२०६५ पौष १२ गतेको दिन हाम्रो परिवारमा नसोचेको बज्रपात भयो । हाम्रो २८ वर्षीय छोरा कुमार गौतमको आफैले चलाएको सवारी दुर्घटना भएर घटनास्थलमानै मृत्यु भयो । सर्वश्व गुम्यो, सारा सपना टुट्यो । सुन्दर संसार अन्धकारमा परिणत भयो । असह्य पीडाले रोयौं, करायौ, छट्पटायौ तर जति रोए पनि कराए पनि जे नहुनु थियो त्यो भइ नै सकेको थियो । निष्ठुरी दैवको प्रहार त्यतिमै रोकिएन पुनः २०६६ असोज १७ गते अर्को घटना भयो । संयुक्त राज्य अमेरिकामा बस्दै आएका माईला छोरा बलरामको पनि कार दुर्घटनामा नै मृत्यु हुनपुग्यो । जेठा छोरा कुमार गौतम सफल पर्यटन व्यवसायी थिए । मेनेजिंग डाइरेक्टर अफ सुवान छि टुर्स भने उनका भाई बलरामले स्नातकमा अमेरिकाको नर्थ वेस्टर्न ओक्लाहोमा स्टेट युनिभर्सिटीबाट गणितमा उत्कृष्ट भई अमेरिकामानै आईटी सिस्टम एडमीनिस्टरको रुपमा कार्यरत थिए ।
दुईदुई जना, आफुले जन्माएका, हुर्काएका, पढाएका र व्यवसायमा अगाडि बढिसकेका सफल तथा दक्ष छोराहरु केवल ९ महिनाको अन्तरालमा गुमाउँदाको असीम पीडा र त्यो दुर्दशा कुनै पनि शब्दमा बर्णन गर्न सकिदैन । त्यो असहनीय, अपुरणीय र पीडादायी अनि मुटु नै छियाछिया बनाउने घटना थियो । मानिसले त्यति धेरै पीडा भोग्न सक्छ र त्यो असहनीय पीडाबाट उठेर फेरी हिड्न सक्छ भन्ने अविश्वसनीय झैँ लाग्दछ । मध्यरातमा काठमाडौँको बीच सडकमा सयौं जनाको विचमा कोहि आफन्तलाई खबर नगरी, मृत्युवरण गरिसकेको छोराको रक्तरंजित लाशका टुक्रा कसरी उठाएँ हुँला ? कसरी आफैले अस्पतालको मुर्दा घरसम्म पुर्याए हुँला ? अहिले सोच्दा पनि अचम्म लाग्छ । १२ बर्ष पछाडि फर्केर हेर्दा छक्क पर्छु, छोराहरुको मृत्यु हुनु भन्दा अगाडिको मेरो दौडधुप, मैले कमाएको सम्पत्ति, भोगेको बैभव कति काम लाग्यो त ? जब अमेरिकाको सडकमा छियाछिया भएको आफ्ने छोराको लाशमाथी दुई मिटर कात्रो किनेर ढाक्न समेत लागेन । हामी बलरामको दुर्घटनाको खबर सुनेर नेपालमा भावविह्वल अबस्थामा रहदै गर्दा उसको लाश अरुले चन्दा उठाएर सद्गत गर्नुपरेको थियो । त्यतिबेलाको एउटा निरीह तथा विवश प्राणी अर्थात् त्यो सबै सहने बेहोर्ने पात्र म आफै हुन पुगे ।
