2019 November 13/ 04:47: 17am

    कर्मै छोटो । भाग्य त हुने कुरै भएन । सानैमा आमाले त्यहि कुरा सुनाउँदा किन फतफताएको जस्तो लाग्दथ्यो । बुबा आमाले दिएको अर्ति पनि नसुनाए हुन्थ्यो जस्तो लाग्थ्यो । बाबु आमाको माया, चाहना सन्तानको सुख, शान्ति, सम्वृद्धिका लागि बाहेक अरु नुहने रहेछ । जब आफैं आमा बनियो तब मात्रै थाहा भयो आमाको ममता, आमाको भोगाई र आमाको सन्तान प्रतिको दृष्टिकोण । गर्भमै हुँदै देखि उसले आफ्नो बारेमा सोच्दिनँ । विरामी पर्छे बच्चाकै लागि । हरतरहले सोचिरहेकी हुन्छे कसरी जन्माउ स्वस्थ बच्चा । उसको लालन पोषण भन्दा पनि आमाले गर्भ देखि नै सोच्ने र गर्ने ब्यवहारले आमा र सन्तानको ममतालाई गहिराईमा पु¥याएको हुन्छ । जतिबेला आमा थिईन् ति सबै कुरा भुल्न पुगियो । जब आमाले त्यो ममता दिन सक्नु भएन तब मात्रै आमाको आवश्यकता र ममताको याद आउन थाल्यो । जे जे गरेर भएपनि आमा बनिसकेपछि मात्रै त्यो ब्यक्तिले पारिवारीक दायित्व बुझ्ने रहेछ । जिम्मेवारी बोध गराउँदो रहेछ । सन्तान नभएका बाबु आमालाई साहारा दिनु त राम्रै कुरा हो तर सन्तान भएर पनि बृद्धाश्रममा पठाउने सन्तानलाई कहिले शान्ति मिल्ला ? जसले बाबुआमालाई बोझ ठान्छ त्यो पृथ्वीको बोझ हो । उसले आफ्ना बाबु आमालाई जति रुवाएको छ, जति दुख यातना दिएको छ त्यो भन्दा धेरै दुःख र यातना उसले भोग्नु पर्छ । कलि हो चाँडै देखिहाल्छ । धेरै समय कुर्नु पर्दैन । जे जे ऐन, नियम र कानुन बने पनि बाबु आमाको स्वच्छ मायामा खेलवाड गर्ने सन्तान संसारको जुनसुकै कुनामा पुगोस्, जतिसुकै ठुलो पदमा पुग्यो त्यति नै पश्चाताप र ग्लानी महसुस गरिरहेको हुन्छ । सानै उमेरमा टुहुरा बन्नु पर्दा समाजले हेपेको, अझ घर परिवारबाट हेपिएको अनुभवले मलाई त्यहि कुरा सिकायो । ढिलै भए पनि हामी त्यो संघर्षको मैदानमा उत्रिएका छौं ।
    २०४७ साल चैत्र महिनाको १९ गते काभ्रेपलाञ्चोक जिल्लाको साविक नाग्रेगगर्चे गाविसमा मेरो जन्म भयो । परिवारको जेठो सन्तान थिएँ म । छोरी जन्मनु समाजका लागि राम्रो मानिदैन थियो । पुरातन सोच भएको समाजमा छोराको आवश्यकता थियो । धेरै सन्तान जन्माउँदा मात्रै परिवार राम्रो भएको ठान्ने चलन पनि थियो त्यसबेला । जेठी छोरी लक्ष्मी लिएर आईन् भन्थे अरे बाहिर बाहिर । भित्र भित्रै छोरा जन्माउन पनि सकिनँ । छोरा भएको भए हुन्थ्यो भन्नेहरुले पँधेरामा कुरा काट्थे रे । सुत्केरी भएको १५ दिनमा पानीको गाग्री बोकेर पँधेरामा जाँदा आमाले बेकार छोरी जन्माएछु