2020 November 30/ 10:51: 22am

    खै कसरी शुरु गरौं । वर्षमा एक पटक आउने तिहारलाई नजिकबाट सुम्सुम्याउन सकिनँ । अस्पतालको बेडमा छट्पटिरहँदा भाईले दिदी भन्न सकेन । जन्म दिने बाबु आमाले समेत कहिले फर्कन्छेस् भन्न सकेनन् । थुप्रै पीडा छन् । थुप्रै भोगाई छन् । आंैशीको रातमा झिलिमिली बत्ति र आतसबाजीहरुले मन अमिलो बनाएको छ । अस्पतालमा फनफनी घुम्ने स्वास्थ्कर्मीहरुका पनि त आफन्त थिए होलान नि ? उनिहरुका पनि त दाजुभाई दिदीबहिनी थिएन होलान् नि ? कसैले कुनै कारण टिका लगाउन पाएन होला कसैले कुनै कारण तर म र मेरो परिवारले विल्कुल कोरोनाकै कारण यो तिहारमा टिका लगाउन सकिनँ । कोरोनाका कारण मैले भाई तिहार मात्रै होेईन आफैलाई बिर्सिएको छु । संसार देख्ने सपना गुमाउने अवस्थामा पुगेको छु । तरपनि ममा भएको झिनो आशा र मनोबलले मलाई घच्घच्याएको छ । तँ बाँँच्नु पर्छ । तैले बाँचेर संसारका लागि केहि गर्नु पर्छ ।      
    २०७७ कार्तिक १ गते देखि म कोरोना पोजेटिभ भएँ । हाल म अस्पतालमा उपचारार्थ छु । २०७६ चैत्र ११ गते देखि सरकारले गरेको लकडाउन होस वा निरन्तर कोभिड नियन्त्रण, रोकथाम र ब्यवस्थापनले धेरै नागरिकहरुको ज्यान बचेको छ । पेशाले सानो ब्यवसायी पनि हुँ तर मैले आफुलाई सामान्य नागरिकका रुपमा चिनाउँदै आएको छु । ब्यवसाय भएकाले धेरै पटक संक्रमण भएका ब्यक्तिहरुसँग घुलमिलमा परेको छु । थाहा पाएका र चिनेका ब्यक्तिहरु संक्रमित हुँदा पनि आफुले आफैलाई उच्च मनोबलका साथ पेशामा खटिएको थिएँ । तर पनि मेरो कार्य क्षेत्रमा अवरोध सिर्जना गर्ने गरी २०७७ कार्तिक १ गते भाईरसले प्रवेश पायो । केहि दिनअघि लक्षणहरु देखिएका थिए । कोभिडकै कारण थुप्रै ब्यक्तिहरुले ज्यान गुमाई सक्नु भएको छ । कोभिड सामान्य हो भनेर केहि ब्यक्तिहरु चिच्याई रहनु भएको छ । जसलाई पनि आफुलाई नपर्दा हो परे पछि सबै कुरा त्यस्तै हुन् । पहिला बाँचौ न यस्ता चाडपर्वहरु त मनाउँला नि ? नयाँ जीवन पाउन सकियो भने समाजमा धेरै कुराको सकारात्मक अभियान चलाउने योजनामा छु । मलाई केहि लक्षणहरु पनि थिए र अझै पनि छन् । आफु संक्रमण भएको सूचना आए लगत्तै एकखालको सन्नाटा छायो । त्यो रात निद्रा पनि परेन । शुभचिन्तक र आफन्तहरुका फोन र म्यासेजले नै रात गयो । भोलिपल्ट देखि ब्यहोर्नु परेको मानसिक पीडाले ब्यक्ति कोरोना भाईरसले होईन ब्यक्तिको ब्यवहारबाट मृत्युको मुखमा पुग्छ कि ? भन्ने भान भयो । समाजमा, टोलमा अनि समुदायमा योगदान