2025 March 20/ 10:03: 06am

जिएन प्रधान

अहिले राजनीतिक क्षेत्रमा नेकपा एमालेले पूर्व पार्टी उपाध्यक्ष तथा पार्टीका नेता भिम बहादुर रावललाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिएको कुराले धेरै चर्चा पाएकोछ। चर्चा एमाले पार्टी पङ्ग्ती भित्र भन्दा पनि एमाले पार्टी इतरहरूमा निकै चासो उम्लिएको पाइन्छ । यसै पनि नेकपा एमालेलाई के कसरी अथवा कुन कुनाबाट प्रहार गर्दा वा खोइरो खन्दा कमजोर पार्न सकिन्छ भनी पेसा नै बनाइ हिँडेका एमाले बिरोधी पार्टीहरू भनौँ वा ब्यक्तिहरू भनौ उनिहरूको लागि थोरै मात्र भए पनि एउटा राम्रो मसला बनेको छ । कहिले बिना प्रमाण बिना दोषको गिरिबन्धु टि स्टेटलाई लिएर होस कहिले कम्बोडियामा ३२.५ करोड रकम प्रम केपि ओलीले लुकाएर राखेको भन्ने हावादारी वा किर्ते पत्रलाई लिएर होस् अथवा झापाको दमकमा निर्मित नेपालकै नमुना ब्यापारिक भवन निर्माणलाई लिएर मज्जाक उडाउने काम गरिरहेकाहरूका लागि अहिलेको भिम रावलको पार्टी निस्कासनलाई एउटा बलियो मसलाको रुपमा लिईरहेकाछन। 
जसले केही वर्ष यतादेखी एमाले पार्टी नेताको नाममा एमालेले गरेका हरेक सकारात्मक कामहरूलाई समेत नकारात्मक आलोचना गर्ने र पार्टी कमिटी भन्दा बाहिर गएर अर्थात सावर्जनिक स्थानहरूमा गएर वा पार्टी बिरोधी मन्चहरूमा गएर पार्टीको घोर कटाक्ष गर्ने जस्ता कार्यहरू गरेर बिरोधीहरूको गदगदाहत ताली पाउनमा रमाईरहेका थिए पार्टीका क्यान्सर नेता भिम रावल । यसरी पार्टी नेताको नाममा पार्टीकै घोर बिरोध गर्दै हिँड्ने जस्ता गैर जिम्मेवार बनेर पार्टीको सक्दो बिरोध गर्न पुग्ने जस्ता कार्यहरू अति निन्दनीय हुँदा हुँदै पनि एउटा पुराना पार्टी नेताको सम्मान पाई रहेकै थियो र कारवाहिको लागि हदैसम्म लचिलो बनी यो बेलासम्म पर्खिरहेकै थियो। 
यता पार्टी कमिटीको बैठकमा कहिल्यै उपस्थित नहुने, दिएको सूचनालाई कहिल्यै नस्विकार्ने, पार्टी अध्यक्षमा पराजित हुँदा समेत पार्टीले दिएको कुनैपनि पदमा रहन मन्जुर नगर्ने, उल्टै आफू एक्लो राष्ट्रवादी बनेको देखाउन पार्टी नीति विपरीत बोलेर हिँड्ने,पार्टीले आफूलाई अपमान गरेको भनी वकवास गरि हिँड्ने, आफू साँसद रहँदा समेत पार्टीको व्हिप उल्लंघन गरेर बिपक्षी कित्तामा लाग्ने । अझै भन्नू पर्दा एमाले विभाजनको लागि अग्रणी भूमिका खेलेको कुरा समेत विर्सन सक्ने छैन । पछिल्लो समयमा आएर मीन बहादुर गुरुङ्ग जसले आफ्नो स्वामित्वमा रहेको निजी जग्गा नेकपा एमालेलाई कानूनी