जस्तो महसुस गर्नुभएको रहेछ । तर पनि कोखबाट जन्मेको पहिलो सन्तान वास्तै नगरी फर्कँदा पनि मनले मानिरहेको थिएन रे । ज–जसले कुरा काटिरहेका थिए उनिहरु सबैका छोरी छोरीहरु नै थिए रे । यस्तो समाज, समय र परिस्थितिबाट गुज्रिएकी मेरी आमालाई मुटुमा किला रोपेझै भएको रहेछ । सन्तानका लागि केहि गर्नुपर्छ भनेर बुबा र आमा दुबै खेतिपातीमा ब्यस्त हुनु भएको रहेछ । बुबालाई काठमाडौंमा काम गर्ने उद्देश्यले लगिएको रहेछ । केहि समय उहाँले काठमाडौमा काम त गर्नुभयो तर ऋण मात्रै लागेको रहेछ । सन्तानको सुखका लागि भकारी भर्नै गरिएको दुःखले न सन्तानलाई खुशी राख्न सक्यो न आफै खुशी हुन सक्नु भएछ । शुरुमा खेतिपातीकै कामले उहाँलाई फुर्सद हुँदो रहेनछ । पछि उहाँले चाँडै धनी बन्ने सपना देख्दा देख्दे उहाँलाई धर्तीमा रहने चाहना भएन छ । म जन्मेको तीन वर्षमा भाईको जन्म भयो । गाउँभरी हल्ला फैलियो । गोविन्दकी श्रीमतीले छोरा जन्माईछ । पहिलो पटक छोरी जन्माउँदा कुरा काट्ने समाज जयजय गाउन थाले । सानै भए पनि मलाई भाई जन्मेको कुराले खुशीको काउकुती जगाउँथ्यो । भाई बोकेर विद्यालय जाने मेरो सपना हुन्थ्यो । बुबा आमाले पनि भाईको धरालो यहि हुन्छे भन्नुहुन्थ्यो । हजुरबुबा हजुरआमा पनि सँगै हुनुहुनुुन्थ्यो । अंकल र ठुलोबुबाहरु पनि सगोलमै हुनुहुन्थ्यो । मेरो बुबा माईलो । माईलो छोराले सुख भन्दा धेरै भोग्नु पर्छ भन्थे । नभन्दै त्यस्तै भयो । म ७ वर्षको थिएँ । बुबाहरु सबैजना अलग अलग बस्न थाल्नु भएको थियो । मलाई विद्यालय लैजाने मेरो ठुलोबुबाको छोरी हामी भिन्नै भए पछि अलग भईन् । उनी विद्यालय जाने सोचाई राख्दा राख्दै घरबाट विद्यालय पठाउने कुरा भएनछ । उनको घर प्रतिको जिम्मेवारीले विद्यालय जान दिएनछ । छोरीहरुलाई पढाउनु अक्सर राम्रो मानिदैन थियो । 
घाँस काटन्े, भाई बहिनीहरुको धरालो लाग्ने र बाँकी रहेको समयमा अन्य काम गर्ने तर विद्यालय चाँहि सितिमिति पठाउँदै नपठाउने गरिन्थ्यो । गएका छोरीहरु पनि केहि न केहि बाहनामा विद्यालय छुटाएका हुन्थे । एकाघर बाहेकका धेरै छोरीहरु यहि घानमा हुन्थे । यो सबै अशिक्षा रहेछ ।
