2021 March 05/ 11:08: 30pm

    केहि दिन अघि विद्यालय गएर फर्किएकी युवती घर फर्किनन् । एकवर्ष अघि त्यस्तै घटनामा संलग्न दोषीहरु पत्ता लाग्न सकेका छैनन् । एकपछि अर्काे घटना भईरहँदा अपराधीहरुको मनोबल किन बढिरहेको छ ? महिलाहरुप्रतिको दृष्ष्टिकोणमा पुरुषहरु खराब नै हुन् ? भन्ने बनाउन किन खोजिदैछ ? अर्थात् महिला र पुरुष बीचको समानतालाई असमान बनाउन, पुरुषहरुले महिलाहरुलाई जसोजसो गर्दा पनि हुन्छ भन्ने पार्न, अपराधलाई प्रोत्साहन गर्दै थप अपराधहरु मौलाउन दिन समुदाय किन अग्रसर हुँदैछ ? अपराधी जोगाउन किन समुदायका अगुवा ब्यक्तिहरु सक्रिय भएका छन् ? तमाम प्रश्नहरुका बीच म मेरो आफ्नो पीडा पोख्दैछु । 
    श्रीमानबाट पीडित ब्यक्ति हुँ म । १० वर्ष भयो विवाह भएको । ९ वर्षको छोरा पनि साथमै छ । माईतीमा बुबा आमाको माया ममतामै हुँर्कदा मलाई दुःखको खासै अनुभव भएन । तर पनि गाउँ घरमा हुने सबै प्रकारका धन्दाहरु मेरा लागि नयाँ थिएनन् । खेतबारीको काम पनि गरेकै छु । विद्यालय पनि गएकै थिएँ । दुई छोरी र एक छोरा । सामान्य परिवारमा जन्मिएको मेरो परिवार ज्याला पानीमा ब्यस्त हुन्थ्यो । साविक च्याम्राङबेशी हो । पछि बसाईसराई गरी धुलिखेलको काभ्रेमा बस्न थालिएको रहेछ । समाज, गाउँ र टोलको फरक फरक सोचाई हुने रहेछ । समाजको बुझाई नै अलग प्रकृतिको । बसाई सराई गरेर आए पछि अरुले पनि हेप्ने रहेछन् । गरिब हुनुको एउटा पीडा छ । बसाईसराई गरेर आए पछि अर्काे पीडा हुन्थ्यो । बुबाआमा ज्याला गर्न गएर फर्किए पछि मात्रै बेलुकाको खानाको बन्दोबस्ती हुन्थ्यो । विद्यालय पठाएर सन्तानलाई पढाउने आफु दुःख गर्ने हरेक बाबु आमाको चाहना नै हुने रहेछ । सबै बाबु आमाको उस्तै सोच हुन्छ होला भन्ने मेरो अनुभूति छ । कसैले बाबु आमाबाट पनि पीडित भएको कथा सुनाउँदा कहिलेकाँहि मन कटक्क हुन्छ । आफुलाई बुबा आमाले माया गरेको र घरबाट पीडित भएको सुन्दा यस्तो पनि हुन सक्छ र जस्तो लाग्छ । पत्याउन पनि मुस्किल छ । 
    १७ वर्षकी थिएँ विवाह गर्दा । बुबा आमाको प्रस्ताव मैले इन्कार गर्न सक्दिनँ थिएँ । एसएलसीसम्म अध्ययन गरेकी छु । कक्षा ११ पढ्ने चाहना थियो पुरा हुन सकेन । बुबाले धुलिखेलमै राम्रो केटा छ, घर परिवार पनि राम्रो छ टाढा पनि होईन विवाह गर्दा फरक पर्दैन भन्नुभयो । बुबासँगै आफन्तहरुले पनि मलाई विवाह गर्न परामर्श गर्नुभयो । मेरो भाग्य पनि त्यस्तै होला । कसलाई दोष दिउँ । कक्षा ९ पढ्दै असाध्यै मन पराउने राम्रो परिवारको केटाको प्रेम प्रस्तावलाई मैले अस्विकार गरेको थिएँ । मेरो सोच प्रेम गरेर विवाह गर्नु भन्दा मागी विवाह गर्नु राम्रो ठानें । त्यहि उचित लाग्यो र परिवारको प्रस्तावलाई सहजै स्विकार्न विवश भएँ । लगन पनि आई सकेको थियो होला । विवाह र मृत्युको कुन ठेगान हुँदो रहेछ र । सामान्य परिवार भए पनि बुबाले २ सय जति ब्यक्तिलाई भोज खुवाउन सक्ने बचन दिनुभयो । अग्नीलाई साक्षी राखेर विवाह गर्न म राजी भएँ । भर्खरको उमेर भएकाले म अल्लारे जस्तै थिएँ । बुबाआमाको काखमा हुर्किएकाले मलाई घर ब्यवहारको कुरा थाहा भए पनि मतलब लाग्दैन थियो । केटी हेर्न आउने अर्थात केटा र केटी बीचको कुरामा उसले मलाई घर परिवारको र आफ्नो अनुशासन भन्दा बाहिर जान नपाउने बताएको थियो । मैले त्यो कुरालाई राम्रो मानेको थिएँ । घर परिवारको अनुशासन त सबैको गहना हो । अझ महिलाहरुका लागि त्यो भन्दा महत्वपूर्ण कुरा के हुन सक्थ्यो र ? 
