2021 January 21/ 11:21: 19am

    थाहा छैन कति आमाहरुले गर्भमै छोरीको हत्या गरेका छन् । सरकारले ल्याएको कानुनको दुरुपयोग गर्दै म जस्ता कयौ आमाहरु छोरीको हत्या गर्ने पापी आमा हांै । परिवार, समाज तथा आफ्नै विवशतामा आमाहरुले पटक–पटक छोरीको हत्या गरिरहेका छन् । लिङ्ग पहिचान गर्ने सजिलो विधि, त्यो विधि पछि परिवारको असहयोग, समाजको तिरस्कार जस्ता कारणले धेरै आमाहरुले पेट भित्रै छोरीलाई पटक–पटक मारिरहेका छन् । पेटमै मार्ने जात छोरीको पहिचान पछि जन्मिएको अवस्थामा उसका भोगाईहरु सहज छैनन् । सहज जीवन र भोगाई बनाउन सायद लक्ष्मी, सरस्वती भएरै पो जन्मनु पर्ने हो कि ? हुन त तिनै महिला अर्थात छोरीहरुबाट जन्मेका सन्तानहरुले गर्ने ब्यवहार किन त्यस्तो भएको होला ? पुरुष विरोधी त हैन म तर पनि पुरुषहरुकै जमातले बनाएका हर्कत तथा सामाजिक बहिस्कार र तिरस्कारका पहाडहरुले छोरीहरुले पेट भित्र मात्रै होईन पेटबाट बाहिर आएपछि उस्तै सास्ति भोग्नु परेको छ । 
    हो त्यहि पीडित महिला हुँ म । लकडाउनको लामो बसाई मेरा लागि अर्काे कष्टकर बन्न पुग्यो । अधिकांश समय श्रीमान् घर बाहिर रहेकाले चासो पनि हुँदैन थियो । लकडाउनमा उहाँ घरमा आएर बस्न थाले पछि मैले घर परिवारको तनाव धेरै झेल्नु प¥यो । लगातार जन्मिएका दुई सन्तान ईश्वरका बरदान भन्ने उखानसँग मिलाउँदै जीवन जिईरहेकै थियौं । श्रीमान टिपर चलाउँदै सिन्धुपाल्चोक काठमाडौ ओहोरदोहार गरिरहनु भएको थियो । अभाव खासै थिएन । आर्थिक संकट पनि थिएन । खान लगाउन समस्या पनि हैन । आफ्नै चरन क्षेत्रको घाँस दाउरा, बस्तुभाउ पालन, खेतिपातीले मनग्ये आम्दानी थियो । बुढा हुन लागेका सासु ससुराको रेखदेख, छोरीहरुको स्याहार सुसार मेरो दैनिकी थियो । श्रीमान् विदाको समयमा घरमा आउने, बस्ने केहि काम भए सहयोग गरिदिने र फर्कने गर्नु भएको थियो । घरमा काम गर्ने मान्छे समेत राखेका थियौं हामीले । त्यस्तो परिवारमा समस्या एउटै थियो श्रीमान्को सेख पछि ढिकुराको पुजारी को हो ? कसले धान्छ बंश ? उहाँ म भन्दा अलिक धेरै अध्ययन गरेकाले पनि मलाई सहज भएको थियो । हरेक कुरामा मलाई सहजिकरण गर्नु भएको थियो । 
    मागी विवाह भए पनि त्यसपछिको प्रेमले परिवारमा छाएको सौहार्दता धेरै थियो । विस्तारै उहाँमा छोराको चाहना हुन थाल्यो । त्यसमा मेरो कुनै कमजोरी थिएन । दुई छोरी जन्मिए पछि श्रीमान् श्रीमतीको सल्लाहमा मैले अस्थायी साधन तीन महिने संगिनी सुईको प्रयोग गरेको थिएँ । त्यसले मलाई मोटोपना बढायो । ५४ केजीको मान्छे ८४ केजीको भएँ । समय समयमा सुई लगाउने र छाड्ने गरेको थिएँ । खाना मन नलाग्ने, मोटोपना धेरै भए पछि काम गर्न पनि असहज थियो । त्यहि असहजता