2020 February 18/ 09:14: 03pm

सडकमा हिँडिरहेका सवारी साधनहरुमा लेखिएको ‘स्लोगन’ले मेरो मन कटक्क हुन्छ । ‘नेपाल बसे घर न घाट, विदेश गए श्रीमती टाप’ यस्ता भनाईहरुले आम नेपाली युवाहरुको प्रतिनिधित्व गरेको छ । युवाहरुले विदेश गएर नेपालका लागि, परिवारका लागि गरेको योगदानको पनि अवमूल्यन भईरहेको छ । घर सम्झेर, श्रीमती, बालबच्चा सम्झेर, बुबाआमा सम्झेर गरेको दुःख बालुवामा पानी सरह भएको छ । कसको विश्वास गरौं ? कसको भर परौं ? जीवनका अनेक कष्ट, दुःखहरु छाडेर सुख र सन्तुष्टिका लागि जीवन त्याग्दा समेत मुटु, प्रेम र माया प्रदान गर्दा उनिहरुले नै अविश्वास गर्छन् । धोका दिन्छन् । जीवन बर्वाद बनाउँछन् । अग्नी साक्षी राखेर समाजका अगाडी आफ्नो श्रीमती स्वीकार्दा समेत उनी आफ्नो हुन सक्दिनन् । यो सबै विदशी भूमिको आर्शिवाद हो । म जस्ता थुप्रै युवाहरुले यस्तै अवस्था भोग्नु परेको छ । 
    पैसा सवथोक हो भन्ने मेरो भ्रम अन्त्य भयो । फेरी पैसा नभई संसार चल्दो रहेनछ । जन्म, मृत्यु, सँस्कारका हरेक क्षेत्रमा पैसा महत्वपूर्ण छ । पहिला पहिला भारोपर्म चल्थ्यो । पैसा कम भए पनि जीवन निर्वाह हुन्थ्यो । पैसा कम सहयात्रा र सहकार्य धेरै हुन्थ्यो । प्रविधि थिएन । विश्वास थियो । भरोसा थियो । अहिले सबै टुटिसकेको छ । बैदैशिक रोजगारको भ्रम छ । युवाहरुमा देखिएको भ्रम चिर्न पनि सरोकारवाला सक्षम भएका छैनन् । विदेशमा रुखमा पैसा फल्छ, खुरुखुरु टिपेर नेपाल पठाउने सपना गलत छ । नेपालीहरु लुटिएका छन् । रेटिएका छन् । ठगिएका छन् । यस्तोबाट म त फसें फसें तपाई जोगिनु पर्छ । कामका लागि विदेश जानेबारे सोच्दै हुनुहुन्छ ? विदेश जानु अघि केही आधारभूत कुरामा चुक्नुभयो भने भविष्यमा ठूलो दुःख पाउने सम्भावना छ । बैदेशिक रोजगारको यात्रालाई सुरक्षित र सुखद् बनाउन कामदार आफैं सचेत हुनुको विकल्प छैन । दलालको फन्दामा परेर ठगिने सम्भावनालाई कम गर्न पनि सचेतना र जागरण आवश्यक छ । श्रम स्वीकृतिका लागि पेश गरिने कागजातहरु झुटा हुने समस्याले वैदेशिक रोजगारीमा जानेहरु राम्रो काम र तलव सुविधा नपाएर मर्कामा परिरहेका छन् । विदेशी भूमिमा विभिन्न पीडा खेप्नुपर्ने, स्वदेश र्फकन कठिन हुने, कतिपय अवस्थामा जेल सजाँय समेत भोग्नुपर्ने र ज्यान समेत गुमाउनु पर्नेसम्म हुन सक्छ । त्यसैले रोजगारमा जाने व्यक्तिले विदेश यात्राबारे विभिन्न कुरामा ध्यान दिनै पर्छ ।
