2019 October 17/ 01:39: 17am

    उमेर, बैंश, माया, प्रेम, समय । आफन्त, कानुन, भाग्य । पैसा, भोक, निन्द्रा । शारिरीक आवश्यकता, चाहना र सोच । अध्ययन, रोजगार र आत्मनिर्भर । तेरो, मेरो, उसको । जन्म, मृत्यु । यस्ता थुप्रै प्रश्नहरुको चाङले भरिएको रहेछ जीवन । कसले बुझ्छ सजिलै ? कसले बुझाउँछ ? ऊ आफैं अलमलमा परिरहेको हुन्छ कसरी बुझाउँछ उसले । उसले बुझेको कुरा अरुका लागि काम नलाग्न पनि त सक्छ ? उसले भनेकै कुरा सुन्नैपर्छ भन्ने केहि छ र ? तर पनि मान्छे निरन्तर अर्ति उपदेश दिईरहेको हुन्छ । उसका अर्ति उपदेश कहिले प्रयोगमा आउला र ? हुन त उमेरले पनि फरक पार्दाे होला । मलाई यो अविश्वासी, स्वार्थी समाज, आफन्त र परिवारप्रति कसैको आश र त्रास छैन । तपाई कसैलाई केहि दिन सक्नुहुन्छ भने निश्वार्थ दिनुस् । उसको मनले मान्यो भने तपाईलाई उसले सर्वस्व दिन सक्छ । तर उसको सर्वस्व लिने उद्देश्यले तपाईले उसलाई सहयोग गर्नु भएको छ भने त्यो गम्भीर भुल हो । त्यस्तो सहयोग र स्वार्थ दुवै त्यागी दिनुस् । 
    विकट क्षेत्र सिन्धुली जिल्लाको झाँगाझोलीमा दलित परिवारमा मेरो जन्म भयो । समाजले हाम्रो परिवारलाई अछुतकै ब्यवहार गर्दथ्यो । त्यतिबेलाको समाज र समय पनि सायदै त्यस्तै थियो होला । माओवादीको सशस्त्र द्वन्द्व चलेकै थियो । द्वन्द्वले समाजलाई केहि अगाडि बढाएकै हो । त्यो चेत र भेद अहिले जस्ताको तस्तै छ । जो पार्टीमा लागेर अभियान संचालन ग¥यो अहिले उ आफै त्यसको विरोधी भएको छ । समय आउँदो रहेछ त्यसको ब्यवस्थापन र सहि सदुपयोग गर्न सकिएन भने पुर्पुरोमा हात राख्नुको विकल्प छैन । रातभर झमझम पानी पर्दा पनि मन पोल्न छोडेको छैन । समय यसरी उल्टो फर्केला भनेर त मैले सोच्न समेत एक मिनेट खर्च गरिनँ जीन्दगीमा । यस्तो चंगोमा फसेकी म त्यसको पीडा बोध भएको छ तर त्यसबाट निस्कन सकेको छैन । सायद आपूmलाई जीन्दगी भर माफ समेत गर्न सक्दिनँ होला । खै किन मान्छे यति सम्म क्रुर हुन्छन् होला । म त सानै थिए यस घटना तथा मेरो भूमिकाको असरबारे मलाई के थाहा र तर जान्ने बुझ्नेहरु किन पैसाको निम्ति यति धेरै पापकर्म गर्छन् मैले बुझिनँ । जब बुझ्दैछु आजकाल जीन्दगीसँग गुनासो मात्र छ, प्रायश्चित मात्र छ । मेरा जस्तै सपनाहरु अरुका पनि थिए होलान् हुन त सम्पूर्ण घटनाको जिम्मेवार म मात्र त थिइनँ तर पनि मेरा कर्म र भूमिकाले जे गर्यो त्यसको भागिदार म पनि हुँ भन्ने लाग्छ र म लज्जित छु । आफ्नै शिर ठाडो पारेर हिड्न सक्ने औकात छैन मसँग प्रायश्चितको आगो दनदन दन्किएको छ मेरो छातीमा । म आफैँ भित्र मरिहेको छु दिनदिन । किनकिन जीन्दगी सँग कुनै आशा नै नरहे झैँ लाग्छ मलाई । उकुसमुकुस छु । न कसैलाई भन्न सक्छु न कसैलाई साट्न नै सक्छु । आफैँ भित्र तड्पिनुको म सँग अन्य विकल्प नै छैन । म सँग साहस नै छैन तर पनि म हिम्मत बटुल्दैछु कि आफ्नो पापको प्रायश्चित गर्न नसके पनि गुम्सिएको पीडालाई पोखँु । सामान्य परिवारमा जन्म भयो । आमाको गर्भमा हुँदै बाबा बितेको रे अनुहार समेत थाहा छैन मलाई । आमाले मजदुरी गर्दै समाजको अनेक लाञ्छना सहँदै हुर्काइन् पनि । एक त एकल महिला त्यसमाथि पनि म छोरी मान्छे थिए, गरिबी त झनै विकराल थियो । अझ हामी समाजको अछुत । समाजले जसरी प्रयोग गर्न चाह्यो सोही अनुसार भई दिनुपर्ने रहेछ हामी महिलाले अनि गरिब र दलितले । मान्छेको जीन्दगी माथिको राजनीति पनि हामीले नै सफल बनाइदिनु पर्ने, कस्तो तितो यथार्थ छ हाम्रो समाजको । आमाको अनेक दुःखमा म अर्को दुःख थिए । नबुझ्ने हुने खानेका परिवारका बच्चा जस्तै मेरा चाहाना र मागले मेरी आमा हैरान थिइन् । गाउँ घरका अन्य केटाकेटी साथीहरुसँग खेल्ने क्रममा कसैलाई केहि भयो भने पनि दोष म माथि नै थोपरिन्थ्यो । उतिबेला त प्रतिशोधको भावना आउँथ्यो तर आजकाल बुझ्दै छु गल्ती नगरेपनि कमजोरहरु नै पेलिनुपर्ने रहेछ । गाउँमा सबै बालबालिकाको खेल्ने मैदान एउटै थियो । स्कुल सकेपछि भेला भएर सँगै खेल्थ्यौँ सबैजना १०÷१५ जना नै संगै हुन्थ्यौ हामी । सामान्य तरीकाले चलि नै रहेको थियो । हाम्रो नियमित तालिका भनेकै उठ्यो आमाले पकाएको खाना खायो विद्यालय गयो फर्केपछि उहि खेल मैदानमा साँझ नपरुन्जेल खेल्यो र घर फर्कियो अनि गृहकार्य गर्ने, पढ्ने खाना खाने सुत्ने । सामान्यतयाः हाम्रो गाउँका सबै बालकालिकाको दैनिकी नै थियो यो । गरिब र दलित दुवै हुनुका नाताले कहिलेकाँहि कसैको स्वार्थ सहितको सहयोग पनि पाईन्थ्यो । तर हामी बुझ्दैन थियौं । 
    समय दौडिरह्यो । आमाको जीवनको बयान गरी साध्यै छैन । एकल महिलाले भोग्नुपर्ने अनेक दुःख पनि थिए । म हुर्कदै गएँ । उमेरले पनि केहि बोध गराएको थियो । एसएलसी दिन पाउनु ठुलो कुरा थियो । हेपिनु, पेलिनु, अछुत हुनु सामान्य थियो । भोको पेट कति दिन विद्यालय पुग्यो । अघिल्लो रात खाएको खानाले भोलिपल्ट खाँदा समेत केहि भन्दैन थियो । सायद पेटले पनि बुझ्थ्यो होला । गरिबको भाग्यमा बत्ति बल्यो एसएलसी उत्तिर्ण भएँ । सानै थिए माओवादीको द्वन्द्व पनि बुझेको थिएँ । एसएलसी दिने बेला अझ धेरै कुरा बुझ्ने अवसर पाएँ । बजारमा आएर डेरा लिएर बस्दाको सास्ती भनिसाध्य छैन । दलित भनेको भए डेरा पाउनै सकिदैन थियो । साथीहरुले त समुहमा पनि राखेनन् । बढो दुःखका साथ एसएलसी उत्तिर्ण गरें । कक्षा ११ अध्ययन गर्न शहर आउनुको विकल्प थिएन । बनेपाको बुडोलमा डेरा लिएँ । आफन्तहरु ब्यवसाय गर्नु हुन्थ्यो । आमा एक्लै भएकाले मैले आमालाई सहयोग गर्नुपर्दथ्यो । लान्छनाका बीच आमाले मलाई त्यो स्थानमा पु¥याउनु भएको थियो । आमाको चाहना र सपना पूरा गर्नु मेरो पहिलो कर्तब्य थियो । भाई बहिनी प्रतिको दायित्व अझै थियो । बनेपामा भएका आफन्तहरु मेरा निकटका थिए । आमाले ज्याला गरेर पठाएको पैसाले डेरा भाडा तिर्ने, क्याम्पस शुल्क तिर्ने र खाना खानु पर्ने । कठिन भयो । कति पटक क्याम्पसमा साथीहरुसँग खाजा सँगै खान नसक्दा काम छ भनेर दौडिन्थें । कहिले सन्चो छैन भनेर कक्षाबाटै निस्कन्न थिएँ । कतिपटक खाजा पछिको कक्षा नै पढ्दिन थिए । शुरुमा छात्रबृत्तिको कुरा भयो । पछि क्याम्पसले के के भन्यो छात्रबृृत्ति उपलब्ध गराएन । मलाई बीचमै पढाई छाडौ कि जस्तो पनि भयो । धेरै स्थानमा गएर काम खोजें । पाउन सकिनँ । 
