
भोजराज तिमल्सिना, मानवअधिकारकर्मी
मानिसले मानिस भएर इज्जतका साथ जिउन पाउनु नै मानव अधिकार हो । यो कसैले दिएर दिइने वस्तु होइन र खोस्न पनि सकिदैंन । सरल भाषामा भन्नुपर्दा यो समानताका आधारमा सबैले स्वतः सिद्ध उपभोग गर्न पाउने, कसैले हरण गर्न नपाउने अधिकार हो । कुनै पनि देशमा जन्मिएको मानिसले त्यस देशको नागरिकका हैसियतले स्वाभिमानपूर्वक बाँंच्न तथा राज्य संचालन प्रक्रियामा अरु नागरिक सरह सहभागी हुन पाउने तथा त्यसका लागि आवश्यक पर्ने अधिकारहरूको विना रोकतोक उपभोग गर्न पाउनु पर्दछ भन्ने मान्यता नै नागरिक तथा राजनीतिक अधिकारहरूका मुख्य विषयवस्तु हुन् । यस वर्ष काभ्रेपलाञ्चोक जिल्लामा घटेका १२ वटा हत्याका घटनामा ७ जना महिला र ६ जना पुरुष गरी १३ जनाको मृत्यु भयो । छोराले बाबु, आमा, सासुआमा र पत्नीको हत्या गरेको मात्र नभएर पैसा र गहनाका लागि जेष्ठ नागरिक दम्पति, छिमेकी र साथीबाट हत्या भएका घटना पनि सार्वजनिक भयो ।
महादेवटारका जेष्ठ दम्पतिको सुनका गहना लुटी फलामको रड र हम्वर प्रहार गरी हत्या भएको पाइयो । काठमाडौं, किर्तिपुरका विनोद खड्गीलाई भारतिय नागरिक प्रयोग गरी अपहरण पश्चातः फिरौती लिएर कुटपिट गरी डोरीले बाँधेर हत्या गरी फ्याकेको पाइयो । प्रेमिकाले मागेको रकम जम्मा गर्न रोशीकी ६९ बर्षिया लामो माइली लामालाई उनकै कान्छो छोरा फुर्साङ्ग लामाले हत्या गरेर आमाले लगाएको सुन र पैसा छिमेकीको शौचालय पछाडी खाडल खनेर लुकाए । मण्डनदेउपुरकी ५२ वर्षीया तेनमाया तामाङलाई रेखदेखका लागि घरमा पालेका ज्वाईले गहना लुटेर हत्या गरे ।
कुनैपनि मानिसले मानिस जस्तै भएर जीवन बिताउनका लागि उसलाई नभई नहुने खाना, लगाउनको लागि नाना र बस्नको लागि बास जस्ता आवश्यकताहरूको पुर्ण प्रत्याभूति हुनु पर्दछ । त्यस्तै आर्थिक उपार्जनका लागि उपयुक्त अवसर एवं स्वतन्त्रता, शिक्षा एवं आधारभूत स्वास्थ्यको ग्यारेन्टी, सामाजिक सुरक्षाको प्रत्याभुति एवं आफ्ना सँस्कृति तथा चाल चलनको स्वतन्त्र रुपले अभ्यास गर्न पाउनु पर्दछ । आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अन्र्तगत भोकबाट मुक्त हुन पाउने, जीविकोपार्जनको लागि काम गर्न पाउने, आफ्नो इच्छाको काम छात्र पाउने तथा स्वीकार गर्ने, काम गर्नका लागि उपयुक्त वातावरण, उचित ज्याला पाउने, राष्ट्रिय सम्पतिको उपभोग गर्न पाउने र राष्ट्रिय कानून अनुसार हड्ताल गर्न पाउने अधिकार पर्दछन् ।