सडक दुर्घटनाका कारण हाम्रा प्यारा छोराहरु यो पृथ्वीबाट सधैंका लागी विलिन भैसकेका थिए । यतातिर त्यो भन्दा पनि भयंकर योजना मेरो मनले बनाउदै थियो । परिवारको रोदन र क्रन्दन अनि असहनीय अवस्थाले गर्दा परिवारको व्यवस्थापनको जिम्मेवारी निभाउनु पर्ने म जतिसुकै धैर्य गर्दा पनि पुरै टुटिसकेको थिएँ । मेरो मन परिवारको ब्यबस्थापन नभई विस्थापन गर्ने तर्फ सोच्न थालेछ । मनैमन विभिन्न बाटाहरु चहार्दै चहार्दै भोटेकोसीमा पुगेर अडिएछु र अन्त्यमा निर्णय समेत गरिसकेछु । परिवारलाई भोटेकोसी घुम्न जाउ भन्न थालिसकेको थिए तर मेरो योजना सपरिवार नै भोटेकोसीमा डुब्ने थियो । जे नहुनु छ, साँचिनै नहुने नै रहेछ । मेरो योजनासंँग अनजान मेरी जीवन संगिनीको एक शब्दले मेरा बाबा, आमा, म आफु, लक्ष्मी र दुइजना छोराछोरीको मृत्यु टर्यो । आजकल सोच्छु सायद हामी उनका पछिल्ला सन्तान हौला ।
दिनहरु बित्दै गए । समयसँगै हाम्रा जेष्ठ सुपुत्रको पहिलो बार्षिक तिथि अर्थात २०६६ साल पौष २ गते लक्ष्मीलाई नै सान्त्वना र सम्मान हुनेगरी उनकै नामबाट कुमार बलरामको आत्माको रुपमा लक्ष्मी प्रतिष्ठान स्थापना गरियो । असीम पीडाको गहिराईबाट २०६६ पौष २ गते स्थापना गरिएको लक्ष्मी प्रतिष्ठानले समाज रुपान्तरणको अभियानमा लक्ष्मी प्रतिष्ठान भन्ने नारा सहित शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, स्वाबलम्बन र सवारी सचेतनाका कार्यक्रमहरु समेट्दै अगाडी बढ्यौ । हामी संस्था संचालकहरु आ–आफै असहनीय पीडामा भएर पनि दुःखमा परेका धेरै जनाको आँशु पुछ्न तम्सिनुले समाजमा छु भन्ने सन्देश पुगेको थियो । अझ मानवीय कर्ममा निरन्तर लाग्दा ३ वर्ष सम्म आफ्नै सम्पति सकेर हजारौंलाई सेवा प्रदान गर्नु त्यो छुट्टै समवेदना थियो । असीम दुःखमा रहँदा धनसम्पति कति सकियो, सकिएन होशै भएन, आवेगले छेकिरह्यो ।
संस्थामार्फत सुरुका दिनमा सडक सचेतना देखि स्वास्थ्य शिविरसम्म चलिनै रहे । गाउँगाउँका सामुदायिक भवनहरुमा युवाहरु लक्षित स्वावलम्बी तालिमहरु अगाडी बढे । कतैकतै विद्यालय भवनहरु, शौचालयहरु, पुस्तकालयहरु निर्माण हुन थाले । केही बिद्यालयहरुमा पिउने पानीको व्यवस्था देखी बाढी, पहिरो भुकम्प, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट पिडित भएकाहरुलाई, उद्धार, उपचार, राहत आवास जस्ता कार्यक्रमहरु गरि नै रह्यौ । निरन्तर मानवीय सेवामा सक्रिय प्रतिष्ठानले ८ वर्ष अगाडि देखी अर्को चरणमा चितवन जिल्लाको राप्ती नगरपालिका १३ मा अति सिमान्तकृत चेपांग समुदायलाई लक्षित कार्यक्रम कान्दा रुपान्तरण अभियान संचालन गर्दै कान्दाको कन्दरामा देशको सम्वृद्धि खोज्न तल्लिन रहेको छ ।