    विदेश जाने योजना हतारमा बनाउन नहुने रहेछ । हतारमा लतार पतार भन्ने नेपाली उखानलाई मनन गरेर सुझबुझपूर्ण तवरले काम गर्न सकियो भने मात्रै विदेशमा हैरानी हुने छैन । वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीले विदेशमा दुःख पाएका छन् । त्यसमध्ये एउटा महत्वपूर्ण कारण अदक्षता रहेछ । विदेशमा गएर काम गर्न हातमा कुन सीप छ ? छैन । हातमा सीप नभएकाले विदेशमा के काम गर्लान् ? सिप नभएकाहरुलाई निकृष्ट प्रकारको श्रम गर्नुको विकल्प हुँदैन । म्यानपावरहरुले सीप नभए पनि कम्पनीहरुमा ‘यो काम, ऊ काम हुन्छ’ भनेर लैजाने गरेका छन् । हातमा कुनै सीप छैन भने गाह्रो प्रकारको काम गर्नैपर्छ । आफुले जानेको काम गर्न विदेश जान सकियो भने आम्दानी पनि सोचे जस्तै हुन्छ । भाग्यमा हैन, सीपमा विश्वास गर्ने समय हो । त्यसैले आफैं सीप सिकेर भाग्य र भविष्य कोर्नु जरुरी छ । सके देशमै काम गर्ने, वातावरण नमिले विदेशको लागि प्रयास गर्नुपर्ने रहेछ । सिकेको सीपले सँधै बलियो बनाएर राख्नेछ । विदेश जाने मामिलामा हतारिनु प्रत्युत्पादक हुन सक्छ, सबै कुरा राम्रोसँग बुझेरमात्र त्यसका प्रक्रियामा अघि बढ्दा मात्रै राम्रो हुनेछ । 
    कुनै व्यक्ति विशेषका भरमा परेर अवैधानिक रुपमा विदेश जाने कुरा राम्रो होईन रहेछ । त्यस्ताको साथमा लागेर म्यानपावर कम्पनी पुग्ने भन्दा पनि आफैं म्यानपारमा सिधा पुगी विदेश जान सम्पर्क गरेको म्यानपावर कम्पनीले सरकारबाट इजाजत लिएको छ की छैन ? म्यानपावरको काम कारवाही रोक्का भएको छ छैन ? खारेजीमा परेको छ छैन ? बुझ्नु जरुरी छ । किन यस्तो झन्झट गर्नु ? भन्ने सोच्नु नहुने रहेछ । विभागको अनलाइनमा पनि म्यानपावरको विवरण हेर्न पाइन्छ । व्यक्तिगत प्रयासबाट भिसा प्राप्त गरी वैदेशिक रोजगारमा जाने व्यक्तिले नेपाली दूतावास प्रमाणित सक्कल कागजातसहित श्रम स्वीकृति लिन सक्छ । कुन संस्था वा को मार्फत जाने हो त्यसका बारेमा यथेष्ठ जानकारी राख्नैपर्छ । रोजगारीका लागि कुन देश र कुन काममा जाने ? त्यसका लागि लागि कति खर्च लाग्छ ? काम गरेवापत तलब, खाना र बस्ने व्यवस्था, काम गर्नुपर्ने घण्टा, ओभरटाइम काम भत्ता ? करार अवधि लगायतका बारेमा राम्ररी बुझ्नु जरुरी छ । म्यानपावर कम्पनीले विदेश पठाउन पासपोर्ट माग गरेमा कामका लागि कति अवधिभित्र, कति लागतमा पठाउने भन्ने एकीन गरेर भर्पाईका साथमा मात्रै सक्कल राहदानी दिनु आवश्यक छ । विदेशमा काम गर्न जानु पक्का पनि सजिलो छैन, त्यसैले आफु जान लागेको देशको बारेमा राम्रो जानकारी राख्न आवश्यक छ । त्यो देशको भाषा संस्कृति, रहन–सहन, चालचलन, रितिरीवाज र कानूनको बारेमा साथीभाई वा अग्रजसँग जानकारी लिनु जरुरी छ । त्यहाँ पुगेर फर्किएकाहरु र त्यहाँ रेकाहरुसँग यस्ता जानकारी सजिलै पाइन्छ । आफू जाने मुलुकमा रहेको नेपाली दूतावासको सम्पर्क