यसवर्ष भुम्लु–८ मा राखिएको विन नेपाल लघुवित्त संस्थाले रकम हिनामिना गरेको भनी केही कार्यालयका सामानहरू नियन्त्रण र केही सामान सामान नष्ट गरेको भनी ११ जना महिलालाई मुद्दा लगाइयो । सहकारी, बैक र वित्तिय संस्थाका बदमासीहरू सार्वजनिक भइ रहे । प्रहरी कार्यालयमा मात्र बैंकिङ कसुरका ८५ ओटा मुद्दा देखिन्छन् । आर्थिक मन्दिका कारण सर्वसाधारणको जीवनस्तरमा निकै समस्या देखिन्छ । आर्थिक अधिकारमा गुणस्तरीय दुध बिक्रीमा समस्या भएको र समयमै दुधको भुक्तानी नपाएको भन्दै किसानहरूले विरोधस्वरूप सडकमै दुध बाँडे । बनेपा चारदोबाटोमा आधा घण्टा चक्काजाम गर्दै किसानले दुध उमालेर गिलासमा बाँडे । बनमा आगो लगाएको २ ओटा उजुरीहरू देखिए । आफ्नो बारीको अम्रिसोमा आगो लगाउँदा आगो फैलिएर छिमेकीहरूको नगद, अन्नपात र पशुपक्षिं समेत मरेको पाइयो । बनमा आगो लगाउने मध्ये पाँच जनालाई गिरफ्तार गरी दुई जनालाई सम्झाई बुझाई घर पठाइयो । काभ्रेपलाञ्चोक जिल्लाका ४२ वटा नीजि, सामुदायिक र कबुलियत वनहरूमा आगलागी हुँदा आठ सय १८ हेक्टर वन जलेर जंगली जनावरको मृत्यु भयो । यता, सामाजिक सुरक्षाको अधिकारको अभावमा ज्येष्ठ नागरिकहरू आर्थिक विपन्नताको अवस्थाबाट भोक, रोग तथा गरिवीको जीवन विताई रहेका छन् । यस्तै राजनीतिक तथा निर्णय प्रक्रियामा सामूहिक अधिकारको संरक्षणमा उचित ध्यान पुग्न सकेको देखिन्न ।
काभ्रे जिल्ला अदालतमा पारिवारिक विवाद सम्वन्धी सम्वन्ध विच्छेद, अंशवण्डा, मानाचामल, विवाह र नाता कायम सम्वन्धी मुद्दाहरू पर्ने गरेको देखिन्छ । सम्पति अधिकारसम्बन्धि लेनदेन, जग्गा (खिचोला, दर्ता बदर, लिखत बदर) पारिवारिक (अंश, माना चामल, सम्वन्धविच्छेद), चोरी (डाका र रहजनी) ज्यान (आवेश प्रेरित, सवारी र कर्तव्य), सामान्यः कुटपिट, गालीबेइज्जती, अपहरण तथा शरीर बन्धक सम्वन्धी मुद्दा आएको देखिन्छ । लैंगिक हिंसाका घटनामा जर्वजस्ती करणी, कुटपिट, गाली बेइज्जती, कर्तव्य ज्यान, बहुविवाहका मुद्दा बढी देखिन्छन् । अदालतमा जाने कतिपय मुद्दाहरू अहिले स्थानिय तहमा नै मिलापत्र हुने गरेको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको ८५ जनाको क्षमता भएको जिल्ला कारागारमा २ सय ७७ जना पुरुष कैदी÷बन्दी छन् । क्षमता भन्दा बढी कैदी बन्दी भएकाले ३ जना टेन्टमा राखिएका छन् । यस कारागारमा यौन हिंसा र आर्थिक अधिकारसँग जोडिएका कैदि–बन्दी बढी छन् । बन्दीहरू बन्द पर्खालभित्र जीर्ण र कहालीलाग्दो भवनमा बस्छन । अध्यारा, चिसा, घाम र हावासमेत नपस्ने गरी बनाइएका भवनहरू घोडा बाँध्ने तबेला जस्तै लाग्छ । कारागारभित्र पस्ने निरोगीहरू पनि रोगी भएर निस्कनुपर्ने बाध्यता छ । यस वर्ष अपहरण तथा शरीर बन्धकसम्वन्धी २ ओटा मुद्दा प्रहरी कार्यालयमा प¥यो । सम्पति तथा लेनदेनका विषयमा मानिसलाई अपरहण गरी खाली चेकमा हस्ताक्षर गराएका एउटा मुद्दा किर्ते र अर्को मुद्दामा आरोपितलाई पुर्पक्षका लागि थुनामा पठाइयो । आर्थिक मन्दिका कारण मानिसहरूलाई अपहरण गरी पैसा उठाउनका लागि गलत तौरतरिका अपनाउने गरिएको देखिन्छ ।
