2018 October 18/ 07:09: 47am

    २०४७ सालमा सिन्धुली जिल्लाको झाँडिमा आमा सिता तामाङ र बुबा डम्मर ब. तामाङको दोस्रो सन्तानको रुपमा जन्मिए म । पितृ सतात्मकताले जकडिएको हाम्रो समाजमा दुई छोरी जन्मिए पछि छोरा यसबाट हुँदैन भनेर आमा गर्भवति हुँदा हँदै बाबाले अर्किसंग विहे गर्नु भएको रहेछ । त्यहि समय देखि बाबाले आमालाई हेरविचार गर्न छोड्नु भयो । त्यतिखेर आमाको हितमा बोाल्ने कोहि थिएन । पुरुषहरुले जतिवटी महिलासँग विवाह गर्दा पनि समाज चुप लाग्थ्यो । छोरा नै नजन्माउने नारी जातको मेशिन फेर्न पुरुषहरुलाई कुनै समय पर्खनु पर्दैन थियो । अधिकार, कानुन, हक सबै समाज भित्र कैद हुने गरेको थियो । महिलाहरु कोहिसँग बोल्न समेत नहुने तर पुरुषहरुले छोराकै लागि अर्काे विवाह गर्नु सामान्य थियो । त्यहि सामान्य घटनामा मेरो ममी माथी बज्रपात गराईएको थियो । गर्भमा भएको बच्चा उसकै थियो । उ जन्मन समेत नदिई छोरी नै हो भन्ने नाममा गरिएको दोश्रो विवाहले पनि समाजमा मान्यता पाउँथ्यो । अहिले जस्तो प्रविधि पनि हुँदैन थियो । गर्भ रहने वितिक्कै छोरा वा छोरी के हो ? कसरी थाहा हुन्थ्यो कि छोरी नै हो अर्काे विवाह गर्नु पर्छ भन्ने ? अनि अर्काे विवाह गर्ने वितिक्कै छोरा नै जन्मन्छ भन्ने ग्योरेण्टी केहि थियो होला र ? छोरा नजन्मनुमा महिलाको मात्रै दोष हुन्थ्यो होला र ? 
    बाबाले दोश्रो विवाह गरे पछि हामी मुल अभिभावक विहिन भयौं । आमाले गर्भवति अवस्थामा भए पनि सकुन्जेल दुख गरेर हाम्रो पेट पालि दिनु भएको थियो । सुत्केरी अवस्थामा हामी ८÷१० बर्षका छोरीहरुले खोलाको बगरमा गिट्टी कुटेर आमालाई सुत्केरँी अवस्थामा खोले खुवाउन सहयोग ग¥यौं । बच्चा उमेरमा गिट्टी कुट्दा धेरै पटक हात कुटिएको घटना सम्झनै सकिदैन । धेरै पटक रोएको छु म । ढुंगा ल्याउन नसक्दा पनि रोएको छु । हम्बर र ढुंगा कुटदा कुटुकुटु मन दुखिरहेको हुन्थ्यो । तर पनि हामी आमाबाट भाई जन्मोस भन्ने चाहन्थ्यौं । भाई नै नभएकाले हामीले घरको मुल अभिभावक गुमाएका थियौं । नभन्दै भगवानले कतै न कतै हेरिरहेका हुने रहेछन् । आमालाई छोरा नै जन्माउन सक्दिनस् भन्ने आरोपबाट मुक्त गरायो । आमाबाट भाईको जन्म भयो । घरमा खुशियाली छायो । हामी भन्दा धेरै आमाको मन हसिंलो भयो । सुत्केरी हुँदाको पीडा आमालाई न थाहा थियो । अझ सौता ल्याउँदा भोग्नु परेको पीडा उहाँलाई बाहेक अरु कसलाई थाहा हुन्छ र ?  जन्मिएको भाईलाई संरक्षण गर्न आमाले म र भाइ बोकेर काभ्रे जिल्ला तिर कामको खोजीमा निस्कने निर्णय गर्नु भएछ । हामी त गाउँमै गिट्टै कुटेर भए पनि बाँच्नु पर्छ भन्ने सोचमा थियौं । त्यसबाट आएको पैसाले जीवन निर्वाह गर्नु पर्छ भन्ने नै थियो । हाम्रो काम भनेको धेरै ढुंगाको थुप्रो बनाएर पैसा लिने र आफ्ना रहर पुरा गर्नु हो । 
