2020 July 04/ 12:41: 21am

भर्खरै सकियो अन्तराष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको दिवस । धेरै ब्याख्या पनि गरिरहनु पर्दैन । हिंसाका रुप फेरिएका छन् । रुप बदलिएका छन् । सार एउटै छ । महिला र पुरुष समान रुपमा हिंसामा परेका छन् । कारण फरक फरक हुन सक्छन् । तर पनि उनिहरुको भोगाई उस्तै छ । पुरुष नामक जातले दिएको दुःख र हैरानीले कति महिला जीवनको बीच बाटोमै अलपत्र परेका छन् । उनिहरुबाट जन्मेका सन्तानको त कुरै नगरौं । परिवार, समाजले थप हिंसा ब्यहोर्न बाध्य पारेका अनुभूतिहरु खै कसरी साटुँ ? अनेक चाहना र आवश्यकता होलान् । पूरा गर्ने कुरा त अलग्गै उल्टै आरोप बाहेक अरु हुन सक्दैन । लोग्ने नामका पुरुषहरुले महिलाहरुलाई यौनको दासी मात्रै सम्झने गरेका छन् । खुलेआम उनिहरु एउटी स्त्रीलाई घरमा राखेर बाहिर परस्त्रीसँग अनैतिक सम्बन्धमा हुन्छन् । अनैतिक सम्बन्ध रहँदा रहँदै अर्काे महिलालाई विवाह गरी धोका समेत दिन्छन् । महिला र पुरुष दुबैको जिम्मेवारी त होला तर त्यसको प्रमुख दोषी पुरुष हुन् । 
पछिल्लो समय सामाजिक सञ्जालले मानिसको मन तोडेको छ । सम्बन्ध तोडेको छ । आफन्त टाढा भएका छन् ।  टाढाका नजिक भएका छन् । घर विग्रिएको छ । समाज विग्रिएको छ । देश विग्रन थालेको छ । काम भन्दा धेरै कुरा हुन थालेको छ । सहजता भन्दा धेरै असहजता हुन थालेको छ । राम्रो भन्दा नराम्रो धेरै कुरा सुनिन थालेको छ । तर पनि मान्छेहरु त्यसमै रमाईरहेका छन् । बरु खाना छाड्न तयार होलान् सामाजिक सञ्जालको प्रयोगमा मान्छेले कमी गर्न सकेको छैन । सामाजिक सञ्जालमा दार्शनिक पात्रदेखि रमाइला व्यक्ति र निकै ज्ञानवान मानिसदेखि भ्रममा बाँच्नेहरूसम्म हुन्छन । सञ्चारका अधिकांश माध्यमले सकारात्मक खबरको तुलनामा नकारात्मक सामग्रीलाई प्रोत्साहन गर्ने हुँदा सर्वसाधारणले पनि त्यसैमा बढी विमर्श गरिरहेका छन् । सही गलत जे भए पनि सरकारी स्तर वा जिम्मेवार व्यक्तित्वहरूले विधिको शासनको सम्मान गर्दै आफ्नो कार्य गर्ने हो भने जनमानसमा भएको निराशा केही हद सम्म कम हुन्छ । सामाजिक सञ्जालले नराम्रोसँगै राम्रो सूचना पनि प्रभाव गरिरहेको छ । केही समय पहिले बंगलादेशकी चर्चित लेखक तसलिमा नसरिनले एउटा लेख मार्फत सन्देश प्रदान गरेकी थिईन् । नसरिन उदारवादी र मुक्त विचार माथिको सामूहिक अस्वीकृति र घृणाका सबै रूप झेलेकी लेखक हुन् । ‘कन्फर्मिस्ट’ सांस्कृतिक सत्ता र समाजको मूलधार विरुद्ध लेखेकै कारण उनले दशकौंदेखि आफ्नै देश टेक्न पाएकी छैनन् । समाजको एउटा पंक्ति अपमान र घृणाको हतियार उध्याएर निरन्तर उनीविरुद्ध खनिएको छ । र त्यो पंक्तिलाई अहिले फेसबुक, ट्वीटर लगायतका प्रविधि सञ्जालको उपयोग गरेर हिंस्रक प्रतिक्रिया गर्न झनै सहज भएको छ । कतिसम्म भने उनलाई यस्तै मध्येका मानिसहरू घीनलाग्दा गाली मात्रै गर्दैनन्, बलात्कारको धम्कीसमेत दिन्छन् ।
