2024 April 19/ 11:12: 42am

पहिलो भेटमै उनले मलाई नजिक भएर धेरै वर्ष देखि सँगै रहेको जस्तो ब्यवहार देखाए । कक्षा ८ पढ्दै उनको अभिभावकत्वले मलाई साँच्चै भुलायो । घरमा भएका बुबा आमा, दाई भाउजु र इष्टमित्र भन्दा उनी नजिकको ब्यक्ति जस्तो अनुभुति भयो । मनमा एक खालको काउकुती लाग्यो । भोक छैन तर भोक लागेको अनुभव भयो । प्यास छैन तर तिर्खाको अनुभव भयो । छट्पटिले मन भाँडियो । अरु मान्छेको वास्तै लागेन । सबै मान्छेहरु मेरा विरुद्ध छन् भन्ने सोच आउन थाल्यो । १४ वर्षको उमेरमै आएको परिवर्तनले मलाई भविश्यको सुखद् अनुभूति हुन्छ भन्ने लागिरहेको थिएन । वस्तु भए पनि बाँधेर राख्नु, मान्छे भएर मनलाई बाँध्न नसक्नु मेरो कमजोरी थियो । भुल थियो । जीवनको पहिलो गल्ति नै त्यहि थियो । 
    कक्षा ९ मा अध्ययन गर्दा उनले प्रेम प्रस्ताव सहितको लामो चिठी पठाए । पढ्नै खुल्दुली र चासो लाग्यो । यति धेरै पेजमा के छ ? विद्यालयबाट हतार हतार घर गएँ । तत्कालै पढेर सकिदैन थियो । घरमा गएर बुबा आमाले राखी दिएको खाजा खाएर गोठको धन्दा, खेतमा भएका खेतालाहरुलाई खाजा, बेलुकाको खाना, विद्यालयको गृहकार्य सकेपछि मात्रै पत्र हेर्ने योजना बनाएँ । त्यो सबै काम कतिबेला सकियो पत्तो भएन । किनकी मेरो मनमा मात्र पत्रको याद छ । त्यहाँ भित्रका कोरिएका शब्दहरुको जिज्ञासा छ । कतै मेरो भावना माथि ठेस त लाग्ने हैन ? मैले मन मनै मन पराए पनि उसले मन पराएन कि ? वा अरु केहि त्यस्तै त्यस्तै कुराले मनभरी धेरै कुराहरु खेल्न थाले । समुन्द्रमा कति माछाहरु पौडिरहन्छन् होला ? मेरो मन त्यो समुन्द्र र समुन्द्रमा पौडिने तमाम बस्तुहरु भन्दा धेरै उद्देलित बन्यो । रोक्न सकिनँ । खाना पनि धेरै खान मन लागेन । गृहकार्य पनि अरु दिनको जस्तो जाँगर चलाईनँ । ह्या बरु भोलि विद्यालयमै गएर गर्छु नि के भो त ? यस्तै कुराले मलाई छिट्टै ओछ्यानमा पु¥यायो । सबै निदाइसकेका थिए । पुषको महिना थियो । छिट्टै रात पर्ने भएकाले सबै ७ बजे नै आ–आफ्नो ओछ्यानमा थिए । त्यो समय रातको ८ बजेको थियो होला । मैले विस्तारै पत्र खोलें । पत्रको शुरुमै लेखिएका, कोरिएका र आर्ट गरिएका अक्षरहरु मेरै जीवनका लागि सजिएको जस्तो लागिरहेको थियो । 
    प्याजका पत्र खोलेजस्तै पानाहरु पल्टाउँदै गएँ । मेरो जीवनका बारेमा यति धेरै नजिकबाट बुझेको रहेछ सायद मेरो जन्म दिने बाबु आमाले पनि त्यति धेरै बुझ्न समय पाउनु भएको थिएन होला । हुन त कोहि मान्छे मन प¥यो भने त्यसका हरेक कृयाकलापहरुको निगरानी गर्नु, उसका सबै कुराहरु मन पर्नु स्वभाविक हो । आज भोली ढोंगी प्रेमको धेरै ब्याख्या गरिन्छ । शारिरीक सम्पर्क राखिसक्दा समेत ति मान्छेहरु बीच प्रेमको कुरै हुँदैन । प्रेम सस्तो भइसकेको छ । शारिरीक बासनाका लागि गरिने प्रेमले मान्छेलाई कतै न कतै लगेर भड्खालोमा पु¥याएकै हुन्छ । अझ प्रेमलाई भावनामा भन्दा पनि शारिरीक बासनामा प्रयोग गर्नेहरुले निष्ठापूर्वक त्याग र समर्पण गर्नेहरुलाई ओझेलमा मात्रै पु¥याएको छैन । बाहिर बाहिर ठिक्क पार्ने, भित्रभित्रै प्रेमको नाममा प्यास मेटाउनेहरुको जमात बढाएको छ । पत्रमा उल्लेख भएका प्रत्येक शब्दमा प्रेमको भाव थियो । जीवनका बारेमा धेरै कुरा ब्याख्या गरिएको थियो । अल्लारे नै थिएँ । १५ वर्षको उमेरमा मैले धेरै कुरा जानेको त थिइनँ तर के सहि हो के गलत हो भनेर निर्णय गर्न नसके पनि बुझ्ने भने भैसकेको थिएँ । आमाको ७ वर्षको उमेरमा विवाह भएको भनेर सुनाउँदा कथा जस्तै लाग्दथ्यो । आफु १५ वर्षको हुँदा समेत त्यो बारेमा बुझेको छैन भन्दा कता कता केटाकेटी नै छु कि जस्तो लाग्दथ्यो । पत्र सकिए लगत्तै सिरक गुटुमुटु बनाएर निदाउने प्रयास गरें । सकिनँ । बत्ति निभाएँ । तर उसको अनुहार अगाडी आईरह्यो । निस्पट अँध्यारोमा देखिएको उसको अनुहारमा मैले प्रेम देखें । माया देखें । मेरो भविश्य देखें । आखिर छोरी मान्छे हो एक दिन कसैको घरमा जानै छ भने किन उसको स्वच्छ प्रेमको भावमा सहभागी नहुने ? 
    सुनसान थियो । जुरुक्क उठें । बत्ति बालें र कापीको बीच पानामा अक्षरहरु कोर्न थालें । उसको जस्तो साहित्य त मैले जानिनँ । तर मनदेखि उर्लेको प्रेमको भावलाई सिनित्तै पारिदिएँ । भोलिपल्ट उसको अनुहार हेर्न र उसलाई भेटेर त्यो पत्र दिन आतुर थिएँ । दिउँसो १ बजे मात्रै त्यो मौका मिल्यो । उ कक्षा १० मा थियो । नजिकै आएको टेष्ट र एसएलसी तयारीका लागि विद्यालय विदा हुने तयारी थियो । मलाई झनै धड्कन बढिरहेको थियो । कसरी यो मान्छेसँग सधै भेट भइरहने होला ? कुरा त्यस्तो भएन । उनिहरु ट्युसनका लागि पनि विद्यालय आउन थाले । २०५७ माघ ११ गते औपचारिक रुपमा हाम्रो प्रेम सम्बन्ध शुरु भयो । उसको म प्रतिको सद्भाव र रेखदेखले म भुतुक्कै भएँ । बुबा आमा समेत ममा आएको परिवर्तनले छक्क परिरहनु भएको थियो । उसको एसएलसी सकियो म कक्षा १० मा पुगें । पढाई खासै नराम्रो थिएन । दुवै जना एसएलसी राम्रोसँग उर्तिण गर्न सक्ने हैसियतमा थियौं । नभन्दै परिणाम पनि त्यस्तै आयो । दुवै जना दोश्रो श्रेणीमा पास भयौं । एसएलसी दिएर उसको खाली समय थियो । कहिलेकाँहि मलाई विद्यालय पु¥याउन र लिन जाने गर्दथ्यो । धेरै पटक गाउँका मान्छेहरुले देखेपछि मलाई घरबाट कडा गरिन थालियो । प्रेम नगर भनेर भन्दा पनि बाबु आमाको इज्जतको ख्याल गर्नु भन्दै । विदाको दिन उ र म सँगै पाखोमा घाँस लिन जाने गरेका थियौं । जाडोको विदा थियो । हामी दुवै जना बनमा दाउरा लिन जाने योजना बनायौं । कहिल्यै बनमा जान मन नगर्ने भएकाले पनि मलाई कर