२०६९ सालमा चितवनको कान्दामा पुगेको लक्ष्मी प्रतिष्ठानले निरन्तर रुपमा आफ्ना गतिविधिहरु अगाडि बढाइरहेको छ । गाँस बास कपासका लागी शिक्षा, स्वास्थ्य र स्वावलम्वनलाई मुख्य आधार बनाउँदै ७ वर्ष देखि बिसौ जनालाई रोजगारी दिदै निरन्तर रुपमा २ सय जनाको भान्छा संचालन गर्न सफल भएको छ । जतिबेला हामी कान्दा पुग्यौ त्यतिबेला त्यहाँ देखिने गरेका दृश्यहरु निकै कहालीलाग्दा, मर्मस्पर्शी र मन कुँडाउने खालका थिए । जता हेरेपनि भोक, रोग र शोकले ग्रस्त मानिसहरु भेटिन्थे । त्यहाँ आशाको कुनै किरण थिएन । केवल अभावग्रस्त जीवन विताइरहेका गरिबहरुका क्रन्दन मिश्रितस्वर र भोकग्रश्त बालबालिकाहरुका चित्कार सुनिने, देखिने, गर्दथे । जब हामीले कान्दामा त्यस्ता दृश्यहरु देख्यौ सहाराबिहिन झै लाग्ने ती गरिबी र अभावले जकडिएकाहरुको आवाज सुन्यौ । उनिहरुको लागी केहि गर्नुपर्छ भनि बिचार बन्यो । योजना बनायौ । योजना पनि उनीहरुका दुःख अभाव मेटाउने उद्देश्य सहितका बने । गाँस, बास, शिक्षा, स्वास्थ्य, स्वावलम्वनलाई समेटेर स्थान विशेषकै नामले नामकरण गरिएको कान्दा रुपान्तरण अभियान सुरु गर्ने निर्णय नै ग¥र्यौ । त्यतिबेला कान्दाको कठिन भौगोलिक अबस्था हेर्दा हामीले रुपन्तरणका लागी देखेका सपना र समेटिएका योजनाहरु एकदम अपत्यारिला लाग्दथे । हामीले आफ्ना केही शुभचिन्तकहरुलाई त्यहाँको दृश्य बर्णन गर्दै प्रतिष्ठानले बनाएको परीयोजना बताउँदा हामीलाई धेरै जनाले तत्काल काम गर्नु आत्माघात सरह हुने जस्ता सुझाव दिएका थिए । तर हामीले घोर अभावमा छट्पटाईरहेका दुःखीहरुको अवस्था देखीसकेको हुनाले उनीहरुको दुःखहरणको लक्ष्य जोडिएको कान्दा रुपान्तरण अभियान शुरु नै गर्यौ । त्यतिबेला हामी कती होशमा थियौ या थिएनौ थाहा भएन तर हामी सबै अभियन्ताहरुको मनमा दृढ बिश्वास सहितको संकल्प थियो, मनमा बिश्वास थियो, हामी रुपान्तरण गरेरै छाड्नेछौ । अन्ततः २०६९ साल जेष्ठ महिनामा हाम्रो अभियान थालनी भयो । अहिलेसम्म थुप्रै बाधा अड्चनका वावजुद पनि हामीले त्यो महाभारत अहिले छिचोली सकेका छौ । धेरै गाउँलेहरु आत्मनिर्भर उन्मुख छन् । त्यतिबेला हामीले त्यस्तो जटिल अबस्थामा हात समाएका बालबालिकाहरु अहिले हरेक कुरामा तिक्ष्ण भएका छन । विभिन्न प्रतिस्पर्धामा भिडेर राष्ट्रिय अन्र्तराष्ट्रिय पदकहरु समेत पाउन सफल भईसकेका छन् । शिक्षा, सिप, कला आदिको निरन्तरता संगसंगै हामीसंग कान्दा रुपान्तरण अभियानका लागी सक्रिय सहकार्य गरिरहेका छन् । हाम्रो अभियानका लाभग्राही उनीहरुनै भएकाले कान्दा रुपान्तरण अभियानमा समेटिएका हरेक योजनाहरुमा उनीहरुको उन्नति, प्रगति र सम्वृद्धि जोडिएको