2020 October 21/ 11:03: 54am

अटुट सम्बन्ध रहने श्रीमान् श्रीमती बिच शंका भयो भने के होला ? श्रीमान् श्रीमती बिचको सम्बन्ध बजारमा विक्री हुन थाल्यो भने त्यो घर कस्तो होला ? जबसम्म एक अर्कामा विश्वास हुन सक्दैन तबसम्म घर परिवार चल्न सक्दैन । यो संसार सबै विश्वासै विश्वासको अडिएको छ । चट्टान अडिन पनि केहि न केहि आवश्यक छ । तर विश्वासमा घात भयो भने कसैले केहि गर्न सक्दैन । जब मान्छेले आफ्नो धर्म छाड्छ त्यसपछि कसैको केहि चल्दैन । हराम देखि राम डराए भने जस्तै नैतिकता नभएका ब्यक्तिहरु देखि सबै डराउनु पर्ने रहेछ । श्रीमतीका लागि घर परिवार सबै त्याग गरें । आखिर केहि पाउन सकेन । न त श्रीमती न आफन्त । न माया । न परिश्रमको फल । प्राप्त गरेको परिश्रमको फल पनि मेरा लागि उपभोग हुन सकेन ।  सिन्धुपाल्चोक जिल्लाको विकट क्षेत्रमा मेरो जन्म भयो ।  अहिले भर्खर २९ वर्षको भएँ । २९ वर्षमा मैले जीवनका धेरै घटनाहरु भोगिसकेको छु । ४० वर्ष कटेको पुरुषले भोग्नु परेको भन्दा धेरै ब्यवहारमा फसेको छु म । कहिले कता त कहिले कता गर्दै जीवनमा नयाँ केहि काम गर्न सकेन । महिलाको पछि लागेकै कारण मेरो जीवन तहसनहस भयो । संसार कस्तो विचित्रको छ । 
महिला विना संसार चल्न सक्दैन । तर महिलाकै कारण भोग्नु परेका लाख पीडाहरुले पुरुष मात्रैको समाज कल्पना गर्न सकिन्छ ? अहँ सकिदैन । किनकी मलाई जन्म दिने आमा पनि महिला नै हुन् । सबै महिलाहरु उनि जस्तै छन् छैनन् । एकाध महिला र पुरुषहरुको कारण यो समाजमा प्रेम भन्ने शब्दले घृणा जन्माईरहेको छ । श्रीमान् श्रीमतीको सम्बन्धमा शंका उत्पन्न गराएको छ । विश्वासै गर्न नसक्ने घटनाहरु घटाएको छ । तैपनि समाज कस्तो छ जसले अलाप विलाप गरेर रुन सक्छ उसकै पक्षमा हुन्छ । वास्तविक पीडामा कोहि बग्न खोज्दैन । महिलाहरुको अधिकारको कुरा गर्नेहरुले समेत महिलाहरुबाट पुरुषहरु पीडित भएको विषयमा बोल्न हिचकिचाईरहेका छन् । एउटा पुरुषले महिला माथि अन्याय ग¥यो भने सबै पुरुषहरुलाई गलत सम्झने र एउटी महिलाले पुरुषलाई वर्वाद पारिन् भने सबै महिला उस्तै हुन् भनेर सोच्ने बानी जबसम्म हट्न सक्दैन तबसम्म वास्तविक पीडितले न्याय पाउन सक्दैन । पुरुषलाई महिलाले पीडित बनाएको छ भने कारवाहीको लागि सबैले दवाव दिँदा अर्काे पटक महिला पुरुष माथि खनिन सक्दिनन् त्यस्तै पुरुषलाई पनि त्यस्तै कारवाही गर्ने हो भने महिलामाथि अन्याय गर्न पुरुष हम्मेसी उत्रिदैनन् । तर घटनै पिच्छे मान्छेहरुको हेराई फरक हुन सक्छ । मेरो पीडाले प्राय पुरुषहरुको प्रतिनिधित्व गरेको हुनु पर्छ । उमेरमै प्रेम गरेर विवाह समेत गरेको छ उसको जीवनमा पछुतो बाहेक केहि छैन । पछुतो यस मानेमा कि बेक्कार गरिएछ प्रेम विवाह । धेरै ब्यक्तिहरुले प्रेमलाई सफल बनाएका छन् । केटाकेटी उमेरमा गरिने प्रेम शारिरीक रुपमा मात्रै हुने रहेछ । जो ब्यवहारिक भैसकेका हुँदैनन् । केहि दिनको रमाईलोमा जीवन समाप्त पार्ने केटाकेटीहरुकै कारण समाज बदनाम् भईरहेको छ । वास्तवमै प्रेम गर्ने प्रेमीहरु समेत औसत प्रेमको पीडामा छन् । प्रेममा भएका सामान्य घटनाहरुले सचेत हुनुपर्ने भए पनि त्यसतर्फ कसैको ध्यान गएको देखिदैन । 