    जसका बाबु आमा शिक्षित थिए, उसले छोराछोरी दुवैलाई समान ब्यवहार गरेर विद्यालय पठाउने गरेका थिए । हामी अभागी पनि होईनौं, त्यो अवसर नपाएका पनि होइनौं तर पनि विद्यालय गएर उच्च शिक्षासम्म अध्ययन गर्न नपाएकोमा खोट छ । त्यो खोट सायद यो जुनीमा मेटिदैन । अर्काे जुनीमा के होला ? लालाबाला सन्तानहरुलाई आफुले भोगेको कर्मबाट मुक्त गराउने प्रयत्न गरिरहेको छ । भगवान लागेका छैनन्, तर आफन्तले नै दिएको दुःखले हार मानसिकताबाट संघर्ष गरिरहेको छु । हाम्रो परिवारमा अर्काे सन्तान थपियो । सगोल परिवारबाट अलग भएपछि बुबा काठमाडौंमा काममा जानु भएको थियो । २०५५ साल तिरको कुरा होला । म ८ वर्षकी थिएँ । कक्षा २ मा अध्ययन गर्दै गर्दाको कुरा हो । बहिनी जन्मिई भन्दा म झनै खुशी भएँ । जति भाई जन्मँदा मैले खुशीको अनुभूति गरेको थिएँ त्यो भन्दा धेरै मैले बहिनी जन्मँदा गरें । के बुझें आफैलाई थाहा छैन । बहिनी भन्ने वितिक्कै आफै जस्तो सम्झिन पुगेछु । बुबा काठमाडौंमा के गर्नुहुन्थ्यो आमाले कहिल्यै भन्नुभएन । आजभोलि थाहा भयो उहाँ शुरुमा अर्काको घरमा काम गरेर पछि त्यहिबाट जम्मा भएको केहि पैसा र अरु ऋण काढेर ब्यापार शुरु गर्नु भएको रहेछ । तर त्यो ब्यापार विग्रिएका कारण उहाँलाई धेरै ब्यक्तिहरुको दवाव परेको रहेछ । गाउँमा खेति किसानी गरेको ब्यक्ति एक्कासी राजधानी आएर थाहा नै नभएको ब्यवसाय गर्दा कसरी टिक्नु ? प्राय बुबा घर आउनु हुन्न थियो । बहिनी हुर्कदै थिई । थोरै जग्गा जमिन भएकाले आमाले धान्नु भएको थियो । भाई बहिनीको रेखदेख मेरो थाप्लोमा थियो । आमा मलाई लालाबाला छाडिदिएर काममा जानु हुन्थ्यो । ८ बर्षकी बालिकाले खाना पकाउने, खुवाउने र भ्याएसम्म भाई बहिनीलाई विद्यालय पठाएर जाने गरेको थिएँ । सधैं विद्यालय जाने सम्भावना रहेन । मेरो अध्ययन कक्षा २ बाटै टुट्यो । नेपालीका सबै साँवा अक्षरहरु मैले चिन्न सक्ने भएको थिएँ । कक्षा १ बाट दुईमा जाँदा उत्कृष्ट चाँहि भएको होइन राम्रो चाँहि भएको थिएँ । पछि शिक्षकहरुले विद्यालय नछुटाउन आग्रह गर्नुभएको थियो तर पारिवारीक कारण सम्भव भएन । 
    २०५६ साल असार महिनाको कुरा हो । बुबा हस्याङ्गफस्याङ्ग गर्दै घर आउनु भयो । आमाले गाह्रो भयो होला भन्दै आराम गर्न भन्दै हुनुहुन्थ्यो केहि क्षणमै उहाँले भोमिट गर्नुभयो । बुबा भन्दा भन्दै उहाँले संसार छाड्नुभयो । काठमाडौबाट घर आउँदा उहाँले बाटोमा नै अन्नमा प्रयोग गर्ने विषादी किनेर जानु भएको रहेछ । त्यहि विषादी घर नजिकै पुगेपछि खानु भएछ । हामी परिवारका सदस्यहरुले देख्ने गरी घरमा आईपुग्नु भएको रहेछ । उहाँको साथमा विष खानु पर्नाको कारण बारे लेखिएको थियो । संसारमा आफैसँग हार खाएर मर्नु मर्दा माफि माग्नु भएको थियो । जे जे भए पनि उहाँ नै नभए पछी उहाँले जे जे भने पनि पत्याउ कसरी जस्तो अनुभूति भएको थियो । पछि थाहा भयो बाबु आमाले