2021 October 19/ 06:43: 48pm

के.वि.मसाल
    नेपालीहरुको धर्म संस्कृति प्रकृतिसंग जोडिएको छ । नेपालीहरुले मान्ने चाड पर्वहरु पनि प्रकृतिसंग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाज, जहाँ १२५ जातिहरु मध्ये १२३ जातिहरुले आफ्नो भाषा बोल्ने गर्दछन् । परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला तथा अन्य साँस्कृतिक उत्सवहरुको आ–आफ्नो विशेषता जोडिएको छ मुलुकभरका विभिन्न नगर, सहर र गाउँहरुमा प्रचलित चाडपर्व, मेलापात, जात्रा तथा परम्पराहरुको लेखाजोखा गर्न अति नै कठिन छ । प्रत्येक जिल्लाको नगर तथा गाउँहरुमा बर्ष दिनभरि नै कतै न कतै कुनै न कुनै चाडपर्व, जात्रा मेला भइ रहेका हुन्छन् ।   
    काठमाडौं उपत्यकामा गठाःमुगः अर्थात घण्टाकर्ण चतुर्दशीदेखि चाडबाड सुरु हुने गर्दछ । तर हामीहरुले मान्दै आएको चाडपर्व गठाःमुगः भन्दा झण्डै महीना दिनअघि, असार १५ मा दही चिउरा खाने पर्वबाट सुरु भइसकेको हुन्छ । असार १५ अर्थात दही चिउरा खाने पर्वको पन्ध्र दिनमा साउने सङ्क्रान्ति आइपुग्छ । साउने सङ्क्रान्ति कुनै विशिष्ट धार्मिक आयाम नभए पनि अधिकांश नेपालीहरुले मीठो मसिनो खाएर लुतो फाल्ने सांस्कृतिक पर्व हो । त्यसपछि साउनको १५ लाई खीर खाने दिनका रुपमा लिने गरिन्छ । प्रायः साउनमा पर्दछ गठाःमुगः र नागपञ्चमी । शिव भक्तहरुका निम्ति साउन महिनाको सोमबारहरु पर्वकै रुपमा पूजाआजा गर्ने गरिन्छ ।
    भदौमा पर्दछ थारुजातिहरुले मनाउने गुरिया पर्व, तागाधारीहरुको रक्षाबन्धन, नेवार जातिहरुको गाईजात्रा, कृष्ण जन्माष्टमी, गौरापर्व, बाबुको मुख हेर्ने कुशे औंसी र तीज । तीजभन्दा पनि हिजोआज दर खाने दिनको महत्व र आकार बढेको छ । तीजको भोलिपल्ट पर्ने गणेश चौंथीलाई बदमासी गर्ने पर्वका रुपमा मनाउने कुप्रथाको रुपमा लिने गरिएको छ । यो पर्व आजभोलि हराउँदै पनि गएको पाइन्छ । काठमाडौंको इन्द्रजात्रा र चेपाङ समुदायले मनाउने छोनाम सकिंदा नसकिंदै सोह्र श्राद्ध सुरु हुन्छ । त्यसको अन्त्यसगै हिन्दुहरुको मुख्य पर्व दशैं सुरु हुन्छ । अनि दशैं नसकिंदै सबैलाई तिहारको पर्वले सुरुवात गराउँछ । तिहारसँगै नेपाल संवत फेरिन्छ । नेवार समुदायको नयाँ वर्षलाई पनि म्हः पूजा गरेर चाडकै रूपमा मनाइन्छ । अनि छठ आउँछ । मिथिलाञ्चलको चाडका रुपमा चिनिएको छठ हिजोआज पश्चिम तराई र पहाडतिर पनि मनाइन थालेको छ । यो बाहेक शेर्पा, गुरुङ र तमाङ जातिहरुले मनाउने ल्होसार पर्व, थारुजातिहरुले मनाउने माघी पर्वको पनि उतिकै महत्व छ ।
