2025 June 17/ 04:43: 36pm
  • होमप्रसाद चौंलागाँईं

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना र राज्यको पुर्नसंरचनापछि भएको पहिलो र दोस्रो निर्वाचनको मत परिणामलाई मजाले नियालेर हेर्ने हो भनेपनि नेकपा एमाले देशको सर्वाधिक लोकप्रिय मात्र नएर पुरानो र देशकै ठूलो पार्टी हो । दशकौं लामो इतिहास र दर्जनौं जनसंगठनहरु भएको लोकप्रिय पार्टी हो । त्यतिमात्र नभएर हिजोभन्दा आज र आजभन्दा भोलि एकपछि अर्को गर्दै नेकपा एमाले लोकप्रिय बन्दै गएको छ । त्यसको ताजा उदाहरण हो, एमालेप्रतिको चौतर्फी घेराबन्दी र हिजोदेखिको अपवित्र गठबन्धन !
त्यतिमात्र नभएर आज आउँदा सिंगो एमाले एकातिर र बाँकी रहेका उग्रबामपन्थी, दक्षिणपन्थी र पुर्नउत्थानवादीहरुको अपवित्र गठजोर देखिन थाल्नु एमालेको वढ्दो लोकप्रियता र उसँग एक्लै भिड्न नसकिने कुराको अदृश्य तर वास्तविक प्रमाणको रुपमा लिन थालिएको छ । यसैको फलस्वरुप हिजो निर्वाचनमा गरेको गठबन्धनले नपुगेर पुर्नउत्थानवादी शक्तिलाई समेत भित्र भित्र सहयोग गरेको दृश्य नेपथ्यबाट देखिन थालेको छ । दुर्गा प्रसाईंजस्ताहरुको अराजकतालमा कता कता गठबन्धनको पनि अदृश्य समर्थन रहेको देखिन थालेको छ । त्यतिमात्र नभएर ७ गते हुने कार्यक्रममा एमालेको जनमाससँग प्रतिस्पर्धा गर्न गठबन्धनले सघाउने शंका नागरिक र बुद्धिजीवी तहबाट गर्न थालिएको छ । 
एमालेजत्तिको पार्टी व्यक्ति र व्यक्तिगत अराजकताको पछि लाग्दैन र लाग्नुपनि पर्दैन । सिंगाउरी खेल्न आउँदा भाग्नुपनि त भएन । यस्तो परिस्थितिबाट एमाले अगाडि बढिरहेको हो । प्रसाईंसँग एमालेले लड्न खोजेकै हैन । कर्कलो फाँडन बञ्चरै चाहिन्न । गठबन्धन त ख्याल–ख्याल भएको र ७७ जिल्लामै सशक्त, प्रभावकारी र पहिलो शक्ति सहितको पार्टीपंक्ति र जनसंगठनको जालो भएको नेकपा एमालेले परिस्थितिको मात्र मुकाबिला गर्न खोजेको हो । त्यतिमात्र नभएर मंसिर ७ एमालेको भन्दापनि खास गरी युवा विद्यार्थीको सरकारको जनविरोधी कामहरुको विरुद्धको आन्दोलन हो । 
जहिल्यै एमाले र युवा संघको विरुद्धमा ल्याङ ल्याङ गर्दै आएको वर्तमान सन्दर्भमा युवा संघले गत असोज २२ गते कान्तिपथस्थित होटल एलो प्यागोडमा प्रसाईँ र उसको अराजकतामाथि कालो मोसो दलेपछि उनीहरुबीच दुष्मनी बढेको हो । त्यसपछि प्रसाईंले महेश बस्नेतको निर्देशनमा मोसो दलिएको जर्बजस्त दाबी गरे । घटनालगत्तै बस्नेतले फेसबुकमा लेखे, ‘बैंक तथा वित्तीय संस्थालाई चुनौती दिने, विभिन्न समुदायलाई देश निकाल्छु, मोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले तह लाएछन् । अब सुध्रिऊ, अरूलाई दोष नलगाऊ । यस्तालाई सरकारले कारबाही गरोस् । जनप्रतिरोध हुनु राम्रो होइन । युवा संघको तागत ननाप प्रसाईं ।’ आदि । 
त्यसको केही दिनपछि झापाको एक कार्यक्रममा पुगेका बस्नेतको पार्किङ गरेर राखेको गाडीमा तोडफोड भएको थियो । त्यसपछि बस्नेत र प्रसाईँ सामाजिक सञ्जालमा एक अर्काप्रति आक्रामक देखिएका हुन् । युवा संघका पार्टी इन्चार्ज समेत रहेका बस्नेत एमालेका प्रभावशाली नेता समेत भएकोले बिहीबार हुने दुई कार्यक्रमले थप झडप ननिम्त्याउन सुरक्षा निकायको ध्यान जान थालेको छ । यस सन्दर्भमा शनिबार पार्टी मुख्यालय च्यासलमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले कुनै ब्यक्तिको नाम नलिई कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू देशभरबाट मान्छे उतार्न लागेको बताए । उनले भने, ‘एउटा कसैकसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन् देशभरिबाट काठमाडौंमा मानिसहरू उतार्न, ती मानिसहरू आएर काठमाडौंमा कुनै केही हुने होइन, काठमाडौं फोहोर मात्र हुने हो ।’
अध्यक्ष ओलीले आफूहरू र खासगरी एमालेको लोकप्रिय जनसंगठन राष्ट्रिय युवा संघ नेपालले सरकारले ठीक ढंगले काम गर्न सकेन भनेर सांकेतिक विरोध मात्र गर्न खोजेको बताए । ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा विद्यार्थी र त्यसको पृष्ठभागमा युवा विद्यार्थी एक्लै छैनन् भन्ने देखाउन चाहन्छौं । हामीले थोरै संकेत मात्र गर्न खोजेको हो’, उनले भने । देशमा अनियमितता र बेथितिले सीमा नाघेको भन्दै एमाले अध्यक्ष ओलीले सरकार तत्काल सच्चिनलाई खबरदारी गर्न खोजेको बताए । 
ओलीले कुहिनोले पहाडसंग पौंठेजोरी खेल्न खोजेको सन्दर्भ उठाउँदै कार्यकर्ताहरुलाई ७ मंसिरमा समयमै आउन उर्दी पनि जारी गरे । ओलीले एमाले कसैविरुद्ध जाइनलाग्ने बताए । ‘कसैसँग जाइलाग्ने नीति लिदैनौं । जोशिलो तर आक्रामक होइन । तोडफोड गर्दैनौं, आफ्नो सुरक्षा आफैँ गर्छौं,’ संयमता एमालेको गहना भएको उनले बताएका छन् । त्यसैले मंसिर ७ गते गठबन्धन सरकारले जनतामा थोपरीरहेको महङ्गी, भ्रष्टाचार, बेथितीको विरुद्धमा सशक्त आवाज बुलन्द गर्न काठमाडौं जाने हो । उग्रता, दक्षिणपन्थता र पुनरउत्थानवादको विरुद्धमा आन्दोलित हुन,  बहुलठ्ठीपनको विरुद्धमा जनदवा सिर्जना गर्न, एउटा ब्यक्ति अघि सारेर प्रतिक्रियावादी शक्तिहरू देशभरबाट मान्छे उतार्न लागेको र अस्थिरता सृजना गर्ने उद्देश्यको विरुद्धमा प्रभावकारी ढंगले आन्दोलन गर्न र जनदवाब सिर्जना गर्न काठमाडौं जाने हो ।