भनेको कुरा सत्य नै हो रहेछ । आमालाई बोझ माथी बोझ थपियो । १५ महिने सानी बहिनी थिई । घर परिवारले गर्ने सहयोगमा झनै कटौती भयो । बुबा भिन्नै रहे पनि उहाँका नाममा कुनै सम्पत्ति थिएन । पछि आमालाई पास गरेर दिने बेला पनि अविश्वास गरियो । छोराछोरी सहित राखेर दिने भनेर धेरै समय झुलाईयो । एकल महिलालाई घर परिवार चलाउन, समाजसँग जुध्न र आफ्नैसँग संघर्ष गर्न कठिन हुने रहेछ । १७ वर्ष हुँदै थिएँ मेरो बुद्धि विग्रिएछ । काठमाडौं कलंकी घर भएको एक जना केटासँग भागि विवाह गरें । काठमाडौमा म श्रमिक बालिकाको रुपमा कार्यरत थिएँ । केहि वर्ष मैले श्रमिक बालिकाकै हैसियतमा काम गरें । तरकारी किन्न जाँदा आउँदा उनीसँग मेरो चिनजान भएको थियो । पसलमा सामान किन्न गएको बेला उसँग भेट भयो । उ पनि पसलमा काम गरेर बस्दो रहेछ । उसको आफ्नै घर चाँहि थिएन तर परिवार त्यहि बस्दो रहेछ । उसले कति अर्काको काम गर्ने विवाह गरौं र हामी आफै काम गरौ भनेकाले मैले त्यो घर छाडेर विवाह गरें । भाई हुर्कदै थियो । बहिनी विद्यालय जाँदै थिई । कक्षा ९ पढे पछि भाईले विद्यालय जान छाडिदियो । त्यतिबेला आमाको नाममा अंश बुझाईएको थियो । भाई काठमाडौंमा गाडीमा काम गर्न थाल्यो । शुरुमा होटलमा काम ग¥यो । पछि गाडीमा काम गर्दा गर्दै चालक बन्ने उसको सपना थियो । सपना सपनामै सिमित रह्यो । काम गर्दै थियो । केहि समय पछि लाईसेन्स बनाउँछु र गाडी चलाउँछु भन्थ्यो । हामी दुवैजना भक्तपुरको एक विद्यालयमा काम गर्न थाल्यौं । बहिनीलाई पनि शुरुमा त्यतै पढाउने सोच थियो आमा एक्लै हुने भएकाले त्यो सम्भव थिएन । दुःख पनि हामीलाई नै पर्नुपर्ने । आमा विरामी पर्नु भयो । विरामी आमालाई काठमाडौ उपचार गर्न राखियो । उपचारको क्रममा आमाको निधन भयो । क्यान्सरले उहाँलाई थला पारेछ । निको नै नहुने भएपछि मात्रै थाहा भयो । बुबा गुमाएका हामी टुहुराले आमा पनि गुमायौं । गाउँमा बहिनी एक्लै भए पछि केहि समय फुपु दिदीकोमा गएर बस्न थालिन् । यता काठमाडौमा रहेको भाईलाई छुरी रोपेर हत्या गरिएछ । गाडीको सामान्य विवादमा छुरी रोपेको पछि थाहा भयो । दुःख पनि हामीलाई मात्रै परेको भान भईरहेको थियो । म आफै पनि सुत्केरी भएको थिएँ । आमा हुनुको अर्थ बुझिरहेको थिएँ । 