पु¥याएका ब्यक्तिहरुलाई त समुदायका ब्यक्तिहरुले गर्ने ब्यवहार निच छ भने सर्वसाधारणले कोभिड १९ को संक्रमण पछि कस्तो अवस्था ब्यहोर्नु परेको होला ? घर अघिको बाटोमा समेत छेउ छेउ लाग्ने, फोन गर्दा समेत भाईरस सर्छ जस्तै गर्ने ? अझ नजिकका ब्यक्तिहरु नै कोरोना सर्छ भनेर अनुहार समेत नहेर्ने प्रवृत्तिले ब्यक्तिको मनोबल उचो होईन निराशा पैदा गरिरहेको छ । 
    शुरुका केहि दिन सहज भए पनि विचमा समस्या निम्तियो । अस्पताल नै भर्ना हुनुपर्ने गरी मलाई छातिमा समस्या देखियो । ज्वरो बढ्यो । अक्सिजन बढ्यो । श्वासप्रस्वासमा समस्या आयो । पखाला चल्यो । खोकी लाग्यो । रुघाखोकी त लाग्ने नै भयो । स्वास्थ्यकर्मीहरुको परामर्शमा तुरुन्त अस्पताल भर्ना हुनुपर्ने भयो । मसँग त अरु समस्या थिएन । सामान्य ब्यक्तिलाई कोरोना भयो र अस्पताल पुग्नु प¥यो भने समस्या रहेछ । शुरुमै धरौटी माग्ने रहेछन् । दक्ष जनशक्ति भए पनि पर्याप्त खटाईएको छैन । विरामीहरुलाई स्वास्थ्यकर्मीहरुले बरोबर हेरेको अवस्था छैन । उनिहरुको पनि ज्यानको माया त होला तर सुरक्षा अपनाउँदै विरामीहरुको रेखदेख अझै बढाउन सकियो भने मनोबल बढ्ने निश्चित छ । कोरोना भाईरस भएका व्यक्तिहरुसँग पनि सामाजिक दुरी राखेर भेटघाट गर्ने, एक्लो महसुस हुन नदिने, शरीरमा भाईरससँग लड्ने क्षमता बृद्धि गर्ने आवश्यक बस्तुहरुको ब्यवस्थापनमा सहयोग गर्ने र हौसला प्रदान गर्ने कार्यले ब्यक्तिले भाईरस चाँडै जित्न सक्छ । त्यो हुनु जरुरी छ । सर्वसाधारणको हकमा पनि त्यो आवश्यक छ । अस्पतालमा पुगे पछि आफुले नयाँ जीवन पाउने आशा बढ्यो जुन क्रम अझै जारी छ । एक महिना भईसक्यो मलाई अझै पोजेटिभ आएको छ । शरीरमा सुगर पनि देखिएकाले त्यसको पनि सँग सँगै उपचार भईरहेको छ । विश्वव्यापी रुपमा संकट निम्त्याएको कोरोना भाईरस कसैलाई पनि नलागोस् । रोग नलाग्नु भनेर फलाकेर मात्रै पनि हुँदो रहेनछ । ब्यक्तिले कायम गर्ने सामाजिक दुरी, स्वास्थ्यप्रति सचेतना अपनाउँदा अपनाउँदै पनि फ्रन्ट लाईनमा खटिएका तथा सर्वसाधारण नागरिकहरुलाई संक्रमण देखिएको छ । संक्रमण लाग्न नदिने तर्फ सचेत हुने, संक्रमणको शंका लागे पछि सहज र सरल रुपले परिक्षण गरेर ढुक्क हुने वातावरणको सिर्जना गर्ने तथा संक्रमण भए पछि गरिने उपचारका बारेमा ध्यान पु¥याउन सकिएन भने कोरोना भाईरसका कारण भन्दा भाईरसको त्रासले ब्यक्तिको निधन अल्पायूमै हुने निश्चित छ । अहिले अस्पतालमा भर्ना भएका जेष्ठ नागरिकहरु मध्ये केहिले घर फर्कन पाएका छैैनन् । सामाजिक ब्यवहार र पारिवारीक माया यसको महत्वपूर्ण पक्ष हो । 
