2021 January 21/ 09:52: 22am

    संविधान जारी भए पछि जारी भएको नयाँ संहिता कानुनको सहि पालना हुन सकेको छैन । कानुनकै आधारमा दुरुपयोग गरिँदा गल्ति नभएको ब्यक्तिले सजायँ भोग्न बाध्य भएका छन् भने गल्ति गरेर पनि फरार भएका ब्यक्तिहरुले उन्मुक्ति पाएका छन् । पुरानै कानुन हुँदा त पुरुषहरुलाई महिलाहरुले आरोप लगाएकै भरमा जेल पठाउने क्रम बढेकै थियो । नयाँ कानुनले पुरुषहरुलाई जेल पठाउन अझै सहज हुने भएको छ । जेल भित्र बसेर पुरुषहरुको भोगाई भोग्नेहरुलाई मात्रै थाहा छ, गलत मान्छे जेल जाँदा उसको ब्यवहार र अपराध गरेकै मान्छे जेल पुग्दा उसले देखाउने असली रुप । आशा गरांै धेरै पुरुष गलत आरोपमा जेलको यात्रामा नपरुन् । नयाँ कानुनले धेरैलाई न्याय गरोस् । मकै पिसिँदा घुन पिसिन्छ भन्ने सोच राखेर अनुसन्धान गर्नु भएन । निष्पक्ष अनुसन्धान भएन भने आरोपकै भरमा हिरासतमा राखिनु अर्काे अपराध हो ।     मेरो भोगाई र अनुभूति पुरानो कानुन हुँदैको हो । २०३७ साल चैत्र ४ गते दोलखा जिल्लाको सिंगटीमा मेरो जन्म भयो । सानो छँदाको बालापन कसरी बित्यो थाहा भएन । जब म बुझ्ने र पढ्न जाने भएँ तब मेरो बुबा आमाले गाउँकै सरकारी स्कूलमा भर्ना गरिदिनुभयो । म भन्दा अघि जन्मनु भएका दिदी र दाजु पनि विद्यालय जानु हुन्थ्यो । पढाईमा म राम्रो हुँदै गएँ । बुबा गाडीमा शुरुमा सह–चालकको काम गर्नु हुँदो रहेछ । लामो समय पछिको सह चालकको अनुभवले चालक बन्नु भएछ । बुबाको आम्दानीले घर खर्च देखि हाम्रो पढाई खर्च पुगेको थियो । बुबाको मेहनतले हामीलाई खान लाउनको कमी थिएन । मैले पढाईलाई निरन्तरता दिई रहें । जीवनको एउटै लक्ष्य थियो पढाईलाई पूरा गरेर बुबा आमाको निम्ति असल छोरा भएर घरको जिम्मेवारी सम्हाल्ने । अध्ययनमा लिप्त भएँ । शिक्षा नै भगवानको ज्ञान उपदेश हो कर्म पुण्य प्राप्त छ शिक्षामा नै खै कहाँ छ र शिक्षाको ज्ञान भन्दा ठूलो यो जगतमा सर्वज्ञा पाइन्छ शिक्षामा । कसै माथि कहिल्यै कुविचार राखिनँ । कसैलाई हेप्नुपर्छ, कसैलाई दबाउनुपर्छ र कसैमाथि शोषण गर्नुपर्छ भन्ने सोच पनि मेरो दिमागमा आएन । मैले जे कुरा जान्या थिएँ त्यहि कुरा अरुलाई दिनुपर्छ भन्ने सोच ममा थियो । हिजो पनि त्यस्तै भयो आज पनि त्यस्तै छ । र भोलि पनि त्यस्तै रहनेछ ।  
    दिनहरु बित्दै गए । म ८ कक्षामा पुगें । पढाई निकै राम्रो नै थियो । विस्तारै मेरो सोच बदलिन पुग्यो । गाउँमा धेरै पढेकाहरु शहरमा योग्यता अनुसारको जागिर नपाएर खेती किसानी गरेर जीविका चलाएका थिए । कोही हलो जोतेर जीविका चलाइरहेका थिए । पढाईले त झन् खै के गर्ला र  ? एउटा उच्च शिक्षा हासिल गरेर आफ्नो योग्यता अनुसारको जागिर नपाए पछि । सोझा जनताले खै कुन कुनामा जागिर पाउन सक्ला ? सुनेको थिएँ नेपालले त नयाँ चोला फे¥यो ? खै नेपालमा बेरोजगारीहरुलाई रोजगार ? खै त योग्यता अनुसारको पद ? सदावहार नेपाल उस्तै लाग्छ । लाखौं बुबा आमाका छोरा छोरीहरु रोजगारको लागि