१६ वर्षको कलिलो उमेरमा म घर छाडेर हिँडेको थिएँ । दुई भाई र एक बहिनीको जेठो छोरा म । तामाङ्ग समुदायका केटाकेटीहरुलाई सानोमा विद्यालय पठाउने अवस्था थिएन । घरमा पनि त्यस्तै वातावरण थियो । नजिकै विद्यालय थिएन । विद्यालय टाढा भएकाले मैले सामान्य अक्षर चिनेर छाडेको थिएँ । घर छाडेर काठमाडौ आएँ । काठमाडौंमा के गर्ने के नगर्ने भन्ने अन्योलमा भएँ । गाउँको एकजना दाई रङ्ग लगाउने काम गर्नु हुँदो रहेछ । मलाई पनि त्यसको सहयोगीको रुपमा काममा लैजान थाल्नु भयो उहाँले । दिनको एक सय रुपैयाँ ज्याला लिएर काम सिक्न थाले । त्यो विचमा मैले काठमाडौंमा गरिने सबै काम गर्ने अवसर पाएँ । घर भाडामा बसेका साहुहरुको खेत खन्ने काम गरे । रोपाई गरे । हिउँदको समयमा धान काट्ने र गहुँ लगायतका बाली लगाउने काम गरे । बाँकी समय त्यहि रङ्ग लगाउने काम गरे । अलिक पैसा जम्मा गरे पछि मैले गाडी चलाउन सिके । त्यहि घरमा बसेका साहुको आफ्नै सानो गाडी भएकाले मलाई त्यसको अवसर पनि थियो । घर छाडेर हिडेको ६ महिनामा काठमाडौंमा धेरै काम सिकेर म घर फर्किए । आमा बाबु र भाई बहिनीहरुलाई आफ्नो चिन्ता नगर्न र घर ब्यवहार राम्रो सँग मिलाउन भन्दै एक महिनाको बसाई पछि पुनः राजधानी गएँ । अब म पक्का गाडी चालक भएको थिएँ । लाईसेन्सको लागि केहि रकम पुगेको थिएन । त्यहि गाउँका दाईको ऋणमा त्यो पनि सम्भव भयो । करिब एक वर्षको राजधानी बसाईमा म चालक भएँ । डेरा त्यतै थियो । राजधानी जाने वितिक्कै धादिङ्गको एकजना केटीसँग परिचय भयो । उनि पनि मजदुरी गर्थिन् । सानैमा आमा मरेपछि उनि गलैंचा बुन्न काठमाडौं आएकी रहिछन् । पछिल्लो समयमा उनले गलैंचा छाडेर घर निर्माणमा काम गर्दि रहिछन् । कहिलेकाँहि भेट हुँदा हँुँदै आउजाउ बाक्लियो । केहि समय पछि म त्यहि घरको गाडी चलाउन थाँले । तिनी सरकारी कार्यालयका कर्मचारी पनि थिए । तर गाडी निजी थियो । तेल सबै कार्यालयले राखिदिन्थ्यो । उनलाई त्यहि अफिसमा चालक चाहिएकाले केहि समय पछि नियुक्तिको ब्यवस्था मिलाई दिउँला भनेका थिए । शनिबारको दिन उनि बेफुर्सदी थिए । उनी कार्यालयको काम भन्दै कार्यालयकै एक कर्मचारी लिएर कहिले गोदावरी त कहिले नगरकोट अनि कहिले धुलिखेलको होटलहरुमा आउने गरेका थिए । पछि मात्र मैले कुरा बुझे । सरकारी गाडीलाई नै निजी नम्वर प्लेट राखेर चलाउने गरिएको रहेछ । घरमा केहि कुरा नगर्न मलाई कडा निर्देशन