आर्थिक अभावका कारण घरझगडा र रिसको मात्रा पनि बढ्दै गएको देखिन्छ । लमजुङ घर भई धुलिखेल डेरामा बस्ने एक महिलालाई निजकै पतिले मादक पदार्थ खाएर कुटपिट गरी घाइते बनाए । यस्तै, घटना बनेपा चण्डेश्वरीमा कोठागरी बस्ने खानीखोलाकि महिलालाई पनि आइलाग्यो । उनलाई कोठामा चुकुल लगाएर बसिरहेको अवस्थामा पतिले कुटपिट गरी घाइते बनाए । नासिकास्थानकि एक महिलालाई ढोकामा चुकुल लगाई पतिले बञ्चरो प्रहार गरी घाइते बनाए । रोशीमा घरायसी विवादमा बुहारीले कुटपिट गरि सासुको दाहिने हात र दाँत भाँचिन । पाँचखालकि एक महिलालाई आफ्नै छोराले कुटपिट गरी घाइते बनाए । नमोबुद्ध ठूलोटारकी एक महिला दाजूलाई नसोधी नागरिकता बनाएको भनी दाउराको चिर्पट प्रहारबाट घाइते बन्नुप¥यो । रोशी पटुवालका दलबहादुर स्याङतानलाई बाख्रा चराउन गएको अवस्थामा सामान्यः झगडा हुँदा रिसको आवेगमा हतियार प्रहार गरी घाइते बनाएको आरोपमा भक्तराज तामाङलाई प्रहरीले गिरफ्तार ग¥यो । तेमालकी एक महिलालाई घरआँगनमा आइ दाउराको चिर्पटले टाउकोमा प्रहार गरी घाइते बनाउने छिमेकिलाई प्रहरीले गिरफ्तार ग¥यो । तेमालकै अर्की महिलालाई बनेपामा आश्रम संचालन गरि बसेकी झाँक्री महिलाले खुकुरी प्रहार गरी घाइते बनाइन । धुलिखेलको एक होटल संंचालकले काम गर्ने महिलाको भिडियो बनाएको आरोपमा कुटपिट सहनु प¥यो ।
पनौती त्रिवेणीघाटमा बस्दै आएका ८६ वर्षीय मथुराप्रसाद सत्याललाई सिलौटाको लोहोरो र लाठी प्रहार गरी सख्त घाइते बनाउने र सोह्रखुट्टे पाटीमा बस्दै आएका ५९ वर्षीय अर्थमान भ्लोनलाई कुटपिट गरी घाइते बनाउने व्यक्तिहरूलाई ज्यान मार्ने उद्योग शिर्षकमा मुद्दा दर्ता भयो । पनौती रयालेका हर्कबहादुर तामाङले भतिजलाई घरमा बोलाई रक्सी खुवाएर निदाएको अवस्थामा करौतीले घाँटी रेटी म¥यो भनेर सडकमा फ्याँकेको पाइयो । नमोबुद्ध कानाकोटमा खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई सामान्यः झगडा हुँदा रिसको आवेगमा चुप्पी प्रहार गरी घाइते बनाउने र भुम्लुका अजय तामाङलाई बाटोमा हिडिरहेको अवस्थामा खुकुरी, बाँसको भाँटा र चिरपट प्रहार गरी घाइते बनाउने व्यक्तिहरू धरौटीमा रिहा भए । पनौती जन्तेढुंगाका एक बालकलाई उनका साथीहरूले