प्रकृया पूरा गरि जग्गा दान गरेको कुरामा सर्वोच्चले समेत ठिकछ भनी स्वीकृत दिईसकेको अवस्थामा सर्वोच्चको न्यायाधिसभन्दा माथी उठेर सार्वजनिक स्थानहरूमा र विभिन्न मिडियाहरूमा विरोध गर्दै हिँड्नु कतिको जायजछ ? गम्भीर भएर सोच्नै पर्ने भएको थियो । नेकपा एमाले जो नेपालकै पहिलो या दोस्रोको सर्वाधिक ठूलो पार्टी हो । यो पार्टीलाई कमजोर नवनाई अरु पार्टी ठूलो हुन नसक्ने सोचेकाहरूले कुन कुना या छेउबाट हानेर कमजोर बनाउन सकिन्छ भनी सम्पूर्ण राजनीतिक पार्टीहरू  भ्याएसम्मको बल लगाएर आक्रमण गरिरहेको बेला यहि पार्टीका नेता भन्न पछि नपरेका रावलले नेकपा एमाले र पार्टी अध्यक्षको वारेमा जथाभावी बोल्दै हिँड्नुले पार्टीलाई कति फाइदा या घाटा पु¥याइ रहेछ गम्भीर चासोको विषय हो । त्यसैले पनि यो बेला पार्टी भित्रकै नेतालाई प्रयोगमा ल्याई पार्टीको बिषयमा बिरोध गर्न लगाउनुको ठूलो अर्थ लाग्छ । अन्य भिन्न पार्टीका नेताहरूले विरोध गर्नु  खास अर्थ लाग्दैन तर पार्टी भित्रकै नेताहरूबाट पार्टीका आन्तरिक असहमतिका कुराहरू बाहिर छताछुल्ल पार्नु धेरै विश्वसनीय हुनसक्छ र पार्टी प्रती आस्थावान्, समर्थक कार्यकर्ता र जनताहरू भडकाउनु धेरै लाभकारी हुनसक्छ । त्यसैले पनि भिम रावल जस्ता ब्यक्तीलाई पर्दा पछाडिबाट उचाल्न पाउँदा धेरै हौसला प्राप्त हुनसक्छ । चाहे माओवादीका समर्थक होस, चाहे रास्वपाका समर्थक होस् अथवा दुर्गा प्रसाईंको लहैलहैमा लागेर होस वा काठमाण्डौ महानगरका मेयर बालेन साहको समर्थक बनेर यो पार्टीलाई कमजोर बनाउन प्रयत्नशील रहेकालाई रावलको यो प्रवृत्तिले धेरै बल मिल्दैथियो ।
यतिसम्म कि गरिएका राम्रा कामको समेत सक्दो नकारात्मक आलोचना गर्न कुनै कसर बाँकी राखेका छैनन् । अझ भन्ने हो भने एमाले पार्टी नेताको नाममा हरदम पार्टीकै विरोध गर्दै र खोइरो खन्दै हिंड्ने ब्यक्तिलाई पार्टी नेता मान्न सकिन्नथ्यो अहिले पार्टीले भिम रावल माथी गरिएको पार्टीबाट निष्काशनको कारवाही पार्टीको लागी अति आवश्यक थियो ढिलै भए पनि यो कारवाही गरेर ठीक गरेकोछ । अहिले उनको पछि लागेर जानेहरू पनि यसैका अराजक मतियारहरू भएकोमा कुनै शन्क्कै छैन । जसले पार्टीलाई थप नोक्सानी पु¥याउनबाट जोगाउने काम गर्दछ । यद्यपि बिगतको विद्यार्थीकाल देखिको पार्टीको लागि गरिएको योगदानलाई हेर्ने हो भने त्यति नराम्रो वा खराब ब्यक्ति थियो भन्न मिल्दैन पनि । चाहे विद्यार्थी क्षेत्रमा आफ्नो तार्किक वक्ताको रुपमा मञ्चमा