गर्नु हुन्न थियो । तर त्यस दिन बनमा जान लागेको देखेर अभिभावकहरु छक्क पर्नु भयो । विहान खाना खाएर बनमा गएका हामी साँझ मात्रै फर्कियौं । बनमा हामीले धेरै मिठा मिठा कुराहरु आदान प्रदान ग¥यौं । भविश्यका सपना बुन्यौं । एकले अर्काेलाई कहिल्यै धोका नदिने बाचा ग¥यौं । वनमा भएका तमाम हाम्रा गफ र सम्झौताका साक्षी बने । सँगै रहेको रुखमा लेखेर हामीले बाचा कसम ग¥यौं । प्रेमले उन्मत्त हामी दुवै एक अर्कामा लिन भयौं । शब्द, पत्रबाट ब्यक्त गरिएको प्रेम साँच्चै त्यो दिन पोखिएको थियो । ब्यवहारमै हामी पहिलो पटक प्रेममा लिन भएका थियौं । प्रेमको अनुभूतिमा रमाएका थियौं । संसार विर्सिएका थियौं । त्यसबाट पर्ने प्रभाव र समस्याका बारेमा हामी अनभिज्ञ थियौं । त्यो अनभिज्ञताले नै हामीलाई प्रेममा पागल बनाएको थियो । 
    केहि दिन पछि गाउँमा हल्ला फैलियो । विवाह गर्ने तयारी तत्काल थिएन । कक्षा १० मा अध्ययन गर्दै भएकाले मलाई हतार भएको थिएन । उसको न्यानो अंगालोमा बेरिन पाउने मेरो सपना उसले पूरा गरिसकेको थियो । एसएलसी उत्तिर्ण भए लगत्तै उ शहरमा कलेज पढ्न गयो । त्यो बीचमा मैले उसको सफलताको कामना गरिरहें । उसले मेरो अध्ययनलाई सहयोग गरिरह्यो । एसएलसी सकिदै थियो । मैले कि त भाग्नु प¥यो कि त उसलाई छाड्नु प¥यो । हाम्रो गोत्र एउटै रहेछ । उतिबेला हामीलाई त्यो कुरा कसैले सुनाएन । वा हामीले सोध्ने साहस पनि गरेनौं । एउटै गोत्र भएका ब्यक्तिहरु बीच विवाह गर्नु हुँदो रहेनछ । थर फरक भएपछि विवाह गर्न हुन्छ भन्ने हाम्रो काँचो बुद्धि थियो । प्रेमले न जात भन्दो रहेछ, नत्र गोत्र । प¥यो फसाद् । एक रात बुबाले मलाई धेरै सम्झाउनु भयो । तिमीहरु दुईको सम्बन्धलाई लिएर मैले जति तनाव ब्यहोर्नु प¥यो त्यो तिमीहरुले ब्यहोर्नु नपरोस् । जे जे भयो भयो अब छाडिदेउ दुवैजना । तिमीहरु एक अर्काको साथी भयौं । विवाहका लागि समाजले पनि नस्विकार्ने भएकाले बल नगर । बुबाका कुरा केहि हदसम्म ठिकै थिए । तर हामीले एक अर्कालाई बचन दिइसकेका थियौं । हामी बरु आकाश खसोस्, धर्ती फाटोस् हाम्रो प्रेम अमर रहनेछ । एकअर्का बिना हामी बाँच्नै सक्दैन थियौं । बुबाले सामाजिक उत्तरदायित्व, अभिभावकत्व ग्रहण गरिरहँदा समेत हामीले बेवास्ता ग¥यौं । हामी कुनै हालतमा पनि विवाह नगरी बस्न सक्दैन थियौं । उ उच्च शिक्षा अध्ययनका लागि शहरमा बस्दा समेत उसको कोठामा गएर कयौं दिन बसेकी छु । कसैले थाहा नपाउने गरी उसको कोठामा रात विताएको छु । 