थियो । त्यसको प्रलोभन भने त्यहि कार्यालयमा नियुक्तिको थियो । तलब पनि मैले राम्रै पाउन थाले । मासिक ४ हजार । १० बर्ष अगाडीको पैसा धेरै थियो । एक्लो ज्यानलाई भाडा तिरेर त्यो धेरै हुन्थ्यो । केहि समय पछि तिनले घरबाट अन्यत्र डेरा सारि दिए । सायद वाहिरको कुरा घरमा हुन्छ भनेर होला । घरवेटी दिउँसो सधैं घरमा हुने उनि कार्यालयमा । उनलाई ढाँटेर धेरै कामहरु भईरहेका थिए । त्यो कुरा चुहिने डरमा घर भाडा समेत तिरि दिएर मलाई अन्यत्र राखि दिएका थिए । यता मेरो प्रेम त्यहि केटीसँग पर्न थाल्यो । तिनी कार्यालयबाट आएको देख्नासाथ मलाई भेट्न आउँथिन् । करिब ६ महिनाको चिनजानमा म र उनि एक आपसमा छुट्टिनै नसक्ने भयौं । उनि गाउँकै एकजना दिदीको साथमा बसेकी थिईन् । जात सबै मिल्ने र आमा पनि नभएकी टुहुरी केटी आफ्नो लागि हुन्छ भन्दै मैले  विवाहको कुरा गरे । एकै शब्दमा उनले हुन्छ भनिन् । जसको गाडी चलाउने हो उसैको सहमतिमा र उपस्थितीमा विवाह गर्ने योजना बनायौं । एक दिन कार्यालय जाँदा उनले सबै कुरा भने । उनका मालिकले को केटी भनेर जिज्ञासा राखेका थिए । २०६३ बैशाखमा उनिहरुको मन्दिरमा गएर सामान्य विवाह भयो । तामाङ्ग समुदायमा हुने विवाहको परम्परा अझै बाँकी थियो । घरमै गएर गर्नुपर्ने मेरो बाध्यता थियो । 
    विवाह भयो । म र रश्मिला सँगै बस्न थाल्यौं । मलाई कहिले ढिलो त कहिले चाँढो हुन्थ्यो । रश्मिला अब कुनै काममा जान्नथिन् । प्राय सबै कुरा मिलेकाले मलाई श्रीमती राम्रै भएको महसुस भएको थियो । एक दिनको कुरा हो मलाई केहि दिनका लागि पोखरा जानुपर्ने भयो । कार्यालयको कामको सिलसिलामा तीन दिन पोखरा बसेको बेला रश्मिलाले कोठामा एकजना केटा ल्याएर राखिछन् । तिनै दिन बसेका ति ब्यक्तिले रश्मिलासँग श्रीमतीकै सम्वन्धमा बसेका रहेछन् । म त पोखरामै थिए । छिमेकी डेरावालले तपाईको श्रीमती त परपुरुषसँग बसिरहेकी छिन् । को हुन् ति पुरुष ? तत्काल मैले रश्मिलालाई फोन गरे । को हो कोठामा आएको केटा ? प्रश्न खस्न नपाउँदै रश्मिलाले शंका नगर्न आग्रह गरिन् । आफ्नो बनाएको दाई आएको हो त्यस्तो शंका नगर । फोनमै केहि बेर झगडा जस्तै भयो । भोलिपल्ट म कोठामा आए । रश्मिला बोलिनन् । झगडा प¥यो म नखाई सुतें । केहि दिनपछि रश्मिलालाई लिएर म गाउँ गएँ । गाउँमा परम्परा अनुसार विवाह भयो । भोज खाए । छोटो उमेरमै गरेको प्रगति र विवाहका बारेमा सबै खुशी थिए । तर मलाई मनमा शंका उत्पन्न भएको थियो कतै यिनको अरु कसैसँग प्रेम त छैन ? कतै यिनले धोका त दिन्नन् ? यस्तै शंकाको घेरामा एक हप्ता पछि हामी पुनः डेरामा फर्कियौं । डेरामा आएको केहि दिनमा तीन दिन कोठामा बस्ने रसुवाका श्रेष्ठ थरका एकजना दाई डेरामा आए । रश्मिलाले दाई यिनै हुन् भनेर चिनाईन् । पहिला उनलाई काममा लगाउने