेरो जेठी श्रीमती बेपत्ता भएको केहि वर्षमै २०५९ सालमा विवाह गरेको थिएँ । भाग्य पनि कस्तो कस्तो । घरबाट परिवारको सहमतिमा विवाह गरेको थिएँ । पहिलो श्रीमतीले मलाई छाडिदिएर बेपत्ता भयो । सायद मेरा पनि कमजोरी थिए होलान् । मेरै कमजोरीका कारण श्रीमती मसँग बस्न रुचाईनन् होला । श्रीमती नभए पछि हामी श्रीमान्हरुको घर उजाड हुँदो रहेछ । गहना फुकालेको महिलालाई असुहाउँदो देखिए जस्तै श्रीमती नभएको घर अन्धकार जस्तै हुने रहेछ । उनि किन म सँग बस्न सकिनन् वा चाहिनन् । धेरै पटक प्रयास गरे तर सकिन । 
    नुवाकोट जिल्ला साविक ओखरपौवा गाविस वडा नम्वर १ मा मेरो जन्म भएको हो । मेरा आफन्तहरु त्यहि गाउँमा बसिरहेका छन् । नुवाकोट जन्म घर भई हाल बारा जिल्ला निजगढ नगरपालिका वडा नम्वर २ मा मेरो बसोबास छ । उमेरले भर्खर ५३ वर्षको भएँ । मेरो र जेठी श्रीमतीको उमेर लगभग मिल्दोजुल्दो थियो । कान्छी श्रीमती म भन्दा १० वर्षले कान्छी छिन् । उनलाई म असाध्यै माया गर्थे । केहि वर्ष देखि उनको र मेरो सम्बन्ध राम्रो थिएन । उनी काम गरेर लगिदिएको पैसा पनि बचत गरिदिन्न थिईन् । मैले चाहेको बेला पैसा पनि पाउन सक्दिन थिएँ । हामी मादक पदार्थ धेरै सेवन गर्दथ्यौं । काम पनि गर्ने गरेका थियौं । काम पनि गर्ने रक्सी पनि खाने । कहिले धेरै पैसा घरमा लैजाने कहिले रक्सी खान घरकै पैसा पनि लुट्ने । श्रीमतीलाई उक्त ब्यवहार पटक्कै चित्त बुझेको थिएन । धेरै समय हामी अलग अलग पनि बस्न थाल्यौं । उनको र मेरो विवाद हुँदा मैले कुटपिट पनि गर्ने गरेको थिएँ । सकेको उनले पनि कुट्थिन् । हामीबाट जन्मिएका दुई छोरी निजगढमै थिए । जेठी छोरी १७ वर्षकी भईन् । कान्छी १४ वर्षकी । हामीले उनिहरुलाई गाउँमै छाडेर काममा हिड्ने गरेका थियौं । नुवाकोटमा दिदीको घरमा गएको बखत म उनैसँग गएको थिएँ । श्रीमतीको नाम सिता हो । सिताको दिदीको घरमा केहि समय हामी बस्दा पनि उनले मलाई राम्रो ब्यवहार गरिनन् । कारण अर्कै थियो । उनलाई म सँगैसँगै बस्न, खान र मेरो मनको चाहना पुरा गर्न मन लाग्दैन थियो । म पुरुष भएको नाताले मलाई चाहिएको समयमा उनले मेरो भावना बुझिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । उनको भावनाका बारेमा मलाई बाल थिएन । म स्वार्थी थिएँ । स्वार्थी भएकै कारण म अपराधी बन्न पुगें । पश्चाताप बाहेक म सँग केहि छैन । 