    उसका सबै मागहरु पुरा गर्न सक्छु भनिदिएँ । विवाहको दिन घरमा पाहुनाहरु टन्न भएकाले उसले पनि राम्रोसँग बोल्ने अवसर पाएन । भोलिपल्ट उसले मलाई साथीहरुको संगत ठुलो भएको कुरा बतायो । उसका पुराना लुगाहरुमा चुरोटका ठुटाहरु फेला पारें । मैले सोधें तपाई चुरोट पनि खानु हुन्छ ? उसले सहजै भन्यो चुरोट त सामान्य हो मैले त गाँजा नियमित खान्छु । म छाँगाबाट खसे झै भएँ । केहि बोल्न सकिन । मसँग उत्तर पनि थिएन । विवाहको दोश्रो दिनमै उसले मलाई दिएको उत्तर त्यहि थियो । एक मन लाग्यो विवाह भएर के भो त उससँग म सँगै सुत्या पनि छैन । समाजले त्यसको श्रीमती भने पनि म उसको श्रीमती भएको छैन । श्रीमती नै नभएको ब्यक्ति किन सँगै बसिरहनु ? यसलाई सुधार्न सकिएला र ? गाँजा खाने ब्यक्तिको भविष्य के होला ? धेरै पटक मैले आफैले आफैलाई प्रश्न गरें । मेरो प्रश्नको उत्तर म आफै सँग थिएन । केहि समय उसलाई मैले पर्ख र हेरौं कि भन्ने पनि लाग्यो । मेरो मन चोर्न उसले भनेको हो कि भन्ने लाग्यो । अनि धेरै बेर पछि बोलें तपाई गाँजा छाड्नु हुन्छ कि मलाई ? सहजै भनिदियो तिमीलाई । अनि किन विवाह गरेको त ? यो घर परिवारका लागि मात्रै गरेको हुँ । यो मेरो बाध्यता हो । म लागु औषधको दुब्र्यसनीमा छैन तर प्रयोग गर्छु । तिम्रो ब्यवहारमा भर पर्ने हो । झनै दोधार भयो । स्विकारौ वा नस्विकारौं । एक दिन विवाह त गर्नैपर्छ । सुधार्न सकें भने त उसको पनि जीवन राम्रै हुन्छ । मेरो जीवन पनि राम्रै हुन्छ । नहुँदा त भई नै सक्यो । त्यस दिनमै मैले उसलाई जीवन र भविश्यका बारेमा सम्झाउने प्रयास गरें । गलत बाटोमा नलाग्न सुझाव दिएँ । 
    दिनहरु बित्दै गए । उसले पहिलो वर्ष आफुलाई खासै त्यो बाटोमा लगाउने प्रयास पनि गरेन । उ काम गर्न जान्थ्यो आउँथ्यो । म गर्भवती भएँ । पहिलो सन्तान छोरा जन्मियो । उसको पनि खुशी नै थियो । म पनि खुशी नै थिएँ । घरमा खासै काम थिएन । घरकै सामान्य काम गरेर जीवन वितिरहेको थियो । क्याम्पस अध्ययन गर्ने र जागिर खाने मेरो सपना अधुरै भएको थियो । विस्तारै श्रीमानको संगत पहिलाकै साथीहरुसँग हुन थालेछ । चुरोट खाने, गाँजा खाने र राति घरमा अबेर आउने । कहिलेकाँहि त रक्सी पनि खाने । गोजीमा केहि पैसा हुनै नहुने रक्सी खान गई हाल्ने । कतिसम्म भने मैले आफ्नो ब्यक्तिगत खल्तिमा राखेको रकम समेत उसले चोरी गर्न थाल्यो । छोरा सानो थियो उसका लागि कहिलेकाँहि केहि किन्न भनेर माईतीबाट लगेको रकम पनि चोरी गरेर खान थालेपछि मेरो बाध्यता भयो । मैले पैसा सहकारीमा राख्न थालें । सहकारीमा राखे पनि भनेको समयमा निकाल्न नपाउने भएकाले सहजता हुन सकेन । उसको बानी झनै विग्रँदै गयो । म दिउँसभरी ज्याला गर्न जान्थें । उ बेलुका आएर मलाई कुट्न थाल्यो । उसले भने जस्तो भएन भने जतिबेला पनि जसरी पनि आक्रमण गर्न थाल्यो । घरकै कुरा हो कसलाई भनौ ? माईतीमा भनौ आफु कमजोर हुने नभनौं मार्ला भन्ने डर । घर परिवारले पनि मेरो पक्षमा कुरा गरेन । छोराकै आड लिएर मलाई गलत सावित गराउने प्रयास भयो । 
