2019 August 19/ 11:40: 04am

— मीना गुप्ता 
नारी ईश्वरको अद्भुत रचना हो । नारीलाई देवीको प्रतीक मानिएको छ । नारी रचनाको खानी हो । नारीले नौं महिनासम्म बच्चालाई आफ्नो गर्भमा राख्छिन् । नांै महिना पश्चात बच्चाको जन्म दिन्छिन् र हुर्काउँछिन् । जन्म र पालनपोषणको साथसाथै संस्कारले आफ्नो बच्चालाई श्रृङ्गारले कार्य पनि गर्दछिन् । आफ्नो बच्चाको खुशी हेर्दा प्रसुतीको व्यथा समेत बिर्सने गर्छिन् । अतः नारीले यस संसारमा रचना अर्थात सृजनाको भार बहन गर्छिन् । त्यसकारण नारी साच्चै नै महान हुन्छिन् । 
हाम्रो पितृसत्तात्मक वा पुरूष प्रधान समाजले नारीको साहस, सक्षमता र योगदानलाई रत्तिभर पनि सराहना गरेको पाइदैन । दुई चार नारीले उच्च पद हासिल गर्दैमा सम्पूर्ण नारीको परिवेशलाई औल्याउन सकिन्न । केही नारीहरूले आफ्नो सही मूल्याकंनको आधारमा नाम र प्रसिद्धि कमाएका छन् भन्दैमा सम्पूर्ण नारीलाई मापन गर्न कदापी मिल्दैन । अझ पनि हाम्रो समाजमा नारीको अवस्था दयनीय छ । हाम्रो समाज नारी हिंसाले ग्रसित छ । नारीले पाउने अधिकार र सम्मानमा अझ पनि कमी कमजोरीहरू छन् । 
महिला आरक्षण दिँदैमा नारीलाई मूल प्रवाहमा समावेशीकरण गर्न सकिन्न । केहीलाई सकिएला तर सम्पूर्णलाई कदापी होइन । महिलालाई आरक्षण होइन, अवसर चाहिन्छ । महिला पुरूषभन्दा कम क्षमतावान हुँदैनन् । महिलालाई आरक्षणमा मात्र सीमित गर्नु भनेको महिलाभित्रको क्षमतालाई उजागर नगर्नु हो । महिलाई आरक्षणको साटो आत्मनिर्भर बनाउनेतिर खालका योजनाहरू ल्याउनुपर्छ ।
घरको कामको बोझ, बच्चाको पालनपोषणको जिम्मेवारी, घरायसी समस्या आदि इत्यादीको बोझ हुँदाहुँदै पनि नारीले भ्याएसम्म अग्रता हासिल गर्ने कोशिसमा लागि रहेकै छिन् । तर पनि उसैलाई पाखा लगाउने प्रवृत्ति बढ्दो छ । यदि यस्तो नभएको भए पटक पटक नारी हिंसाका घटनाहरू दोहोरिने थिएन होला । कहिले बलात्कार त कहिले मरन्नासन्न हुने गरि कुटपिट, कहिले जिउँदै जलाउने प्रयासहरू भइरहेका छन् । 
वीरगन्जमा सुनिता यादवलाई उनकै श्रीमान डा.सचितानन्दले मरन्नासन्न हुनेगरि कुटपिट गर्नु र अस्पतालमा मृत्यू हुनु तथा सिरहाको कल्याणपुरमा कंचन मण्डललाई जिउँदै जलाएर मार्नु यस्ता नारी हिंसाका ताजा घटनाहरू उदाहरणहरू छन् । अझ निर्मला पन्तको बलात्कार पछि हत्याले त झन् मर्माहित तुल्याएको छ । यी सबै नकारात्मक सोच र रूढीवाढी परम्पराका उपजहरू छन् । बेतलबी नौकरको रूपमा नारीलाई लिने प्रयास गरिएको छ । दिनभरि काम गर्ने तर खाना खाने बेलामा सबैभन्दा पछि खानुपर्ने रे, कहिलेसम्म नारीलाई थिचेर राख्ने हो यो समाज ? नारीलाई तुच्छ ठान्ने रोगी समाजलाई जरैदेखि उखालेर फाल्नुपर्दछ । 