विदेशिनु परेको छ । देशको यो हालत देखेर पढाई छोडी बुबा सँगै गाडी सिक्ने निधो गरें । शिक्षाबाट ज्ञान त प्राप्त गरें तर त्यो शिक्षाको ज्ञान सरकारले देख्दैन र रोजगार पनि दिदैन । शोषक र शासकले भरिएको देशमा खै कहिले नेपाली जनताहरुले शान्तिको सास फेर्न पाउलान् ? गरिब त गरिब नै भए अनि धनी जति झन त्यहि गरिबलाई दबाएर माथि पुगे । पढाई छोडी बुबा भएको ठाउँमा गएँ । बुबाले मलाई गाली गर्नुभयो । बुबालाई भने म पढ्दिनँ । तपाईसँगै गाडीमा काम गर्न चाहन्छु । मैले पढेर केही पनि गर्न सक्दिनँ र पढ्दिनँ । बुबा रिसाउनु भयो । बुबा रिसाएको मैले कहिल्यै देखेकै थिईनँ । बुबाले आफुसँगै नआउन भनेपछि घर नर्फकिने निधो गरें । बुबालाई समेत नभनी म काठमाडौमा काम गर्न थालें । 
    काठमाडौ आएकै दिन मेरो पहिला देखि नै चिनाजानी गरेको गाडी चलाउने साथी समिरसँग भेट भयो । मैले साथीलाई आफ्नो यथार्थ सबै कुराहरु बताई दिएँ । त्यसपछि समीरले मलाई आफ्नै गाडीमा सँगै लिएर हिँड्न थाल्यो । आज भन्दा भोलि भोलि भन्दा पर्सी मैले गाडी चलाउन जानिसकेको थिएँ । मैले राम्रोसँग गाडी चलाउन जानि सकेपछि उसलाई सोधे । गाडी चलाउन पनि जानियो अब के गर्नुपर्ला ? के हुनु नि अब लाइसेन्स बनाउने अनि म जस्तै गाडी चलाउने । तँलाई मेरो बारेमा सबै यथार्थ थाहा छ मलाई बुबाले लाइसेन्स बनाउने पैसा दिनुहुन्न । त्यसैले अहिलेको लागि तँ सहयोग गरिदेन ल । बरु तँलाई पछि कमाएर तिरि दिउँला । त्यसपछि साथीले पनि हुन्छ भन्यो । आखिर साथी भनेकै यस्तै साह्रो गाह्रो परेको बेलामा त हो नि । ६–७ दिनको हाराहारीमा म लाइसेन्स बनाउनको लागि फर्म भर्न गएँ । एक महिनापश्चात गाडीको ट्रायल दिन तिनकुने तर्फ लागें । मैले ट्रायल पनि राम्रोसँग नै दिएँ र लिखितमा पनि पास भएँ । केही दिनसम्म साथीकै कोठामा बसिरहें । एक महिना पछि लाइसेन्स लिन गएँ । बल्ल बल्ल लाइसेन्स त दुःख गरी बनाइयो । अब बाँकी गाडी खोजेर चलाउनु पर्ने थियो । गाडी नपाउन्जेल म साथीकै गाडीमा हिँडिरहें । त्यसको २ महिना पश्चात भक्तपुरमा चल्ने बुलेरो भेट्टाएँ र चलाउन थालें । गाडी चलाउन थालेपछि सुर्य विनायक भन्ने ठाउँमा कोठा लिएर बस्न थालें । निरन्तर म गाडी चलाउन थालें । अनि सोच्ने गर्थे जीन्दगीको लक्ष्य सानो होस् या ठूलो आखिर त्यस लक्ष्यलाई पूरा गर्नु मेरो कर्तव्य हो । जीवनको सुनौलो बाटो कोर्न आफ्नो लक्ष्य र हिम्मत चाहिँदो रहेछ । आज मैले पूरा गरें । 
    सायद सानो छँदाको पल होस् या ठूलो छँदाको क्षण आखिर जीवन भनेकै संघर्ष रहेछ । विस्तारै जीवनको सुख र दुःख नियाल्दै गएँ । आफ्नो लक्ष्यलाई विस्तारै चुम्दै गएँ । विस्तारै मेरो जीन्दगीको संघर्षहरु बढ्दै गए । संघर्षमा भेटिएका जीवनका हरेक दुःखहरुलाई साथी बनाउँदै गए । दिनचर्या चल्दै गयो । जति दिन महिना बिते पनि कहिल्यै घर गइनँ । बुबाको डर लाग्थ्यो । बुबाको आदेशलाई पालना नगरी म आफै संघर्ष गर्न निस्केको थिएँ । त्यसैले म घर