2021 July 30/ 06:49: 11am

    प्रविधिले संसार जोडिरहेको छ । विगतमा जस्तो छैन । चरालाई पत्र पठाएर संचारको आदान प्रदान गर्ने जमाना पनि रहेन । हुलाकीले भारी बोकेर पत्र लैजाने चलन पनि रहेन । अनुहार अनुहार हेरेर कुरा गरेर मनका कुरा धित मरुञ्जेल गर्न सकिने अवस्था शुरु भएको छ । नागरिकहरुले प्रयोग गरेको द्रुततर प्रविधिको विकासलाई सरकारले संयोजन मात्रै गरिदिन सक्यो भने मुलुकको समृद्धिमा थप सफलता मिल्नेछ । मान्छेका सोच फेरिएका छन् । प्रविधिले मान्छेलाई नजिक बनाएको छ । नजिक भएको ब्यक्ति टाढा बनाएको छ । परिवारमा खुशी सँगै दुःख पनि निम्त्याएको छ । मान्छेले गर्न मिल्ने भए यसको प्रयोगबाट भौतिक सुख बाहेक सबैथोक गर्दथ्यो । तर पनि मान्छे खुशी छैन । खुशी नभएको मान्छेले गरेका हरेक कुराहरुको जोड घटाउ कसरी गर्ने ? मान्छेका मनहरु बेचैन छन् । बेचैन मनहरु सम्हाल्न कठिन छ । 
    बेरोजगार प्रमुख समस्या छ । बेरोजगारका समस्याहरुले मुलुक संक्रमित छ । दैनिक विदेश जाने क्रम रोकिएको छैन । यो रोक्न पनि कठिन छ । विदेशबाट स्वदेश फर्केका युवाहरुलाई नेपालमै रम्न दिन वातावरण छैन । काम गर्छु भन्दा पनि सहज हुन नसक्नुका कारण एउटा मात्रै छैन । तर पनि मान्छेहरुले प्रयास गरिरहेका छन् । प्रविधिसँग जोडिएर मैले चेष्टा साप्ताहिकमा प्रकाशन हुने कथा पढें । शुरुमा त धेरैवटा कथाले आफ्नो पीडा भन्न मन लागेन । विस्तारै नियमित पाठक बने पछि आफ्ना पीडाहरु पोख्ने प्रमुख माध्यम यहि भएको महसुस गरें । कहाँ जाउँ मनका कुरा सुनाउन ? घर परिवारले सुन्नुपर्ने उल्टै घर परिवार दुःख दिन्छ । मैले त दुःख पाएँ पाएँ सन्तानले पनि मेरो भन्दा धेरै दुःख पाउने भए। बाबुले निभाउनु पर्ने भूमिका र कर्तब्य पुरा गर्न नसक्दा बेसहारा बनेका लालाबालाहरुको जिम्मेवारी पूरा गर्नु अर्काे दायित्व छ । जति भने पनि नसकिने पीडाहरु लिएर बाँचेको पनि धेरै भईसक्यो । केहि मात्रा भए पनि स्थानीय तहको न्यायिक समितिले निभाएको भूमिकाले मनमा खुशी मिलेको छ । जनप्रतिनिधिले कुनै न कुनै रुपले नागरिकहरुको भावना बुझ्दा रहेछन भन्ने महसुस पनि भयो । 
    सुनवल नगरपालिकाको न्यायिक समितिमा २ सय ५० भन्दा धेरै विवाद दर्ता भएका छन् । थुप्रै विवादहरु मध्ये गाली बेईज्जती सम्वन्धी विवादमा फरक खालको अनुभुति भएको समितिले पनि भनेको रहेछ । नवलपरासी जिल्लाको सुनवल नगरपालिकाको वडा नम्वर ९ को स्वाठीमा मेरो स्थायी बसोवास छ । २०७५ साउन २० गते गाली बेइज्जती सम्वन्धी बिषय बनाई पति दुर्गा कवरयोगीलाई प्रतिवादी बनाई मैले जाहेरी दिएँ । मेरा पतिले ५ बर्ष अगाडी देखी मादक पदार्थ सेवन गरी कुटपीट गरी गाली बेईजती गरेकोले उहाँलाई कार्यालयमा झिकाई छलफल गराई न्याय दिलाई पाउँ भनि निवेदन दर्ता गराएको थिएँ । विवादका