उभिन होस् पार्टी क्षेत्रमा सुदुर पश्चिम कमाण्डिङ्ग गर्नमा होस् अहम् भूमिका निर्वाह गरिएकोमा बिर्सन मिल्दैन । यहि भूमिका र पश्चिम नेपालको खम्बाको मान्यता स्वरुप पार्टीमा पनि उपाध्यक्षसम्मको पद प्राप्त गर्न सफल भएकै हो । पटक पटक पार्टीबाट टिकट प्राप्त गरेर बिजयी हुनुको साथै उप–प्रधान मन्त्रीसमेत बन्ने अवसर पाए । झण्डै आधा दर्जन विभिन्न विभागको मन्त्रालयको मन्त्री बन्न पनि सफल भए । तर, भिम रावल पछिल्लो एक दशकदेखी पार्टीमा आफूमात्र असल नेता, पार्टीको एक्लो राष्ट्रवादी नेता र सिङ्गो एमालेनै आफूले बनाएको अरू केही होइन भन्ने जस्ता घमण्ड पलाउँदै आएकोलाई पनि छुटाउन मिल्दैन । र, उहाँमा अति घमण्ड चढ्दै आएको पनि घाम जतिकै छर्लङ्ग छ । केपि ओली नेतृत्वमा आएपछि सिङ्गो पार्टी सिद्धान्त र पार्टी नीति विपरीत गयो भनी तीब्र आलोचना गर्न बाँकी नराखेका रावलले आफू भने पार्टीकै बदनाम हुने गरि पार्टी विपरीत बोल्दै र पार्टीका अमूक अमूक नेताहरूको खोइरो खन्दै हिँड्नु पार्टी अनुशासन भित्र पर्छ पर्दैन प्रश्न गर्न मनलाग्छ उहाँ रावल जीलाई । पार्टीमा फरक विचार, फरक मत भए यसलाई पार्टी भित्रै छलफल र बहस गरि टुङ्ग्याउनु पर्छ नभए अर्को अधिवेशनसम्म कुर्न सक्नुपर्छ र आफ्नो विचारमा बहुमत पु¥याउनुपर्छ । आफू अल्पमतमा रहेसम्म बहुमतको नीति र निर्देश अनुसार चल्न सक्नुपर्छ । यो कम्युनिष्ट पार्टीको सर्वमान्य सिद्दान्त हो । यस सवालमा केपि ओली जो वर्तमान पार्टी अध्यक्ष हुनुहुन्छ । उहाँ पार्टी अध्यक्ष हुनु पूर्व माधव नेपालसङ्ग पार्टी अध्यक्षमा पराजित भएपनि फरक मत र फरक बिचार अनि पार्टी सिद्धान्त विपरीत हुनेगरी जहाँसुकै जे कुरापनि मनपरी ढङ्गले बोलेर हिँड्नु भएन । अर्को महाधिवेशनसम्म कुरेरै बस्नु भयो र पार्टी अध्यक्ष जितेरै छोड्नु भयो । तर भिम रावलले यो धैर्यता कायम राख्न सक्नु भएन ।
उहाँलाई दशौँ महाधिवेशनमा पार्टी अध्यक्षमा प्रतिस्पर्धा नगर्न र बरिष्ठ उपाध्यमै यथावत् रहन पार्टी नेताहरूले धेरै आग्रह गरे तर कसैको आग्रहलाई सुनुवाइ गरेन । केपि ओलीसङ्ग प्रतिस्पर्धामै उत्रिए र भारी मतान्तरले पराजित भए । यो पराजितलाई हार्दिकतापूर्वक स्वीकार्न सकेन । शत्रु पार्टीको अध्यक्ष भन्दा पनि चर्को रुपमा बिपक्षी नेताको रुपमा बक्तव्य बाजी र भाषणमा उत्रिरहे । पार्टीप्रति लचिलो र सौहार्द रुपमा प्रस्तुत हुनमा भन्दा झन्झन् चर्को रुपमा बिरोधमा उत्रिन थाले । यीनै कारणहरूले पनि निष्काशनको कारवाही गर्न आवश्यक थियो त्यही गर्न पुगेको छ पार्टीले । भिम रावलले जे–जती दोष केपि ओलीलाई दिएपनि पार्टी केपि ओलीको मात्र नभै अधिवेशनबाट चुनिएका सयौँ पार्टी नेताहरू समेतको समग्र पार्टी हो । यसमा केपि ओलीलाई मात्र जुन दोष लगाइएकोछ यो उसको पूर्वाग्रह उक्त भूल हो ।
