2019 November 13/ 05:59: 30am

    मुलुक समृद्धितर्फ अगाडि बढिरहेको छ । संविधान निर्माण, भुकम्प पछिको पुनर्निर्माण र अन्य विकासले गति लिएको छ । तीन तहका सरकारले शुरु गरेको विकासले केहि आशा जगाएको छ । नेपालमा कानुन पालना भएको अनुभूति हुन थालेको छ । पहिले ठुलालाई ऐन, सानालाई चैन भन्ने उखान सुनिन्थ्यो । अहिले ठुला र सानालाई बराबरी कानुन भन्ने देखिन थालेको छ । सांसद् पनि छाडिएका छैनन् । सभामुख पनि छाडिएका छैनन् । सबैको ध्यान ठुलातर्फ ध्यान जाँदो रहेछ । हामी सानाले भोगेको पीडाका बारेमा अझै कोहि बोल्न सक्ने अवस्था छैन । उठेर बोलौ भने हावाले उडाउँछ । बसेर बोलौ भने कसैले सुन्दैन । तर पनि नबोली भाको छैन । हामी जस्ता पीडितहरुका लागि सायद मोरातीको स्तम्भ थिएन भने कहाँ राख्न पाईन्थ्यो र कुरा ? हे भगवान मान्छेको मन र   मतिलाई केहिले रोक्न र छेक्न सकिँदो रहेनछ । 
    सम्बन्धका अनेक अर्थ लाग्दा रहेछन् । सम्बन्ध कहाँ जोडिन्छ र कहाँ टुटछ ? आफ्नै पराई र पराई आफ्ना हुँदा रहेछन् । मान्छे भित्रको स्वार्थले मान्छेहरुको सम्वन्ध अगाडि बढ्न दिँदो रहेनछ । हो आज म त्यहि सन्दर्भ पारेर स्वार्थले टुटेको सम्बन्ध र जोडिएको मायाका बारेमा बताउन खोजिरहेको छु । धेरैका ब्यथा उस्तै उस्तै लाग्न सक्छन् । जसलाई पर्छ उसलाई मात्रै थाहा हुन्छ भोग्नेको पीडा । आँशु । आँशुमा पलपल रोईरहँदा उसले के ब्यक्त गरेको हुन्छ ? के सोचेको हुन्छ । सपना सबै खरानी भईसकेका हुन्छन् । सम्बन्धमा धमिराले डेरा जमाईसकेको हुन्छ । त्यस्तो सम्वन्धमा तिहार जोड्न मिल्छ ? भर्खरै सकिएको छ तिहार । तिहारका थुप्रै रमाईला र नरमाईला अनुभूतिहरु छन् । सबैले भन्छन दिदी र भाई । देख्दा पनि त्यहि हो । तिहारमा टिका पनि लगाएकै हुन्छ । टिका भित्र लुकेको अर्काे स्वार्थको पटाक्षेप गर्दा घरमा आगो बल्छ । बलेको आगो निभाउन केहि न केहि क्षति भईसकेको हुन्छ । मान्छे हो । उसका पनि मन हुन्छन् । सधै मान्छेले आफुलाई सर्वस्व ठाने भने भोलिपल्ट देखि उसलाई कसले भन्छ ? तिमी जान्ने ? सबैले आ–आफ्नो हैसियतमै त बनाएका हुन्छन नि सम्बन्ध । तर त्यसको अर्थ समाजले बुझेको जस्तै हुनुपर्छ । बाहिर एउटा भित्र एउटा सम्वन्धले कुनै न कुन दिन आफुलाई त घाटा गर्छ नै परिवार, समाज र सिङ्गो राष्ट्रलाई नै बदनाम गराउँछ । केहि दिनका घटनाले त्यो देखाएको छ । स्वार्थमा पद हेरिँदो रहेनछ । 