हामी दुवै पक्षलाई मेलमिलापको माध्यमबाट २०७५ साउन २४ गते छलफल गराईएको थियो । हामी दुई ४२ बर्षिय पति दुर्गा कवरयोगी र ४१ बर्षिया म गौमाया कवरयोगीबाट एक छोरा र एक छोरी गरी २ जना सन्तान जन्मेका छन् । पतिले घर निर्माण गर्ने काम गर्ने र मैले गृहिणी र खेती किसानी गर्ने काम गर्दै आएको थिएँ । ती मध्ये जेठो छोरा वैदेशिक रोजागारमा गएको ३ बर्ष भएको थियो । उमेरले पनि हामी धेरै बुढो त हैन तर पनि छोरा विदेश गएर कमाउने भईसकेको छ । छोरी कक्षा ८ मा पढ्दै छन् । विवाहको ५, ६ बर्षसम्म हाम्रो राम्रो सम्बन्ध थियो । सबै काम एक आपसमा सरसल्लाहबाट नै हुने गरेको थियो । करिब ५ बर्ष अगाडी देखी मेरा पति दुर्गा कवरयोगी अस्वभाविक रुपमा मादक पदार्थ सेवन गरी घरमा ढिलो आउने, मलाई राम्रो नदेख्ने अरु स्त्रीको बयान गर्ने अनेक खालका लान्छना लगाउने र कुटपिट गर्न थालेका थिए । अझ छोरीलाई पनि म जस्तै गरी तथानाम गाली गर्ने र श्रीमतीसँग बोल्ने र भन्न सकिने छाडा शब्दहरु बोल्न थालेका थिए । घरायसी खर्चको लागी पैसा नदिने लगाउने लुगा कपडा सामान्य नुन, तेल पनि खरिद गरी नल्याउने र घरमा अभाव मात्र पार्ने काम गर्न थाल्नु भयो । पतिले यती धेरै मादक पदार्थ सेवन गरी घरमा ढिलो गरी आउने घरको वास्ता नगरेको ४ वर्ष जती भई सकेको थियो । मलाई उनि प्रति शंका लाग्न थाल्यो । घर बाहिर कुनै महिलासँग उनको सम्वन्ध छ । कुनै परस्त्री संग हिमचिम बढेको मलाई शंका लाग्न थाल्यो । यो क्रम तिव्र रुपमा बढ्दै गए पछि एक आपसमा बोलचाल नै बन्द भयो । मेरा हरेक ब्यवहार नराम्रा हुन थाले । म बोल्दा रिस उठ्ने तर अरु मान्छे बोल्दा उनी खुशी हुने भए । विवाह गरेको त्यति लामो उमेरसम्म म उनिहरुका लागि राम्रो भएँ । एक्कासी उनमा आएको परिवर्तनले ल्याएको शंकाले झनै तिक्तता बढायो । मसँग बोलचाल नभए पछि छोरीलाई समेत उसले त्यहि ढंगको ब्यवहार गर्न थाल्यो । विदेश गएको छोराले समेत धेरै पटक बाबुलाई सम्झाउन थाल्यो । तर पनि उनले त्यो कुरा मान्न तयार भएनन् । 
    छोरीलाई समेत मादक पदार्थ सेवन गरी अनेक लान्छना लगाउने गर्न थाले । विचरा कक्षा ८ मा पढ्दै गरेकी छोरी को सँग के गर्न सक्छिन् ? आफु जस्तो अरुलाई त्यस्तै सोच्ने उनको सोच देखि दया जागेर आयो । उनी घर फर्कदा दैनिकजसो रक्सी सेवन गरी फर्कन थालेका थिए । छोरीलाई पढ्नका लागी किताब कापी र फि तिर्न पनि बन्द गरिदिए । आमा छोरीलाई नै अनावश्यक अपशब्द प्रयोग गरी धम्क्याउने, अरुसंग लान्छना लगाउने गरेको देखेर छिमेकीहरु गाउँ समाज बसी पति पत्निलाई सम्झाउने काम भयो तर पनि समस्या जस्ताको त्यस्तै । वडा नम्वर ९ का वडा सदस्य खेम कुमारी थारुले निवेदन दर्ता गराउन कार्यालयमा पुग्दा समेत सम्झाउने धेरै प्रयास गर्नु भएको थियो । उनको एउटै कुरा थियो छोरी र म उनका लागि ठिक भएनौं ।     