जेहोस् गएको दशौँ महाधिवेशनमा क. केपि ओलीसङ्ग अध्यक्षमा पराजित भए देखि पार्टीको पक्षबाट सकारात्मक कुरा कहिल्यै गरिएको सुनिएन । जुन आफूलाई चित्त नबुझेको कुरा थियोभने पार्टी केन्द्रीय  कमिटीको बैठकमा राख्नु पथ्र्यो । बाहिर संचार मिडियामा र सार्वजनिक मञ्चहरूमा पार्टी हितमा र पार्टीले गरेका हरेक सकारात्मक कुराहरूलाई प्रशँसा दिएर बोल्नु पथ्र्यो । तर यसरी बोलिएको कहिल्यै सुनिएन । त्यसैले पनि उनको यस्तो पार्टी बिरोधी कुराहरूले कति पार्टी समर्थकहरू वा नेकपा एमालेप्रति आस्था राख्नेहरूलाई बिच्काउने काम गरे तथ्यांक लिन बाँकी छ । यहि २०८१ मङ्सिर १६ मा भएको उप निर्वाचनमा एमालेको उम्मेदवारको पक्षमा बोल्दिन समेत कहिँ कतै गएको देखिएन । यसैले पनि यो सबै गतिबिधी र उहाँको सबै अभिब्यक्तिहरूलाई हेर्दा एमाले पार्टीको नेता नै भन्न नसक्ने भइसकेको थियो । र, उहाँलाई पार्टीले यथासक्य छिटो कारवाही गर्न जरुरत भैसकेको थियो नै । उहाँलाई पार्टीबाट निस्काशन गर्दा कोहि उनका कट्टर समर्थकहरूले पार्टी छोड्ने निश्चित भएता पनि पार्टी भित्रै रहेर पार्टी बिपरीत अभिब्यक्ति दिने र सोही अनुसार गतिविधी अगाडि बढाइ रहन दिँदा झनै बढी जनतामा एमाले प्रती नकारात्मक भाव पैदा गर्न र वितृष्णा पैदा गर्न मद्दत गर्नसक्थ्यो । र गरिरहेकै थियो पनि । यसबाट एमाले इतरका सबै पार्टीहरूलाई हौसला बढाउन र एमाले बिरुद्ध गलत भ्रम फैलाउन थप मद्दत गर्दै थियो । त्यसैले पनि एमालेको पार्टी अनुशासन भित्र बस्न नरुचाउने र केही अराजक र अनुशासनहीन कार्य गर्न उन्मुख ब्यक्तिहरूले पार्टी छोड्नु स्वभाविक थियो जुन अहिले भएको छ । 
रावलको कथित “मातृभूमी अभियान” तत्कालको लागि केही आकर्षक र लोकप्रिय जस्तो लागेपनि केही वर्षपछि देखि नै भिम रावलको यो अभियान समूहबाट बितृष्णित भै लाखापाखा लाग्ने निश्चित छ । भिम रावल जो आफै पार्टीको नीति नियम र अनुशासन भित्र बस्न नसकेर स्वेच्छाचारी गतिविधिमा लागि परेका अनुशासनहीन ब्यक्ती हुन् भने उनले खोलेको यो अभियान समूहमा भनौँ वा पछि खोलिने यिनको पार्टीमा कस्तो अनुशासनको निर्माण गरि पालना गर्ला्न शंकै छ । अहिले एउटा