
“दिनरात नभनी निरन्तर मेहनत गरिरहें,
आखिर के नै पाईयो र स्वास्थ्य नै स्वस्थ नरहे
छोडिदेऊ सोच्न कसलाई कहाँ कसरी लुटुँ
बरु आओ सबै मिली बचाऔं सबैको मुटु”
एउटा भनाई नै छ “यदि तपाईले पैसा गुमाउनुभयो भने केहि चिज गुमाउनुहुन्छ तर स्वास्थ्य गुमाउनुभयो भने सबै चिज गुमाउनुहुन्छ ।” जीवन सबैका लागि प्यारो हुने गर्छ । सकेसम्म सबैजना खुशी जीवन जिउन चाहन्छन् । नयाँ प्रविधिको खोज, सुखी जीवनको इच्छा राख्ने मानिसको आचरण नै हो तर यी सबै कुराको खोज हुनु पहिले स्वास्थ्य राम्रो हुन जरुरी छ ।
मुटु भनेको के हो त ? मुटु एउटा बलियो मांशपेशीद्धारा बनेको महत्वपूर्ण अंग हो जसले रक्तसंचार प्रणालीमार्फत रगत पम्प गर्ने गर्दछ । धेरैले मुटु छातीको बायाँपट्टि हुन्छ भन्ने ठान्दछन् तर वास्तवमा मुटु बायाँ र दायाँपट्टि नभएर मध्य छातीमा हल्का बायाँपट्टि ढल्किएर रहेको हुन्छ । हाम्रो मुटु सामान्यतः एक मिनेटमा ७२ पटक ढुकढुक आवाज निकालेर धड्किने गर्छ । यसको साईज बायाँपट्टि हातको मुठीजत्रो र आकार पानको पात जस्तो हुन्छ भने १० देखि १२ औन्सको हुने गर्दछ । मुटुको मुख्य काम नै रगत संचालन गर्नु हो । शरीरका सम्पूर्ण अंगप्रत्यंग र कोषहरुमा प्राणवायु तथा खाद्य पदार्थको आपुर्ति गर्ने र त्यहाँ भएको अनावश्यक पदार्थलाई फिर्ता ल्याई निष्काशनको तहसम्म पु¥याउने कार्यसमेत मुटुले गर्दछ । एउटा स्वस्थ व्यक्तिको रगतको चाप ९०–१४० सिस्टोलिक तथा ६०–९० सम्मको डायस्टोलिक हुन्छ ।
“स्वास्थ्यलाई तबसम्म वेवास्ता गरिन्छ जबसम्म रोगी भइँदैन ।” यो भनाई हामी धेरैले सुनेका छौं तर धेरै कमले यस भनाईलाई जीवनमा लागु गर्ने गरेका छन् । विश्वभरि रोगहरु हरेक वर्ष बढ्दो क्रममा छन् जसमध्ये सुरुमा आउने रोग मुटु रोग हो । विश्वमा हरेक ३४ सेकेण्डमा एउटा मानिसको मुटु रोगका कारण मृत्यु हुने गर्छ । विगत ३० वर्षदेखि मुटुरोगका कारण मृत्यु हुने बढ्दो क्रममै छ । यी सबै तथ्यांकहरु हेर्दै जाँदा एउटा प्रश्न चिन्ह खडा हुन्छ । के हमी यो रोगबाट बच्न सक्छौं ? वैज्ञानिकहरुले पत्ता लगाए अनुसार लगभग ८० प्रतिशत मुटु रोगलाई हामी रोक्न सक्छौं । अनुसन्धान अनुसार मुटुरोग बढ्दै जानुको मुख्य कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो । अहिलेको व्यस्त समयमा मानिसहरु घरमै बनाएर खानुभन्दा बजारको मसालेदार खाना खान बाध्य छन् जुन मानिसको स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्छ । विश्वमा करिब २.५ अरब मानिसहरुले हरेक दिन बजारिया खाना खाने गर्दछन् । अनुसन्धान अनुसार सडकमा राखिएका खानाहरु छोटो समयमा नै पाइने र सस्तो पनि मसालेदार भएका कारण प्रायः मानिसहरु बाहिरी खाना खान रुचाउँछन् । हरियो सागपात फलफूलको कमी, मादक पदार्थ, धुमपान, सूर्तिजन्य तथा लागू औषधको सेवन र शारिरीक व्यायामको कमीले धेरै मानिसहरु मुटुरोगको शिकार बन्न पुगेका छन् । सन् २०१९ मा विश्वमा करिब १८.