    दिदी म भन्दा १० बर्ष जति जेठि हुनुहुन्थ्यो । उहाँलाई पनि सहि वाटो देखाउने कोहि भएन । कलिलै उमेरमा सिन्धुपाल्चोक तिर विवाह गरेर गईसक्नुभएको थियो । आमा पछि छोरीको पनि उहि थियो ब्यथा । पढाउने, ठुलो बनाउने र अनि विवाह गरेर पठाउने हामी गरिवको घरमा सम्भव पनि थिएन । दिदी विवाह गरेर गए पछि आमासँग म र भाई मात्रै भयौं । भिनाजुका कारण दिदी घरमै बस्नु पर्ने भयो । हामीलाई काभ्रेमा ल्याएपछि आमाले आफै दुख गर्न त लाग्नु भयो तर आमा विरामी पर्नु भयो । आमालाई ढाड नचल्ने रोग लाग्यो । अव त झन हाम्रो विल्लीवाठको प्रक्रिया सुरु भयो । उपचार गर्ने पैसा नहुँदा आमा चर्चको शरणमा पुग्नु भयो र क्रिस्चियन बनि उपचार गराउनु भयो । आमाको दयनिय अवस्था देखेर दया पनि लाग्दो रहेछ देख्नेहरुलाई पनि । म १० बर्षकी कलिली बच्चा, भाई सानो यस्तो अवस्था देखेर चर्चका पास्चरले मलाइ अनाथालयमा पठाई दिनु भयो । उहाँहरुको निर्णय मैले नाई भन्न सकिन । आमा आफै विरामी, अशक्त भएकाले हामीलाई सँगै राख्न सक्ने अवस्था पनि थिएन । मैले सहजै रुपमा चर्चबाट पठाईएको अनाथलयमै जाने निधो गरें ।  अनाथलय गए पछि मैले त्यस ठाउँमा गए पछि पेटभर खान पाउने भए भन्ने आश थियो । मेरो आशा निरामा परिणत भयो । म त्यहाँ गए तर त्यहाँको अवस्था झन् दर्दनाक थियो । म एक अवोध बालकले भाँडा माझ्ने, लुगा धुने खाना पकाउने जस्ता कठिन कामहरु गर्न बाध्य हुन्थें । पेटका लागि भए पनि मैले त्यो सबै गर्नै प¥थ्यो । १० बर्षको उमेर ठुलो भएकाले विद्यालयमा कक्षा ३ मा भर्ना गरि दिए । मैले सवै काम भ्याएमा मात्र विद्यालय जाने मौका पाउथेँ । काम नभ्याउदा म त्यो विद्यालय जाने अवसरवाट वञ्चित हुन्थेँ । करिब ८ बर्ष अनाथाश्रममा बालश्रम गरे । त्यहाँका थुप्रै भोगाईहरु छन् । पलपलका अनुभुतिहरु रहे । गरिव हुनु, बुबाले अर्काे श्रीमती विवाह गर्नु बच्चाहरुका लागि यातना थियो । श्रीमतीको झोकले बच्चाहरुलाई दुख दिनु अपराध जस्तै लाग्यो मलाई । 
    भाइलाई पनि विद्यालय पढाउनुपर्ने उमेर भइसकेको थियो । म बसेकै अनाथाश्रमको सर संग अनुनय विनय गरि मैले भाईलाइ पनि काठमाडौको अनाथाश्रमा पठाउन पाएँ । अनाथाश्रममा बस्ने बेलामा ७ बर्ष पछि मात्र आमाको कोठामा कहिलेकाँहि आउन पाउँथे । आमाका लागि हाम्रो जस्तै दुख भएकी दोलखाकी एक आमालाई साथि बनाउनु भएको रहेछ । उहाँको परिवार र हाम्रो परिवार विच घनिष्टता बढ्दै गयो । उहाँ २ सन्तान र हाम्री आमाका हामी ३ सन्तान थियौं । पारिवारिक घनिष्टताकै कारण ममिको साथिको छोरा संग मेरो पनि घनिष्टता बढ्यो । मैले आमासंग म कृष्ण संग विवाह गर्छु भनि प्रस्ताव गरे तर आमाले स्विकार गर्नु भएन समय क्रम चलिरहेकै थियो । म र कृष्ण विचको सम्वन्ध झाँगिदै गयो । प्रेमले म र कृष्ण दुबै अन्धो भइसकेका थियौं । अनाथाश्रममा उ मलाइ भेट्न आइरहन्थ्यो । हामी एक अर्काबिना बाँच्न नसक्ने भइसकेका थियौँ । त्यसैले अन्धो प्रेमबाट हामी अगाडी बढिरहँदा कृष्ण र मैले विवाह गर्ने निर्णय गर्यौ । यसका लागि न त पास्चर लाई नै सोध्यौं न त आमालाई नै । हामी प्रेमको रंगिन दुनियाँमा रुमलिदैँ विवाह गर्यौ । म १७ र कृष्ण मात्र १८ बर्षका थियौं । यता कृष्णको आमाले पनि हाम्रो विवाह स्विकार्नु भएन । फेरी पनि दलदलको जिन्दगी सुरु भयो । हुँदाखादाँको काम छुट्यो, परिवारको साथ छुट्यो अनि फेरि जिवन आसुँको सागरमा पौडन थाल्यो । 
