2019 October 17/ 01:26: 45am

केशवप्रसाद तिमल्सिना
    नेपाल सरकारद्धारा जारी गरिएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५ ले व्यवस्था गरेका ७ वटा सहुलियतपूर्ण कर्जा मध्ये वैदेशिक रोजगारबाट फर्कि स्वदेशमै रहेर केहि गरौं भन्ने युवाहरु लक्षित गरी ल्याइएको एउटा कर्जा हो । 
कर्जा प्राप्त गर्न योग्य व्यक्तिहरु
    उक्त कार्यविधि अनुसार योग्यता पुगेका व्यक्तिहरुलाई मात्र सबै बैंक, विकास बैंक र वित्त कम्पनीहरुले रु. १० लाखसम्म कर्जा दिन सक्ने व्यवस्था गरिएको छ । खासगरी विदेशमा जुन सिप सिकेर आएको छ त्यहि कामसँग सम्बन्धित लघु उद्यम÷व्यवसायमा मात्र यस किसिमको कर्जा प्रदान गर्ने प्रावधान रहेको छ । विदेशमा कम्तीमा ६ महिनाभन्दा बढी अवधि बसेर स्वदेश फर्केको ३ वर्षभन्दा बढी अवधि नभएको व्यक्तिले मात्र यो कर्जामा आवेदन दिन सक्नेछन् । अर्काे महत्वपूर्ण कुरा यो अनुदान नभई सहुलियतपूर्ण कर्जा मात्र भएको हुँदा उद्यम÷व्यवसाय गरेर तिर्न सक्ने क्षमताको विश्लेषण गरेर मात्र सम्बन्धित बैंक, वित्तिय संस्थाले कर्जा स्वीकृत गर्न सक्दछन् । 
सहुलियतको व्यवस्था
    यो कर्जामा बैंक÷वित्तिय संस्थाहरुले आफ्नो अधार दरमा २ प्रतिशत भन्दा बढी नहुने गरी व्याजदर तोक्न पाउँदछन् । त्यस्तै कुनैपनि किसिमको सेवा शुल्क लिन पाइने छैन । कर्जा अनिवार्य रुपमा कर्जा सुरक्षण कोषमा सुरक्षण गर्नुपर्दछ र बीमायोग्य व्यवस्था भएमा बीमा पनि गरिएको हुनुपर्दछ । यसरी कर्जा सुरक्षण र बीमा गर्दा लाग्ने शुल्कको ७५% राष्ट्र बैंक मार्फत अनुदानस्वरुप प्राप्त हुने व्यवस्था गरिएको छ । कर्जा सुरक्षण शुल्कको बाँकी २५% सम्बन्धित बैंक वित्तिय संस्थाले र बीमाको २५% बराबरको प्रिमियम सम्बन्धित ऋणीले व्यहोर्नु पर्दछ । यसरी कायम भएको व्याजदरमध्ये ५% नेपाल सरकारबाट राष्ट्र बैंक मार्फत व्याज अनुदान प्राप्त हुने व्यवस्था रहेको छ । यस्तो अनुदान सम्बन्धित ऋणीले नियमित किस्ता तिरी रहेको अवस्थामा मात्र प्राप्त हुनेछ । यस्तो कर्जामा पान नं. अनिवार्य गरिएको छ । तर धितो अनिवार्य गरिएको छैन ।
वैदेशिक रोजगार बोर्डमा दर्ता भएको विषय
    वैदेशिक रोजगार बोर्डले सूचना प्रकाशित गरी विदेशबाट आई स्वदेशमै रोजगार गरी बस्न चाहनेहरुको विश्लेषण गर्ने उद्देश्यले तथ्यांक लिएको देखिन्छ । यसरी त्यहाँ सूचिकृत व्यक्तिहरु कर्जाका लागि राष्ट्र बैंकतिर धाईरहेको देखिएको छ । राष्ट्र बैंकले नेपाल सरकारले स्वीकृत गरेको उक्त कार्यविधि जारी गरी सो बमोजिम हुने गरी देशभरीका जुनसुकै शाखाबाट कर्जा पाउने गरी व्यवस्थ ागर्न सबै इजाजतपत्र बैंक, विकास बैंक, फाइनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ । त्यसैले सम्बन्धित व्यक्तिहरु आफ्नो घर नजिकको बैंक÷वित्तिय संस्थामा गएर सहुलियत कर्जा बारे जानकारी लिने र कार्यविधि बमोजिमका कागजात तथा कर्जा उपभोग गरी स्वरोजगार बन्नेतर्फ लाग्नु उपयुक्त देखिन्छ । कुनैपनि बैंक वित्तिय संस्थामा सम्पर्क गर्न जाँदा यस सहुलियतपूर्ण कर्जाको व्यवस्था बारेमा जानकारी नदिएमा त्यहाँको कर्जा हेर्ने प्रमुख वा शाखा प्रमुखको नाम नै तोकेर राष्ट्र बैंक, गुनासो सुनुवाई फाँटमा (फोन नं. ४४१९८०४÷८०५÷८०७ एक्सटेन्सन नं. १८१ ÷१७३) मा उजुरी गर्न सकिने व्यवस्था गरिएको छ । स्मरण रहोस् वैदेशिक रोजगार बोर्डमा दर्ता भएकाहरुले पनि नियमपूर्वक आफ्नो नजिकको बैंकमा नै सम्पर्क गर्नु उचित देखिन्छ । त्यहाँबाट दिएको सूचीकृत पत्र केवल सूचीकृत भएको निस्सा मात्र रहेको देखिन्छ ।
(लेखक नेपाल राष्ट्र बैंकमा उपनिर्देशक पदमा कार्यरत छन्)