2021 July 30/ 06:38: 40am

    रीतिरिवाज, रुढीवादी, प्रथा, परम्परा एवं अन्धविश्वासबाट ग्रसित हाम्रो समाज हालसम्म पनि अछुत रहन सकेको छैन । जीवनको लक्ष्य निर्धारण र कल्पना सम्म गर्न नसक्ने कलिलो उमेरमा बाबु आमाको ईच्छा मुताविक बाध्यता र परिस्थितिका कारण ९÷१० वर्षको उमेरमा नै विवाह बन्धनमा बाँधिन पुगी पराई घर जान बाध्य भएकी एउटी नारी हुँ म । म जस्ता कयौं नारीहरु होलान् । महिला भएकै कारण अपहेलनामा परेका, समुदाय, घर परिवारले पछि पारेका महिलाहरुको संख्या पनि धेरै छ । बाल्यकालमा विवाह गरेर अलपत्र पर्ने महिलाहरुको संख्या त कति होला कति ? घर परिवार र श्रीमान् के हो ? भन्ने नजान्दै विवाह गरेर पठाईदिने अवस्थामा बाल्यकालमै श्रीमान मर्ने, अर्काे विवाह गर्ने अनि त्यसको मार चाँहि समग्र महिलाहरुले बोक्नुपर्ने ? चलन त फेरिदै आएको छ । खुशी छौ हामी । हामीले जस्तो दुःख ब्यहोर्नु परेको भए पनि अरु नारीहरुले त्यस्तो समस्या भोग्नु परेको छैन । कानुन छ । उमेर पुगेर आफ्नै खुट्टामा उभिएर मात्रै विवाह गर्ने चलन शुरु भएको छ । यसमा अब दुःख मान्नु पर्ने कुनै कारण छैन । 
    कानुनको कार्यान्वयन मात्रै समयमै हुन सक्यो भने त्यस्ता समस्या हुन सक्दैनन् । २० वर्ष नपुगी विवाह गर्न पाईदैन । ७ वर्षको उमेरमा विवाह गरेर १२ वर्षमा बच्चा जन्माउनु पर्ने अवस्थाबाट हुर्किएको नेपाली समुदायका नारीहरुले अधिकार धेरै प्राप्त गरेका छन् । प्राप्त अधिकारको सदुपयोग मात्रै गर्न सकेको अवस्थामा पनि महिलाहरु खुशी हुन्छन् । तर यसको दुरुपयोग हुन थालेको छ । घर परिवार भत्कन थालेका छन् । संस्कार कुन प्रजाति हो ? भन्ने प्रश्न सोध्न सक्ने अवस्था शुरु भएको छ । प्रविधि र अरुको नक्कल गर्ने चलनले बालबालिकाहरु त्यसको दुरुपयोगमा सक्रिय हुन थालेका छन् । हिजो जर्बजस्ति चाहना नहुँदा नहुँदै बाल्यकालमा विवाह हुन्थ्यो । आज प्रविधिले विवाह नगर्नु भन्दा भन्दै केटाकेटीहरु आफुखुशी विवाह गर्ने, विवाहको केहि समयमै छोडपत्र गर्ने अनि जीवन समाप्त पार्न लागेका घटना धेरै सुनिन थालेका छन् । यस्ता घटनाहरु रोक्ने दायित्व पनि तपाई हाम्रै समुदायको हो । तपाई हाम्रै हो । हामीले हाम्रा बालबालिकाहरुलाई समयमै यस्तो शिक्षा दिन सकेनौ भने समाज गलत बाटोमा उन्मुख हुँदै जाने छ । अहिले त तीन तहका सरकार सक्रिय छन् । सरकारको सचेतना, समन्वय, सहकार्य तथा कानुनको कार्यान्वयनमा कडाई गर्न सकेको अवस्थामा त्यस्ता घटना स्वतः न्यूनिकरण हुन जान्छन् । 