हुँदा उनीहरु थप उत्सुक छन् । गत बर्षदेखी राज्यले पनि पहिले दिनभरी हिडेर बल्लबल्ल राती पुग्न सकिने कान्दामा बिशाल पहरा काट्दै हाम्रो छात्रावासलाई लक्षित गरेर कालिटार, कान्दा, कामिंगचुली सडक परियोजना अगाडी बढाएर हाम्रो मनोबल बढाएको छ । यतिबेला पहिलेको पैदल बाटो दुई घण्टा छोटिएको छ । त्यतिबेला हामीले कान्दामा दैनिक साक्षात्कार गर्नु परेका दृश्यहरु कती धेरै मर्मस्पर्शी थिए भन्ने कुरा हामीसंग रहेका चल तथा स्थिर तस्वीरहरुमा सुरक्षित छन् ।
हामीले ठानेका छौं एकदिन ती सबै दृश्यहरु अहिले छात्रावासमा बसेर कान्दा रुपान्तरणका लागी तयार भैरहेका स्थानीय युवाहरुले भविष्यमा प्रतिष्ठानद्वारा त्यतिबेला सम्म रुपान्तरित दृश्य सहित सबै सामु ल्याउने छन् । अहिल्यै ति अपूर्ण दृश्यहरु हामी आफैले प्रचारप्रसार गर्न उचित मानेनौ । हामीलाई यस्तो पनि लागेकोछ की उनीहरुका अभाव र क्रन्दन भरिएका दृश्य मात्र प्रदर्शन ग¥र्यौ भने त्यो उनीहरुप्रति गरिएको खिल्ली हुनेछ र हाम्रो बुझाईमा त्यो अपराध सरह हो । त्यसैले हामी आत्मा साक्षी राखी मन, वचन र कर्मले ति दुःखका दृश्यहरु बिना नुमाइस नै मेटाउन प्रयास गरिरहने छौ भने निरन्तर कान्दा रुपान्तरणका लागी आवश्यक स्थानीय साधन, श्रोत संयोजन गर्दै त्यसैमा समुन्नति खोज्न सक्ने सक्षम जनशक्ती तयार गरिरहेका छौ ।
भनिन्छ दिवासपना देख्नेहरु पागल हुन्छन् । सायद होला, हाम्रो आफ्नै टिमलाई फर्केर हेर्दा त्यो कुरा सत्य लाग्छ । हिजोको कठोर भौगोलिक विकटता, ठाउँ–ठाउमा लहरा तान्दै पहरा पार गर्नु पर्ने अबस्था, पाइला भरको गोरेटो छेउछाउ कदम फिस्लियो भने प्राण त परै जाओस लास समेत सग्लो भेट्न नसकिने कहाली लाग्दा पहराहरु, सबै छिचोलियो, कहिलेकाही भोकै पेट जनावरको गोठमा समेत सुतियो । घाउचोट त कति लागे कती उपचार गर्न एकदिन पुरै पैदल हिड्नु पर्दथ्यो । धेरै पटक अकाल मृत्युबाट बचेका छौ । त्यतिबेला हामीसंँग खल्तीमा पैसा त हुन्थ्यो तर दाना देखी पानीसम्म किन्न सकिदैनथ्यो । सबै कठिनाइ सँहदै अनवरत प्रयासरत गरेर ति कुना कन्दराहरुमा, बिउ छरियो, बिरुवा रोपियो, गरिबका लागी पचासौं घर ठडाइयो, सोलार जोडियो, ठाडो भिरालो ताछेर १४ ब्लकको सुन्दर छात्रावास निर्माण गरी गरिबीले जकडेका गाउँभरिका बालबालिकाहरुलाई एउटै छात्रावासमा राख्न सफल भयौं । हाम्रो कठोर संघर्षसंगै उनीहरुले उज्यालो देख्न पाए, सुन्दर बसेरामा बसेर नयाँ नाना लगाउन, पौष्टिक भोजन पेटभरी खाई र पोशाकमा ठाँटिएर विद्यालय जान पाए । छात्रावासमा हासिल गरेको कलाले पारंगत हुदै विभिन्न मंचहरुमा पुगेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकहरु समाउन सक्ने क्षमतावान् भए ।