ठेगाना, अन्य कामदारलाई सघाउने र सहयोग गर्ने संघसंस्थाहरुको फोन र क्याक्स नम्बर डायरीमा टिपेर साथैमा राख्नुपर्छ । अप्ठेरो त्यसले निकै सहयोग पुग्नेछ । वैदेशिक रोजगारमा जान व्यक्तिगत र संस्थागत गरी २ किसिमका श्रम अनिुमति जारी गरिन्छ । वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित कार्यालयबाट विदेश जाने श्रम स्वीकृति पाउन सकिन्छ । पहिलेको श्रम स्वीकृति म्याद नाघेको वा नयाँ देश वा कम्पनीमा वैदेशिक रोजगारमा पुनः जाँदा अनिवार्य रुपले पुनःश्रम स्वीकृति लिनुपर्छ । करार अवधि सकिएपछि पनि स्वीकृति बिना गैरकानूनी तरिकाबाट भिसाको म्याद भन्दा बढी समय बस्न पाईदैन । त्यसो गर्दा सम्बन्धित देशको कानून अनुसार कारवाही हुन सक्छ । आफ्नो राहदानीको म्याद समयमा नै नवीकरण गर्नुपर्छ । विदेश जानुअघि सूचिकृत स्वास्थ्य संस्थाबाट मात्र स्वास्थ्य परीक्षण गराउनु पर्छ । सरकारले तोकेको होलोग्राम भएको स्वास्थ्य परिक्षण प्रमाण पत्र लिनु जरुरी छ । विदेशबाट स्वास्थ्य परीक्षण्मा फेल भएर फर्किनु पेरमा यसले क्षतिपूर्ति माग्न आधार प्रदान गर्ने रहेछ । सरकारले तोकेको बीमा कम्पनीमा करार अवधि अनुसार जीवन बीमा गराउने, बीमाका लागि रकम बुझाएर रसिद लिनु जरुरी छ ।  बीमाको रकम नतिरी श्रम स्वीकृति पाइँदैन । बीमा शुल्क दलाललाई नबुझाई बीमा कम्पनीमै गएर रकम आफैंले बुझाउनु पर्छ । 
    विदेश जानुअघि अभिमुखीकरण तालिम पनि लिनु आवश्यक छ । सरकारले तोकेको संस्थामा अनिवार्य रुपमा दुई दिनको अभिमुखीकरण तालिम तथा जाने मुलुकको श्रम कानून सम्बन्धी जानकारी  लिनुपर्छ । अभिमुखीकरण तालिमबाट आफु जाने देशको भौगोलिक अवस्था, हावापानी, ट्राफिक नियम, श्रम सम्वन्धी सामान्य कानुनी प्रावधान लगायतका विषयमा पर्याप्त जानकारी हुन्छ । आफुले कमाएको पैसा वैधानिक रुपमा नेपाल पठाउने विधिबारे पनि जानकारी लिनुपर्छ । वैदेशिक रोजगारीमा जान विदेश प्रस्थान गर्नु्अघि आफुले प्राप्त गरेका रोजगारसम्वद्ध सबै कागजातहरुको प्रतिलिपि एक एक थान आफ्नो घरमा सुरक्षित साथ राख्नुपर्छ । कागजात कानुनी हतियार हो । वैदेशिक रोजगारीमा ठगी गर्न सक्रियले विभिन्न बाहना बनाएर भारतीय सहित विदेशी एरपोर्टबाट लैजाने प्रलोभन देखाउँदा रहेछन् । कामका लागि विदेश जाँदा नेपालकै एयरपोर्ट प्रयोग गर्नु पर्ने रहेछ । अन्यथा ठगिने सम्भावना अधीक हुन्छ । आफु ठगिए वा वैदेशिक रोजगारीबारे कुनै समस्या भए सरकार वा प्रहरीलाई जानकारी दिनु पर्छ । मेनपावर कम्पनीको नाम ठेगाना परिवर्तन भए सम्पर्क गर्न नसकिए विभागमा सम्पर्क गर्न सकिन्छ । पत्रपत्रिकामा प्रकाशित हुने वैदेशिक रोजगारीका