    केहि वर्ष देखि हामी काभ्रेका विभिन्न स्थानमा मजदुरी गरिरहेका थियौं । मजदुरी गर्ने क्रममा पनि उनी म सँग भन्दा अन्यत्र जान्थिन् । त्यो कुरा मलाई चित्त बुझ्दैन थियो । अब अति भयो भनेर एकदिन मैले योजना बनाए । उनलाई सँगै बोलाउने र निजगढ लैजाने । ४३ बर्षिया मेरी कान्छी श्रीमती सिता नेपालीलाई २०७७ मंसिर २३ गते पनौती नगरपालिकाबाट घर लैजाने भन्दै च्याम्ब्राङ्गबेशी जाने ट्रकमा राखेर लगें । सोहि सडक हुँदै बारा पुग्न सहज हुन्छ । उनले घर जान मानिनन् । बाटोमा समेत मैले उनलाई कुटपिट गरेको थिए । ट्रकबाट ओर्लेर हिड्नु पर्ने थियो । हामी पहिला पहिला पनि त्यो बाटो हिडिरहेका थियौं । मेरो मार्ने योजना थिएन । सितालाई फकाई फकाई घरमा पु¥याउँछु । दुई छोरी र हामी मिलेर बस्छौं भन्ने थियो । सिताले पनि बाटोमा मलाई मुख मुखै लागिन् । उनले मुखमुखै लागे पछि मलाई रिस उठ्यो । केहि वर्ष देखि नै उनको मेरो सामान्य झगडा भईरहेकाले मलाई उनीसँग पनि किन बस्ने त ? भन्ने लाग्यो । च्याम्ब्राङ्गबेशी पुग्दा अलिक अँध्यारो भएको थियो । उनले कतै बास बसेर भोलिपल्ट जाउँ भनेकी थिईन् । अझ पनौतीबाट पनि जान मानेकी थिईनन् । मेरै करबलले उनि त्यहाँ पुगेकी थिईन् । सम्झाँझै थियो । मैले सितालाई खोलाको छेउमा पु¥याएँ । अरुको घरमा किन बास बस्नु ? यहि खोलाको डिलमा बसौ भन्दै मैले अन्यत्र जान नदिए पछि उनले जर्बजस्ति गरिन् । मलाई पनि झनै रिस उठ्यो । बाटोमा पनि झगडा भएकै थियो । कति वर्ष देखि आफ्नो भावना पूरा गर्न नपाएको पीडा पनि थियो । फेरी मैले उनलाई त्यहि पुनः कुटपिट गरें । कुटपिटकै क्रममा सितालाई छातिमा लाति र घाँटीमा हातले थिचेर मारिदिएँ । त्यसअघि पनि पटक पटक मैले उनलाई कुटपिट गर्दै आएको थिएँ । उनले पनि मलाई सकेसम्म कुट्ने गरेकी थिईन् । 
    काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्वर १ हात्तीडुंगा स्थित खोलाको छेउमा कुटपिट पछि मैले सिताको हत्या गरेको थिएँ । उनी मरिसके पछि केहि बेर शान्तिको श्वास फेरें । लगत्तै पश्चाताप लाग्न थाल्यो । घरमा दुई छोरी छन् । कुटपिट मात्रै गरेको भए पनि हुने । नमारेको भए पनि हुन्थ्यो । होस् अब जे जे भयो भयो कसैलाई भन्दिनँ । किनकी त्यति टाढा खोलामा लगेर कुटेर मारेको कुरा कसले थाहा पाउला र ? त्यसको दुई महिना अघि पनि सितालाई मैले मरणासन्न हुने गरी कुटपिट गरे पछि उनी रसुवामा रहेका आफन्तको घरमा बस्दै आएकी थिईन् । डेढ महिना अघि म आफै रसुवा पुगेर सितालाई काठमाडौं ल्याउँदै गर्दा पुनः बाटोमा मरणासन्न हुने गरे गरी कुटपिट गरें । मेरो भाईले काठमाडांैको गोगंबुमा हामीलाई अलग बनाई दिएका थिए । मलाई र उनलाई अलग गराई दिए पछि म बारा गएको थिएँ । सिता पनौती स्थित बुद्धिबहादुर पोडेलाई दाई बनाएर उपचार गराई रहेकी रहिछन् । उनै बुद्धिबहादुर पोडेले उपचार गराएर