समय संँगसंगै दिनानु दिन बालबालिकाहरुको संख्या र कक्षा बढ्दै गयो । कान्दामा हाईस्कुल नहुनाले एउटै छात्रावासमा मात्र अटाउन नसक्ने र अटेकाहरुले पनि हाइस्कुल पढ्न नपाउने भएपछि २ बर्ष अगाडी देखी काभ्रे जिल्लामा समेत अर्को छात्रावास विस्तार गरियो । यतिबेला कान्दामा १४ ब्लक र काभ्रेमा २१ ब्लकको छात्रावास संचालन भैरहेको छ । ८ वर्ष अगाडीदेखी कान्दा रुपान्तरणको विशिष्ट योजना सहित हाम्रो अभियान निरन्तर चलिरहेको छ । हामी कसैसँग आफ्नो देशलाई स्विजरल्याण्ड बनाउने सपना बाँडिरहेका छैनौ । आफनै देशको कन्दरामा समुन्नती खोज्दै कान्दालाई सुन्दर र समुन्नत हराभरायुक्त पर्यटकीय स्थलमा रुपान्तरण गरी बर्षेनी करोडौं बिदेशी मुद्रा भित्र्याउन सकौं भनि अहोरात्र प्रयास गरिरहेका छौ । हामीलाई शब्दमा खेल्न आउदैन तर कर्मद्वारा धेरै दृश्य बदलिसकेका र धेरै काम गरेर देखाईसकेका छौ । हामीले नश्लीय फाईदाका लागी समानताका नारा कहिल्यै घन्काएनौ तर समानतालाई सधै आत्मसात गर्दै आएका छौ । पाकज्ञान भएका बिश्वकर्मा हाम्रा भान्छे छन् भने छेत्री बाहुनहरु सामान्य काम गर्दै । क्षेत्रिनी बहिनी सरसफाईको काम गर्छिन् । हामी आफै सेफ्टीट्यांकी सफा गर्ने देखी घन चुट्ने, ढुंगा फोर्ने, नाली सोहोर्ने गरेका छौ । यतिबेला बालबालिकाहरुले छात्रावासमा बस्न थालेको पनि ६ वर्ष पुरा भैसकेको छ । छात्रावासमा बसेर निःशुल्क खान, पढ्न, सिप सिक्न, खेलकुदमा सहभागी हुन पाउँदा उनीहरुमा निक्कै परिवर्तन आइसकेको छ । सन्तुलित खाना खाएर बिद्यालय गई गुणस्तरीय शिक्षा लिन पाएका छन् । कुनै दिन गाँस खोज्दै सडकमा जानु परेको छैन, बास खोज्दै बेचिनु परेको छैन । बिचल्लिमा परेर सडकमा लम्पसार भै कसैको क्यामरामा कैद भएर मिडियामा समाचार बन्नु परेको छैन । हामीलाई आफ्नो कर्मप्रति गर्व छ । यस बिचमा हामीले कति जनालाई सडकबाट उद्धार गर्न सकियो भन्दा पनि धेरै जनालाई जान रोकियो भनेर आत्मसन्तुष्टि गर्न सकेका छौ । जे जति हुन सकेको छ गज्जबसँग भैरहेको छ । मन वचन र कर्मले भैरहेको छ ।