विवादका पक्षहरुलाई वडामा रहेको मेलमिलाप केन्द्रमा रहेका मेलमिलापकर्ताबाट छलफल गराउन उपयुक्त वातावरण नभएको कारण वडा सदस्य खेमकुमारी थारुले न्यायिक समितिको कक्षमा नै छलफल गराउनु पर्ने सुझाव दिनु भयो । पछि विवादका दुवै पक्षलाई न्यायिक समितिमा बोलावट भयो । २०७५ साउन २४ गते छलफलको लागी बोलाए पछि हामी उपस्थित भयौं । न्यायिक समितिका संयोजक दधिराम अर्याल, सदस्य अर्जुन सुनार र तुल्सी ज्ञवाली भएको न्यायिक समितिबाट विवादको सत्र संचालन भएको थियो । छलफलमा बस्दा मेरा आँशु रोकिएका थिएनन् । पतिले मलाई र छोरीलाई दिएको दुःख कष्ट सहदै झेल्दै आएको र बाँकी जीवन विताउन नसक्ने निश्कर्ष मैले सुनाएँ । घरी घरी घाँटी अठ्याउन खोज्ने, घाँटी च्यापेर मार्दिन्छु पख्लीस भन्दै दावा राख्ने, छरछिमेकी संग काम परेर बोल्दा पनि जुन ब्यक्ती संग वोल्यो त्यही ब्यक्ति संग लागिस् भन्दै नाङ्गै पार्दै कुटपिट, बेईजत गर्ने र कक्षा ८ मा पढ्ने छोरीलाई समेत अरु केटासँग आरोप लगाई अनावश्यक लज्जास्पद गाली वेईजती गर्ने छोरीलाई माया ममता दिनुको सट्टा उल्टो कुटपिट गर्ने, जस्ता अमानवीय कार्य पटक–पटक गर्ने गरेकोले असुरक्षित समेत भएको हँुदा छोरी समेतको सुरक्षा माग भएको थियो । 
    पति दुर्गा कवरयोगीले मलाई धेरै जसो घरमा नबस्ने खाली छिमेकीहरुसँग नचहिने कुराहरु गरेर बस्ने, समयमा खाना नबनाउने, खान नदिने, मेरा कपडा सफा नगर्ने र त्यही कुरालाई लिएर थोरै गाली ग¥यो भने माईत गई बस्ने गरेकोले हप्काउने र तर्साउने गरेको बताए । छोरी पनि स्कुलबाट आफ्नो साईकलमा सरासर पढेर घर नआई, ढिलो आउने, अरुको मोटरसाईकलमा हिडेको देखेर छोरी माथी शंका गरी गाली गरेको आरोप लगाउनु भयो । कहिले काँहि कामको थकाई र घर परिवारको तनावले गर्दा रक्सि खाएर आएको बताए । उनले पनि सँगै बस्न नसक्ने बताए । पटक पटकको छलफल, एकान्त भेटघाटबाट पतिले मलाई खान लाउन सहयोग गर्ने, गाली बेईजती नगर्ने, छोरीलाई पनि अनावश्यक गाली वेईजती नगरी लाउने खाने र पढाई लेखाईको वारेमा हेर्ने, घर निर्माण ठेक्कापट्टा गर्ने भए पनि समयमा घर आउने घर परिवारको ख्याल गर्ने, आफ्नो कारण परिवारमा अशान्ति हुन नदिने, मैले अनावश्यक गफ गरी नबस्ने र पति दुर्गा कवरयोगीलाई समयमा खाना दिने र सरफाईमा ध्यान दिने दुवै पक्ष एउटै घर परिवारका सदस्य भएकोले पहिलेको जस्तै राम्रो संग मिलेर बस्ने सहमति भयो । उक्त सहमतिलाई कार्यान्वयन गर्ने सवालमा पटक पटक छलफल भएको थियो । न्यायायिक समितिमा बसेर भएको छलफललाई समितिको तर्फबाट पटक पटक अनुगमन भयो । अहिले उनले बानी सुधारेका छन् । हामी खुशी छौं । छोरा छोरी र हामी सबै एकआपसमा रमाईरहेका छौं । 

गौमाया कवरयोगी
सुनवल नगरपालिका
नवलपरासी जिल्ला 
हालः बनेपा, काभ्रे