2019 October 17/ 12:53: 20am

मेरो देश नेपालको दुर्दशा आज विश्व समुदायले नियाली रहेछ । शान्ति भूमि ! गौतम बुद्धको देश शान्ति क्षेत्र नेपाल ! विश्वमा शान्ति ल्याउने अभियानमा जुटेर विदेशमा युद्धरत दुई देशको बिचमा शान्ति सेना पठाएर नेपाली सेनाले पाएको कीर्तिमानहरू कहाँ पुग्यो ? कैयौँ देशका नागरिकहरू स्वतन्त्र रूपमा नेपाल भूमि हिमाल, तराई ,पहाडको कन्दरा कन्दरामा निर्धक्क पैदल भ्रमण गर्थे । विदेशी नागरिक एडमन हिलारीले नेपालीको साथ पहिलो सगरमाथा चढेको थियो । शान्ति क्षेत्र नेपाल भनेर विदेशी राष्ट्रहरूले हस्ताक्षर गरेको कुरा अब इतिहास मात्र सीमित भएको छ । आज हाम्रो देशमा भै रहेको गतिविधिले देश विदेशका आम मानिसहरू छक्क पर्न थालेका छन् । आन्दोलन गरेर परिवर्तन खोज्ने हामीले परिवर्तन भनेको के हो ? हामीले बुझ्न सकेका रहेन छौ । परिवर्तको लागी नागरिकहरू नै परिवर्तनशील हुनु पर्ने रहेछ । हामी आफू परिवर्तन नभई देशलाई परिवर्तन गर्न खोज्यौ । नेताहरूले देश लाई स्विजर ल्याण्ड, सिङ्गापुर बनाउने घोषणा गरे । हामी नेपाली जनताहरू आफै परिवर्तन हुने कोसिस भने गरेनौ । हामीले सन्तानलाई शिक्षा दियौ । संस्कार दिएनौ ! आवश्यकता भन्दा बढी माया र्गयौ । जिम्मेवारी दिएनौ । यात्रा गर्दा नातिनी महिला सिटमा बस्छिन् । हजुर बुबा गाडीको ढोका मै उभिएर बस्नु हुन्छ । त्यसलाई हामीले महिला आरक्षण भन्यौ । हिन्दु संस्कारमा जन्मेर गाई खान पाउनु पर्छ भने त्यसलाई हामीले धर्म निरक्षपेताको नाम दियौ । जागिर खान जात ,धर्म पिछडिएका भने, त्यहाँ राजनीतिक भाग बन्दा भयो । त्यसलाई हामीले आरक्षण भन्यौ । सहिदको नाममा परिवारहरूलाई जागिर, पद र प्रतिस्था दियौ । त्यसलाई हामीले बलिदान भन्यौ । फिल्मका हिरोइनहरू जस्तै मोडल बनेर छोरी बेटी नाङ्गीएर हिडन थालिन् । पुरषहरुको पापी नजर भन्यौ । त्यसलाई पनि नारी स्वतन्त्रतामा राख्यौ । समाजमा हत्या, हिंसा, बलात्कारका घटनाहरू बढ्न थाले हामीले यसलाई अशिक्षा र चेतनाको कमी भन्यौ । यसरी हामीले सबैलाई परिवर्तनको संज्ञा दियौ । वास्तवमा यो परिवर्तन होइन परिवर्तन थिएन अराजक थियो । अराजकमा देश विकास भएन बिक्रिती भित्रियो । यही बिक्रितीले आज देश बिनाश तिर धकेलिदैछ । हामी भन्छौ ! देश नेताहरूले बिगारेका हुन् । अब जनताहरूले पनि सोच्ने बेला भयो । हामीले परिवर्तन भनेर आन्दोलन र्गयौ । प्रजातन्त्र भन्दै बहुदल ल्यायौ । लोकतन्त्र, जनतन्त्र , हुँदै गणतन्त्र सम्म पुग्यौ आखिर देशमा परिवर्तन के भयो ?