अहिलेसम्म आर्थिक श्रोतका लागी पनि हामीले कुनै आइएनजीओ दोहेका छैनौ । सरकारलाई छोएका छैनौ केवल विविध कारणले श्रम गर्न विदेश पुगेका र आफ्नो मातृ भूमिलाई प्राणसरी ठानीरहेका आफ्नै दाजुभाइ दिदिबहिनीहरुको मन भित्र पुग्न सकेका छौ । उहाँहरुको सत्कृपाले र प्रतिष्ठानका अभियान प्रतिको प्रेमभावले, आफ्नो पसिनाको कमाई जोडेर र बालबालिकाको गाँस काटेर हामीलाई पठाईरहनु भएको छ । उहाँहरुले हामीलाई कहिल्यै पनि हार्न, थाक्न र रोकिन दिनुभएको छैन । संसार भर रहनुहुने ईश्वरतुल्य मान्यजनहरुको साथ सहयोग र मायाँ अनि गर्विलो साथले नै हामी यी मानवीय कर्महरु गर्न सफल भएका हौ । सबैको सदभावले गर्दा प्रतिष्ठानले अगाडी बढाएका कुनै कार्यक्रमहरु पनि आजसम्म रोकिएका छैनन् । मनकारी दाताहरुबाट हामीले आवश्यक दान, दातव्य पाईरहेका छौ । परिणामत कसैले नाङ्गो हिड्नु र भोको सुत्नु परेको छैन । श्रद्धेय पुजनीय अनि महानदाताहरु, सहयात्रीहरु र शुभचिन्तकहरु सबै प्रति शिर निहुराई नमन गर्दै हार्दिक आभार व्यक्त गर्दछौ ।
यो कठिन यात्रामा पाइला बढाउने क्रममा कतैकतैबाट हामीले टेकेको जमिन खन्ने काम पनि भएको छ । कसैकसैले हाम्रै समुहमा घुसेर, हाम्रै काँधमा बसेर गाला मुसारेझै गर्दै टाउकोमा हानिसकेका छन्, हाम्रै हात काटेर गर्दन पकडन लगाइएको इतिहास पनि छ । हिजो विपत्मा परेको बेला जसको आँशु पुछेर आफ्नै सन्तति समान माया दिएका थियौ जो हाम्रा अति प्रिय पनि थिए, जसको प्रतिष्ठानलाई समेत ठुलो योगदान रहेको थियो, ति समेत बैरीद्वारा प्रयोग भएका छन । भ्रममा परेर गरिब बालबालिकाहरुका कयौ गाँस खोसी पाप गरेका छन । उनीहरुको भित्री मनबाट नभए पनि प्रायोजित शब्दले हामीलाई लुटाहाको पगरी गुथाई सकेका छन् । तर पनि हामी अविचलित सत्मार्गमा हिड्ने कोसिस गरिरहेका छौ । हाम्रो बुझाईमा उहाँहरुले हानेको हथौडाको चोटले हामीलाई अझ बढी मजवुत बनाएको छ । हामी ईश्वरसंग प्रार्थना गर्दै भन्छौ । उहाँहरुको जय होस्। यतिबेला जहाँबाट जस्तो प्रहार भएपनि हामीसंग आफुलाई पवित्र या अपवित्र देखाउन समय छैन, कतै अलमल नगरी मानवीय कर्मको सागरमा पौडिरहेका छौ । बिश्वास छ को कति सत्य वा असत्य भन्ने कुरा भगवानले छुट्याउने छन् ।
अन्त्यमा हामीलाई साथ दिनुहुने महान दाताहरु, स्थानीय सरकार, विद्यालय परिवार, शुभचिन्तक, सहयात्री प्रतिष्ठानका सदस्य, पदाधिकारीहरु, कर्मचारीहरु र कान्दा रुपान्तरण अभियानका नायक र नायिकाहरु, मेहनती, मिलनसार तथा सहकार्यमा जुट्नुभएका सम्पूर्ण कान्दालीहरु र प्रतिष्ठानद्वारा हुँदै आएका मानवीय कर्महरूलाई संसारभर पु¥र्याउनुहुने मिडियाकर्मीहरु लगायत सबैलाई मुरी मुरी धन्यवाद । सबैको जय होस् ।
विष्णु गौतम
हालः काठमाडौं
लक्ष्मी प्रतिष्ठान