    खै कस्तो प्रेम गर्यौ हामिले बाल्यकालमै । जस्ले फेरि एकपटक जीवन तहस नहस बनायो । अन्धो प्रेममा पागल भएका हामी बाल्यकालमै आमा वन्ने भई सकेछु । समस्या बढ्दै गयो मैले श्रीमान् संग भने काठमाडौँमा कोठा खोजौँ म घरमा काम गरेर गुजारा चलाउनेछु । श्रीमान्ले मान्नुभयो र कोठा खोजेर १ महिना काठमाडौ बसेका थियौं । उता श्रीमान्लाई आमाको यादले सताएछ । बनेपामा कोठा खोजौ र उतै काम गरौं भन्नुभयो । मलाइ भने फर्कने मन थिएन तर पनि श्रीमान्को कुरा काट्न सकिन र हामी मयुर हल पछाडि ३ महिना जति डेरमा बस्यौं । त्यसै समयमा यता आमाजुको विवाहको कुरा पक्का भएछ । त्यहि कारण देखाएर हामीलाई घरमा बोलाइयो । विवाह भएको ४ महिना पछि म घरमा भित्रिए । पेटमा बच्चा बोकि बोकि म मजदुरी गर्न थालें । श्रीमान् पनि घण्टाको २० रुपैयामा फर्निचरमा काम सिक्न थाल्नु भयो । केहि महिना पछि म पनि काम गर्न नसक्ने हुन थाले घरको चुल्हो बल्न गाहे हुन थाल्यो । खुत्रुकेमा जम्मा गरेर राखेको केहि रुपैया थियो होला । सायद त्यहि पैसा नै आफ्नो लागेछ । त्यहि खुत्रुके फोरेर कृष्णले मलाइ सिलाइ सिक्न पठाउनु भयो । २÷३ महिनामै मेरो सिलाई अधुरो रह्यो । बच्चा जन्मीयो । सानै उमेरमा म आमा पनि बनिसकें । मेरो सिप, मेरो योजना र मेरो सपना बच्चासँग रमाउन बाध्य भयो । 
    श्रीमान्ले फर्निचर खोल्ने निर्णय गर्नु भएछ । आमाले साहारा नारी चेतनामा सदस्य बनेर ऋण निकालि दिनु भयो । त्यहि पैसाबाट फर्निचर संचालन गर्ने निर्णय भयो । त्यहाँबाट सानो फर्निचर खोल्यौ आफ्नै भए पछि असाध्यै मेहनत गरेर काम ग–यौं । लोडसेडिङका कारण त्यसलाई पनि निरन्तरता दिन सकिएन । लोसेडिङ्ग नेपालीहरुका लागि बाधक थियो । अझ हामी जस्ता पीडितहरुका लागि त झनै ठुलो समस्या थियो । फर्निचर चलाउन गाह्रो भए पछि धेरै चिन्ता लाग्यो । हामी भाडामै बसिरहेका थियौं । घरबेटी आमाले साहारा नारी चेतनामा सदस्य बन्न सल्लाह दिनुभयो । सोहि अनुसार म सदस्य बनें । सबैले हाम्रो लगनशिलता देखेर ऋण दिनु भयो । उक्त ऋण लगानी गरेर मैले श्रीमानलाई विदेश पठाएँ । विस्तारै ऋण तिर्दै गयौँ । हामी सासुबुहारी जग्गा भाडामा लिएर तरकारी खेती गर्न थाल्यौं । साहाराले विभिन्न सिपमुलक तालिमहरु दियो । विस्तारै आर्थिक अवस्था सुध्रदै जान थाल्यो । बनेपामा ३ आना जग्गा पनि आफ्नै नामको किन्न पायौं । मेरो सिलाइ कटाइ गर्ने सपना पनि पुरा ग–यो साहाराले । तिन महिने सिटिभिटिको तालिम पाएँ । यो पेशालाइ पनि निरन्तरता दिए मैले । विदेशमा श्रीमान्को पनि राम्रो कमाई छ । म पनि चारदोबाटोको युनिक टेलरमा सहायक प्रशिक्षकको रुपमा काम गर्छु । सासु आमा पनि काम गर्दै हुनुहुन्छ ।  छोरालाइ राम्रो विद्यालया पठाउन सकेकि छु । परिवार सानो छ साहाराले खुसि हुन सिकाएको छ । छिन्न भिन्न मेरो जिवनमा हरा भरा ल्याएदिएको छ । आर्थिक रुपमा सवल बनाएको छ । आवश्यक पर्दा अहिले पनि सहारावाट साच्चीकै नाम अनुसारकै सहारा पाएको छु । निर्धक्कले सहयोग पाउँछु । मेरा परिवार व्यवस्थापन गर्न जसरी सहारा साच्चै नै सफल बन्यो त्यसरी नै सबैको ढुकढुकी बनोस । सबै दिन दुखिहरुको आर्थिक उन्नती तथा सबैको जीवन सहज तथा सवल बनाउने सिप सिकाउने संस्था बनोस मेरो सधै शुभकामना रहिरहनेछ । 

माया तामाङ बस्नेत 
बनेपा ९, नयाँबस्ति, काभ्रे