    बुबाले धेरै कर गरेपछि हामी ज्योतिषकोमा गयौं । ज्योतिषले विवाह कसैले रोक्न सक्दैन तर दुईवटा सन्तान भएपछि तिमीहरु एक अर्काे बीच आफै छुट्टिन्छौ भनि दिए । हामीले केहि कुरा सुन्यौं । धेरै कुरा मिल्यो केहि मिलेन । ज्योतिष हेरायो मन डरायो भन्दै हामी दुईले आफ्नै निर्णय ग¥यौं । उसको परिवार पनि सम्पन्न थियो । परिवारको पहिलो सन्तान । बुबा आमाको बाजा बजाएर विवाह गर्ने र बुहारी भित्र्याउने उत्कट चाहनामा उसले पनि तुषारापात गर्दै थियो । एसएलसी दिएर शहर आएको म फर्किएर घरै गइनँ । आमा बुबालाई मैले उसँग विवाह गरें भनेर पत्र लेखेर पठाइदिएँ । यता मेरो महिनावारी रोकिएको दुई महिना भैसकेको थियो । उसको घरबाट हामीलाई पूर्ण साथ थियो । केहि समय हाम्रो बारेमा कुरा काटे पछि कोहि बोलेन । गोत्र एउटै भएको कुरा केहि ब्यक्तिले थाहा पाए धेरैले प्रेमको सपना पूरा गरे भनेर खुशी पनि भए । केहि दुःखी पनि भए प्रेम सफल भएकोमा । समाजमा अनेक खालका मान्छेहरु हुँदा रहेछन् अरुको सफलता देखि नसहने मान्छेहरुले हामी बीच दरार ल्याउन अनेक प्रयत्न गरे । त्यो घर भित्रैबाट हुँदो रहेछ । आफन्तैबाट हुँदो रहेछ । शत्रुहरुबाट धेरैलाई सहज नै हुने रहेछ तर मित्रुहरुबाट बच्न कठिन रहेछ । कहिले मलाई त्यसको अर्काे केटी छ भन्ने कहिले उसलाई उसको अर्काे केटा छ भन्ने ? नभएको पनि होइन । रुपमा म सुन्दर थिएँ । जिउडाल मिलेको । उमेर बढ्दै गर्दा, जवानी छिप्पिदै गर्दा कुनै चाँहि छोरी मान्छेलाई केटाहरुले आँखा नलगाउलान् । तर दुवै जनाले एक अर्कालाई आएका प्रस्ताव र भएका सबै कुरा साटासाट हुने गरेको थियो । हामीलाई छुटाउन खोज्नेहरु देखि हामी सतर्क थियौं । 
    विवाह भयो । पहिलो सन्तान छोरा जन्मियो । केहि समय मलाई बुबा आमाले माईतीमा बोलाउनु भएन । बुबा आमा न हो छोराछोरीप्रतिको माया फर्किहाल्छ । लिन आउनु भयो । भाई बहिनी पढिरहेका थिए । दाई भाउजुले त्यति राम्रो ब्यवहार गर्नु भएन । तर पनि केहि महिना सुत्केरी बसेर घर फर्किएँ । उनी काठमाडौको प्लास्टिक कारखानामा काम गर्न थालेका थिए । उनको आईकम सकिएको थियो । मैले पनि भर्ना चाँहि गरें तर आफ्नै कारण पढ्न जान सकिनँ । मासिक ६ हजार रुपैयाँले हामीलाई कोठा भाडा तिरेर खान पुगिरहेको थियो । कहिले घर कहिले कता गर्दा गर्दै हामी खुशीमै रमाइरहेकै थियौं । देवरको विवाह भयो । नन्दको पनि प्रेम विवाह भयो । बुबा आमा खेति किसानी गरिनै रहनु भएको थियो । मैले पनि बच्चा हुर्कदै गएकाले केहि गर्नु पर्छ भन्ने सोचिरहेको थिएँ । तर फेरी पेटमा गर्भ आएछ । अर्काे सन्तान नजन्मिई केहि नगर्ने सल्लाह अनुसार केहि काम गरिनँ । छोरीको जन्म भयो । दुई सन्तान भएपछि हामीले अरु सन्तानको चाहना गरेनौं । सल्लाह अनुसार नै मैले परिवार नियोजन गरें । विस्तारै सन्तानहरु हुर्कदै गए । घरमा हामीलाई भिन्नै राखियो । आफ्नो भागमा परेको जमिन अरुलाई कमाउन दिएर हामी काठमाडौ नै बस्न थाल्यौं । देशमा चर्कदो द्वन्द्व थियो । गाउँमा आएर काम गरेर खान सक्ने अवस्था