हटाउन श्रीमान्ले नै मलाई अस्थायी साधन प्रयोग नगर्न बरु आफै स्थायी गर्ने बचन दिनुभयो । अधिकाश समय घर बाहिर भएकाले त्यसको पनि आवश्यकता महसुस गरिएको थिएन । घरमा सासु ससुरा र म मात्रै हुने भएकाले उहाँहरुको चाहना नाति खेलाउने हुन थाल्यो । मैले श्रीमानलाई नै भनेको थिएँ दुई सन्तान पछि अर्काे सन्तान छोरा जन्मन पनि सक्छ एक पटक हेरौंन त । श्रीमान्ले नै भन्नु भएको थियो त्यसो नगरौं छोरी नै जन्मियो भने पनि आफ्नै सन्तान हो पछि जन्माउने कि नजन्माउने दोधार हुन सक्छ । बरु अहिल्यै वास्ता नगरौं । बुबा ममीलाई सम्झाउने जिम्मा भयो । उहाँले घर बाहिर गए पछि आफ्ना बाचा भुल्न थाल्नु भयो । खै के भयो म भन्न सक्दिनँ । बुबा आमाको कुरा सुन्ने, मलाई चाहे जति माया नगर्ने, मेरो कुरा नै नसुन्ने र मलाई दास ठान्ने उहाँको सोचको विकास हुन थाल्यो । 
    सिन्धुपाल्चोक जिल्ला ठुलो सिरुबारीमा मेरो घर हो । भर्खर ३१ वर्षको भएँ । मेरा दुई छोरी छन् । श्रीमान् सवारी चालक हुन् । सासु ससुराले नाति खेलाउने रहर छ भन्दै पटक पटक छोरालाई गरेको टोकेसोका कारण तेश्रो सन्तान छोरा जन्माउने चाहना भयो । अस्थायी साधनको प्रयोग छाडे लगत्तै मेरो पेटमा गर्भ रह्यो । प्रविधिको प्रयोगले लिङ्ग पहिचान भयो । छोरी रहेको जानकारी सँगै पहिलो पटक २०७४ साल बैशाखमा पतन गर्ने निर्णय अनुसार पतन भयो । त्यो प्रयास मेरो पनि थियो । पतन गर्ने मेरो चाहना थिएन । श्रीमान खुशी हुन्छन् भने किन त्यो प्रयास नगरौं भन्ने मेरो निर्णय थियो । पहिला मैले भन्दा श्रीमान्को मन थिएन पछि मेरो मन नहुँदा श्रीमानको चाहना भयो । गर्भमा छोरी रहेको थाहा पाए पछि पतन गरेको कुराले मलाई मानसिक पीडा थपिदै गयो । आफ्नै सन्तानको हत्या ? विवश हुनुको विकल्प थिएन । सासु ससुराले नाति खेलाउनै पर्ने नभए अर्काे विवाह गर्न छोरालाई दिएको दबाबले सायद उनि पनि तनावमा थिए । एक्लो छोरा बंश चलाउनु पर्ने, मरे पछि दागबत्ति दिनु पर्ने कुरितीका कारण पुरानै संस्कारका सासु ससुरालाई बुझाउन सकेनन् । पुनः २०७४ साल चैत्र महिनामै गर्भ बस्यो । दम्पत्तिमा उत्साह भरियो । प्रकृया त्यहि थियो । भाग्यले ठगेको भन्दै श्रीमानले दोश्रो गर्भ पनि पतनका लागि दबाब सिर्जना गरे । केहि दिन बोलचाल बन्द भयो । आफ्नै सन्तानको हत्या कसरी गर्नु ? कति पटक गर्नु ? छोरा भए पनि छोरी भए पनि भएका छोरीहरुले नै गर्छन् नभए जन्म दिउँ उसले पनि पुरा गर्न सक्छे । श्रीमान्ले धम्कि दिदै भने अब दोश्रो विवाह गर्नुको विकल्प रहेन । लिङ्ग पहिचानको ७ दिन पछि श्रीमती एक्लै क्लिनिक आएर छोरीको भ्रुण निमोठ्न लगाएँ । थाहा छैन श्रीमान्को बाहिर अरु कोहि केटीहरुसँग सम्पर्क पो छ कि ? 
