2021 October 19/ 06:58: 36pm

- जिएन प्रधान

अन्ततः नेकपा एमाले औपचारिक रुपमै विभाजित भैसकेको छ । यद्यपि  नेकपा एमालेले माधव नेपाल सहित १४ जनामाथी गरिएको सांसद्बाट निष्काशनको कारवाही अदालतमा विचाराधीन अवस्थामा रहेको छ । यदि पार्टीले गरिएको कारवाही अदालतबाट सदर गरि परिस्थितिले अर्कै मोड लिएमा बाहेक माधव नेपालले नेतृत्व गरिएको एकीकृत समाजवादी यथावत रहेको अवस्थामा पनि अहिले बाहिर मोफसलमा जति हाउगुजीको चर्चा चलेको छ वास्तवमा त्यो भन्दा निकै फरक रुपमा बिभाजनको असर परेको स्थानीय जन–प्रतिनिधिहरूको कित्ताकाट तथ्यांकले प्रष्ट पारेकोछ ।
पार्टी विभाजन अघि माधव–झलनाथ पक्षमा जुन किसिमले पार्टीका केन्द्रीय सदस्यहरू, संघीय साँसद्हरू र प्रदेश सभाका साँसदहरू फुटेर जाने र यसको प्रभावमा स्थानीय जनप्रतिनिधिहरू पनि विभाजित हुनेछन भनी जुन आँकलन गरिएको थियो तर यो आँकलनले पूरै पल्टा खाएको अवस्था रहेको छ । २०७८ भाद्र  २३ गतेसम्मको तथ्यांकले मुलुकभरीको औषतमा जम्मा ९.४६ मात्र नयाँ पार्टी समाजवादी (एस) मा लागेको देखिन्छ । प्रदेश सभाको हकमा २ नं. प्रदेश र सूदूरपश्चिम प्रदेशमा एमालेभन्दा ठूलो दलको रुपमा देखिए पनि अन्य ५ ओटा प्रदेशमा भने अझै पनि सबभन्दा ठूलो दलको हैसियतमा कायम रहेको छ नेकपा एमाले । यसअर्थमा अहिले यहि २ नं. प्रदेश र सूदूर पश्चिम प्रदेशको अवस्थालाई हेरेर माधव नेपाललाई केही सान्त्वना मिलेपनि स्थानीय जनप्रतिनिधिको अहिलेको तथ्यांकलाई हेर्दा खासै विभाजनको पक्षमा लागेको भन्न मिल्ने अवस्था छैन । एमाले अध्यक्ष क. के पि ओलीले भन्नु भए झैँ “पार्टी विभाजन भएको होइन, रुखबाट एक दुईओटा पहेँला पातहरू मात्र झरेका हुन, यसले पार्टीलाई केही असर गर्दैन” भन्ने कुरालाई नै पुष्टि गरेको देखिन्छ ।
माधव नेपाल समेतको चाहना र प्रचण्डको सल्लाह, निर्देशन बमोजिम तिकडम एवं षड्यन्त्र अपनाई चोर बाटोबाट अध्यादेश ल्याई माधव नेपाल र महन्त ठाकुरलाई पार्टी बिभाजित हुन सजिलो बनाए पनि आखिर यी सबै गैर संवैधानिक अपराधिक कार्यहरू फगत “मुतको न्यानो” भन्दा अरु केही नहुने स्पष्ट छ । यसमा नेपाली काँग्रेसको एउटै ठूलो आशा के रहेको छ भने यो बेला नेकपा एमालेलाई विभाजन गर्न सकियो भने आगामी निर्वाचनमा सबभन्दा ठूलो दल बन्न सकिन्छ भन्ने रहेको छ । उता नेकपा (माओवादी केन्द्र) लाई एमाले देशकै सबभन्दा ठूलो दल भएकोमा औडाहा त छँदै थियो भने एमाले यही अवस्थामा रहिरहे अबको निर्वाचनमा एकसिट पनि नआउने गरि पत्तासाफ हुने डर प्रमुख रुपमा रहेको थियो । त्यसैले पनि जसरी भए पनि एमाले बिभाजन गर्नु थियो र माधव नेपाल सहितका केही पदलोलुप नेताहरूको पार्टी भित्रको असन्तुष्टिको भेउ पाइ माधव नेपाललाई पार्टी फुटाउनमा सकृय सहयोग गर्न पुगे । यतिसम्म कि एमाले विभाजन गर्नका लागि  माधव नेपालका कट्टर केही समर्थकहरू बाहेक माधव नेपाल पक्षको अन्धो समर्थक बनेर हरेक पक्षमा प्रशंसा र केपि ओली र यसका समर्थकहरूको आलोचक बनेर समेत सहयोग गर्न पुगे । जुन माओवादी तर्फबाट समर्थक बन्न पुगेकाहरू एकाध ब्यक्ती बाहेक सबै छायाँमा पर्दै हट्दै गएका छन् ।  