हाम्रो जीवनमा अभिन्न बनिसकेको सामाजिक सञ्जालको आवश्यकता र भूमिकाबारे हामी परिचित छौं । सूचना र सन्देशको सम्प्रेषणमा मात्रै होइन, विचार र अनुभूतिको तत्काल प्रकाशन र शिष्ट टिप्पणीका लागि फेसबुक, ट्वीटर लगायतका माध्यमले खेलेको सकारात्मक भूमिकालाई कम आँक्न सकिन्न नै, तर सामाजिक सञ्जाल जीवन र समाजका कतिपय संवेदनशील विषयमा कुन मात्रामा सामाजिक बन्न सकेको छ ? यसमाथि ध्यान दिन जरुरी भैसकेको छ । सामाजिक सञ्जाल भित्र कुत्सित शैली र अश्लील भाषामा विरोधी स्वरलाई जतिखेरै झम्टिन सक्ने सुविधाले पनि मानिसहरूका अनियन्त्रित रोष र विकृत कुण्ठा छताछुल्ल छन् । पुरातनपन्थी सोचको अति आग्रह, चर्को असहिष्णुता र अराजकता चुलिँदो छ । प्रायः उदार र लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने जुनसुकै समाजको बौद्धिक तप्कामाथि यतिबेला निरन्तर यस्तै पंक्तिको आक्रमण बढिरहेको छ । त्यसमाथि पनि सामाजिक संवाद र बौद्धिक गतिविधिमा अगाडि देखिने महिला माथिको आक्रमण भीषण स्तरमा वृद्धि हुँदै छ । फेसबुककै कारण विभिन्न जिल्लामा महिलाहरुले आत्महत्या गरिरहेका छन् । आफन्त सित पर्यटकीय स्थल घुम्न गएका बेला भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाई दिए पछि मानसिक तनावमा एक युवतीले आत्महत्या गरिन् । अरुकै नाममा अर्कैको तस्विर समेत राखेर फेक एकाउन्ट खोली फेसबुक चलाई मानसिक यातना दिने गरेका घटना पनि छन् । यस्ता थुप्रै घटना सुनेकी मैले आफ्नै जीवनमा भोग्नु पर्दाको कहालीलाग्दो दृश्यबाट मन अडिन सकेको छैन । 
२०७३ मंसिरको महिना थियो । घर परिवारमा मैले विवाह गर्न मानिरहेको थिईनँ । उमेर पनि धेरै भएको थिएन । केहि अक्षर पढेकी मैले बुबा आमालाई केहि समय पछि विवाह गर्ने मनसाय ब्यक्त गरें । उहाँहरु पनि दबाबमा पर्नु भयो । आफन्तले केटा राम्रो रहेछ । सोझो र इमान्दार केटा पाउन मुस्किल छ । अध्ययन गर्ने भने पनि गराई दिन्छु भनेका छन् । नभए पछि भाग्यमा जे छ त्यहि भोगौंला । अहिलेलाई यसमै मन्जुर गर्दा राम्रो हुन्छ भन्ने पटक पटकको दबाब थियो । त्यो दबाबलाई मैले नकार्न सकिनँ । अहिले बाबु आमाले भनेको नमानेर पछि दुःख पाउनु पनि त थिएन । उमेर भर्खर १९ लाग्दै थियो । मैले सहमति जनाएँ । सोहि वर्षको मंसिर २२ गते मेरो मागि विवाह भयो । विवाहको एक वर्ष