    घटना अनौठो त होईन तर आत्माले महसुस गरे पछि महान् बन्न पुग्दो रहेछ । विवाहको अर्थ समेत थाहा नभई माईती घरमा झै दैनिक आमा बाबुबाट पाउने दया माया, स्नेह, सहानुभूति घरमा श्रीमान्, सासु ससुराबाट समेत नपाएपछि आमा बाबुको असिम मायाका कारण विभिन्न वाहानामा हप्तैपिच्छे पोईली घर बस्न छोडी माईती घर भाग्दै गरेको थिएँ । पटक–पटक ल्याउने लैजाने क्रम जारी रहेको थियो । केही वर्ष पछि मेरो कोखबाट एउटा छोरीको जन्म भएको करिब अढाई वर्ष पछि पुनः घरायसी सम्बन्धमा फाटो हुन गयो । परिवारमा मन मिल्न सकेन । असमझदारीका कारण छोरीलाई पोईली घरमै छोडी म माईती घर गएकी थिएँ । छोरी छाडेर हिडेको रिसईवीका कारण मेरो खोजीनीति नगरी वेवास्ता भयो । मेरा पति भोजराज तिमिल्सेनाले अछाम जिल्लाबाट कैलाली जिल्लाकोे टीकापुर नगरपालिकामा बसोबास गरी दोश्रो विवाह गरेको भन्ने थाहा पाएँ । त्यसको केही समय पछि आफुलाई बस्ने व्यवस्था गरि पाउनका लागी समाजका भद्र भलाद्मी, समाजसेवी बोलाई छलफल शुरु भयो । मेरो श्रीमान् भोजराज तिमिल्सेना लगायत निजका सासु ससुराले समेत बुहारी स्वीकार नगरेपछि गाँस, बास र कपासको कुनै पनि व्यवस्था हुन सकेन । गल्ति दुवै जनाको थियो । मैले जन्मिएकी छोरी छाडेर माईती जान पनि नहुने थियो । उहाँहरु फेरी लिन आउनु होला, आफ्ना कुरा भनांैला अनि त्यस्तो नगर्ने शर्तमा जाउँला भन्दा भन्दै इगोका कारण जान सकिनँ । म नगएकै कारण मेरो सेखी झार्ने उद्देश्यले उहाँले अर्काे विवाह गर्नुभयो । त्यतिबेला अहिले जस्तो बहुविवाह गर्न नपाईने भन्ने थिएन । मर्दका १० वटी श्रीमती भन्ने त उखान नै थियो । श्रीमती धेरै विवाह गर्ने धनीहरु हुन्थे । मैले त झनै उहाँहरुलाई सजिलो बनाई दिएका कारण उहाँले विवाह गर्नुभयो । मेरो केहि आपत्ति थिएन । तर पछि आफ्नो अधिकार खोज्न भनेर जाँदा उहाँहरुले गरेको ब्यवहारले मन दुख्यो । 
    बुहारी नै हैनस् भनेर अपमान गरे पछि त्यहाँ बस्नुको कुनै उपाय थिएन । म पुनः माईती घर अछाम गई माईतीको शरणमा बस्न थालें । मैले न त दोश्रो विवाह नै गरें । न त मेरो पोईली पक्षले नै मलाई स्वीकार ग¥यो ।  उमेर ढल्किदै गयो । माईती पक्षका आमा बुबा जिवित रहे सम्म त एक छाक मिठो मसिनो खान पाउने आशा रहने रहेछ । जब जन्म दिने बाबु आमा हुन्छन् त्यतिबेलासम्म मात्रै छोरीहरुको आफ्नो भन्ने हुने रहेछ । जन्म दिने बाबु आमा नै नभए पछि कर्म दिने अर्थात सँगै जीउने कसम खाने श्रीमान् आवश्यक रहेछ । मैले त हुँदाखाँदाको श्रीमान् छाडेर अर्काेलाई सुम्पिए सरह भएको थियो । त्यस्तो अवस्थामा मेरो त हुने को नै भयो र ? उमेर