अराजक समूहको भिडभित्र नयाँ चलचित्र नायक जस्तो देखिए पनि कालान्तरमा यो आफै हराउँदै जानेछ । अनि कुनैबेला एमाले पार्टीबाट पाएको मान सम्मान सम्झेर पश्चाताप गर्नुको विकल्प रहने छैन । अहिले एमालेलाई कमजोर बनाउन जो जतिले साथ दिएर भिडको ठूलो जमात देखाएर हौसला प्रदान गरेपनि अन्तमा भिम रावल एक्लो ढेँडू बाँदरको जस्तो हविगत हुनेछ ।  
भिम रावललाई आफ्नो घर जलाएर न्यानो आगोको ताप तापेर जति मज्जा र गर्वको महसुस भैरहेको छ त्यो भोलिको चिसो मौसमको ठिहिलाग्दो जाडोमा फेरि घरको याद आए जस्तै पूरानै पार्टीको याद आउने निश्चित छ । आफै त पार्टी अध्यक्षमा पराजित भएपछि पार्टी अनुशासन भित्र बसेर पार्टी काममा लाग्न नसकेका ब्यक्तिले यो जागरण अभियानलाई कसरी नेतृत्व देलान पट्याउन गा¥हो छ । एमालेलाई कमजोर बनाउन क्षणिक साथ दिएकाहरूको त कुरा नगरौँ “मेरो भिम कमरेड÷भिम दाइ भनी अति घनिष्ट समर्थक बनेकाहरू पनि भिम रावलको लिँडे घमण्डबाट अघाउन पुग्नेछ र साथ दिन छोड्नेछन् । एमालेलाई कमजोर पार्न भिम रावललाई अनावश्यक उचाल्ने, प्रशंसा गर्ने, फुल्याउने÷ठुल्याउने, तपाईजस्तो राष्ट्रवादी र इमान्दार नेतालाई पार्टीले निष्काशन गरेर अन्याय ग¥यो, तपाईको अभियानमा हामी पनि छौँ भनी गोनु झाको सहानुभुती दिएर भिम रावललाई पार्टीबाट निष्काशन गर्नुपर्ने अवस्थामा पु¥याउनेहरू पनि कमि छैन । 
तत्कालको लागि मातृभूमी जागरण अभियानको  “राष्ट्रवादी” जस्ता गुलिया नाराले केही अराजक झुण्डहरूको साथ पाउन सकिए पनि  सिद्दान्त र नीति विहीन झुण्डले कतिन्जेल साथ दिईरहन्छ हेर्न बाँकी छ । अनि आफ्नो नेतृत्वको यो झुण्डलाई कतिको अनुशासनले बाँधेर राख्नसक्छ चासोका साथ हेर्न आतुर छ ।  नेकपा एमाले पार्टीमा केपि ओलीको निरंकुशताको झुठो आरोप लगाएर जे–जती पार्टीबाट अलग भएको घोषणा गर्न पुगेका छन् यिनीहरू भिम रावलको निर्देशनलाई कतिको आज्ञाकरी बनेर पालना गर्लान् त्यो पनि हेर्न आतुर छ । पार्टीको स्थापना कालदेखी केही वर्ष, केही दशकसम्म पार्टीमा अहम् भूमिका निर्वाह गरेर यो पछिल्लो समयसम्म आइपुग्दा यी नेताहरूमा जति स्वार्थ र घमण्ड भरिन थाल्यो तब पार्टीको नीति र सिद्धान्तलाई भुल्न वा लत्याउन कतिपनि किन्चित नमानेको प्रशस्तै देखिएको छ ।