नपुग्दै हामीबाट एक सन्तानको जन्म भयो । शुरुमा उनले मलाई खासै नराम्रो गरेका पनि हैनन् । मेरो पनि जवानी थियो । पहिलो प्रेम थियो । विवाह पछिको प्रेम आत्मियता थियो । सायद पहिलो पटक कुनै पुरुषलाई मैले मन पराएको थिएँ भने उनैलाई थियो । उनीसँग बाहेक अरुसँग विवाह गर्ने प्रस्ताव आउँदा मैले स्विकारेको पनि थिईन् । भाग्यमा त्यहि लेखेको थियो होला सायद । एवं रितले समय वित्दै गयो । हामी बीचको सुमधुरता पातलिदै गएको अनुभूति हुन थाल्यो । म गर्भवती भएँ । गर्भवती हुने चाहना पनि थिएन । उमेर कलिलै छ भन्ने सोच पनि थियो । आफुले चाहना गरे अनुसार हुने भए त विवाह पनि त चाँडै हुँदैन थियो नि ? मन मनै एकातिर चित्त बुझाएँ । अर्काे तिर आमा बन्न लागेकोमा खुशी भएँ । उता श्रीमान्को ब्यवहार परिवर्तन हुँदै गएको थियो । उनको खाना खाने आउने ठेगान पनि थिएन । उनले चलाउने मोवाईलमा मलाई विस्तारै प्रतिवन्ध हुन थाल्यो । प्रतिवन्धका बाबजुत पनि मैले कहिलेकाँहि उनको मोवाईल लुटेर उनका गतिविधिहरु नियाल्न थालें । उनी मसँग भन्दा अरु कोहिसँग प्रेममा लिप्त रहेको पाएँ । पछि त मोवाईल र एसएमएसकै कारण घरमा कलह हुन थाल्यो । कतिसम्म भने आफ्नो बानी त्यस्तो भए पछि मलाई यस्तो र उस्तो भन्न थाल्यो । माईतीका आफन्तहरुसँग बोल्दा पनि शंका गर्न थाल्यो । 
यता म सुत्केरी भएँ । उता उसले मसँग विवाह गर्नु अगावै उसको प्रेम रहेको युवतीसँग अनैतिक सम्वन्ध राख्न भ्याएछ । श्रीमान सन्त बहादुर तामाङसंग २०७२ साल देखी नै फेसबुक मार्फत चिनजान भई नम्बर समेत आदान प्रदान भएको रहेछ । उसँग माया प्रेम समेत बसी समय समयमा भेटघाट समेत गरी समय समयमा साथमा नै बस्न थालिसकेका रहेछन् । बच्चा हुर्कँदै थियो । सम्झना दनुवार भन्ने युवतीसँग सन्तबहादुरको सम्वन्धका बारेमा गाउँभरी चर्चा चलिरहेको थियो । मैले विश्वास नै गर्न सकिरहेको थिइनँ । २०७५ सालको तिहारको कुरा हो । तिहारको भोलिपल्ट सम्झनाले सन्तबहादुरलाई हामी विवाह गरेर भागौं भनेकी रहिछन् । श्रीमानले त गर्भमा रहेको बच्चा समेत नजन्माउन भनेका थिए । उनको सोच नै अपराधिक रहेछ । अपराधिक सोचलाई पूरा गर्ने योजना अनुसार उनले त्यो सबै खेल खेलिरहेका रहेछन् । सम्झनालाई सन्तबहादुरले लिएर भागेको कुरा हल्ला फैलिरहेको थियो । त्यसको आधिकारीकता पुष्टि हुन सकेको थिएन । 