    हामी नेपालीहरुले मान्ने चाडमध्ये प्रमुख चाडपर्वको रुपमा दशै पर्व पर्दछ । विशेष गरेर हिन्दुधर्म मान्नेहरुले यो पर्वलाई धर्म संस्कृति र परंपराको रुपमा मनाउदै आएका छन् । दशै पर्व नजिकै आएको हुँदा यस लेखमा दशैको बारेमा चर्चा गरिएको छ । असत्यमाथि सत्यको विजयका रुपमा मनाउन सुरु गरिएको दशैं केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोंडा चढे भनेर आफू धुरी चढ्ने पबृत्ति बढ्दै गएको छ । जसले गर्दा दशै पर्व उल्लास र उमंगको चाड हुन सकेको छैन । जुन कारणले गर्दा दशैं दशा भएर आउने र जाने गरेको छ । दशै पर्वलाई सांस्कृतिक महत्वको चाडका रुपमा मनाएको पाइन्न । दशैंको गरिमा बृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रुपमा मनाउनु पर्दछ । दशैलाई घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियो भने मात्रै दशैं पर्व साच्चिकै दशैं बन्न सक्छ । अहिले खाद्य, लत्ता कपडा, मासु आदि वस्तुहरुमा छाएको महगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरुले अभावका बाबजुद पनि दशैंलाई आफ्नो हैसियत अनुसार मनाउने तर्फ सबैले सोच्नु पर्दछ । आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरु पनि यो पर्वमा आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराको साथ आशीर्वाद लिने परम्परा रहेकोले दशै पर्वले ऐतिहासिक महत्व लिएको छ ।
    आर्थिक मन्दीले सबैलाई सताइ रहेको अबस्थामा आएको विजया दशमीलाई ऋण सापट गरेरै भए पनि धुमधामका साथ मनाउने तयारीमा आम नेपालीहरु जुटिरहेको अवस्था छ । विगत बर्षको तुलनामा झण्डै ५० प्रतिशत बृद्धि भएको महगीको मारमा मनाउन लागिएको यो बर्षको दशंैले झन सबैलाई कष्टकर बनाउन थालेको छ । घटस्थापनादेखि शुरु हुने यो पर्व विभिन्न शक्तिपीठहरुमा बली दिएर देवीदेवताको प्रसादको रुपमा मासु खाने चाडको रुपमा मनाइने दशैं पर्वमा विशेषगरी नवदुर्गाको पूजा आराधना गरेर मनाउने हाम्रो प्रचलन छ । विजया दशमी पर्वको घटस्थापना, अष्टमी, नवमी हुँदै  दशमीको दिन नजिकिदै छ । विजया दशमीको सधैजसो शुभकामना लिने र दिनेक्रम बढ्दो छ । लाखांै पशुपंछीहरुलाई बली दिइदै छ । दशै विजय र आनन्दको उत्सव हो । असत्यमाथि सत्यको विजय दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु–शासनमाथि सु–शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिंसामाथि अहिंसाको विजय, आसुरी शक्ति माथि दैवीय शक्तिको विजय नै विजया दशमी मनाउनुको मुख्य उद्देश्य हो । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दशदिन पूजा, पाठ, ब्रत, उत्सव आदि गरेर मनाइने चाड भएकाले यसलाई दशै पनि भनिएको हो ।
    घटस्थापनादेखि नै हिन्दूहरुले विभिन्न शक्ति पिठहरुमा  दुर्गा सप्त शति, चण्डि र भगवतीको स्तोत्र पाठ गरी विशेष गरी दुर्गा भवानीको आराधना गरिन्छ । परम्परागत दशै पर्वमा खड्ग यात्रा र पूजाको प्रचलन भएकाले यो पर्व नेपालमा तन्त्र यानको प्रादूर्भाव भएदेखि नै भएको हो भन्ने तर्क एकथरि विद्वानहरुको छ । तर इतिहासले भने राजा हरिसिंह देवले नेपाल सम्वत ४४४ अर्थात आजभन्दा ६९० बर्ष पहिले तुलाजा भवानीसमेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दशैको पर्ब सुरु भएको भन्ने पनि छ । देवी पुराण