    कोरोना एउटा पाटो हो । मंसिरमा पुगेको तिहारप्रतिको वितृष्णा अलग्गै छ मेरो । तिहार सम्बन्धका हिसाबले पनि अत्यन्तै सम्झनायोग्य चाड रहेछ । जसमा दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई ब्याख्या गरिएको छ । जतिसुकै टाढा भए पनि दिदी र भाईको सम्बन्धलाई तिहारले थप महत्व दिएको छ । कसैले चाहे पनि नचाहे पनि हिन्दु धर्म मान्नेहरुले तिहार पर्वलाई थुप्रै किमिसले ब्याख्या गरेका छन् । काग, कुकुर, गाई, गोरु, भाई र आफैसम्मलाई पुज्ने तिहारमा प्रयोग हुने रङ्ग, फुल, अन्य परिकारहरुले झनै यसलाई भब्य र अविश्मरणीय बनाएको छ । चाडवाड जति रमाईलो भए पनि करौतीले रेटेजस्तै मन रेटिएको छ । छियाछिया भएको विछोडिएको मन सम्हाल्न गाह्रो भईरहेको छ । जीवनको मुलबाटो बदलिएको छ । सपना भताभुङ्ग भएका छन् । सपना मरुभूमिको बालुवा जस्तै भएको छ । उराठलाग्दो जीवनलाई रसिलो बनाउने, भरिलो बनाउने मेरो सपना सपनामै सिमित हुनेछ । अनुहार देखाउनै नसक्ने गरी भयंकर ठुलो गल्तिलाई कानुनले त केहि समय माफ दिने रहेछ । तर दिनुपर्ने ब्यक्ति, समाजले विर्सन सक्दो रहेनछ । चाडवाड जति नजिकिन्छ त्यति चिन्ता, डर, भय, त्रासले सताउन छाडेको छैन । खुशी र त्रास सँगै भरिएको छ । झनै यो वर्ष कोरोनाले त्यो त्रास र भयलाई अझै भयभित बनाई दिएको छ ।  
    ग्रामीण भेग दुःख सुख स्वभाविक हो । खाने, लगाउने, अध्ययन गर्ने कुरा आम नेपालीहरुले भोगे जस्तै हामीलाई पनि समस्यै थियो । अज्ञानता, अशिक्षा त्यतिखेरको प्रमुख विषय थियो । राजनीतिक चेतना भएकाहरुले पनि जनताका छोराछोरीहरुले अध्ययन गरे भने हामी भन्दा टाठाबाठा हुन्छन भन्ने भ्रम थियो । केहि समाजसेवी भन्नेहरु जनताका छोराछोरीका नाममा आफ्ना सन्तान पढाउन विद्यालय खोल्थे । केहि जनताका छोराछोरीहरुलाई आफ्नै घरमा काममा लगाएर आफ्ना छोराछोरीहरुलाई शहरका विद्यालयहरुमा पठाउँथे । सन्तान धेरै जन्माउने, भएका सबै सन्तानहरुको चाहना पुरा गर्न नसक्ने अभिभावकहरुको रोदनलाई मसला बनाउँदै गाउँका सामन्तिहरुले देखाउने ब्यवहार सम्झिसक्नु छैन । अहिले सहकारीका नाममा चर्काे ब्याज गाउँमा असुलिन्छ उहिले साहुका नाममा असुलिन्थ्यो । पैसा दिन भएको सबै जायजेथा बन्धकी राख्नु पर्दथ्यो । एक हजार लिए दश हजार, दश हजार लिए एक लाखको तमसुख गरिने चलन हटेको धेरै भएको छैन । बुबाले सधै भन्नुहुन्थ्यो मैले