बञ्चरो प्रहार गरी दाहिने हातको पाता नै खुस्काइ दिए । मण्डनदेउपुरमा सार्वजनिक बसमा सिटमा बस्न खोज्दा अभद्र व्यवहार गरेको भनी २ जनालाई प्रहरीले गिरफ्तार ग¥यो । मण्डनदेउपुर बाघखोरका एक व्यक्तिलाई चिनजानका व्यक्तिहरूले टाउकोमा बञ्चरो प्रहार गरी घाइते बनाए । धनेश्वरमा दुध दही पसल संचालन गरि बसेका व्यक्तिलाई चिनजानकै व्यक्तिले पसलमा आइ गालीगलौज र खुकुरी प्रहार गरि घाइते बनाए । भारतबाट पढ्न आएका विद्यार्थीलाई साथीहरूले मादक पदार्थ खाई कुटपिट गरे ।
यसवर्ष अभद्र व्यवहारका घटना धेरै देखिए । मादक पदार्थ खाएर सडकमा हो–हल्ला गर्नेदेखी मादक पदार्थ खाएर एम्बुलेन्स तथा सवारी साधन चलाउने सम्मलाई यो मुद्दा लगाइएको पाइयो । बनेपा नगरका प्रहरीहरूलाई सामान खोसाखोस हुनेक्रममा झगडा भई कुटपिट समेत भएको भनी मुद्दा प¥यो । बाटोमा एक्लै हिँडेको अवस्थामा कुटपिट र गालीगलौज गर्नेहरूले पनि यही शिर्षकको आरोप झेल्नु प¥यो । कतिपय गम्भीर प्रकृतीका मुद्दाका शंकास्पद आरोपिलाई अभद्र व्यवहारको मुद्दा लगाएर अनुसन्धान गरेको र हिरासत अवधीमा स्पष्ट भएपछि थप मुद्दा लगाएको पाइयो । केही गाडीका चालक, सहचालकलाई गाडीबाट बाहिर निकाली कुटपिट गरेको पनि पाइयो । होटलमा खाएको र सापटी पैसा फिर्ता माग्दा, पसलमा सामानको मोलमोलाई गर्दा र प्रहरीले सोधपुछ गर्दा गालीगलौज गर्नेहरू प्रहरी कार्वाहीमा परे ।
पाँचखाल केराघारीकी ७७ वर्षीया महिलालाई गालीगलौज गर्ने छोरा–बुहारी, धुलिखेल नमूनावस्तीकी एक महिलालाई बाटोमा अभद्र व्यवहार गर्ने छोरा, भुम्लुकी एक महिलालाई मादकपदार्थ सेवन गरी गालीगलौज गर्ने आफ्नै भतिज, पाँचखाल आँपघारीकि एक महिलालाई सैमुरे बाँझो खेतमा घाँस काट्न गएको समयमा अभद्र व्यवहार गर्ने छिमेकी हजुरबुबा, बेथानचोक भुग्देउकि एक महिलालाई गालीगलौज र अपशव्द प्रयोग गर्ने जेठाजू र रोशीकि एक महिलालाई बनेपाको कोठामा झ्यालबाट छिरी गालीगलौज र हातपात गर्ने छिमेकीलाई प्रहरीले गिरफ्तार गरि अभद्र व्यवहार शिर्षकमा मुद्दा लगायो । यसवर्ष प्रहरी कार्यालयमा परेका ८६ ओटा अभद्र व्यवहारका मुद्दामा २८ जना महिला पीडित देखिए । पतिले कुटपिट गरेको, दाजुले चिर्पटले हानेको, काकीलाई अपशव्द बोलेको, घाँस काट्न जाँदा, धारोमा पानी थाप्न जाँदा, मेला, घेवा र बनमा जाँदा महिलाहरू पीडित भएको उजुरीहरू प्रहरी कायालयमा आए । यस वर्ष अदालतमा गएका अभद्र व्यवहारका अधिकांश मुद्दामा अभियोग दावी पुग्ने ठहर भएको देखिन्छ भने जिल्ला प्रशासनमा गएका मुद्दामा धरौटी राख्न लगाई तारेखमा छाडेको देखिन्छ ।