६ अरब मानिसहरु मुटु रोगका कारणले संसार छाडेका छन् । सन् २०२० मा प्रकाशित ध्ज्इ को पछिल्लो तथ्यांक अनुसार नेपालमा हृदय रोगका कारण मृत्यु हुनेको संख्या १९.६७७ पुगेको छ । नेपालीहरुको आर्थिक, सामाजिक अवस्था कमजोर भएकै कारण खानपान, व्यायाम नभएको साथै मुटु रोगका बारेमा ज्ञान भएता पनि उपचारको पहुँचमा पुग्न नसकेको अवस्थाका कारण धेरै मानिसहरु दिनानुदिन मरिरहेका छन् । अहिलेको जल्दोबल्दो भाइरस ‘कोभिड–१९’ का कारण मृत्यु हुनेहरुमा मुटु रोगीहरुको संख्या अत्याधिक रहेको छ । मुटु सम्बन्धी रोगहरु विकासोन्मुख देशहरुको तुलनामा विकसित देशहरुमा बढी लाग्ने गरेको पाइन्छ । हाल मुटु सम्बन्धी दर्जनौं रोगहरु चिकित्साकर्मीहरुले पत्ता लगाईसकेका छन् । तथापि मूख्यतया मुटुमा लाग्ने रुमेटिक ज्वरो, उच्च रक्तचाप र कोरोनरी हृदय रोग हुन् ।
खानपिन अनि स्वस्थ स्वास्थ्यमा ध्यान दिनुपर्छ
रोकथाम उपचार भन्दा राम्रो हुने गर्छ
स्वस्थ स्वास्थ्यका लागि हामीले आफ्नो जीवन जिउनेशैली परिवर्तन गर्नुपर्छ । “सादा खाना स्वस्थ जीवन” हामीले सुन्दै आएका छौं तर लागु गर्न चाहँदैनौं किनभने धेरैजसो मानिसहरु जिउनका लागि खानुको साटो खानका लागि जिउँदैछन् । अस्वस्थकर जीवन शैलीलाई स्वस्थकर बनाउनेतर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबैभन्दा सरल र उत्तम उपाय हो । मुटुरोगबाट बच्न सर्वप्रथम खानपानमा ध्यान दिनुपर्छ । विषादीरहित तरकारी, फलफुल र ताजा खाना खानाले मुटु स्वस्थ रहने गर्छ । बजारिया खाना नखाई घरमै उत्पादित तरकारीको सेवन, शारिरीक व्यायाम गर्नाले मुटु तन्तुरुस्त रहने गर्छ । मादक पदार्थ, धुमपान, लागु औषध तथा सूर्तिजन्य पदार्थको सेवन नगर्नाले मुटु रोगबाट बच्न सकिन्छ । धेरै मसला रहित खाना खानाले र दिनमा ३ लिटर पानी पिउनाले मुटुलाई स्वस्थ राख्न सकिन्छ । नेपाल सरकारले मुटु तथा अन्य दीर्घकालीन नसर्ने रोगहरुको उपचारमा ठूलो लगानी गरेको छ । नेपाल सरकारले १५ वर्षमुनि र ७५ वर्ष माथिका मुटु रोगीको निःशुल्क उपचार गर्नुका साथै विपन्न परिवारलाई रु. १ लाख सम्म उपचार खर्च स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउँदै आएको छ ।
बच्चैदेखि नै हामीलाई घरको भन्दा बाहिरको चिल्लो, अमिलो, पिरो खान रुचाउँछौं । हामी डक्टरकोमा औषधि लिन जाँदा यो औषधिले हामीलाई केहि नराम्रो त गर्दैन ? भनेर प्रश्न गर्छाैं तर पुरानो तेलमा तारिएको समोसाले हामीलाई केहि असर पु¥याउला भन्ने कुरा सोच्दैनौं । मानिसहरुको खानपिनमा लापर्वाहिका कारण विभिन्न मुटुरोगबाट ग्रस्त भई अकालमा ज्यान गुमाइरहेका छन् । त्यसैले पौष्टिक आहार र शारिरीक व्यायामलाई सँगसँगै लैजान सके मुटु रोगबाट पीडित नहुन केहि हदसम्म सक्छौं । अतः स्वास्थ्य स्वस्थ रहे मात्र जीवन खुशी रहने गर्छ । जतिसुकै धनसम्पत्ति कमाएता पनि स्वास्थ्य नै स्वस्थ नरहे त्यो धनसम्पत्ति, मूल्यवान् रहँदैन । त्यसैले मुटुमैत्री खाना खाने गरौं र सम्भावित मुटु रोगबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।