2020 July 04/ 02:26: 07am

अपराध । मान्छेको सोच र अपराधको अवस्था । सुन्दै घिन लाग्ने । तर पनि मान्छे नरपशु भएपछि कसको के लाग्छ र । त्यस्तै पशुको शिकार हुुन पुगें म । मानसिक रुपमा मेरो केहि समस्या थियो । त्यसको फाईदा उठाउँदै उसले पटक पटक मेरो अस्तित्व लुट्यो । कसैले नदेख्ने एकान्त स्थानमा बारीमा पुगेको बखत हुकँदै गरेको कोदो भित्र जर्बजस्ति गरिरहँदा म बोल्न सकिन । मुख थुन्यो । कपडा फुकाल्यो । निर्वस्त्र बनाएर उसले चिथोरिरह्यो । जब उसको बल सकियो अनि मलाई फकाउँदै चकलेट दियो । चकलेटमा फकिन्छ कि भनेर गुलियो चखाई रह्यो । कसैले नदेखे पनि भगवानले देखेका हुने रहेछन् । न्यायका लागि मलाई सहयोग जुट्यो । अभिभावकहरुको पूर्ण साथ रह्यो । न्यायालयले पनि मलाई न्याय दियो । 
    मेरो अवस्थाका बारेमा मैले अध्ययन गर्ने अवसर पनि पाएँ । नेपालमा यसको शुरुवात र अभ्यास के रहेछ ? मानसिक स्वास्थ्यका समस्याका रुपमा रहेको विश्वमै यसबाट पीडितहरुले मानसिक स्वास्थ्य तलमाथी भईरहँदा ब्यहोर्नु पर्ने पीडा कति हो कति ? नेपालमा मानसिक समस्याले ग्रस्त व्यक्तिहरूलाई राख्न नेपालमा सन् १९३० को दशकमा मालुङगामा एक केन्द्रको स्थापना गरिएको रहेछ । सन् १९६५ मात्रै आधुनिक चिकित्सा पद्धति अनुरूप काठमाडौंको वीर अस्पतालमा मानसिक रोगीहरूको उपचार सुरु भएको रहेछ । चारवटा शैयाबाट सुरु गरिएको मानसिक वार्डलाई सन् १९६६ मा १४ शैयाको तुल्याइयो । सन् १९६८ मा शाही नेपाली सैनिक अस्पतालमा पनि मानसिक रोगीको उपचार सुरु भयो । सन् १९८४ मा आएर नेपालको एकमात्र मानसिक रोग अस्पतालको स्थापना ललितपुरको लगनखेलमा भयो । शिक्षण अस्पतालमा सन् १९८६ देखि १२ शैयाको मानसिक रोग वार्ड संचालित छ । सैनिक, प्रहरी तथा सशस्त्र प्रहरी अस्पतालमा पनि मानसिक स्वास्थ उपचार हुन्छ । निजी क्षेत्रहरूबाट पनि मानसिक रोगीहरूको उपचारको लागि सराहनीय प्रयासहरू भएका छन् । काठमाडौं उपत्यका बाहिर पनि यस्ता सुविधाहरू प्रदान गरिंदै आएको छ । धरान, विराटनगर, भरतपुर, पोखरा, नेपालगञ्ज, बुटवल, बिरगंज, भैरहवा जस्ता सहरहरूमा मानसिक रोगीहरूको उपचार विशेषज्ञ चिकित्सकद्वारा गर्ने गरिएको छ । मानसिक रोग बिशेषज्ञले प्राइभेट क्लिनिक द्वारा सेवा प्रदान गर्ने नेपालका सबैजसो मुख्य शहरहरूमा पुगेको छ । 
दिमागका एक या बढी क्रियाकलापहरूमा भावना, आभाष, स्मृति, विचार, बोली, चेतनामा गडबडी भएर उत्पन्न अवस्था लगातार रहि रहेमा मानसिक रोग भनिदो रहेछ । विश्वमा प्रचलित मुख्य दुई खालका मानसिक रोग वर्गीकरण गरिएको रहेछ । पहिले देखि नै मानसिक समस्याका रूपमा परिचित रोगहरूका साथै बच्चाहरूमा उत्पन्न हुने व्यवहारिक समस्या, सुस्त मनस्थितिका साथै लागू औषधिको प्रयोगले उत्पन्न हुने व्यवहारिक समस्याहरूलाई पनि मानसिक समस्याको सूचीमा राखिएको छ । अहिले १ सयमा ९० प्रतिशत ब्यक्तिहरुलाई मानसिक स्वास्थ्यको समस्या हुने गरेको छ । मानसिक समस्या विश्वका सम्पूर्ण जनसंख्यामा समानुपातिक हिसाबमा पाइन्छ । द्वन्दग्रस्त समुदायमा भने मानसिक समस्या मात्र हैन आत्महत्या पनि बढी देखिएको छ । नेपालमा सन् १९८३ मा जनसमुदायमा गरिएको एक अध्ययनमा नौ वर्षभन्दा माथिका १४ प्रतिशत व्यक्तिहरूमा कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको र २ प्रतिशत व्यक्तिहरू त तुरुन्त उपचार चाहिने मानसिक रोगबाट पीडित भएको पाइएको रहेछ । तुरुन्त उपचार चाहिने रोगीहरू पनि विभिन्न कारणहरूले गर्दा सही उपचारबाट वञ्चित रहेको अध्ययनले देखाएको थियो । मानसिक रोगीमध्ये केही प्रतिशत दीर्घरोगीहरू हुन्छन् । यिनको उपचारमा पुर्नस्थापना महत्वपूर्ण पक्ष हो । 
मानसिक रोगीहरूले सही उपचार नपाउनुका मुख्य कारणहरू मध्ये यस्ता रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू हुन् । कतिपय व्यक्तिहरू मानसिक रोगहरू दैवी शक्तिको कारणले, भुतप्रेतको कारणले या मानिसको मनको कमजोरीको कारणले भन्ने सोचेर यस्ता समस्या रोग नै होइनन् भन्ने धारणा राख्दछन् । त्यस्तै कतिपय व्यक्तिहरू मानसिक समस्यालाई सोझै पागलपनसँग दाँजेर पारिवारिक मान प्रतिष्ठामा आँच उत्पन्न गराउन सक्ने ठान्दछन् । कतिलाई त यस्ता समस्याहरूको आधुनिक चिकित्सा प्रणालीद्वारा उपचार सम्भव छ भन्ने पनि थाहा र विश्वास छैन र धामी झाँक्रीको शरणमा जाने गर्दछन् । समस्या ठीक नभएमा या बढ्दै गएमा त्यस्ता व्यक्तिलाई बाँध्ने, शारीरिक तथा मानसिक यातना दिने जस्ता घटनाहरू त छापाहरूमा बेलाबेलामा प्रकाशित भइ नै रहेका हुन्छन् । जनमानसमा विद्यमान मानसिक रोगहरूप्रति रहेका मिथ्या तथा गलत धारणाहरू नहटेसम्म उपचारको लागि जनशक्ति उपलब्ध भएरै पनि मानसिक रोगको वर्तमान अवस्थामा खासै परिवर्तन नआउन सक्छ । विश्व स्वास्थ्य संगठनले एक्काइसौ शताब्दीमा हृदय रोग पश्चात मानव जातिलाई पिरोल्ने दोस्रो रोग डिप्रेसन भने पनि मानसिक समस्याको बारेमा गहिरिएर सोच्न सकिरहेका छैनौं । प्रविधिको गलत प्रयोग, ठुलो महत्वकांक्षाका कारण पनि प्रत्येक घर घरमा एक जना ब्यक्ति यस्ता रोगका शिकार हुन थालेका छन् । मानसिक स्वास्थ्यलाई विश्व जगतमा स्थापित हुन धेरै समय लाग्यो । संसारका विकसित मुलुकहरुले मानसिक स्वास्थ्यमा निकै ठूलो फड्को मारिसकेका छन् । फलस्वरुप विद्यालय स्तरदेखि नै मानसिक एवं मनोसामाजिक सवालका विषयहरु मध्यनजर गरेर पाठयक्रमहरुमा समेत समावेश गरिएका छन् । यसले गर्दा विकसित देशहरुमा मानसिक एवं मनोसामाजिक समस्याहरु छँदै छैनन् भन्ने होइन । समस्या छन तर त्यसका बारेमा कुराकानी