सतीले सरापेको देश ! यहाँ काम गर्नेले जस पाउँदैन ! भन्ने जन गुनासो छ । व्यवस्था फेरिए ! वाद फेरिए ! राजा फेरिए ! राज फेरिएन ! जुन जोगी आए पनि कानै चिरिएको । छोटो समयमा देशमा राजनितिक सत्ता परिवर्तनले व्यवस्था फेरिए पनि राज्यको संरचना र नीतिहरू फेरिएन ! गुनासो गर्नेहरू थाके होलान् । राज्य चलाउने शासकहरू कहिल्यै थाकेनन् । राज्यको ढुकुटी सुके । कर प्रणालीले जनता मरे । करका ठेकेदार पुजारीको मन पग्लेन । जनतालाई न्याय दिने न्याय मूर्तिहरू नै विवादित र रोगले ग्रस्त छन् । आम नागरिकले न्यायको आभास पाउने कहिले ? देशको ढुकुटी नेता सभासद् मन्त्रीहरूको लागी विलासिताका सुबिधा एबं तलब भत्ता मै सीमित छ । देश विकासको अनुभूति जनताले कसरी पाउने ?

जनताले चुनावबाट चुनेका म गर्छु भन्ने नेताहरू धेरै देखियो सबैले पालैपालो सत्ता उपभोग गरे आखिर देशमा के परिवर्तन भयो ? सत्तामा बस्दा हरेक विकास हामीले गरेका हौ भन्ने नेताहरू जनताबाट अहिले यति तल सम्म उपेक्षित हुँदा पनि चाल पाउदैन् । गणतन्त्रको सम्मको यात्रामा नेपाली जनताहरूले के पाए ? के गुमाए ? गुमाएकाहरूको हिसाब लेखाजोखा छैन । सुनी दिने कानहरू छैन । बोली दिने कुनै निकाय छैन । आफ्नो विगतलाई सम्झेर आफुले गरेको बलिदानलाई धिक्कार्नु बाहेक कुनै विकल्प छैन । आज आफ्नै देशमा पीडित भएर युद्धमा हिम्मत हारेको सिपाही झैँ दिक्क भएर देशको वर्तमान अवस्थालाई स्विकार्नु परेको छ । देश विकासका अभिभारा बोकेका देशलाई सिङ्गापुर र स्विजरल्याण्ड बनाउँछु भन्ने भीष्म पिताम्मह कता पुगेँ । देश बिग्रनुमा तिम्रो पनि हात छ । आज देश बिग्रँदै जानुमा तिम्रो पनि स्वार्थ गाँजिएको छ । आज देशलाई खण्डहरमा पुर्याउनुमा हामी आफै पनि दोषी हौँ , भनेर स्विकार्ने कहिले ? सत्ताको लोभमा खिचातानी गरी जनताहरूलाई झुलाई रहने आफ्नै स्वार्थको सरकार चलाउन दाउमा लागी परि रहने ! भीष्म भएर अन्तिम अवस्थामा बाणको तिरमा सुतेर अब तिम्रो दिप्य उपदेश नेपालीले सुन्न चाहेका छैनन् । आफ्नो लाई हैन योग्य व्यक्तिलाई सरकार हस्तान्तरण गर्नु पर्ने अवस्था आएको छ । के नेपालीहरू सचेत भएर जाग्न सकिँदैन ? यो देशको ढुकुटी नेताहरूले पाएको अबुतालीको सम्पत्ति हो ? देशलाई सधैँ लैंनो भैँसी सम्झेर दुहुनेहरूको लागी यो परिवर्तन कहिले सम्म हो ?

विगतमा यो देशमा बोल्ने , नबोल्ने , पढेका , नपढेका , विद्धान सन्त त्यागी नेता देखी जनयुद्धका कमाण्डरहरुले समेत यो देश चलाउँदा समेत प्रगतीपथमा लाग्न सकेन ! आखिर किन ? म गर्छु भन्ने नेताहरू सत्तामा पुगेर देश चलाउन सक्षम देखिँदैन । पराईलाई दोष दिएर उन्मुक्ति कहाँ पाइन्छ ? संसद् सदन र खुलामञ्च र चुनावमा जनताको घर दैलोमा पुगेर जनता सामु गरेको बाचाहरुमा नेता ज्युहरूले ध्यान दिन सकेन । नेता भएर कि गरी छोडेन कि मरी जाने ! आफ्नै ज्यानको समेत पर्बाह नगरी देशको लागी समर्पण गरी नपत्याएको नसोचेकोको अपत्यारिलो योजना बुनेर जनताको घर दैलोमा पुगेको नेताले अब केही गर्छ कि भन्ने थियो । किन हो राम्रो काम गर्नेलाई आफ्नै पार्टी भित्रका सहयोगी साथीहरूले समेत सहयोग नगर्ने परिपाटी कहाँ बाट विकास भयो । बनी सकेको संविधान कसरी तुहियो ? अनेकौँ प्रश्न वाचक भरिएको कैयौँ सफलताको काममा किन भयो प्रतिशोधमा प्रतिरोध ! धेरैले बुझ्न सकेका छैनन् । पार्टी एकीकरण असम्भवलाई पनि के.पी.ओलीले सम्भव बनाई दिए । दुई तिहाइको बहुमत भएको सरकारले देशमा आमूल परिवर्तन गर्नेछ । गुण्डागर्दी, भष्ट्राचारी, न्यायाधीश प्रकरणमा समेत हात हालेको सरकार सुन तस्करी र हवाई प्रकरण र निर्मला काण्डको शिथिलताले देश चलाउने साँचो सरकार प्रमुखमा नभएको भान भएको छ । दन्डहिनताले अपराधी अत्याचारी, भ्रष्ट्राचारीहरूको मनोबल बढ्दै गएको पाउँछौ ।