    आज उनी मसँग छैनन् । कारण मैले अझै बुझेको छैन । मेरा पनि घरमा छोराछोरी छन् । उनी मेरो कारण देखाएर विदेशिएको केहि वर्ष भईसकेको छ । आँगनमा अग्नि बाली जौ तिल घिउको चरु राखेर कम्मरमा लगन गाँठो कसेर विवाह गरेको हाम्रो जोडी परेवाको जस्तै थियो । एउटै देखिन्थ्यो अनुहारको मोहडा । अग्लो कदको थिएँ म । हेर्दा सबैले श्रीमानलाई काबुमा राख्न सक्ने छ भन्थे । अनुहार, जिउडाल र शरीरको हाउभाउले मात्रै मान्छे चिन्न सकिने भए त धेरैले धेरैबाट दुःख पाउन सक्दैन थिए । मैले एसएलसीसम्म पास गरेको थिएँ । घरबाट विवाहको कुरा आएपछि किन नाई भन्नु ? उनि कलेज पनि पढ्दै थिए । घरमा बुबा आमा, दाजु भाउजु भए पछि कामका लागि खाँचो पनि थिएन । मैले पनि सकेको काम सघाएकै थिएँ । विहान कलेज गएर आएर उनी गाउँतिर डुल्न जान्थे । म घरकै काममा सहयोग गरिरहेको हुन्थें । हामीबाट पहिलो सन्तान छोरा जन्मियो । चैतन्य  क्याम्पसमा पढ्ने भएकाले मलाई बनेपाकै शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । माईती पनि बनेपामै भएकाले घर माईत गर्न सहज हुन्छ भन्ने अपेक्षा पनि थियो । केहि दिनको अस्पतालको बसाई पछि मलाई घर लगियो । केहि महिना घर पछि माईतीमा सुत्केरी बसेर घरमा फर्किएको थिएँ । मामाको छोरी पर्ने ब्यक्ति हाम्रो घरमा बस्न थालेकी रहिछन् । उनी कक्षा ६ मा अध्ययन गर्दै थिईन् । बच्चा पनि विहान बेलुका हेर्न साथी हुने घरमा पनि मुख बोल्न साथी हुने सहजै हुन थाल्यो । 
    विस्तारै समयले कोल्टो फेर्दै गयो । हामी घरमा अलग बस्न थाल्यौं । बुबा आमासँग हामी बसेनौं । हामी एक्लै बस्न थाले पछि मलाई मामाको छोरी त झनै साथी चाहिने भयो । मैले क्याम्पसमा भर्ना गरेर पनि थप अध्ययन गर्न सकिनँ । उनी बनेपाकै एक कम्पनीमा काम गर्न थालेका थिए । मलाई सम्झना छ त्यो विस्कुट, चाउचाउको डिलर होला । थोरै पैसा भए पनि काम सिकिन्छ भन्ने हिसाबले काम शुरु गरिएको थियो । विस्तारै विस्तारै उहाँको घरमा आवतजावत पातलो हुँदै गएको थियो । घरमा बहिनी र म थियौं अनि सानो बच्चा । केहि वर्ष पछि हामीबाट अर्काे बच्चा गर्भमा आयो । शुरुमा हामी जन्माउने पक्षमा थिएनौं जसरी पनि अर्काे एउटा बच्चा पाउने सोच भए पछि किन नपाउने त ? हामी दोश्रो सन्तान जन्माउने निश्कर्षमा पुग्यौं । बहिनी कक्षा १० मा पुगेकी थिईन् । बन्सो, दुबो र छोरी । जन्मिएपछि ह्वात्तै बढ्दा रहेछन् । उनको पुष्ट शरीरमा नलोभिने कोहि थिएन । राम्री पनि असाध्यै थिईन् । त्यो समय र उमेर पनि त्यस्तै रहेछ । पढाई पनि असाध्यै राम्रो थियो । शिक्षकहरुको माया र साथीहरुको संगत पनि राम्रै थियो । हामीले पनि उनलाई अध्ययनका बारेमा सम्झाउने गरेका थियौं । 