पार्टी भित्र रहेर देश घाती राष्ट्र घातिको आरोप लगाएर पार्टी विभाजन गरि हिँडेकाहरू पनि अहिले बिचल्ली अवस्थामा रहेका छन् । वैचारिक सिद्दान्तमा आफू मात्र सहि, पार्टी भित्र आफूमात्र एक्लो राष्ट्रवादी,  देशभक्त अरु सबै गद्दारको आरोप लगाएर पार्टी टुक्र्याउनेहरू पनि जनताबाट तिरष्कृत हुँदै फेरि यहि पार्टीमा लुत्रुक्क परी फिर्तिनेहरू पनि छन् । यद्यपि एकपटक पार्टीलाई कमजोर बनाएर पार्टी विभाजन गर्नुलाई भुल भन्न सकिएला तर पटक पटक पार्टी विभाजन गरि पार्टी कमजोर बनाएकाहरू बारेमा भने गम्भीर भएर सोच्न आवश्यक छ । बरु सामान्य कार्यकर्ता, समर्थक, शुभ चिन्तकहरू मेरो पार्टी, मेरो आस्थाको पार्टी भनेर निष्ठामा रतिभर नडगमगाई पार्टीको माया गरेर बसिरहेका छन् भने पार्टीका उच्च तहमा पुगेकाहरू, पार्टी महासचिव र अध्यक्ष बनेकाहरू, प्रधानमन्त्री भैसकेकाहरूको गतिविधी हेर्दा धिक्कार भन्न मन लाग्छ । जो–जो पार्टीका नेतृत्व तहमा र राज्य संचालनको महत्वपूर्ण मन्त्री बनिसकेकाहरू जसले पार्टीबाट र राज्यबाट समेत प्रशस्त लाभ लिईसकेकाहरू नै मलाई पार्टीले अन्याय ग¥यो भनी भन्दै हिँडेको देख्दा एकातिर उदेकलाग्दो हाँसो उठ्छ भने अर्कोतिर भेट्टाइहाले झ्याम्मै गालामा हानौँ कि भने जस्तो कन्सिरी तातेर आउँछ । यस्तै दुइपैसाको बुद्धि र सोच नभएका ब्यक्तिहरूलाई नेता मानी रहेका छौँ हामीले । हाम्रो निस्वार्थ भावनाको त्याग, सहयोग र अहिलेसम्मको सकृयताको लाभ लिएर माथी पुग्न सफल यीनै स्वार्थी र अवसरवादीबाट पार्टी र जनताले के के आशा गर्ने ? अनि जहिले पनि पार्टी विभाजन गर्ने, पार्टी फोड्नेहरू नै अगाडि बढ्ने अवस्था आएसम्म निष्ठाका कार्यकर्ता र समर्थकहरूले कहिले अवसर पाउने ? प्रश्न उठ्छ । २०५४ मा पार्टी फोड्नेहरू पनि पार्टीलाई अक्षम्य नोक्सान पु¥याए फेरि गम्भीर भूल ग¥यौँ भनी फर्के, फेरि २०७७ मा पार्टी विभाजन गर्न मद्दत गरे फेरि ती मध्य कति फर्किसके कति फर्किनेमा छन् हेर्ने र सुन्ने प्रतिक्षामा छु । फेरि पनि २०३६ देखि माले, एमाले हुँदै अहिलेसम्म पनि निष्ठा र आस्थामा रहेका म जस्ता थुप्रैले यिनीहरूलाई नै नेता मान्दै लाभको पदमा पु¥याउन पर्खिरहेका छौँ । अनि यिनै ब्यक्तिहरूको ङयारङयार ङयुरङयुर सुन्नु पर्दा पनि कन्सिरी तातेर आउँछ । 
भिम रावलले केपि ओलीको विरोधको नाममा जे जसरी पार्टी बिरोधी अभिव्यक्तिहरू दिँदै आउनु भएको थियो यसले पार्टी अध्यक्षको बदनाम गर्ने काम मात्र नभै सिङ्गो पार्टीको बदनाम गर्ने काममा लागि रहेका थिए र एमाले इतर सबै यहि रावलको अभिव्यक्तिलाई प्राथमिक दिई प्रसारण गर्दै आएकोलाई रहस्यकासाथ बुझ्नैपर्छ । यस अर्थमा पनि यो निष्काशनको कारवाही सहि छ भन्ने लाग्छ ।