उनै रहेछन् । दाई डेरामा जान छाडेर केहि दिन देखि उनिहरुकै कोठामा आउन थाले । दाईलाई मिठो मसिनो पकाएर खुवाउन थालिन् । लोग्ने १२ घण्टा काममा खटिएर आउँदा त्यस्तो सत्कार छैन, तर दाई भनाउँदो कोठामा आउँदा रक्सी सहितको परिकारहरुले कोठा सुसज्जित छ के हो ? मलाई मनमा झन् शंका उत्पन्न भयो । श्रीमतीले विस्तारै मलाई बेवास्ता गर्न लागेपछि बेलुका डेरामा आउनै छाँडे । त्यहि गाडीमा सुत्न थाँले । घरको समस्याका बारेमा सबै कुरा कार्यालयका प्रमुख सँग भनें । मनमनै आफ्नो घरमा पनि यस्ता समस्याहरु आउन सक्ने भन्दै उनलाई संरक्षण दिएर राखे । 
    पहिला हाकिम बसेकै डेरामा म बस्न थाले । हामीहरु दुई विच भएको खट्पट्को बारेमा उनले मिलाउने प्रयास गरे । सकेनन् । विस्तारै मेरो तलब रोकियो । तलब बुझ्ने बेलामा अफिसमै आएर उनले झगडा गर्न थालिन् । मैले डेरा छाडे पछि दाई र बहिनीको मोजमस्ति हुन थाल्यो । पसिना चुहाएर किनेका ग्याँस लगायतका सबै सामानहरु मैले छाडि दिएँ । एकदिन नागरिकता लगायतका महत्वपूर्ण सामानहरु लिन डेरामा गएको थिए । बेलुकी ८ बज्दै थियो होला । ढोका उघारै राखरे पर्दा मात्रै लागेको अवस्थामा उनिहरु सुतिसकेका रहेछन् । उमेरले उनि भर्खर १८ वर्षकी थिईन् । आगोको फिलिङ्गो जस्तो रापिलो उनको जवानी देखेर जो कोहि लठ्ठ पर्नु स्वभाविकै थियो । उनको शरीर त्यस्तो थियो आँखामा राखे पनि नविझाउने । दाई पर्नेले अंगालोमा बेरेर सुतेको देखेपछि म पुर्पुरोमा हात लगाउँदै फर्कन बाध्य भए । एकातिर मलाई दुवैलाई भित्र राखेर ताल्चा लगाईदिएर हिँडौ जस्तो पनि भयो । अर्काेतर्फ दुवैजनालाई आक्रमण गर्ने प्रयास पनि आयो । आफैलाई सम्हालेर म फर्किए र जीवनमा विवाह नगर्ने प्रण गरें । दिउँसो कोठामा जाँदा ताल्चा लागेको थियो । ताल्चा फुटाएर महत्वपूर्ण सामानहरु निकालें । केहि बेरमा श्रीमती रश्मिला आईन् । सामान सबै रोकिन् । केहि बेरको तानातान पछि मैले सधैका लागि छाडेकाले आफ्नो जीवन समृद्ध बनाउनु भन्दै म बाहिरिए । करिब २ वर्षको मैले कमाएको सबै रकम उनैलाई बुझाएको थिए । गहनाले झकिझकाउ रश्मिलाले दाईसँग रमाईलो जीवन विताउन शुरु गरिन् । म हेरेको हे¥यै भए । घरमा फर्कन झनै पीडा भयो । के भनौ ? आफु खुशी विवाह गरेको श्रीमतीले विचमै धोका दिएपछि कुन अनुहार लिएर गाउँ जाउँ ? उमेरमा कमाएको सबै रकम उनैले लुटेपछि म दोधारमा परें । एउटा प्रेममा पाएको धोकाले जीवन भर विवाह नगर्ने मेरो योजना के होला ? अहिले पनि ज्यालादारीमा काम गरिरहेको छु । उमेरमा प्रेम गर्ने केटाकेटीहरुले शारिरीक रुपमा प्रेम नगर्न सल्लाह दिन्छु । प्रेम शब्दलाई घृणाको रुपमा हेर्ने गरी रश्मिलाले दिएको धोकाले मलाई मात्रै होईन सबै प्रेमीहरु सशंकित हुनु जरुरी छ । 
रिकेश स्याङ्गतान
सिन्धुपाल्चोक, हाल भक्तपुर