मान्छे नाङ्गो हात जन्मेर , मरे पछि सँगै के लान पाउने हुन् ? नेताहरू तिमीहरूले के बोकेर आएका थियो हिजो चप्पलको जिन्दगी आज आलिसान महल भएको छ । कहाँ बाट आयो संम्पती ? कहिले सम्म सत्ता र सम्पत्तिको मोह ! जनतालाई गुमराहमा राखेर जोडेको सम्पत्तिले सधैँ साथ दिने छैन । नागार्जुनको राजालाई धपाउने कुरा गर्दछौ किन ? जनयुद्धको कमान्डर भएर पनि कति डरपोक रहेछ । जनयुद्धको उपलब्धि “ राजा फालेर महाराजा पाल्ने होइन “ किन दाह्रा नभएको बाघ (राजा ) देखी तर्सिएर आफैले गर्दा आफैलाई चिन्ताले चित्तामा र्पुयाउने हो की ! जनताहरूले पनि सोच्न र विकल्प खोज्न थालेका छन् । देशका होनहार युवा शक्ति विदेश पठाएर देशमा विकास हुन सक्दैन । आफ्नै पौरखले देशको माटो सिन्चित गर्नु पर्दछ । फर्क है फर्क नेपाली सन्तान हो ! विदेशी भूमिमा पसिना बगाएर नेपाली माटोलाई मरुभूमि बनाउदैछौ । आफ्नै देशमा रोजगारी खोजौँ ! देश बनाउने ठेक्का नेताहरूले मात्र बोकेका छैनन् । देश बनाउने जिम्मेवारी हामी नागरिकहरूको कर्तव्य पनि हो ।

सत्ता भोगी नेताले राजालाई धपाउने र एकलौटी महाराजा बन्ने सोच कसरी राख्यो होला । फर्केर हेर तिम्रा हितैषी साथीहरू र जनयुद्धमा साथ दिने निस्स्वार्थ योद्धाहरूको हबिगत ! के तिनीहरूले परिवर्तनको आभास सम्म पाएका छन् । हिजोका राजाले नेपाली जनताले दूध भात पनि खान पाएन भन्थे रे ! दरबार भित्रका राजा जनताको समस्याबाट टाढा थिए । आजको नेताहरू पनि देशको जनताको समस्या र चाहना नबुझी कुहिरो भित्रको काग कराए झैँ कराई राखेका छौ ! प्रश्न आफै तिर मोडी सक्यो । राजा को हो ? महाराजा को हो ? जन्म सँगै युवराज भएर जन्मेका राजा हुन । कसैको हक अधिकार खोसेर राजा भएका होइनन् । कर्मको फलले गर्दा नारायण हिटीबाट नागार्जुन पुर्यायो । सहेर बसेका छन् ।अब फेरी नेताहरूको कमजोरीमा चलमलाउन थालेको छ । नेताहरूबाट आजित भएका प्रजाले साथ दिन थाल्नेछ । अब के हुने हो समयले देखाउने छ । यो देशमा नेताहरूले जनता र भगवानमा पनि विश्वास गर । समयले सबैलाई सधैँ साथ दिँदैन । भाग्य पनि सधैँ आफ्नोमा पक्षमा हुँदैन । कर्मको फल पापको दण्ड भगवानको लिलाले पनि देखाएको हुन्छ । यो सतीले सरापेको देश होइन रहेछ ! बरु पोइ मरेको देश भएको छ ! सतीले उन्मुक्ति पाएको राज्य भएको छ !