र तिम्रो आमाले अक्षर चिन्दा नपाएको दुःख तिमीहरुले पाउनु नपरोस् । सन्तानले सुख पाएको देख्न नचाहने अभिभावक कमै हुन्छन् । उनिहरुको सपना आफ्ना सन्तान आफु भन्दा माथि गएको हेर्न चाहन्छन् । जन्म दिने बाबु आमा बाहेक अरु सबै प्रगति उन्नति चाहँदैनन् । अभिभावकहरुको एउटै सपना हुन्छ हरेक सन्तानले आफुले भन्दा धेरै राम्रो गर्न सकोस् । 
    अहिले जस्तो लाग्छ क ख सिक्दा हात समाएर गएको । जान्न भन्दा भन्दै काखमा बोकेर विद्यालय पु¥याईएको । बालमन अध्ययन भन्दा खेल्न मन पराउँथ्यो । शिक्षकहरुको अनुशासनमा बस्न मन हुँदैन थियो । घरभरी बस्तुभाउ टन्न थिए । दिदीहरुले अध्ययन गर्ने अवसर पाउनु भएको थिएन । छोरीहरुलाई अध्ययन गराउँदा अभिभावकलाई फाईदा थिएन । छोरी भनेको अर्काको घरमा जान्छन्, अर्काको घरमा जाने जातलाई किन पढाउनु ? किन उसको शिक्षामा खर्च गर्नु ? त्यहि समाज, त्यहि चलन र त्यहि अवस्थाबाट गुज्रिएको मेरो परिवारमा दिदीहरुले अध्ययन गर्न पाउनु भएन । समयले कोल्टो फे¥यो । हामी बहिनीहरुले सावाँ अक्षरसम्म चिन्ने अवसर पायौं । घर भरी भएका बस्तुभाउ, खेतबारी, ज्यालापानीका कारण अध्ययनले गति लिन सकेन । विवाहित दिदीहरु माईती घरमा आएर काम गर्ने अवस्था थिएन । अध्ययनले गति लिईरहेको थियो । दाईहरुले पनि विद्यालय जान छाडिसक्नु भएको थियो । भाई बहिनी र म मात्रै थियौं । उनिहरुको रेखदेख मेरै जिम्मेवारीमा थियो । घरका अन्य सदस्यहरु काममै ब्यस्त हुनुहुन्थ्यो । कक्षा ९ सम्मको अध्ययनमा खासै समस्या पनि भएन । कक्षा १० अध्ययन गर्ने बेला घरबाट अलिक टाढा जानु पर्ने भएकाले परिवारलाई आर्थिक भार पर्ने भयो । बुबाले अध्ययन नगरे पनि हुन्छ भन्ने आशय ब्यक्त गर्नु भएको थियो । विवाह गरेर घर पठाईसकेकी दिदीहरुले मेरो अध्ययनलाई रोक्न दिनु भएन । बुबाले सक्नुहुन्न भने हामी सहयोग गर्छाै भने पछि बुबालाई कर लाग्यो । बाध्य भएर गास कटाएर भए पनि मलाई सहयोग गर्नु भयो । कक्षा १० सहजै रुपमा पास गरें । एसएलसीका लागि मलाई धेरै गाह्रो भएन । डर त्रास र भय आफैमा थियो । तर पनि पास हुन्छु भन्ने आत्मविश्वास थियो । मध्यम खालको विद्यार्थी भए पनि म नियमित विद्यालय गएको, ट्युसन समेत लिएर मेहनत गरेकाले सहज भयो । एसएलसी उर्तिण हुँदा घरमा सबैले भोज गरेका थिए ।     