    अति नै भए पछि माईतीमा भनें । प्रहरीकोमा उजुरी दिएँ । महिला सेलमा पटक–पटक छलफल भयो । उसले लागु औषध छाड्छु भन्छ । कुट्दिन भन्छ । तर कहिल्यै बानी छाड्दैन । धेरै पटक भएपछि प्रहरीलाई पनि झर्काे लागेछ क्यार अब छोडपत्र गरेर बस्नु भनिदियो । एक दिन खाना खाँदै थियौं । म र छोरो मात्र भएको बखत टन्न रक्सी र गाँजा खाएर घर भित्र पस्यो । मैले खाना खाँदै भएकाले उसलाई पस्कन लाग्दै थिएँ । श्रीमान भन्दा श्रीमतीले खाना खाने भन्दै भात टाउकोबाट खन्याईदियो । जाडोको समय थियो । तातो पानी टाउकोबाट खन्याई दियो । छोराले आमालाई नमार्नु भन्दा भन्दै उसले लगातार आक्रमण गरिरह्यो । घर भित्रै राखेर जलाउने प्रयास ग¥यो । घरका मान्छेहरु कसैले उसलाई रोकेनन् । हुन त म अलग बस्दै आएको थिएँ । तर पनि चासो नभए पछि राति नै हिडेर काभ्रेबाट धुलिखेल आएँ । प्रहरीकोमा पुग्दा पनि मैले न्याय पाउन सकिनँ । न्यायका लागि भौतारिएँ । छोरो भोकोले आमा कता जाने भन्छ । आधा रातमा धुलिखेलमा हिडेर आउँदा पनि पीडित माथी झनै पीडित भएँ । खानलाई अन्न छैन । ज्याला गरौ घरमा बस्न दिदैन । जाउँ कता गरौ के ? आत्महत्याको प्रयास पनि नगरेको होईन । तामा जस्तो कलिलो छोरा सम्झिएर संघर्ष गर्दै गएँ । 
    विवाह गरेको ८ वर्ष लाग्यो । उ लागु औषधको एडिक्ट भएको रहेछ । सुधार गृहमा लगेर ६ महिना राखें । पैसा नभए पनि अनुनय विनय गरें । ज्याला गरेर आफु नखाई नखाई सुधार गृहमा बुझाएँ । तीन महिना प्रहरीकोमा थुनाएँ । तर पनि उ सुध्रन सकेन । शुरुमा छोरालाई नीजि विद्यालयमा पढाउन भर्ना गरेका थिएँ । त्यहाँ महिना शुल्क तिर्न नसकेर सरकारी विद्यालयमै भर्ना गरें । विद्यालयमा जान छालाको जुत्ता चाहिने रहेछ । छोरोलाई प्लास्टिकको जुत्ता किनिदिएको थिएँ । उसले भन्छ यो जुत्ताले जान मिल्दैन रे । उसको चाहना पूरा गर्न पनि सकेको छैन । आफ्नो ज्यान जोगाउने कि ? छोराको संरक्षण गर्ने कि ? श्रीमान्को दिन दिनको कुटाई खाएर बस्ने ? छोडपत्र गर्ने प्रयास पनि नगरेको होईन । उसँग सम्पति केहि छैन । भएको सबै सम्पति ऋण देखाईएको छ । छोराले बाबु खै भन्दा के भनौ ? अरु सबैका बाबुहरुको संरक्षण देख्दा लाग्छ जन्मँदै किन निमोठ्न सकिनछु ? गर्भ मै किन मुड्की बजारेन छु ? तर पनि पाप किन गर्नु । छोराले भविष्यमा केहि गर्छ कि ? दोश्रो पटक घर छाडेर भाग्दा छोराले भन्यो आमा तपाईलाई म ठुलो भए पछि घर बनाएर सुख दिएर पाल्छु है । पीडामा रोएको म खुशीले गद्गद् भएँ । सक्ला नसक्ला तर सम्झाउने प्रयास ग¥यो । अध्ययन गरेको छु रोजगारी छैन । रोजगारी भए पनि उसले बचाउन दिदैन । यस्ता महिलाहरुका लागि स्थानीय सरकारले के गर्न सक्ला ? रोजगारीका लागि सिप आवश्यक छ । सिप सिक्ने पैसा छैन । जति दिने लैङ्गिक हिंसा विरोधी अयिभान मनाए पनि हाम्रो समस्या समाधानका लागि नीति बनाएर कार्यक्रम लागु नभएसम्म पीडितहरुको संख्या कम होईन थपिदै जानेछ । 

शितल घिमिरे
धुलिखेल, काभ्रे