हुन्छ । त्यहाँका मानिसले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्ने गरेका छन् । हाम्रो जस्तो विकासोन्मुख देशमा भने मानसिक स्वास्थ्यका बारेमा अझै पनि खासै वास्ता गरिएको छैन । हामी र हाम्रो देश अझै पनि समाजमा विद्यमान स–साना कुराहरुमा नै अल्मलिनु परेको अवस्था छ । त्यसको फाईदा समाजका केहि ब्यक्तिहरुले उठाईरहेका छन् । त्यसकै शिकार म जस्तै मानसिक रोगबाट समस्यामा परेका धेरै चेलीहरु हुनु परेको छ । 
वैज्ञानिक शिक्षाको अभावमा हाम्रो देशमा किशोरीहरुमा हुने शारीरिक परिवर्तनको विषयलाई महिनावारीलाई ‘छाउपडी’ को संज्ञा दिएको छ । किशोरीहरुमा शारीरिक परिवर्तनलाई सही रुपमा बुझ्न सक्ने अवस्था छैन । फलस्वरुप उनीहरुमा आफ्नै शारीरिक परिवर्तनलाई लिएर मनोसामाजिक उल्झनको अवस्था या समस्याको अवस्थामा आउने गरेको छ । यस्तो प्रथालाई जोगाइराख्न विभिन्न वाद र धर्म जस्ता कुराहरुको भूमिका अहम् छ । परम्परा र वैज्ञानिक पक्षलाई मिलाउन नसक्दा समस्या हुने गरेको छ । केहि दिन अघि मात्रै छाउपडीमा रहेकी बालिका हराएको भन्दै अभिभावकहहरुले खोेजीका लागि अनुरोध गरेको समाचार सार्वजनिक भएको थियो । यसैगरी समाजमा विद्यमान कु–परम्परामा पर्छ, ‘बोक्सी प्रथा’ । जहाँ महिलालाई बोक्सीको आरोपमा विभिन्न लान्छना लगाई दोहोरो यातना दिइरहेका घटनाहरु अझै पनि सुन्नु परेको छ । यसले उनीहरुमा मनोसामाजिक अवस्थामा गम्भीर प्रभाव पारेको हुन्छ । यसरी मनोसामाजिक समस्या या उल्झनको अवस्थामा रहेकाहरुले उपयुक्त मनोसामाजिक या मनोवैज्ञानिक सहयोग पाउने अवस्था छैन । उनीहरु समाजमा प्रचलित विभिन्न व्यक्तिहरु जस्तै धामी, झाँक्री, माताहरुको प्रपञ्चमा पर्ने गरेका छन् । यसकै कारण बेलाबेलामा विभिन्न दुर्घटनाहरु भएका छन् । नेपालमा मानसिक स्वास्थ्यका बारेमा जागरणको इतिहास छिमेकी मुलुकहरुको तुलनामा त्यति लामो छैन् ।
    सन् १९६१ देखि हाम्रो देशमा यसको प्रारम्भ भएको हो । छिमेकी मुलुक चीनको तुलनामा विगत १० वर्षमा हामी छिटो यो अभियानमा दौडन सफल भएका छौँ साँढे चार वर्ष अघिको भूकम्प पश्चात मानसिक स्वास्थ्यको महत्व थप बुझेको महशुस हुन्छ । राष्ट्रिय स्तरमा नै विभिन्न व्यक्ति तथा संस्थाहरु मानसिक स्स्वास्थ्यका बारेमा सचेत गराएका छन् । नेपाल सरकारले दिगो विकास लक्ष्यमा मानसिक स्वास्थ्यलाई प्रमुख रुपमा राखेको छ । सरकारले यही प्रक्रिया अन्तर्गत आत्महत्यालाई सन् २०३० सम्ममा प्रतिलाख जनसंख्यामा १६.५ बाट घटाएर ४.२ मा लैजाने प्रतिबद्धता गरेको छ । एकल प्रयासले पक्कै पनि यो सम्भव देखिँदैन । मानसिक स्वास्थ्यलाई ख्याल नगर्दाको विकराल अवस्थाको आत्महत्यालाई कम गर्नका लागि सबै सरोकारवाला निकायहरुको बिचमा हातेमालोको खाँचो छ । सबैभन्दा पहिले त मानसिक स्वास्थ्यका बारेमा सचेतना फैलाउनु आवश्यक छ । सबै उमेर, वर्ग र लिङ्गका समुदायमा सचेतनाको आवश्यकता देखिन्छ । अझै पनि सबै क्षेत्रमा मानसिक एवं मनोसामाजिक अभिमुखिकरणका कार्यक्रमहरुको अभाव नै देखिन्छ र परिवारमा कुनैपनि व्यक्तिलाई मानसिक समस्या छ भने सिंगो परिवारले नै थप पीडा भोग्नुपर्ने अवस्था अझै पनि विद्यमान छ ।