छँदा विवाह गरिन् । भएको श्रीमान् छाडें । बुढेसकालमा कसले हेर्ला । धेरै चिन्ता लाग्दो रहेछ । विवाह गरेर श्रीमान् भएकाहरुको पीडा अर्काे होला । विवाह भएर छाडेकाहरुको पीडा अर्काे होला भने हुँदै नभएकाहरुको पीडा अर्काे हुने रहेछ । माईतीमा नै उमेर बित्यो । उमेर मेरो ढल्कँदै गयो । एकपछि अर्काे बज्रपात आई लाग्यो । केहि वर्ष भित्रै मैले पालैपालो आमाबुबा र दाजु सेमत गुमाउन पुगे । तब मात्रै मैले थाहा पाएँ संसारमा मैले जस्तो पीडा कसैले भोगेको छैन । सानैमा श्रीमान छाडें । अर्काे विवाह गरिनँ । बुढेसकालसम्म बुबाआमाको साथमै हुन्छु भन्ने सपना तब टुट्यो जब बुबा आमाको नै पालैपालो निधन भयो । आशा लागेका दाजु थिए । दाजुको पनि निधन भएपछि भगवानलाई सम्झेर डाँको छाडेर रुनु शिवाय केहि थिएन । आमा बाबु र कमाइ गर्ने दाजु समेत गुमाएपछि बाँकी बचेको कान्छो बक्क नभएको भाइको आम्दानीको कुनै श्रोत भएन । त्यसपछि मर्नु भन्दा बहुलाउनु निको भन्ने उखान उल्टो हुन गयो । बहुलाउनु भन्दा मर्नु निको हो र ? 
    बेसहारा अवस्थामा बाँच्नु परेकोले केहि गरांै भन्ने योजना बनाएँ । गाउँ नजिक रहेको मन्दिरमा गई साँझ विहान धुप बत्ति बाली पुजा पाठ गर्दै भक्तजनहरुले चढाएको भेटी र फलफूललाई आहारा बनाई मन्दिरमा नै बास बस्न थालें । त्यहाँबाट आएको केहि खाद्यान्न र रकमले गुजारा टार्न थालें । बक्क नभएको भाईलाई त्यहिबाट हेर्ने गरेको थिएँ । जीवनको अन्तिम क्षणमा श्रीमान्बाट नागरिकता लिने योजना बनाएँ । सरकारले हामी जस्ता एकल महिलाहरुलाई सहयोग गर्छ भन्ने सुनें । कोहि थिएन र छैन पनि । यस्तो अवस्थामा नागरिकता कसले बनाईदिनु ? परिचय खुल्ने विवाह दर्ता लगायत नेपाली नागरिकताको प्रमाण पत्र समेत नभएकाले श्रीमान्बाटै प्राप्त गर्ने झिनो आशा अभिलासा बोकी अछामबाट पुनः कैलाली जिल्लाको टीकापुर आई बस्न थालें । मलाई बस्न घर चाहिँदैन थियो । मन्दिरमै बस्न थालेको थिएँ । मलाई केहि मान्छेहरुले चिनेछन् । नाताले कोहि आफन्त पनि पर्दा रहेछन् । आफन्तजनहरुले देखी केही सम्म कहिले कसैको घरमा त कहिले कसैको घरमा पालैपालो आश्रय लिई दैनिक दिनचर्या बिताउन थालें । आफन्तहरुको सल्लाह बमोजिम अदालतसम्म जान सक्ने वातावरण र क्षमता नभए पनि स्थानीय तहको न्यायीक समिति समक्ष इज्जत आमद अनुसार खान लाउन पाउने व्यवस्थाको उचित प्रबन्धका साथै विवाह दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने गरी निवेदन दिन सहयोग पु¥याए । 