२०७५ फागुन १९ गते । दिउँसो ३ बजेको थियो होला । सम्झना दनुवारसँग फेसबुक मार्फत चिनजान भई दुवैको सहमती अनुसार पोखरा पुगेको विवाह गरेको जानकारी भयो । विवाह पश्चात कान्छी श्रीमती सम्झनालाई उसले माईती स्थित घर पाँचखालमा नै राख्दै आएको जानकारी भयो । २०७५ फागुन ११ गते पाँचखाल स्थित उसकैे मामाको छोराको ब्रतबन्ध थियो । ब्रतबन्ध अगावै २०७५ माघ ८ गतेको दिन नै मामा घरमा बसी सम्झना दनुवारसँग भेटघाट गरी रहेको अवस्थामा जानकारी पाए पछि प्रहरीलाई खबर गरें । प्रहरीले उनिहरु दुवैलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । उनिहरु विरुद्ध मैले तत्काल बहुविवाह मुद्दा शिर्षकमा जाहेरी दरखास्त दिए लगत्तै प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको थियो । उनिहरु विवाह गरेको केहि समय पोखरा गएर बसेका रहेछन् । त्यतिबेला उसले आफ्नो बहिनी सुत्केरी भएको बाहाना बनाएको रहेछ । श्रीमान भर्खर २१ वर्षका भए । म २० वर्ष लाग्दै छु । २० वर्षमै म आमा भईसकेको छु । २०७५ पुष २२ गते धुलिखेल नगरपालिका वडा नम्वर ११ स्थित आफ्नै घरमा श्रीमान सन्तबहादुर तामाङले आफ्नो घर श्रीमती र १ छोरा समेत हुंँदा हुंदै कानुनी रुपमा सम्बन्ध बिच्छेद समेत नभई अंश दिई कानुनतः रुपमा छुट्ट भिन्न नभएको अबस्थामा कान्छी श्रीमतीको रुपमा सम्झना दनुवारलाई ल्याएको र सम्झना दनुवारले पनी सन्तबहादुर तामाङको घरमा श्रीमती र बच्चा समेत भएको जानकारी हुंँदा हुंदै अर्काे श्रीमती बनी आएकाले दुबै जनालाई जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोक धुलिखेल मार्फत प्रहरीले धुलिखेलवाट मुलुकी फौजदारी कार्याविधि (संहिता) ऐन २०७४ को दफा ३१ को उपदफा (१) बमोजिम बहुविवाह मुद्दा दर्ता गरें । विवाह बदर गरी मेरो हक कायम गर्न मैले माग गरेको हुँ । 
आखिर पुरुषहरुलाई चाहिने के रैछ ? नारी अधिकार र समानताको कुरा पनि मुखमै रहेछ । जसलाई प¥यो त्यसले नै भोग्ने हो । कानुन जति कडा बनाए पनि मान्छेको नियत नै खराब भए पछि कसैको केहि लाग्दो रहेनछ । बुबा आमाले उसलाई सुम्पिदिनु भयो । मबाट जन्मेको सन्तानले पनि त्यसको असर ब्यहोर्नु पर्ने भयो । आफ्नो लागि दुःख गर्ने कि उसका लागि ? भर्खरको उमेर छ विवाह गरौं भने पनि समाज त्यस्तै छ । नगरौं आरोप प्रत्यारोप कति सहनु ? हे श्रृष्टी । नारी जातिको उत्पत्तिलाई तिमीले किन खेलौना बनाउन सहयोग ग¥यौं । घरमा सुत्केरी श्रीमती छाडेर श्रीमानले अर्काे श्रीमती काखी च्यापेर हिडाउन सक्ने गरी कस्तो सभ्यता दियौं ? कस्तो नैतिकता दियौं ? कसरी विताउँ बाँकी जीवन ? न हातमा सिप ? न जागिर ? न शैक्षिक योग्यता ? हे जिन्दगी । कहाँ पु¥यायौं यो सामाजिक सञ्जालको प्रयोगले । सायद मेरो जस्तै तहन नहस भएको छ कि अरुको पनि फेसबुकले जीवन ?  तर पनि संघर्ष हारेको छैन । समाजमा केहि गरेर देखाउने प्रण छ । 

सितल माया तामाङ
धुलिखेल, काभ्रे