    हरेक श्रीमानहरु श्रीमतीको माया ममतामा भुलिँदा भुलिँदै किन एक्कासी टाढा हुन पुग्छन् ? यो प्रश्नले मलाई मासिक रुपमा मानसिक रोगको औषधी सेवन गर्न बाध्य बनाएको छ । लकडाउन मेरा लागि पुनः अर्काे दशा बनेर आयो । श्रीमान्को बाहिरको काम रोकिए पछि घरमै बस्न थाल्नु भयो । त्यहि बेला मैले अस्थायी साधन प्रयोग गर्न छाडेको थिएँ । श्रीमान् घरमै भए पछि पुराना कुरा सम्झिएर पनि अर्थ थिएन । श्रीमान् श्रीमतीको झगडा परालको आगो । तेश्रो पटक २०७७ बैशाख महिनामा मेरो गर्भ बस्यो । त्यतिबेला ममा साहस र धैर्य दुबै भरिएको थियो । जे भए पनि जन्म दिने भए गर्भ राख्छु नत्र अस्थायी साधन प्रयोग गर्न छाडदिनँ । श्रीमान सहमत भए । मैले दोश्रो विवाहका लागि अनुमति दिई सकेकाले खासै मतलब पनि थिएन । छोरीहरु हुर्कदै थिए । छोरा नै चाहिने बाबु, हजुरबुबा र हजुरआमाको दबाबले उनिहरुलाई छोरी भएर जन्मनु अभिषाप नै हो ? भन्ने छाप परिरहेको थियो । परिवारका सदस्यहरु प्रति उनिहरु सकारात्मक थिएनन् । निरन्तरको मेरो स्वास्थ्य अवस्था प्रति पनि चिन्तित थिए । रगत बग्ने, खान मन नलाग्ने, टाउको दुख्ने, हातगोडा गल्ने, कमजोरी महसुस हुने भएकाले उनिहरुले खाना पकाउन तथा घरको अन्य काममा सहयोग गरिरहेका थिए । तेश्रो पटकको गर्भ पनि छोरी भएको थाहा पाए पछि श्रीमानले पोलिक्लिनिकमै छाडेर हिडे । छोरीलाई पनि साथमा लिएर गएकाले मलाई सहज भयो । आमा छोरी र स्वास्थ्यकर्मीको पनि सहयोगमा बच्चा जन्माउनु उपयुक्त हुने निश्कर्ष पछि श्रीमानले छाडे पनि एक्लै तीन छोरीको सहारामा बाँच्ने आशमा गर्भपतन भएन । श्रीमान घर आएनन् । गर्भावास्थामै रगत बग्यो । तत्काल अस्पताल लैजाने पैसा पनि भएन । सासुससुराको छिःछी र दुरदुर त्यतिकै थियो । तर पनि छोरी, आफन्त र छिमेकीको सहयोगमा धुलिखेल अस्पताल आईपुगें । विडम्वना बच्चा पेट भित्रै वितिसकेको थियो । अप्रेसन पछि मलाई स्वास्थ्यकर्मीले बचाए । परिवारमा अझै सम्बन्ध सुध्रिन सकेको छैन । 
    सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काठमाडौ उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौ, काभ्र्रे जिल्लाका संकटमा परेका महिलाहरु काभ्रेपलाञ्चोक जिल्ला विभिन्न क्लिनिकमा गर्भपतनका लागि आउने गरेका छन् । जिल्ला बाहिरका महिलाहरु आफ्नै जिल्लाका क्लिनिकहरुमा गर्भपतन गराउँदा पहिचान खुल्ने डरले काभ्रे आउने गरेका छन् । परिचय लुकाउँदै गर्भपतनका लागि आउनेहरु उपत्यका भित्रका केहि अविवाहित जोडीहरु पनि छन् । जिल्लाको केन्द्र बनेपामा तीनवटा गर्भपतन गराउने पोलिक्लिनिक छन् । निजी क्षेत्रबाट सञ्चालित केहि क्लिनिकहरुमा अबैध गर्भपतन हुने गरेको गुनासो छ । सरकारी अनुमगन हुन नसक्दा उनिहरुको मनोबृत्ति बृद्धि हुँदै गएको छ । त्यहि अबैध गर्भपतनमा छोरीहरु मारिने गरेका छन् । शहरमा मासु काट्ने बधशाला नभए पनि गर्भमै छोरीको हत्या गर्ने प्रयोगशाला फस्टाउँदै गएका छन् । गर्भपतन गराउने स्थानको बयान गरी साध्य छैन । पैसा हुनुपर्छ त्यहाँ जे पनि हुन्छ । जस्तो पनि हुन्छ । यस्ता धन्दा चलाउनेहरुलाई सरकारले कारवाही गर्न मिल्छ र ?

सानुमैया माझी
सिन्धुपाल्चोक