    २०७६ असोज २५ गते साँझ ५ बजेको घटना हो । साविक महादेवस्थान गाविस ८ कुन्ताकोे घटना हो । पौवा घर भएका ३५ बर्षिय काले सिग्देलले मानसिक स्वास्थ्यमा भएको असरको फाईदा उठाउँदै मलाई जर्बजस्ति ग¥यो । उसको श्रीमती २०७२ सालमा भुकम्प जानु भन्दा पहिला नै उसलाई छाडी अर्कै संग विवाह गरेकी रहिछन् । घरमा बुबा बिरामी भएको र घरमा बुबा, आमा, भाई तथा एक छोरा समेत रहेछन् । घरमा खेती किसानी गर्ने र कहिले काँही गाउँघरमा ज्याला मजदुरी समेत गर्न जाने गर्दै आई रहेको रहेछ उसले । हाम्रो घरमा उ गोरु जोत्न, खेत खन्न आउने गर्दथ्यो । घरमा बस्ने, कहिले घाँस पात गर्दा म पनि संगै हुने गर्दथें । श्रीमती पोईला गई सकेपछि उसले दिउँसोको समयमा नै जाँड रक्सी खाई हिड्ने गरेको रहेछ । त्यो दिन चण्डेनी बजार घुम्न गएर फर्कने क्रममा उसले ३ माना जती लोकल रक्सी पिएको रहेछ । म घर नजिकै कोदो बारीमा घाँस काटी रहेको देखे पछी उसले जिस्क्याउन थाल्यो । मैले असहमति राख्दा राख्दै उसले नशाको सुरमा मलाई जर्बजस्ति गरिरह्यो । त्यो घटनाबाट मलाई निकै पीडा महसुस भयो । म धेरै बेर उठ्न सकिनँ । तत्कालै गाउँमा हल्लाखल्ला भयो । उ फरार भयो । अभिभावकहरुले प्रहरीकोमा उजुरी दिए । उजुरीकै आधारमा उसलाई पक्राउ गरी कारवाही प्रकृया शुरु भएको छ । तर पनि मनमा शान्ति र अमन चयन छैन । 
    म जस्ता पीडितहरुका लागि पुर्नस्थापना सेवा केन्द्रहरु खुलेका छैनन् । मानसिक सेवा अन्तर्गत खुलेका आवासीय सेवा गृहहरु, पुनस्र्थापना केन्द्रहरु दक्ष जनशक्तिको अभावमा छन् । नेपाल सरकारले गर्नुपर्ने अनुगमन समेत फितलो हुँदा संचालकहरुकै गैर जिम्मेवारीपूर्ण व्यवहारले गर्दा आवासीय सेवा लिइरहेका सेवाग्राहीहरु नै थप मारमा परेका छन् । मानसिक तथा मनोसामाजिक स्वास्थ्य सेवामा अटाउन नसकेको अर्को वर्ग अपांगता र विशेष परिस्थितिका पूर्ण अपांगता भएका व्यक्तिहरु तथा तिनका परिवारले भोगेका तनावपूर्ण पाटाहरु हुन् । यो कुरा त सायदै सरकारको ध्यान समेत परेको होला । केही संघ संस्था र व्यक्ति विशेषहरुले स्वतस्फूर्त रुपमा केही काम गरेका छन् । तर पर्याप्त छैन । हरेक दृष्टिकोणबाट पछि पारिएको यस्तो समस्याबाट मुक्त हुन आजैबाट केहि गर्नु जरुरी छ । म त पीडित भएँ भएँ अरु ब्यक्तिहरुले यस्तो पीडा भोग्नु नपरोस् । 

सन्दिपा 
पाँचखाल, काभ्रे