बहिनी बनाएकी सितालाई घर जाने अब आईन्दा केहि गर्दिनँ भन्दै पनौतीबाट लगेर २०७७ मंसिर २३ गते बेथान्चोक १ को हात्तीढुंगामा पु¥याई मारेको हुँ भनेर प्रहरीलाई बयान दिएँ । उनलाई मारे पछि म निजगढ स्थित घरमा बसिरहेको थिएँ । स्थानीयले सिताको शव फेला पारेर प्रहरीलाई खबर गरेको थाहा पाए पछि म घरबाट फरार भएँ । काभ्रेबाट खटिएको प्रहरीले सोहि स्थानमा बारा, पर्सा, मकवानपुर प्रहरीको सहयोगमा मलाई पक्राउ गर्न खोजेको सुचना पाए पछि म भागेको थिएँ । मोबाईल लोकेसनका आधारमा मलाई चार दिन पछि पौष १३ गते मकवानपुर हेटौडा उप–महानगरपालिका वडा न.१० बसपार्कबाट प्रहरीले पक्राउ गरेको रहेछ । 
    २०७७ पौष ९ गते विहान पौने ११ बजे बेथानचोक गाउँपालिका वडा नम्वर १ हात्तीढुंगा स्थित खोलाको छेउमा नाम थर नखुलेको महिलाको शव भेटिएको खबर प्रहरीले प्राप्त गरेको थियो । प्रहरीले जानकारी पाए लगत्तै घटनास्थलमा प्रहरी नायब उपरिक्षक गोविन्द अधिकारी, प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिना, धुलिखेल अस्पतालका फोरेन्सिक डाक्टर राजकुमार कार्की, गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना समेतको टोली पुगेको थियो । घटनास्थल तथा लास जाँच मुचुल्का समेतका आधारमा महिलाको हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको थियो । सोहि आधारमा अनुसन्धान शुरु गरी महिलाको पहिचान खुलाउने र थप अनुसन्धान शुरु गरेको थियो । मृतक महिलाको पहिचान खुलेसँगै प्रहरीले मृतक महिला सिताको देवर राजेन्द्र कुमार नेपालीले शवको सनाखत गरी पुष २ गते कर्तब्य ज्यान मुद्दामा जाहेरी दरखास्त दिएका थिए । जीवन नेपाली तथा मृतक श्रीमती पनौती, बेथानचोक क्षेत्रमा घर बनाउने मिस्त्रीको काम गर्ने गरेको जाहेरीमा उल्लेख रहेछ । मेरो आफ्नै भाईले भाउजुको हत्यामा दाजुको संलग्न भएको लिखित जाहेरी दिएपछि म भाग्ने स्थान पनि थिएन । आर्थिक कारोबारका सम्बन्धमा पटक पटक श्रीमती सितालाई कुटदै आएको र उसैले श्रीमती मारेको भन्ने भाईको जाहेरीमा मैले होईन भन्ने ठाउँ नै थिएन । प्रहरीले पक्राउ गरे पछि मैले घटनाका बारेमा नलुकाईन सबै कुरा बताई दिएँ । प्रहरीको अनुसन्धान पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले शुरुमा पुर्पक्ष र पछि कैद सजायँ सहित मलाई कारागार चलान गरेको हो । अहिले सम्झन्छु सिताको हत्या नगरेको भए म जेल जानु त पर्दैन थियो ? अपराधको प्रायश्चित गरिरहेको छु । केहि क्षणको आवेग अपराधमा परिणत हुँदा नराम्रो महसुस भएको छ । 
जीवन नेपाली
हालः कारागार
बारा जिल्ला निजगढ नगरपालिका वडा नम्वर २