२०८१ असोज १० गतेदेखी १२ गतेसम्म देशका विभिन्न भागमा गएको बाढी पहिरोमा परेर काभ्रेपलाञ्चोक जिल्लाको १० पालिकामा ७९ जनाको मृत्यु र ६ जना बेपत्ता भए । प्राकृतिक प्रकोपको कठिन अवस्थामा खानेपानी, लत्ताकपडा, खाद्यान्न, आवास, सञ्चार, विद्युत्, आवागमन लगायतका समस्याहरूबाट आम जनजीवन असाध्यै कष्टकर बन्यो । खानी र क्रसरले अन्धाधुन्ध प्रयोग गरेका जमिनको संरचना खल्बलिन गई आएको पहिरो र लेदोले खेतियोग्य जमिन डुवानमा प¥यो । गाउँमा इन्जिनियरिङ विना खनिएका सडक र त्यहाँ प्रयोग गरिएका डोजरहरूले जमिनलाई हल्लाएर अविरल बर्षातले गाउँ नै बगायो । खानेपानी र सरसफाईको क्षेत्रमा टोल र बस्तीस्तरका खानेपानी पाइपहरू बगाएका कारण अझै ग्रामिण तहमा खानेपानीको हाहाकार छ ।
काभ्रेपलाञ्चोक राजधानीबाट धेरै टाढा छैन । आधा दर्जनभन्दा बढी जिल्ला छुन्छ यसले तरपनि २०२८ सालपछि पहिलोपटक यँहा विपत्ति आइलाग्यो । गाँउहरूमा संचार सम्पर्क पुरै विच्छेद भयो । भुकम्पले थिलथिलो भएको मानिसको मन नाकाबन्दी, कोरोना, डेंगो र बाढी पहिरोसम्म आइपुग्दा खण्डहरमा परिणत भयो । लहलह झुलेका धानका बाला बाढी र भेलसँगै बगरमा मिसिए । एउटा गाउँबाट अर्को गाउँमा जान समेत मुस्किल भयो । गरिवहरूका बारीको सिमा छुट्याउन सकिएको छैन । अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरू विरामी भए । कतिपय स्थानका स्वास्थ्य चौकी पहिरो खसेर पुरिए भने पहिरो गएर कतिपय स्वास्थ्य संस्थाको कम्पाउण्ड ढल्यो । डाक्टर र मनोचिकित्सकहरूको टोलीले गाउँ गाउँमा गएर सेवा प्रदान गरेको पनि पाइयो ।
कृषिमा आएको वितृष्णा, कामदारको अभाव, कृषि क्षेत्रलाई हेर्ने नकारात्मक दृष्टिकोण, कृषिमा देखिएका समस्या र उत्पादित उपजको उचित मूल्य नपाएका कारणले जिल्लाको तेह्र हजार खेतीयोग्य जमिन बाँझो छ । जिल्लामा कूल ६१ हजार पाँच सय ९८ हेक्टर खेतीयोग्य जमिन रहेकोमा ४८ हजार चार सय ४० हेक्टर अर्थात ७८ दशमलव ६ प्रतिशत जमिनमा मात्र खेती भएको छ । देशमा बेरोजगारी दर बढ्दै जाँदा कामको खोजीमा दैनिक हजारौं युवा विदेश गइरहेका छन् तर आफ्नो देशमा भने कृषियोग्य जमिनमा अधिकांश जमिन बाँझै छ । कृषि क्षेत्रमा लाग्ने व्यक्तिहरू घटिरहेका कारण उत्पादन सन्तोषजनक छैन । प्राविधिक सेवा, टेवा र कृषि व्यवसाय प्रवद्र्धन एवं विकास सम्बन्धि कार्यक्रमहरूले कृषिको आधुनिकिकरण एवं व्यवसायीकरण तथा उत्पादन र उत्पादकत्व वृद्धिमा टेवा पु¥याउन आवश्यक छ ।