    बनेपा बस्न थालेको केहि महिनामै दशंै आयो । तिहार आयो । छठ लगायतका चाडपर्वहरु आए । म घरमा गएँ । त्यो बीचमा मैले पनि ज्याला पानी गरें । दुई महिनालाई खर्च पुग्ने गरी काम गरें । आमालाई केहि हदसम्म सहयोग पुग्यो । तिहार पछि क्याम्पस जाने क्रममा एकजना साथीले पसलमा काम गर्ने प्रस्ताव राख्यो । उ कपडा पसलमा काम गर्दाे रहेछ । मलाई मासु पसलमा काम गर्न भन्यो । शुरुमा दोधारमा परें । पछि काम भन्या जस्तो भए पनि के फरक भयो र ? मासु पसलमा काम गर्न तयार भएँ । मासिक ४ हजार र एक छाक खाना खान दिने सहमति भयो । क्याम्पस गएर सिधै पसलमा जान्थें । उतै खाना खान्थें । बेलुका ढिलासम्म काम गर्थें । केहि महिना काम गरें । आमालाई समेत खर्च पठाउन थालें । खुशी नै हुनुभयो । भाई बहिनीलाई छात्रबृत्ति आउन थाल्यो । पछि मलाई पनि सरकारले छात्रबृत्ति पठायो । त्यसले केहि सहजताको अनुभव भयो । उमेर पनि बढ्दै थियो । आफन्तहरुले मलाई विस्तारै हेप्न थाले । जागिर खाएर प्रगति हुन थालेको देखि सहेनन् । आमा र मेरो अन्य आफन्तहरुलाई मेरा बारेमा अर्नगल प्रचार गर्न थाले । कहिले के भने कहिले के भने । मेरी आमाका बारेमा जस्तो प्रचार गरिएको थियो । ठ्याक्कै मलाई पनि त्यसै भन्न थाले । एकदिन क्याम्पसका साथीहरुले घुम्न जाउ भने । भक्तपुरमा विस्केट जात्रा थियो । त्यसका बारेमा सुनेको मात्रै थिएँ । मेरो पसलमा काम गर्ने दाईहरु पनि हुनुुहुन्थ्यो । उहाँहरुको आफन्त भक्तपुरमा हुुनुहुँदो रहेछ । त्यो रात उतै बसौ भनेकाले हामी सबैजना उहाँहरुको आफन्तकोमा बस्यौं । मोबाईल फोन थिएन । बुडोलमा आफन्तहरुसँगै बसेकाले मेरो खोजी गरेछन् । हामी भोलिपल्ट पनि साँझमा मात्रै आयौं । साँझमा आएर म साथीको घरमा बस्न गएँ । उनिहरुले प्रहरीकोमा म हराएको भनेर मात्रै उजुरी गरेनछन् जसको पसलमा काम गर्छु त्यहि पसलको दाजु सँग भागेको समेत भनेका रहेछन् । उसको छोरी र मेरो उमेर एउटै छ । उसको घरका सबै सदस्य मेरा घरका परिवार जस्तै भएका छन् । सोच्न पनि नसक्ने पाप चिताउँदै आफुसँग बसेको र पैसा समेत कमाउन थालेको पापले मलाई उजुरी गरेका रहेछन् । 
    बनेपामा आउँदा प्रहरीले खोजिरहेको थाहा पाएँ । मलाई डर लाग्यो । कहिल्यै प्रहरीका बारेमा त्यस्तो नसोचेको ब्यक्ति उजुरी नै परेको कुराले अत्यायो । साथीको घरमा लुकेर बसें । यता पसलको दाई पनि डरले भागेछन् । हामी माथी झनै शंका भएछ । विकट क्षेत्रमा आमासँग सम्पर्क हुने कुरा पनि भएन । प्रहरीले ५ दिनपछि मलाई पत्ता लगायो । म आए र सबै कुरा भनें । उसले पनि विश्वास गरेन । तर पनि मैले भएको