पनि थिएन । किनकी हामीले खेतिपातीमा धेरै दुःख गरेका पनि थिएनौं । समय सधै आफ्नै योजनामा चल्दो रहेनछ । कहिलेकाँहि हामी बीच खटपट शुरु भयो । कारण उ एउटाको कमाईले सबै धान्न छाडेको थियो । म काम गर्न जान सक्दिनँ थिएँ । कुरा त्यसो मात्रै होइन रहेछ । केटा मान्छेहरु भनेका स्वार्थी हुँदा रहेछन् । अर्काे रुपवती महिला देखा पर्ने वितिक्कै घरमा भएकी जतिसुकै राम्री सुन्दरी किन नहोस चटक्कै विर्सने । सँगै काम गर्ने एउटी केटीसँग उसको प्रेम अफेयर शुरु भएछ । विद्यालय जीवन देखि प्रेम गरेर दुई दुईवटा बच्चाको बाबु बनेको ब्यक्ति फेरी अर्की केटीसँग लसपस शुरु भएपछि मसँग ठाकठुक हुँदो रहेछ । 
    शुरुमा मैले गरेका तमाम कामहरु उसका लागि सर्वस्विकार्य थिए । विस्तारै मन पर्न छाड्यो । अन्ततः उनिहरु बीच विवाह भयो म परें एक्लै । माईतीमा जाउँ कुन अनुहार लिएर ? घरमा जाउँ काम गर्न सक्दिन । काम गर्न सके पनि मैले त त्यो लोग्ने पाउने आधा मात्रै हो अब । मन नै नभएपछि लोग्ने जातको कात्रो मात्रै किन भिरिरहनु ? उसले मेरो मनमा जिउँदै आगो लगाउँछ भने मैले किन नलगाउने ? दुई सन्तान च्यापेर माईती बसें केहि दिन । माईतीमा बुबा आमाले जति गर्नुभयो म मेरो छोरा छोरीहरुका लागि त्यति गर्न सक्दिनँ । र बुबा आमाको ऋण पनि तिर्न सक्दिनँ । उहाँहरुकै सल्लाहमा छोरा छोरीलाई नजिकैको विद्यालयमा भर्ना गरें । केहि वर्ष उनिहरुकै साथमा रहें । ज्योतिषले भनेजस्तै विवाह भयो । सन्तान भयो तर हामी सधै सँगै रहन सकेनौं । एउटै गोत्रका ब्यक्तिहरुको सम्वन्ध दिगो हुन सक्दैन भन्ने ज्योतिषको भनाई यतिखेर मेल खान गयो । हुन त पुरुषको मति भ्रष्ट भएपछि कुन चाँहि सम्बन्ध दिगो हुन सक्छ र ? गोत्रका आधारमा भन्दा पनि उसले गरेको कर्म र मेरो भाग्यले मलाई त्यहाँ पु¥यायो । धेरै पढ्ने असल शिक्षक बन्ने मेरो सपना ध्वस्त बन्यो । केहि समय साउदी गएँ । त्यहाँ ३ वर्षको बसाई पछि पुनःनेपाल फर्किएँ । छोरा छोरीहरुको शिक्षा दिक्षाका लागि एउटा कार्यालयमा कार्यालय सहयोगीको रुपमा काम गरिरहेको छु । पुरुषहरु भावना बुझ्ने भन्दा पनि शारिरीक प्यास मेटाउने प्रयास गर्दा रहेछन् । यो संसारमा लोग्नेले छाडेको महिला भएर बाँच्नु भन्दा अपाङ्ग, अशक्त जे भए पनि पुरुष आवश्यक रहेछ । महिलाहरुलाई हेर्ने दृष्टिकोणमा जबसम्म परिवर्तन हुन सक्दैन तबसम्म स्वाभिमान भएर बाँच्न सकिँदो रहेनछ । जे जे परिवर्तनका कुरा भए पनि सोच परिवर्तन आवश्यक छ । हुन त धेरै महिलाहरु पनि त्यस्तै छन् । एउटा पुरुषलाई मन पेट र अर्काे पुरुषलाई शरीर सुम्पन्छन् । लोग्ने मान्छेहरुको प्रेमको झुट खेतिमा रमाउँदा मैले जे भोगें भोगें प्रेममा पर्दै गरेका तमाम ब्यक्तिहरुले यस्तो भोग्नु नपरोस् । 

सन्तोषी भुजेल
दोलखा