धर्मग्रन्थमा उल्लेख भए अनुसार सत्य युगमा देवासुर संग्राम भएदेखि नै दशै पर्व मनाउन थालिएको कुरा र्र्धािर्मक विद्धानहरु बताउँछन् । चाहे जे जसरी पर्वको सुरुवात भए पनि परम्परागत मनाउँदै आएको दशै पर्व आज पनि हिन्दू समाजमा  उत्तिकै लोकप्रिय चाडकारुपमा मनाउदै आइएको छ । असत्यमाथि सत्यको विजय उत्सव मानि सुरु भएको दशै पर्व पछिल्ला दिनमा देवीलाई बली दिनुपर्दछ भन्ने मान्यता लिई दशै पर्वमा लाखांै पशुपंछीहरुलाई शक्तिपिठ मानिएका देवीदेवताको मन्दिर र दशै घरमासमेत बली दिने गरिन्छ ।
    बली प्रथाको बारेमा अध्ययन गर्दा नेपालमा भुरे टाकुरे शासकहरुकै पालामा लडाइँ लड्दा होस वा विजय प्राप्त गर्दा होस देवीकै शक्तिले जीत भएको मानेर कोट, मौला, हतियार र देवीको मूर्तिमा बली चढाउने परम्पराको थालनी भएको थियो । शाह वंशको इतिहास हेर्ने हो भने लमजुङका घले राजालाई अपदस्त गराएर यशोब्रह्म शाहलाई लमजुङको राजा बनाउँदा वि.सं. १५५० मा कालिकाको मन्दिर बनाई राँगा, बोका, भेंडा, कुखुरा, हाँस, परेवा गरी १९ वटा पशुपंक्षीको बली चढाएर राजाले देवीसंग शक्ति मागेको इतिहास छ । शाह राजाहरुले पछिका दिनमा पनि ठाउँ–ठाउँमा देवी देवताका मन्दिर बनाउन लगाएर राज्यकै तर्फबाट पूजाआजा चलाउदै आएका थिए । अहिले समाजमा अहिंसावादीहरुले पशुबलीको बिरोध गर्दै आए पनि राज्यले समेत यो बली प्रथालाई रोक्नेतर्फ लागेको छैन । दशै पर्वमा बली प्रथा रोक्नुको सट्टा झन मौलाउदै गएको कुरा बली प्रथा बिरोधीहरु बताउँछन् । धर्मको नाममा बली दिनेहरुलाई चेतना दिनेहरुको संख्या र संघ÷संस्था बढ््न थालेकाछन् । हालसम्म औपचारिकरुपले पशुबली निषेध अभियान नेपाल, कृष्ण प्रणामी युवा परिषद, एनिमल वेलफेयर सोसाइटी लगायतका पशु अधिकारकर्मीका संस्था बलीको बिरोधमा लागेका छन् ।
    हामी नेपाली संस्कृतिका धनी छौ । सानो देशमा १२५ जातिहरु रहेका छौ । पछिल्लो तथ्यांक अनुसार नेपालमा हिन्दु धर्म मान्नेहरुको संख्या ८१.३४% रहेको छ भने राष्ट्रिय पर्वको रुपमा मानिने दशै पर्वलाई हिन्दु बाहेक बौद्ध, किराँत, यस्लाम, क्रिश्चियन र अन्य धर्ममा आस्थाबान भएका समुदायहरले पनि दशै पर्वलाई महत्व दिने गरेको पाइन्छ । हाम्रा हरेक संस्कृति र पर्वहरु आर्थिक पक्षमा जोडिएको हुन्छ । आर्थिक हैसियत भएका बर्ग र बिपन्न बर्ग समेत हाम्रै समाजमा रहेका छौ । खर्च गरेर तडकभडक गरेर पर्व मनाउने र नसक्ने बर्गले पनि ऋणधन जुटाएर यस्ता सांस्कृतिक पर्वहरु मनाउँदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नु पर्ने अबस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासिकी र आडम्बरयुक्त दशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नु पर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्र्न सकिएन भने समाजमा रहने बिपन्न बर्गका मानिसहरुको अबस्था कस्तो होला ? यो सबैले सोच्न जरुरी छ ।