सूचनाको आधिकारिकता बुझ्नु परेमा विभाग वा बोर्डमा सम्पर्क गर्न सकिन्छ । रेमिट्यान्सका कारण मुलुकको अर्थब्यबस्था टिकिरहेको भन्दै काठमाण्डौंका तारे होटलहरुमा अर्थबिद्हरुले गफ लगाइरहँदा त्यही रेमिट्यान्स आर्जन गर्न परदेशी भूमिमा गएका नेपालीले हरेक दिन ज्यान गुमाईरहेका छन् । घरबार बिहिन भएका छन् । समाजको साँस्कृतिक, धार्मिक र ब्यवहारिक पक्षहरु असन्तुलित भएका छन् । 
    मोराती स्तम्भ आफ्नो दुःखसुख पोख्ने स्थान हो । किन यस्तो अर्ति दिएको भन्ने लाग्यो भने माफ गर्नु होला । बैदेशिक रोजगारबाट ठगिएको, पारिवारीक जीवनबाट लखेटिएको ब्यक्ति हुँ म । मैले भोगेका अनुभूतिहरुले यहाँहरुको जीवन, परिवार, समाज र राष्ट्रमा केहि योगदान पुग्न सकोस् भन्ने मेरो उद्देश्य हो । घर परिवार सबैको सल्लाहमा विदेश जाने तयारीमा लागें । गाउँकै चिनेको ब्यक्तिबाट म ठगिएँ । जब ठगिएँ तब मात्रै मैले बैदेशिक रोजगार सम्बन्धी विषयमा जानकारी राख्न थालें । जसोतसो आफुले ऋण गरेर गएको पैसा तिरेर मात्रै नेपाल फर्कने योजना थियो । विवाह गरेको एक वर्ष हुँदै थियो । श्रीमतीको सल्लाह अनुसार म विदेश गएको थिएँ । बुबाआमाले भर्खर विवाह गरेको छ श्रीमतीलाई एक्लै पारेर नजानु भन्नु भएको थियो । स्वदेशमा भन्दा विदेशमा धेरै कमाई हुने लोभमा मैले विदेश जाने निर्णय गरें । मासिक २ लाख कमाई हुन्छ भन्ने प्रलोभन थियो मलाई । त्यहि प्रलोभनले मलाई विदेश जाने हुटहुटि चल्यो । विदेश जाने योजनाका बारेमा ससुराली, मावली, आफन्त सबैलाई जानकारी गराईयो । श्रीमतीको कुनै सिप र काम थिएन । बुबाहरुले नै सिलाई सिकाउने कुरा गर्नु भएको थियो । घरमा एक्लै बस्नु भन्दा सिलाई ठिकै हुन्छ सिक्नु भन्ने मेरो सल्लाह थियो । पछि ब्युटि पार्लर सिकेकी रहिछन् । त्यसले उनलाई आत्मनिर्भर बनाउन सहज बनाउने कुरामा म विश्वस्त थिएँ । म दलालबाट विदेशी भूमि पुगेको थिएँ । न भने जस्तो काम, न भनेजस्तो दाम ? म विलखबन्दमा परें । भागौं कसरी ? काम गरौं कसरी ? निकृष्ट काममा लागें । घरमा सबैलाई राम्रो भएको बारेमा मात्रै जानकारी गराएँ । आफुले भोगेको पीडा अनगिन्ती थिए । हातमा कुनै सिप थिएन । ग्रैह्रकानुनी रुपमा भित्रिएकाले मलाई सजायँ जुनसुकै बेला हुने सम्भावना थियो । शुरुको दुई वर्ष लुकेरै बिताएँ । पछिल्लो एक वर्ष जेल परें । जेल परे पछि घरमा नराम्रो भए पनि राम्रो छ भनेर जानकारी गराउन पाईनँ । म्यानपावर कम्पनीबाट गएको भए पो परिवारले सल्लाह माग्नु । दलाल फरार भईसकेको थियो । उसको काम नै त्यहि रहेछ । यता घरमा केहि समय मेरो बाटो हेर्ने, अनि खोजविन भएछ । केहि पत्ता नलागेपछि बुबा आमाले