    बुबाले गरेको ऋणको भार आमाले सकि नसकी बोकिरहनु भएको थियो । भाई र मैले समेत त्यो ऋण कमाएर तिर्ने भन्दै मेहनत गरेका थियौं । बहिनी सानै भएकाले उसलाई पढाउनु पर्छ भन्ने हाम्रो सोच थियो । आमा चाँडो वित्नु भएको पनि बुबाकै ऋणको भारले होला । क्यान्सरलाई जित्न सक्ने साहस उहाँमा भएन । भाईको समेत हत्या भए पछि हामी झनै विक्षिप्त भयौं । बहिनीलाई पाल्ने ठुलो बुबाले बाबुको ऋण, आमाको उपचार भन्दै भएको जग्गा बकसपत्र गरेर बेचिसकेछन् । दुईवटा स्थानको जग्गा बेचेपछि मैले थाहा पाएँ । त्यतिखेर बहिनी १६ वर्षकी लाग्दै थिइन् । उनको नागरिकता बनाई दिएर जग्गा बेचेको पैसाले ऋण तिर्ने र बचेको पैसा उनकै खातामा राखिदिने भनिएको रहेछ । त्यसो नभए पछि बहिनीले मलाई भनिन् । लामो समय भैसकेको थियो उनले मलाई नभेटेको । जग्गा बेचेको रकम सबै सिध्याए पछि उनले मलाई भनिन् मैले मालपोतमा उजुरी गरें । तत्काल जग्गा त रोक्का भयो तर उनले पाउने अधिकार गुम्यो । छोरी त म पनि हुँ नि ? बाबुको सम्पतिको हक बराबर लाग्थ्यो । होला म विवाह गरेर गएँ अर्काकी भएँ । तर ठुलोबुबाले मलाई सोध्नु पर्दैन ? सम्पत्तिका लागि उनिहरुले बहिनीलाई पाल्न गरिएको नाटक छताछुल्ल भएपछि बहिनीले मसँग बस्ने निर्णय गरिन् । बेचिएको जग्गा फर्काउने र भएको सबै पैसा हामीले तिर्ने सहमति भयो । त्यो निर्णयले हामीलाई केहि समय सहज बनाएन । उनिहरुले हामी पनि म¥यौ भन्दै हामी विरुद्ध अनेक हथकण्डा अपनाए तर सफल भएनन् । परिवारका तीन जना सदस्य पालैपालो गुमाउँदा पनि हामी टुहुरा दिदी बहिनीले गरेको संर्घषलाई केहिले राम्रो माने केहिले मेरो चरित्रका बारेमा प्रश्न उठाए । चरित्र भन्ने शब्दका बारेमा जसले जे भने पनि हुने रहेछ । हिजो आमालाई त्यसो भन्नेहरु आज मलाई भनिरहेछन् । श्रीमान भगवान जस्तै हुनुहुन्छ । मेरो परिवारका सबै समस्यालाई उहाँले आफ्नै सम्झिएर सहयोग गर्नु भयो । यता घरको पनि हामीमा दायित्व थियो । 
    उमेर, सम्पति, यौवन सधै एकनास हुन्छ र ? जसले सधै रहन्छ भन्ने सोचिरहन्छ नि त्यसले अन्याय र अत्याचार गरिरहन्छ । जसले क्षणिक सम्झिन्छ उसले जीवनका हरेक भोगाईलाई सहँदै र छिचोल्दै अगाडी बढ्दो रहेछ । दुःखको सागरमा पौडिँदा पौडिदै अगाडी बढेको मेरो जीवनका सहयात्रीहरु धेरै भए । बहिनीले भर्खर विवाह गरिन् । उनी खुशी छिन् । बाँकी रहेका हामी दुई दिदीबहिनीको भावनामा ठेस पुग्ने गरी कहिलेकाँहि अझै षड्यन्त्र रचिने गरेका छन् । जे जे गरुन् अब गुमाउन पो के नै बाँकी छ र ? जन्मँदा को नै थियो र आमा बाहेक साथमा ? आमा नै गुमेपछि अरु सबै चिज अस्थायी हुन् । जसरी अरुले छाडेर गए त्यसरी नै हामीले पनि छाडेर जानु पर्छ । मान्छे किन सधै अजम्वरी झै ब्यवहार गर्छ ? 

शितल खत्री 
काठमाडौ, नेपाल