जाँदिन थिएँ । एकदिन मेरै गाउँमा जानुपर्ने टिप आयो । सायद म जादिनँ थिएँ होला । तर के गर्नु मेरो लक्ष्य मेरो कर्म यहि पैसा थियो । त्यसैले म टिप लिएर गाउँमा गएँ । शुरुमा डर अनि गर्व दुबै थियो । म सँगै पढेका साथीहरु बेरोजगार थिए । सामान्य अक्षर चिनेकै कारण मैले लाईसेन्स बनाउन सकें । गाउँमा गएको पहिलो टिप लिएर बुबाआमा भएको ठाउँमा पुगें । बुबाले त्यहि पहिलाकै नपढेको रिसले गर्दा फेरी पनि गाली गर्न थाल्नुभयो । सोचेको थिएँ धेरै वर्षको अन्तरालमा बुबा आमालाई भेटेको छु मलाई देख्ने बित्तिकै बुबा हर्षले खुशी हुनुहुन्छ तर आज पनि बुबाले मलाई गाली गरि नै रहनु हुन्छ । त्यसपछि म घर भित्र नछिरी भक्तपुरतर्फ लागें । हुन त कसको बुबाआमाले आफ्नो सन्तान बिग्रियोस् भन्ने चाहन्छ र ? मेरो बुबाले भन्नु भएको पनि ठिकै थियो । तर बुबाको सोचलाई मैले पूरा नगरे पनि म बुबालाई मेरो कारणले कहिल्यै दुःखी बनाउने थिईनँ । 
    गाडी चलाएको ३–४ वर्ष बितिसकेको थियो । विस्तारै ठूलो गाडी चलाउन थालें । टिपर चलाउन थालें । जीवनमा एक्कासी कालो औंसीको रातले छायो । आकाश आएर थिचे सरी भयो । दिउँसै रात परेझै भयो । एउटा सोच्दै नसोचेको र कल्पना समेत नगरेको एउटा कहालीलाग्दो घटनाको दोषीको आरोपको शिकार बन्न पुगें । २०७४ साल माघ १३ कालढुंगाबाट गिटी लिएर काठमाडौंतर्फ आइरहेको थिएँ । एउटा युवतीले हात दिइन् । उनले आफ्नो घर काभ्रेकै तेमाल गाउँपालिका भएको बताईन् । सडकमा अलपत्र परेको ब्यक्तिलाई गन्तब्यसम्म पु¥याई दिने असल नियतले मैले उनलाई गाडीमा चढाएँ । उनी भकुण्डेमा ओर्लिन् । मैले बनेपा हिडेको ब्यक्ति आधाबाटोमा किन ओर्लिएको भन्दै प्रश्न गरें । उनले फिसिक्क हाँस्दै त्यस्तै प¥यो माईन्ड नगर्नु है भन्दै बाईबाई गरिन् । कस्तो मान्छे होला भन्दै मैले मनमनै सोचिरहेको थिएँ । जगाते प्रहरी चौकीमा पुग्दै थिएँ । चेकिङ्गमा ३ जना प्रहरीहरुले मेरो गाडी रोके । तपाई नै हो हामीले खोजेको मान्छे भन्दै गाडी साईड लगाउन लगाए । तपाईको नाममा भक्तपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ । तपाई हामीसँग अहिले नै जानु पर्नेछ । किन ? के भयो र ? प्रहरीले नेपाली कागज देखाउँदै सोधे काभ्रेको तेमाल घर भएकी एउटी युवतीलाई एक्लो अवस्था पारेर जबरजस्ती नाजायज सम्बन्ध राखेको आरोपमा तपाई विरुद्ध उजु्री छ । प्रहरीहरुलाई यो सब झुटो हो आफुलाई फसाउन खोजेको कुरा बताएँ । म निर्दाेष छु । मेरो केही गल्ती छैन । रोएँ । कराएँ । मेरो निर्दाेषी पुकार त्यहाँ कसैले पनि सुनि दिएनन् । थुनुवा कोठामा लगि थुनिदिए । नारीकै अपवाद लगाई दिएर रिसको आवेगमा ब्यक्तिहरुलाई जेलमा लगेर कोचिदिए भैहाल्यो नि ? के नै गर्नुपर्ने रहेछ र ? दुई थोपा आँशु तपतप झार्दै बसिरहें । पुरुषहरुलाई जस्तै नारीलाई अनुसन्धान गरेर गलत उजुरी दिएको प्रमाणित भए पछि सायद हामी जस्ता निर्दोषहरु बजारमा बिक्ने चरित्रहीन नारीको सिकार बन्ने थिएनौं होला ? 