महिला अधिकारबाट बञ्चित गरिएका घटनामा कुटपिट र देहव्यापारमा संलग्न गराएको पाइयो । घरेलु हिंसाबाट पीडित भई बिष खाएर र पासो लगाएर मर्ने बिबाहित महिलाहरूको संख्या बढ्दो छ । पति बैदेशिक रोजगारीबाट फर्किएपछि अर्की महिलालाई मन पराएको र आफूले अंश, मानाचामल र सम्वन्ध विच्छेदको मुद्दा दर्ता गरेकाले मुद्दा फिर्ता लिन दवाव दिँदै पतिले बलात्कार गरेको भनिएको घटना पनि यस अवधीमा सार्वजनिक भयो । बलात्कारको आरोप लागेपछि एकजना आरोपितले आत्महत्या गरे । सामूहिक बलात्कारको घटनामा चार जना आरोपित अझै फरार देखिन्छन । यस्तै राती सुतेको स्थानमा पति भन्ठानी छाम्दा अर्कै पुरुष भएको, फार्मेसीभित्र उपचार गर्न आउँदा र झ्यालबाट छिरेर बलात्कार प्रयास गरेको जस्ता आरोप केही उजुरीमा देखिन्छन् । यस वर्ष महिलाहरूलाई प्रलोभनमा पारी होटलमा ल्याई वेश्यावृतिमा लगाएका २ वटा घटना सार्वजनिक भयो । पनौतीको सुकुटी कर्नर एण्ड खाजा घर र पाँचखालको युथ फ्रेण्डसिप रेष्टुरेष्टबाट प्रहरीले २ महिलालाई उद्दार गरी मानव बेचविखन तथा ओसारपसार शिर्षकमा मुद्दा दर्ता ग¥यो । यस वर्ष वैदेशिक रोजगारीमा गएर फर्किएपछि बहुविवाह गरेको समेत ३ ओटा बहुविवाहका घटना सार्वजनिक भए । बालबच्चा भइसकेपछि पनि पारिवारिक कलहका कारण बहुविवाहका घटना आउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, महिला तथा बालवालिका सेवा केन्द्रमा यस वर्ष १८५ थान घरेलु हिंसाका उजुरीमा मानसिक यातनाका ११०, शारिरिक र मानसिक यातनाका ५१ थान, शारिरिक यातनाका १६ थान, आर्थिक यातनाका ६ र यौनजन्य यातनाका २ थान मुद्दा रहेका छन् । १६ देखी ८२ वर्षका १७६ जना महिला र ९ जना पुरुषले पति, पत्नी, बाबु, आमा, छोरा, देबर, जेठाजु, ससुरा, बुहारी र जेठानीबाट पीडित भएको भन्दै उजुरी गरेका छन् । अन्र्तजातिय, प्रेम, बाल र अनमेल विवाहका कारण दाम्पत्य जीवनमा समस्या देखिन्छ । आर्थिक मन्दी, राजनीतिक अर्थ व्यवस्था, न्यायिक समितिको कम प्रभावकारिता जस्ता कारणले ८२ वर्षका जेष्ठ नागरिक समेत पटक–पटक प्रहरी कार्यालयमा आउनुपर्ने बाध्यता देखिन्छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकमा यस वर्ष पारिवारिक विवादमध्ये सम्वन्ध विच्छेदका ५४६ थान मुद्दा परेकोमा ५१५ थान मुद्दा फ¥र्याैट भए । यस्तै मानाचामलका १८ र नाता कायमका ३ थान मुद्दा परे । जिल्ला अदालतमा सम्वन्ध विच्छेदका मुद्दा बढी परेबाट यो समस्यालाई गम्भीर रुपमा लिनुपर्ने हुन्छ ।