    एकदिन उनको कापीमा यस्तो पत्र भेटियो । काली, आज लामो समय पछि मैले तिमीलाई यस्तो कुरा गर्दैछु । हुन त तिमीलाई देखेर मेरो होस हवास नै गुमेको छ । मेरै कर्तुतका कारण मेरा हरेक कुरा तिमीलाई मन पर्न छाडेका छन् । अविश्वासले सीमा नाघिसकेको छ । तर पनि मलाई के थाहा छ भने जसले धेरै मलाई विश्वास र माया गरेको छ उसले गरेका सबै कृयाकलाप मेरो मायाका लागि भईरहेका छन् । म विचलित पनि छैन किनकी तिमीले सर्वस्व मेरा लागि त्यागेकी छौ । गुमाएकी छौं । मैले साँझ उनलाई बोलाएर सोधें उनले शुरुमा पन्छाउन खोजिन् । पछि बास्तविकता बताउन थालिन् । स्कुलमा पढ्ने उनको एउटा साथी र उनी बीच कक्षा ८ देखि प्रेम भयो । कक्षा ९ मा पुग्दा सम्बन्ध बाक्लियो । कक्षा १० पढ्दा उसको र उनको प्रेममा दरार आयो । मन मिल्दा सबै कुरा ठिक भएका जोडी सानो कुराले शुरु भएको झगडाले उग्र रुप लिदै गएको रहेछ । त्यो झगडा कतै पोख्न नपाएपछि कापीको पानामा लेखिएको रहेछ । मैले भेट्टाउनुको कारण पनि अर्कै थियो । उनी घरमा नभएको समयमा उनका लागि कसैका नामबाट नोट कपी भन्दै आएको थियो । प्रेम पत्रको आदान प्रदान त्यहि कापीबाट भएको रहेछ । मलाई गृहकार्य गर्न अल्छि लाग्दा, विरामी पर्दा औषधी खुवाउँदै नियमित विद्यालय पठायौं । तिम्रा शरीरका प्रत्येक रौका जराजरामा म बाहेक केहि देखिनौ र सबै सुम्पियौं । मेरो कुनै हैसियत पनि थिएन र छैन पनि । तिमीले नै त्यो हैसियतका लागि मेरा लागि सारा त्याग ग¥यौं । म ऋणी छु । आभारी छु । जति गरे पनि मैले तिम्रो त्याग, तिम्रो समर्पण र म प्रतिको तिम्रो सद्भावलाई कहिल्यै तिर्न सक्दिनँ । सकेको पनि छैन । खुशी छु जसले धेरै माया गर्छ उसले गाली पनि गर्छ । सबै चिज उसकै हो भने गाली गर्ने अधिकार पनि हो । मेरो कारण तिम्रो हर जीवन पछाडि धकेलिएको छ तर मेरो अगाडि बढिरहेको छ । त्यसैले पनि मैले तिमीले पछिल्लो समय गरेका सबै गतिविधिलाई सहज ढंगले लिएको छु । उनको यो दोश्रो पत्र थियो । 
    सम्बन्धका बारेमा चासो लिदै जाँदा मेरो दोश्रो सन्तान जन्मियो । जब म माईती गएँ घरमा उनी र मेरो श्रीमान थिए । उनी कहिलेकाँहि आउने भएकाले भनेरै म केहि दिनका लागि सुत्केरी बस्न माईती गएको थिएँ । मैले माथीबाट फर्किपछि अर्काे पत्र पनि उनको कापीमा फेला पारें । जुन पत्रमा लेखिएको थियो । ‘हो पीडा हुँदो रहेछ । तिम्रा आँशुहरुले मलाई पलपल पीडा दिएको महसुस भएको छ । मैले तिम्रा लागि कुनै दिन, कुनै समय, कुनै पल, कतै कुनै छेउमा धोका दिने मनसाय राखेको पनि छैन र दिएको पनि छैन । जीवनमा जुन दिन जीवनभरको खुशी प्राप्त भयो त्यहि दिन देखि मेरो जीवनमा दुःख र पीडाका क्षणहरु शुरु भए । कुनै क्षण मैले त्यसको खुशियालीमा एक गिलास रक्सी खान सकिनँ । आजसम्म पनि सकिरहेको छैन । हो म धोकेबाज हुँ । तर तिमीले भनेजस्तो मैले धोका दिएको छैन ।’ त्यो पत्र मेरै श्रीमानले लेखेको पत्र रहेछ । म छाँगाबाट खसेझै भएँ । मेरो सारा विश्वास ध्वस्त भयो । त्यो सम्वन्ध भएको तीन वर्ष पुगिसकेको रहेछ । जसलाई मैले मात्रै होईन जो कोहिले विश्वास गर्न सक्दैन । एउटै घर, एउटै कोठा, सबैका अगाडी बोलचाल शंका गर्नु पर्ने ठाउँ पनि छैन । अझ नातामा आफ्नै बहिनी पर्छ । कसैले कल्पना पनि गर्न सक्दैन । मैले श्रीमानसँग यहि विषयमा झगडा गरें उनलाई घरबाट हटाएँ । उनले स्वीकार्न तयार भईनन् । श्रीमानले पनि हो भन्न सकेनन् । तर मेरै आँखा अगाडी हरेक समय तिहारको टिका लगाएको, बहिनीको गोडा ढोगेर दान दक्षिणा दिएको नाटक रहेछ । सबै देखावटी रहेछ । तिहारको सप्तरंगी टिकासँगको खेलवाड रहेछ । उनिहरुले सहमतिमा सम्बन्ध विस्तार गरेका रहेछन । विकल्पका रुपमा श्रीमानले उसलाई बहिनीको नाममा सम्बन्ध बढाएका रहेछन बहिनीले दाईको नाममा । यो घटनाले मलाई जीवनमै ठुलो धोका भएको महसुस भयो । कसको विश्वास गर्ने ? श्रीमानको वा बहिनीको ? मनको टुक्रा भएपछि सानो सानो कुराले पनि मन छुँदो रहेछ जुन अहिले मैले भोगिरहेको छु । सर्वस्व सम्झिएर माईती घर केहि नभनी श्रीमान भनेर बसें । उसले नै दिएको धोका र अन्र्तघातले कसरी जीवन चलाउने ? उनलाई काम छोड्न लगाएँ । उनले शुरुमा होईन भने पनि पछि स्वीकारे । माईतीको सहयोगमा उनलाई विदेश पठाएँ । उसको विवाह भयो । बच्चाहरु पनि छन् । तर पनि उसको स्वभाव र चरित्र बदलिएको छैन । 
    विवाह पछि मैले अध्ययनलाई निरन्तरता दिन सकेको थिईनँ । माया अति धेरै थियो श्रीमान्को कहिल्यै पढ्नु पर्छ भन्ने सोच भएन । जब उसले धोका दियो तब मात्रै होस खुल्यो । महिलाहरु पछि पर्नुको अर्काे कारण त्यो पनि रहेछ हामी अर्काको भरमा जीवन चलाउन थाल्छौं । हो आज म तिहारको अवसरमा दिदी र भाईको सम्वन्धको अर्थ खोज्न मन लाग्यो । अहिले श्रीमानले राम्रो ब्यवहार त गर्छन् तर उनको विगत सम्झने वितिक्कै मलाई लोग्ने मान्छेहरु प्रतिको घृणा, तिहारमा गरिने पुजाआजा भित्र कसैले लुकाएको कलंकले झस्काउँछ । उनी विदेशमा छन् । छोराछोरी हुर्किसकेका छन् । तर पनि उसले मलाई आफै जस्तो सम्झिरहेको छ । आफु खराब भए पछि सबैलाई खराब देख्ने मान्छेको स्वभाव रहेछ । हेरौ उसको बानी सुध्रिएला तर पनि यस्ता घटनाले कहिलेकाँहि झस्काउँछ । कहिलेकाँहि तर्साउँछ । मान्छे भित्रको मान्छे समयमै चिन्न कठिन रहेछ । भावना पोख्दा पनि मन हलुंगो हुन्छ । अवसर प्रदान गर्नु भएकोमा पुनः मोराती प्रति विशेष आभार प्रकट गर्दछु । 
शर्मिला दंगाल
हालः जानागाल
बनेपा, काभ्रे