2025 June 17/ 03:43: 29pm

प्रकृति पराजुली
नारी झट्ट हेर्दा दुई अक्षर जोडिएर बनेको शब्द तर नारी को हुन्, के हुन् ? भनेर बुझ्न त्यतिकै गाह्रो छ कसरी व्याख्या गर्ने नारीको ? नारी एक छोरी, दिदी, बहिनी, बुहारी, श्रीमती, आमा जस्ता विभिन्न सम्बन्धहरुले घेरिएकी एक पात्र हुन् । हुन त पुरुषहरु पनि जीवनकालमा अनेकौं सम्बन्धहरुबाट घेरिएका हुन्छन् नारीसरह, तर एक नारीले निभाउने आफ्नो विभिन्न भूमिकाहरुको जिम्मेवारीको कुरा गर्ने हो भने साह्रै पृथक छ । पुरुषको भन्दा बेग्लै । 
हाम्रो नेपालको संविधानले मौलिक हक अन्तर्गत विभिन्न हकहरु प्रदान नगरेको त पक्कै हैन । तर जब यी हक, अधिकारहरु व्यवहारमा परिणत गर्ने क्षण आउँछ तब यी हक, अधिकार त हाम्रो संविधानमा मात्रै सिमित भएका हुन कि भन्ने आभास हुन्छ । जब एक नारी आफ्नो घरको होममेकर भएर काम गर्छिन् उनले गरेको कामको कहिल्यै मूल्यांकन हुदैन तर जब त्यही नारी केही दिन आफ्नो जिम्मेवारीबाट ब्रेक लिएर आफ्नो इच्छा अनुसार केही गर्छु वा कतै जान चहान्छु वा यस्तै केही भनी आफ्ना इच्छा जायर मात्र जे गर्छिन् तब उनलाई परिवारप्रति कुनै दायित्व छैन ? छोराछोरीको स्कुल, कलेज, अफिस इत्यादि जाने बन्दोबस्त कसले मिलाउछ ? घरमा खाना कसले पकाउँछ भन्ने जस्ता विभिन्न किसिमका प्रश्नहरु तेर्साईन्छ । अब, कुरा गर्ने क्रममा इन्डिपेन्डेन्ट नारीको पनि कुरा गरिहालौ न । को हुन त ईन्डिपेन्डेन्ट नारी ? के उनले होममेकर नारी झै काम गर्नुपर्दैन ? इन्डिपेन्डेन्ट नारीको कुरा गर्दा आजकालको भाषामा उनीहरुलाई आधागृहणी भन्ने उप–नामहरु दिन थालिएको रहेछ । हो ठिक सुन्नु भयो आधा गृहणी किन भन्दा विहान खाना हतार हतार पकाएर २ गास आफू, आफ्नो श्रीमान् र छोराछोरीलाई खुवाएर हिड्नै हतार न त घर राम्रो सँग सम्हाल्न पाउने, न त छोराछोरी नै हेर्न भ्याउने, न त सासु ससुराको स्याहार गर्न पाउने, न त आफ्नो श्रीमान्को? दिउँसोभर अफिसको १०–५ डिउटी सम्हाल्न धौ धौ र साँझ एउटा डिउटी सकिना साथ अर्को घरतिरको ५–९ सम्मको डिउटी सम्हाल्न हतार, बुझ्ने पुरुषले त बुझ्लान्, गर्लान् तर बुहारी हो बुहारीले गर्नुपर्छ भन्ने परिवारबाट आउने टिक्का टिप्पणी, नगर्न सक्दा ओइरो लाग्ने अपजसका लाइन, समय मिल्दा केही गरी उसको श्रीमान्ले उसलाई मद्दत गरीहाल्यो भने छोरा बाबु तैले गर्नुपर्दैन तैले गर्नुभन्दा म नै गर्छु भन्ने घरपरिवारका वाणीले आफू हुर्केको जन्मघर घर छाडी विवाह गरी आएकी नारी जो विवाहको दिनदेखी श्रीमानको घरलाई आफ्नो सोचेर हरेक काम निपुर्ण, निरन्तर गर्छे उसको मानसपटलमा कति धेरै कुराहरुले डेरा जमाएर बसेको हुन्छ होला एकछिनको लागि हामी सबैजना सोचौ त? विवाह गर्नेबेलामा काम गर्ने, वर्किङ र ईन्डिपेन्डेन्ट बुहारी, श्रीमती खोज्ने हाम्रो समाज विवाहपछि त्यही बुहारीले जसरी सुकै काम गरोस्, मतलब नगर्ने किन? यदि पढ्नुपर्ने भएर किताब हातमा बोकी बस्यो भने कस्तो पढाई हो घरको काम सकाएर बसे पनि त हुने हो नि? घरको काम कसले गर्छ? अब म सासु भएर बुहारी लिएर आएपछि पनि उसकै पढ्नु छ भनेर सेवा गर्दै बसौ भन्ने व्यङ्ग प्रशस्तै सुनिन्छ । छोरा र बुहारी एउटै पेशामा रहेछन् भनेपछि त्यो बुहारीबाट केही पनि सुझाव लिईदैन, छोरालाई सोध्नुपर्छ अथवा भाईलाई सोधौला भन्ने सुनिन्छ । आखिर हाम्रो घर, समाज कहिले परिवर्तन हुने ? 