यसवर्ष बालिका बलात्कारका २९ ओटा घटना सार्वजनिक जानकारीमा आए । ५ देखी १७ वर्ष उमेर समूहका वालिकाहरूमध्ये केहीलाई आफ्नै बुबा, हजुरबुबा, दाजू, भिनाजु र साथीबाट प्रलोभनमा पारी बलात्कार गरेको पाइयो । भारतिय व्यक्तिसँगको सम्वन्धबाट एक जना पीडित वालिकाले २०८० फागुन २६ गते मेथिनकोट अस्पताल भुकण्डेबेशीमा छोरी जन्माइन । छ जना पीडित वालिकालाई स्वास्थ्य संस्थामा लगेर जचाँउदा गर्भधारण गरेको पत्ता लाग्यो । घरमा कोही नभएको अवस्था, खाली गोठ, रोकि राखेको बस, कोही नबस्ने छाप्रो, साथीको डेरा, शौचालय, होटल र जंगलमा लगि वालिकाहरूलाई बलात्कार गरिएको देखिन्छ । फेसबुकमा चिनजान भएर साथीहरूसँग घुम्न जाने भनी होटल तथा जंगलमा वालिका बलात्कृत भएका घटना समेत सार्वजनिक भएका छन् । घरबाट एक्कासी हराएर परिवारले खोजतलास गरी केटा साथीबाट बलात्कृत भएका उजुरी पनि आएका छन् । बाल यौन दुव्र्यवहारका ६ घटनामा ७ जना वालिका पीडित भए । पीडितहरूको उमेर ८ देखी १७ रहेको छ । यस्ता घटनाका आरोपितले वालिकाहरूलाई प्रलोभनमा पारी एकान्तमा लगेर सुम्सुमाउने तथा संवेदनशिल अंगहरू चलाउने गरेको उजुरीमा उल्लेख छ । घरमा एक्लै हुँदा, साथीसँग खेल्न जाँदा र विद्यालयबाट घर फर्किदा सँगै पढ्ने साथीबाट वालिकाहरू दुव्र्यवहारमा परेका छन् ।
सबै अपराधहरू मानव अधिकार उल्लंघन होइनन् तर सबै मानव अधिकार उल्लंघनहरू अपराध हुन् । व्यक्ति व्यक्तिबीचको सम्वन्धका कारणले पनि आधारभुत मानवीय स्थिती ध्वंस हुन्छ र मानिसहरू मानव अधिकारबाट बञ्चित हुन सक्छन् । त्यस्ता विषयलाई राज्यका कानुन र नियमले परिभाषित गरेका हुन्छन् । व्यक्ति–व्यक्ति विचको सम्वन्धका कारणले आधारभुत मानवीय स्थिती ध्वंस भयो भने त्यसलाई अपराध भनिन्छ । यही परिप्रेक्षमा हेर्दा काभ्रेमा अपराधिक घटनामा बढोत्तरी छ । मानव अधिकारसँग असम्वन्धित भए पनि सरोकार राख्ने यस्ता घटनामा कमी आउनु जरुरी देखिन्छ । कुटपिट, धम्की, आत्महत्या, दुर्घटनामा मृत्यु, दुर्घटनामा घाइते, भवितव्य ज्यान, बेवारिसे लास र चोरी÷डकैती जस्ता घटना बढिरहेको छ । धुलिखेल नपामा घरेलु हिंसा, आत्महत्या र झै–झगडाका सवाल बढी देखिन्छन् । बनेपा नपामा घरेलु हिंसा, आत्महत्या, अपराध र बैंकिङ कसुरका मुद्दाहरू रहेका छन् । पनौती नपामा घरेलु हिंसा, बाढी–पहिरो, आत्महत्या र अपराधका सवालहरू छन् । यी पालिकाहरूमा मानवअधिकारका सवालहरू पनि प्रसस्त छन् । पाँचखाल, मण्डन देउपुर र नमोबुद्ध नपामा घरेलु हिंसा र अपराधका सवालहरू सार्वजनिक भएका छन् । बेथानचोकमा बाढीपहिरो, महाभारत र खानीखोलामा घरेलु हिंसा, रोशी र तेमालमा बाढीपहिरो, अपराध र घरेलु हिंसा, भुम्लुमा अपराध, विपत्ती र चौरीदेउरालीमा घरेलु हिंसा र अपराध न्यूनिकरणका विषयमा समुदायलाई सशक्तिकरणको आवश्यकता छ ।