कुरा बाहेक केहि बनावटी गरेको थिईनँ । त्यो उमेरसम्म मेरो कसैसँग प्रेम पनि परेको थिएन । म भन्दा फरक जातका ब्यक्तिहरुले प्रेम प्रस्ताव राख्थे । तर मैले मान्दिन थिएँ । शुरुमा उनिहरु मेरो अनुहार हेरेर प्रेम गर्थे पछि थर थाहा पाए पछि आफै पाखा लाग्थे । त्यो कुराले मलाई केटा मान्छेहरु प्रति घृणा लाग्थ्यो । दया लाग्थ्यो । उमेर र यौवनलाई शारिरीक प्रेम गर्ने पुरुषहरुले थरका आधारमा किन अस्वीकृत गर्छन् ? प्यास मेटाउँदा आवश्यक हुने त्यहि शरीर सधै स्विकार्न तयार हुँदैनन् । प्रहरीले मलाई पठाउन आफन्त खोज्यो । कोेहि थिएन । आफन्त भनिनेहरुले गरेको त्यो हर्कतका बारेमा कहिल्यै विर्सन सक्दिन । उनिहरुले त मेरो अनुहार समेत हेर्दिन भने । पसलको दाई जसले मलाई त्यो काम गर्ने अवसर दियो । उसको परिवारले पनि मेरो बारेमा बुझेको थियो । अनाहकमा उहाँहरुले पनि दुःख पाउनु भयो । मानसिक र शारिरीक दुबै तनाव ब्यहोर्नु भयो । उहाँ फर्किएर आउनु भयो । मेरो जाने स्थान कतै भएन । मलाई अभिभावकत्व ग्रहण गर्ने मान्छे भएन । प्रहरीले पनि एउटा नाटक रच्यो । गाउँको चिनेको एकजना तामाङ समुदायका ब्यक्तिलाई मेरो नजिकको नातेदार बनायो र बुझाई दियो । मसँग थोरै पैसा थियो । क्याम्पसको परीक्षा पनि छुटेको थियो । फाईनल नभएकाले समस्या केहि त भएन । सिधै म घर गएँ । 
    आमालाई सबै कुरा सुनाएँ । आमालाई सबै कुरा सुनाए पछि उहाँ भक्कानो परी रुनु भयो । मैले हार मानिनँ । बनेपा आएँ । डेरा खोजें । केहि रकम उहाँहरुकै परिवारसँग ऋण लिएँ । उहाँहरुकै आश्रयमा मासु पसल राख्ने योजना बनाएँ । आमा, भाई र बहिनीलाई समेत बनेपामै ल्याएँ । म विहान क्याम्पस जान थालें । जस्ताको सानो टहरा बनाएर हामीले मासु पसल शुरु ग¥यौं । दिउसो भाई बहिनी विद्यालय जान थाले । आमा र मैले पसल चलायौं । विहान बेलुका भाई बहिनीले सहयोग गर्न थाले । केहि वर्षको यातना र पीडा विस्तारै हामीले भुल्दै गयौं । मैले आमाको खुशीका लागि विवाह पनि गरें । उहाँ कुनै संस्थामा काम गर्नु हुन्थ्यो । हाम्रो बास्तविकता बुझेकै कारण मलाई सहज भयो । उहाँ संस्थामा जागिर खानु हुन्छ । हामी पसल गर्छाैं । दैनिक ८÷९ हजार ब्यापार हुन थालेको छ । केहि रकम नाफा हुन्छ । त्यसबाटै घर खर्च चलेको छ । उमेरमा आमाले चाहेर पनि पुरा गर्न नसक्नु भएका रहरहरु पुरा भईरहेका छन् । सहनुको विकल्प थिएन र छैन पनि । आफन्त र समाजले दिएको चोटले साँच्चै ढुृङ्गा भए शालिकराम बनिसक्थ्यो होला हाम्रो मन । तर पनि थामिएको छ । अडिएको छ । आँशुका भेलले चप्लक्क हुँदा समेत हार नमान्ने मेरी आमा संसारकै महान हुनुहुन्छ । आफन्तले फसाउन खोज्दा हरेश नखाने मेरो मन र साहस पनि कम छैन । हेरौ खुशी, दुःखी ठुलो कुरा होईन । इमान्दारीता र संघर्ष नै महत्वपूर्ण रहेछ । समय आउँछ पर्खन सक्नुपर्छ । भगवानले सबै कुरा देखाउँछन् । रात परेपछि अवश्य दिन आउँछ । 

सम्झना विश्वकर्मा
सिन्धुली
हाल बनेपा, काभ्रे