समानताका हक, स्वतन्त्रताको हक त उनको जहिले खोसिएझै लाग्छ । विवाह अघि पनि कमै घर होलान् जहाँ छोरा–छोरी समान हुन भनी भन्ने गरिन्छ । त्यहाँ पनि घरमा आफ्नो दाजु वा भाईले किचेनको केही काम गरिहाले भन्ने घरपरिवारबाट आउने टिका टिप्पणी भनेका यस्तै हुन छोड्दे केटीले, अझ विशेषतः आईमाईले गर्ने काम किन गर्नुपर्यो तैले? बच्चैबाट केटाले गर्ने काम र केटीले गर्ने काम छुट्टयाईन्छ । आजभोलि त के लाग्न थालेछ भने मानिस जति नै युग परिवर्तन गरेरे आजको शताब्दीसम्म आईपुगे पनि हाम्रो नेपाली समाजको परिवेश, सोचाई, हेराईले नारीलाई कहिल्यै पनि समान व्यवहारले नहेर्ने नै रहेछ । घरको हरेक काम गर्ने नारीको मात्रै जिम्मेवारी हो ? पुरुषले गर्नु नहुने हो ? पुरुषले गर्दा पुरुषको इज्जत जाने हो? यी प्रश्नहरुको जवाफ सरकारसँग छ ? कसले दिन सक्छ हाम्रो संविधानले दिन सक्ने हो वा होइन ? जो नारी बिना हाम्रो जीवन जगत चलाउन मुस्किल छ आखिर किन त्यही नारी अपमानित, हेल्तव हुने ?
कानूनका ठूला ठूला अक्षरमा लेखिँदैमा नारीले समानता, स्वतन्त्रता प्राप्त गर्ने कुरामा केही पनि ग्यारेन्टी छैन । जबसम्म प्रत्येक समाज घर परिवारका व्यक्तिहरुले हामी समान हौ भनेर भाषण मात्रै गरेर होइन वास्तविक जीवनमा त्यो कुरा अनुसरण गर्दैन तब सम्म हरेक नारी आफ्ना मन भित्रको भावना, इच्छा र आकांक्षाहरु मारेर जीवन बिताउन बाध्य हुन्छे । वास्तविक जीवनमा अनुसरण गरेमात्रै नारी एक खुला पन्छी भै आफ्ना पखेटा फिजाइ उड्न सक्ने क्षमता राख्न सक्ने हुन्छे । परिवर्तन को तर्फ एक हात त बढाई हेर ए समाज, नारीलाई हौसला, हिम्मत र आड त देउ अनि हेर त नारीले कसरी सक्दो प्रयास गर्छे । मानसिकता परीवर्तन गरेर त हेरौं । यसमा हामीसबैको सोच अत्यन्त महत्वपूर्ण छ । हाम्रो मानसिकतामा असमानता ल्याउनु हुदैन । हामी सबैजना फरक विभिन्न क्षमता भएका छौ । परिवर्तन आफ्नो घरबाट सुरुवात गरी आफूलाई विकास गर्ने अवसर प्रदान गरौ । तपाईंको व्यवहार र अद्यावधिकता सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ । तपाईंले आफ्नो जीवनमा आफ्नो भूमिका निर्धारण गरी, परिवर्तन ल्याउनुहोस् । कानूनमा उल्लेख भएको समानतालाई मानसिकतामा असमानता नराखौं । हाम्रो मानसिकतालाई माझौ र आजैबाट परिवर्तनलाई आफ्नो जीवनमा उतारी व्यवहारमा परीणत बनाऔं । गलत मूल्य र मान्यतालाई हामीले सधै चुपचाप सहेर बस्नुहुदैन । मानसिकतामा परीवर्तन ल्याउ र लैङ्गिक समानतालाई सम्भव बनाउने कोशिस गरौ ।  
(लेखक सर्वोच्च अदालत रामशाहपथ, काठमाडौका इजलास अधिकृत हुनुहुन्छ ।)