त आश गर्ने कुरा रहि नै हाल्यो । भर्खर विवाह गरेको श्रीमतीले मेरो भर परिनछन् । माईतीको सहयोगमा उनले मेरो नाम उल्लेख भएको नागरिकता परित्याग गरिछन् । त्यो नागरिकता नभएको बताउँदै विवाह नै नभएको र हालसम्म नागरिकता नै नबनाएको बताउँदै अर्काे नागरिकता बनाईछन् । विवाह गरेर पठाउने बाबुले कसरी सकेका होलान् ? विवाहित श्रीमतीले भएको श्रीमान छैन, विवाह नै भएको छैन भन्दै नागरिकता बनाउन कसरी सकेकी होलिन् ? श्रीमान् विदेश गएको तीन वर्षमा एक वर्ष सम्पर्क विहिन हुँदैमा तत्काल अर्को नागरिकता बनाउनु पर्ने जरुरी किन प¥यो होला ? हो उनलाई पैसा भन्दा प्यारो श्रीमान थियो । मलाई पनि श्रीमती प्यारो हुनु पर्दथ्यो । उनकै सल्लाहमा म विदेश गएको थिएँ । एक वर्ष पछि विदेशको जेलबाट छुटेर जस्तो गएको त्यस्तै फर्कदाँ श्रीमती घरमा छैनन् । बुबाआमाले भन्नुभयो उनी माईतीमा छिन् । ससुराली गएँ उहाँहरुको ब्यवहार राम्रो भएन । छोरी विदेश गईन् भन्नुभयो । पार्लर सिकेर विदेश गएको राम्रो भयो । म जस्तो सिप नभएको ब्यक्तिले पाएको दुःख उनले नपाउन् । मैले जस्तो निकृष्ट काम उनले गर्नु नपरोस् । तर पनि उनले किन त्यसो गरिन् ? 
    उमेरमा एकल नबन्ने उनको चाहना होला । उनका सबै कुरा प्रति सहमत थिएँ । तर पनि मान्छे किन यति धेरै स्वार्थी बन्छ ? म उनलाई कारवाही होस् त भन्दिनँ । उनको परिवारलाई पनि कारवाही होस् भन्ने पनि चाहन्नँ । उनको राम्रो होस् । उनको भलो होस् । उनले विदेशी भूमिमा मैले जस्तो दुःख नपाउन् । उनले बाटो बदलिन् म के गरुँ ? कानुनी रुपमा उनी मेरी श्रीमती हुन् । विवाह दर्ता छ । उनको नागरिकताको प्रतिलिपि मसँग छ । मैले अर्काे विवाह गर्ने बाटो कानुनले छेक्ने रहेछ । उनीसँग सम्बन्ध विच्छेद भएको छैन । तर पनि उनले विवाह नभएको नाटक गरेर अर्काे नागरिकता लिएकी छिन् । त्यो भन्दा अघि भएको विवाह दर्ता के हुन्छ ? ब्यवहारिक रुपमा म गलत छैन । कानुनी रुपमा म गलत हुने भएँ । विवाह गरे पनि विवाह दर्ता हुँदैन । कानुनले मलाई बहुविवाहमा सजायँ दिन्छ । यस्तो संकटमा परेको छु । विदेशमा एकखालको संकट थियो । स्वदेशमा अर्काे संकट परेको छ । उनीसँग सम्पर्क पनि छैन । यहि स्तम्भ मार्फत उनको जीवनको सफलताको शुभकामना ब्यक्त गर्दछु । मेरो जीवनका तगारो हटाउन अनुरोध गर्दछु । समाजमा मेरो जस्तो समस्या धेरै पुरुषहरुले ब्यहोर्नु भएको छ । महिलाहरुका आफ्ना चाहना छन् त्यो पुरा गर्न नसक्नु हामी पुरुषहरुको कमजोरी हो । तर कमजोरीमा प्रहार गर्नु अर्काे अपराध हो । समाजको एउटा घटनाले कति धेरै प्रश्नहरुको जन्म गराएको छ ? 

श्रीकृष्ण खतिवडा
हालः भक्तपुर