    श्रीमान् भोजराज तिमिल्सेना विरुद्ध छलफल तथा मेलमिलापको लागी पेश भएको निवेदन दर्ता हुन पुग्यो । न्यायिक समितिमा भएको उक्त निवेदन पछि मेरा पति विपक्षी भोजराज तिमिल्सेनाका नाउँमा न्यायिक समितिबाट कानुन बमोजिम जारी गरिएको १५ दिने म्याद तामेल भएछ । विपक्षी मेरा पति भोजराजले निवेदकको माग दावी बमोजिम खण्डन गरी पेश गरिएको लिखित जवाफका आधारमा दुबै पक्षलाई छलफलका लागी तारेख मिलान गरी आवश्यक संलग्न कागजात प्रमाण सहित प्रतिष्ठित, समाजसेवी, देखी सुनी जान्ने व्यक्तिहरुलाई छलफलमा सहभागी गराई विवादको वास्तविक यथार्थताको धरातलमा गई निवेदकको मागदावी उचित भई मागदावी विपक्षीले ठाडै अस्वीकार गरी ३० वर्ष पछि सम्बन्ध गाँस्न आउने व्यक्तिसँग मेरो कुनै किसिमको कानुनी एवं नैतिक नाता सम्बन्ध जोडिन सक्दैन बरु अदालत गई न्याय माग अदालतले जे निर्णय गर्छ म त्यो भोग्न तयार छु भन्दै छलफलबाट बाहिरिए । पटक पटकको लामो छलफल पछि दुबै पक्ष बिच तँ तँ र म म को स्थिति सृजना भई हात हालाहाल कुटाकुट समेत हुन पुग्यो । अन्ततः न्यायीक समितिले करिब अढाई महिनाको लामो अन्तराल पछि दुबै पक्षलाई सहमतिमा ल्याई माईती पोइलीको रोहबरमा विपक्षी भोजराज तिमिल्सेनाको दोहोरो बसाई त्यसैमा दोश्रो विवाह भएको केटाकेटी बालबच्च्चा समेत रहेको हुँदा कैलाली टीकापुर स्थित घरमा दुईवटै श्रीमतीलाई एकै ठाउँमा राखी बस्न सक्ने उचित वातावरण भएन । मैले उनिसँग बस्न मानेमा तत्कालको लागि गाँस, बाँस, र कपासको उचित प्रबन्ध गर्ने शर्तमा अछाम जिल्ला स्थित घरमा राख्ने र त्यसको केही समय पश्चात मैले मागदावी गरे अनुसारको विषयमा विस्तारै विवाह दर्ता साथै नेपाली नागरिकता प्रमाणपत्रको लागी सिफारिश गर्ने गरी ३० वर्ष पछि विवाह भई टुटेको सम्बन्ध जोडिन पुग्यो । एकअर्काले श्रीमान् श्रीमती स्वीकार गरि मेलमिलाप कक्षमै सिन्दुर हाली ढोगाभेट समेत ग¥यौं । हाम्रा आफन्तहरुले हामीलाई घरमा लगे । सानो इगोका कारण ३० वर्ष पछि आफ्नै पति पाउनु मेरा लागि अर्काे सौभाग्य थियो । स्थानीय सरकार त्यसमा पनि न्यायिक समितिले गरेको उक्त कार्यको जति प्रशंसा गरे पनि पुग्दैन । अदालतमा पुग्दा पनि कहिले पाईन्थ्यो न्याय ? भन्न सकिदैन । तर न्यायिक समितिले दिएको मेरो खुशी जे गरे पनि प्राप्त हुन सक्दैन थियो । विगतका घटना सम्झँदै लेखेको कुरा पाईने देखेको नपाईने उखानमा विश्वास गर्न पुगें । इगोले अरुलाई होईन आफैलाई सकाउने उदाहरण मबाट सिक्नुस् । मलाई साथ, सहयोग र माया गर्ने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दछु । 

पानसरा तिमिल्सेना
कैलाली, टिकापुर
हालः काठमाडौ