तराई मधेशमा खासगरी दिनहुँ महिला हिंसाका घटनाहरू बाहिर आउने गरेका छन् । तराई मधेशमा दाइजो प्रमुख कारकको रूपमा देखिएको छ भने पहाडमा पनि विभिन्न किसिमका महिला प्रताडनाहरू हुन्छन् । मधेशमा महिला हिंसाको प्रमुख कारण दाइजो प्रथालाई मान्न सकिन्छ । तराईतिर यो समस्या बढी देख्न पाइन्छ । छोरीलाई बिहे गर्दा दाइजो दिनुपर्ने अवस्था छ । जसले गर्दा छोरीलाई राम्ररी पढाउन पनि गाह्रो छ । अझ छोरीलाई बढी पढाएमा बढि दाइजो दिनुपर्ने अवस्थाको सृजना भएको छ । बरू कम पढाएमा कम दाइजो दिनुपर्छ भन्ने मानसिकता देखा परेको छ । यसले गर्दा महिला शिक्षामा ह्रास आएको पाइन्छ । यति मात्र कहाँ हो र दाइजो तिरिसकेपछि पनि छोरीलाई सुख छैन । उल्टै उसलाई मानसिक तनावको सामना गर्नुपर्दछ । 
यसैगरी, पहाड तथा हिमालमा पनि दिनहुँजसो महिला हिंसाका घटनाहरू हुने गरेका छन् । त्यतातिरका घटनाहरू त्यति सार्वजनिक हुँदैन । पहाडमा सबभन्दा बढी प्रताडित छन् महिलाहरू छाउ प्रथाबाट । छाउगोठमा बस्दा कतिपय महिलाहरूले अकालमै ज्यानसमेत गुमाउने गरेको घटनाहरू पनि बाहिर आएकै छन् । त्यस्तै, बलात्कारका घटनाहरू पनि धेरै हुने गरेका छन् । त्यस्ता सामाजिक अपराधीहरूलाई कडाभन्दा कडा सजाय दिनु पर्दछ । 
महिला हिंसाविरूद्ध नेपालको संविधानमा पनि कडा कानूनहरू छन् । तर के ती कानून आइसक्दा पनि महिला हिंसा न्यूनीकरण भएको छ त ? किन संवैधानिक अधिकार महिलाले उपयोग गर्न सकिरहेका छैनन् ? बोक्सीको नाममा महिलामाथि हिंसा गर्नेलाई कानूनी कारबाही हुने भनिएको छ तर किन भइरहेको छैन ?
यो एक्काइसौं शताब्दीमा महिला र पुरूष, छोरा र छोरीबीचको भेदभाव अहिले पनि समाप्त हुन सकिरहेको छैन । नारी पुरूषभन्दा पनि बढी सक्षम हुन्छिन् भन्ने कुरा विज्ञानले पनि सावित गरेको अवस्थामा नारीलाई तुच्छ ठान्ने जो कोहीलाई पनि माफ गर्न सकिन्न । 
म स्वयं नारी भएको नाताले नारीको पीडाको बारेमा बारम्बार सामाजिक संजालबाट थाहा पाउँदा सहन गाह्रो महसुश भएको छ । नेपालमा सामाजिक सञ्जालको विकास भएसँगै यस्ता घटनाहरू बाहिर बढी आउने गरेको देखिन्छ । 
नारीमाथि भएको अत्याचार, हिंसा, शोषण आदिको विरूद्धमा हामी सम्पूर्ण नारी एकजुट भएर आवाज उठाउने बेला आएको छ । घर घरमा यस्ता नारी हिंसाका घटनाहरू घटिरहेका छन् । आज अरूसँग घटेको छ भने भोली हामीसंग पनि घट्न सक्छ । त्यसकारण त्यस्ता सामाजिक अपराधीहरूलाई बेलैमा खबरदार गर्नुपर्दछ । स्वयं नारीले पहिले त्यस्को प्रतिकार गर्नै पर्दछ । 
नारी सहनशिलताको अझ परीक्षा नलेउ भनेर सबैलाई होसियार गर्नु पर्दछ । तसर्थ, समयमै नारी हिंसाको अन्त्य गर्नुपर्दछ नत्र भने हाम्रो समाज विकृतीको बाटोमा पुगी रोगी हुनेछ । सम्बन्धित पक्षहरू, जसले नारी हिंसाको रोकथाममा आफ्नो योगदान पु¥याएका छन् । तिनीहरूको पनि उतिकै खाँचो छ । हाम्रो सरकारले पनि कडाभन्दा कडा कानुनको व्यवस्था गरी नारी हिंसाका घटनाहरूलाई रोक्ने प्रयास गर्नुपर्ने देखिन्छ । हुन त सरकारले महिला हिंसाका विरूद्ध कानूनहरू नल्याएको होइन, तर ती कानूनहरू सशक्तरूपमा कार्यान्वयन भएको छैन । कानून जस्तोसुकै आएपनि कार्यान्वयन नभएसम्म त्यसको कुनै महत्व हुँदैन । तसर्थ, नारीको विभिन्न रूपहरू हुन्छन् । सम्मान गर्ने बानी बसालौं । (लेखिका महिला अधिकारकर्मी हुन्) (मधेश दर्पण फिचर सेवा)