    हरेक दिन पलपल रोएर बसें । उनकोे परिवार आएर मलाई भन्न थाले तिमीले हामीलाई केही पैसा दियौ भने हामी मुद्दा फिर्ता लिन्छौं । छोरी चेलीको शरीर लिलामी गरेर पैसाको निम्ति हदैसम्म गिर्ने कस्ता अभिभावक रहेछन् । आफ्नो इज्जत पैसामा विक्री गर्ने नारीहरुलाई के भन्ने ? कसरी सम्मान गर्ने ? प्रहरीले जे जे भन्छ त्यो हैन भन्दा पनि मैले सुख पाईनँ । एकातिर उनिहरु पैसा माग्छन् अर्काेतिर मुद्दा दर्ता गर्छन् । खाएको विष पो लाग्छ नारीहरुको अगाडी त नखाएको विष पनि लाग्दो रहेछ । यो त पुरानै कानुन हुँदैको पीडा हो । नयाँ कानुन आएपछि यस्ता धेरै पीडाहरु पुरुषहरुले भोग्नु पर्नेछ । दया गर्नु पाप भएछ । पैसाकै कारण मैले न्याय पाउन सकिन भन्ने मेरो ठहर भयो । नेपालका अधिकांश ब्यक्ति विहान कमाएर बेलुकाको छाक टार्नु पर्ने अवस्थाका छन् । कानुनले त्यस्तैलाई जेल हालेर पुरुषार्थ देखाउँदै गएको छ । विचरा प्रहरीले पनि के गरुन् । नारीहरुले भनेको मानेन भने नारी विरोधीको आरोप खेप्दै जागिरबाट हात धुनुपर्ने अवस्था आउन सक्छ । आफ्नो हुँदाखाँदाको जागिर लिलामीमा राखेर कसैले कोहि पुरुषका लागि रिस मोल्न तयार हुन्छ र ? भक्तपुर जिल्लाका न्यायाधीशले ५ वर्ष कैद तोकेपछि मलाई काठमाडौ पु-याईयो । तर उच्च अदालत जाने ठाउँ हुने रहेछ । मेरो तर्फका कानुन ब्यवसायीहरुले थोरै रकममा मेरो पक्षमा बहस गरिदिनु भयो । उच्च अदालत पाटनले १ वर्ष पछि मेरो पक्षमा फैसला गरिदियो । म खुशी त भएँ तर मैले आफैलाई पुरुष भएर जन्मिएकोमा पीडा महसुस गरें । खाएको विष लाग्छ भन्ने भ्रममा बाँचेको म नखाएको विषले सताएकोमा चिन्तित भएँ । बुबाआमाको भावना विपरीत हिडेको सन्तानले प्राप्त गरेको दुःख, म भित्रको स्वाभिमान र प्राप्त न्यायले जीवनमा नयाँ कुरा सिकाएको छ । कानुनका छिद्रा समातेर पैसाकै लागि सबै कुरा त्याग गर्ने मान्छेको स्वार्थी झुण्डलाई के भनौ र खै ? 

 

गणेशकुमार सापकोटा
बनेपा, काभ्रे