2018 October 18/ 06:01: 24am

    विद्यालय एउटा यस्तो ठाउँ हो जहाँ हजारौँ विद्यार्थीहरु शिक्षाको न्यानो घामको माध्यमबाट अन्धकार हटाउँदै सुनौलो भविष्य निर्माणको लागि आउने गर्छन । अझ भनौँ, विद्यालय शिक्षाको पवित्र मन्दिर हो जहाँ कैयौ सरस्वतीका भक्तहरु ज्ञानको भोक मेटाउन आउने गर्छन । अर्काे अर्थमा विद्यालय त्यस्तो सुन्दर बगैँचा हो जहाँ सुन्दर फूलहरु फुलाउन मालीहरु अहोरात्र खटिरहेका  हुन्छन् । तर यस्तो पवित्र ठाउँलाई पनि राजनैतिक अखडा बनाउनु अत्यन्तै दुखद् ,घृणित र लज्जास्पद कुरा हो । 
    साँच्चै आजभोलि विद्यालयमा शैक्षिक थलो भन्दा पनि राजनैतिक नर्सरी सावित भएको छ । विद्यालयमा शिक्षा प्राप्त गरी सुनौलो भविष्य निर्र्माणको महान अभिलाषा बोकेर आउने कैयौँ स साना बालबालिकाको जीवनमा तुषारापात भएको छ । विद्यालयमा विद्यार्थीहरुको निर्वाद रुपमा पढ्न, लेख्न पाउनुपर्छ । शिक्षकले पनि विना अवरोध पठनपाठन गर्न पाउनुपर्छ । तर आज यो अवस्था नै छैन। कहिले कसले बन्द तथा शैक्षिक हड्ताल गर्छ कुनै ठेगान नै छैन। विद्यालय हिँडेका शिक्षक विद्यार्थी बीच बाटैबाट तथा विद्यालयमा पुगेर फर्कनुपरेको तितो अनुभव हामी सितै छ । कहिलेकाहीँ पढाई चलिरहको बेला फोनबाट समेत विद्यालय तुरुन्त बन्द गर भनेर धम्की आउँछ । यो या त्यो नाममा विद्यालय बन्द, शैक्षिक हड्ताल गरिन्छ , अनाहकमा निर्दाेष बालबालिकाहर पढ्न, लेख्नबाट बञ्चित हुन्छन् । जसको
जे माग पूरा गर्न पनि शैक्षिक हड्ताललाई निर्विकल्प अश्त्रको  रुपमा प्रयोग गरिँदै आएको छ । जसले विद्यार्थीहरुको शिक्षा पाउने मौलिक हकमा ठाडो प्रहार गरेको छ । 
    नेपाल सरकारले २०६८ जेठ ११ गते विद्यालयलाई शान्ति क्षेत्र भनी घोषणा गरको थियो । यसमा नेपालका प्रमुख राजनैतिक दलका शीर्षष्थ नेताहरुले पनि विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न प्रतिबद्धता जनाएका थिए । तर विडम्बना आज ७ बर्ष पूरा भइसक्दा पनि उक्त घोषणा कार्यन्वयनमा नआएकाले समस्या जिउँका तिउँ छ । अझ दुःख लाग्दो कुरा त के हो भने विद्यार्थीको हक हितका लागि गठन भएका भनिएका र विद्यार्थीका अधिकारको चर्काे नारा लगाउने कथित विद्यार्थी सँगठनले पटक पटक शैक्षिक हड्ताल गरेका छन् । सँस्थागत विद्यालयले शुल्क वृद्धि गरेपनि, पार्टीका कार्यकर्ता तथा नेता पक्राउ परेपनि, शिक्षकको तलब वृद्धि नभएपनि, समयमा शिक्षक सेवा आयोगले शिक्षक विज्ञापन  नखोलेपनि, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएपनि शैक्षिक हड्ताल तथा विद्यालय बन्दको आयोजना गर्नु आज नेपालको फेसन जस्तो भएको छ । यति मात्र नभएर विद्यालय व्यवस्थापन समिति गठनमा पनि राजनैतिक हस्तक्षेप हावी भएको छ । वि.व्य.स. तथा अभिभावक शिक्षक सँघ गठनमा पनि राजनैतिक प्यानल बनाएर साँसदले जस्तो चुनाव लड्ने, भड्किलो खर्च गर्ने कहिलेकाहिँ त विवाद बढेर गोलि हानाहान भएको घटना समेत सार्वजनिक भएका छन् ।
 सरकारले विद्यालयका शिक्षक कर्मचारी आयोग मार्फत स्थायी पदस्थापना गर्न नसक्नु पनि विद्यालय बन्द एवम् शैक्षिक हड्तालको प्रमुख कारणमा पर्छ । एकै विद्यालयमा अनेक थरी शिक्षक कर्मचारी छन् । समान कार्य गर्ने तर सेवा सुविधामा आकाश धर्ती फरक गरिएको छ । एउटै विद्यालयमा उही तहमा काम गर्नै शिक्षकलाई स्थायी, अस्थायी , राहत ,पिसिएफ् , करार, निजी स्रोत जस्ता शिक्षक पदमा नियुक्त गरिएका छन् । सेवा सुविधामा भएको असह्य विभेदका कारण नै प्रत्येक वर्गका अलग अलग युनियनले कहिले कसको त कहिले कसको माग पूरा गर्ने नाममा शैक्षिक हड्ताल, पेन डाउन जस्ता निकृष्ट कार्य गर्नाले निर्दाेष बालबालिका चपेटामा परेका छन् । यतातिर ध्यान पु¥याउने कसले, रोकथाम गर्ने जिम्मेवारी कसको ? राज्यको समेत यसमा यथेष्ट ध्यान पुगेको छैन। 
    अन्याय भयो भन्दैमा आफ्ना माग पूरा गर्न विद्यालय नै बन्द गराउनुपर्ने मान्यता राख्नेको सोच कहिले आउने ? शिक्षक, विद्यार्थी, कर्मचारीका समस्या समाधान गर्न विद्यालय बन्द तथा शैक्षिक हड्तालको थुपै्र विकल्प छन् । सम्बन्धित निकायमा गएर छलफल गरी निराकरण गर्न सकिन्छ । सुनुवाई नभएमा कानुनी उपचार गर्न पनि सकिन्छ । तर यी विकल्पको ख्यालै नगरी शैक्षिक हड्ताल गर्ने गलत अभ्यासको अविलम्ब अन्त गरिनुपर्छ । विद्यार्थीलाई पढाइबाट बञ्चित गर्ने जो सुकैलाई पनि कारबाही गरिनुपर्छ । विद्यालयमा शान्तिपूर्वक पठनपाठन हुन नसकेसम्म विद्यालय शान्ति क्षेत्रको घोषणा निस्प्रयोजन हुन्छ र साथै राज्यको ठूलो लगानी पनि खेर जान्छ । यसर्थ विद्यालयलाई राजनैतिक अखडा बन्नबाट रोकी साँच्चिकै शान्ति क्षेत्रमा परिणत गर्नुपर्छ । जसबाट मात्र आजको विद्यार्थी भोलिको कर्णधारको भविष्य उज्ज्वल बन्न सक्छ । फलस्वरुप देशकै मुहार बदलिन सक्छ । 

माधब प्रसाद पन्त
 पाँचखाल १०, काभ्रे । 
शिक्षक बेलर इन्टरनेशनल एकेडेमी