    एसएलसी पास भएपछि मलाई राजधानीमा उच्च शिक्षा पढाउने निधो भयो । अध्ययनका लागि खर्चको कुरा थियो । दिउँसो काम गर्ने, विहान कलेज पढ्ने भन्दै दिदीहरुकै सहयोगमा मलाई काठमाडौ लगियो । काठमाडौमा खासै मैले कुनै ठाउँ देखेको थिईनँ । शुरु शुरुको काम र पढाई दुवै रमाईलो लागेको थियो मलाई । सबै नयाँ नयाँ । के काम, के पेशा, के ब्यवसायलाई आफ्नो भविष्य बनाउने भन्ने सपना बुन्दा बुन्दै दशैं तिहार जस्ता चाडपर्वहरुले घेरेका थिए । पहिलो पटक दशैमा घर जाँदा आफ्नै कमाईबाट परिवारका सबै सदस्यहरुलाई केहि न केहि लगिदिन सफल भएको थिएँ । त्यतिबेलासम्म दाई अलग भईसक्नु भएको थियो । भाई बहिनी, बुबा आमाका लागि मैले नयाँ दशै बनाएको थिएँ । सायद सबै अभिभावकको सपना पनि त्यहि थियो होला सबै सन्तानबाट सुखको अनुभुति होस् । दशै र तिहारको बीचमा काठमाडौ जाने अवस्था रहेन । एक दिनको कुरा हो । साँझको समयमा खेतको कामबाट घर फर्कने क्रममा छिमेकी घर तर नाताले आफ्नै नजिकको परिवार भित्रको दाजु र म सँगै थियौं । दाजुलाई के भयो थाहा भएन मलाई एक्कासी समाउनु भयो । म त उहाँ लड्न लाग्नु भएछ क्यारे अनि समात्नु भयो भन्ठानेको थिएँ । कुरा त्यसो होईन रहेछ । उहाँको नियत नै गलत रहेछ । मैले चाल पाए लगत्तै उहाँलाई कराएँ र चिच्याउन लागें । उहाँले मेरो मुख थुनेर कसैलाई नभनिदिनु म केहि गर्दिनँ भन्नुभयो । उहाँ भाग्नुभयो । मलाई डर लाग्यो । साँझको समय थियो । बल्लबल्ल घर आईपुगे । घरमा बुबा आमालाई सबै कुरा भनें । शुरुमा त कसैले पत्याउनै सकेन । पछि त्यो घरमा गएर हामी सबैले घटनाको बारेमा जानकारी गरायौं । उ घरमा फर्किएको थिएन । सायद उसको त्यहि दिन नै अन्तिम रहेछ कि क्या हो आजसम्म उ घरमा फर्किएको छैन । कहाँ छ ? कस्तो अवस्थामा छ ? के गर्दैछ ? कुनै जानकारी छैन । 
    त्यो दिन म त जोगिएँ । तर उसले आफ्नो गल्ति प्रायश्चित गर्ने अरु कुनै उपाय देख्न सकेन । दाजु बहिनी बीचको पवित्र सम्वन्धमा उसले लिएको दानवी रुपका कारण उ गाउँ छाडेको वर्षाै भईसक्यो । यमपञ्चक शुरु भएको थियो । दोश्रो दिन कुकुर तिहार थियो । त्यहि दिनको साँझ भएको उक्त घटनाले दाजुभाई प्रतिको विश्वास र ममता प्रति प्रश्न त उठायो तर पनि सबै त्यस्ता त छैनन् । तिहार खल्लो त भयो नै । त्यहिदिन देखि शुरु भएको तिहारका हरेक वर्षका यादहरु त्यहि घटनाले झस्काई रहेको थियो । यो वर्ष कोरोना कहरले जीवन र मरणको दोसाँधमा अस्पताल पु¥याएको छ । आशा छ म फर्कन्छु । यस्ता तिहार फेरी पनि मनाउँला । तर पनि याद र सम्झनाले सताउँदो रहेछ । त्यो तिहार र यो तिहार । कोरोनाले सम्झाएको त्यो मनको गाँठो । 
अञ्जु त्रिपाठी
धुलिखेल, काभ्रे