किनभने उनीहरूको एकमात्र उद्देश्य एमाले फुटाउनु थियो, फुटिसकेको छ । अब योभन्दा बढी उचाल्न पुगे आफैलाई घाटा लाग्नेछ । यसैले पनि पार्टी फुट्नु÷फुटाउनु अघिसम्म माधव नेपालका लागि खुराकी बनेर पार्टी फुटाउन उचाल्न पुगेकाहरू अहिले एकाएक कुन दुलोमा लुक्न पुगे देखा पर्न छोडेका छन् ।  यद्यपि एमाले पार्टी फुट्नु अघि देखि नै माधव नेपालका कट्टर भक्तहरू यदाकदा आलु खन्दा छलिएका सिला आलु भेटिएझैँ फाट्टफुट्ट देखिएका छन् तापनि खासै उज्यालो अनुहार देखिएका छैनन् । तैपनि आफ्ना पक्षका कार्यकर्ता र समर्थकहरूलाई सान्त्वना दिनकै लागि भएपनि अबको आवधिक निर्वाचनमा देशकै सबभन्दा ठूलो दल वा अझै भन्ने हो भने एमालेभन्दा एकसिट मात्र भएपनि बढी ल्याउँछौँ भनी  धक्कु छोड्न पनि पछि परेको छैन । यस्तो धक्कु छोड्न अघि बढ्नेमा पार्टीबाट चोइटिए पछि केन्द्रीय सदस्य बन्न सौभाग्य पाएकाहरू रामकुमारी झाँक्री, मेटमणी चौधरी र बिरोध खतिवडा अग्रपंक्तिमा रहेको देखिन्छ । जुन कुरा सुन्दा सपनामा पनि हाँस उठ्ला जस्तो लाग्छ । “जुन गोरुको त सिङ्ग छैन उसकै नाम तिखे” भनेझै जसको त राष्ट्रिय  सवालको एजेन्डा केही छैन, मात्र केपि ओलीले दुईदुई पटक संसद् बिघटन गरेर संविधानको हत्या ग¥यो र हामीले  सर्बोच्चको सहारामा संसद् ब्यूँताइँ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनायौँ भन्ने लाजको पसारो मुद्दा बाहेक अरु राष्ट्रिय सरोकारका बिषय केही छैन । तैपनि भिजेको मुसो स्वरमा यदाकदा उफ्रिएको भने देख्न पाइन्छ । यसलाई हेर्दा लाग्छ मनभित्र भारी खिन्नता र निराशता रहेपनि बाहिरी अनुहार भने जकरजस्ती हाँस्न खोजेको स्पष्ट हुन्छ ।
जे होस् निर्वाचन आयोगमा पार्टी दर्ता गर्नुपूर्व जुन रौनक, जुन फूर्ती, जुन हौसला उम्रिएको थियो त्यो सबै पार्टीमा लाग्न  वा पार्टी छान्न पाउने अवधी  (२०७८ भाद्र २२) पश्चात चिसो पानीमा तातो फलाम सेलाए झै सेलाउन पुगेको पाइन्छ । त्यसैले अहिले जे जति उफ्रिए पनि, फुर्ति लडाए पनि आगामी निर्वाचन सम्म मात्र हो त्यसपछि बर्षे छिचिम्राको आयु जस्तै भासाकभुसुक सक्नेछ । बर्षे छिचिम्रा त्यस्तो प्राणी(कीरा) हो जसको आयु १२ घण्टा पनि रहँदैन । पखेटाको पतन संगै छिचिम्राको पनि अन्त्य हुन्छ । यसको माउ धमिरा त्यो हो जुन आफ्नो घार अर्थात गोला भित्र बसिरहन्छ र आफ्नो प्राकृतिक अस्तित्व कायम राख्नमा तल्लिन रहन्छ ।  यसैले एमाले माउ धमिरा हो भने माधव नेपालको (एस) पार्टी छिचिम्रा हो । छिचिम्रा हुर्केर गोधुली मौसममा एकछिन रमेसङ्गै यसको जीवन समाप्त हुन्छ । हो, यस्तै माधव नेपालको नयाँ पार्टी(एस) को पनि अस्तित्व समाप्त हुनेछ । जुन सिपि मैनाली र डा. बाबुराम भट्टराईको हविगत रहेको छ, यो भन्दा पनि तल्लो स्तरको पार्टी हुन जाने निश्चित छ । त्यसले पनि माकुने समेतको (एस)पार्टी छिचिम्राको जीवनभन्दा फरक पर्ने छैन । जति ठूलो पार्टी बन्छौँ भनी फुर्ति लगाए पनि त्यो निर्वाचन भएर परिणाम नआएसम्मका लागि हाउगुजीमा मात्र सीमित हुनेछ । 
ज्ञात रहोस कि नेपालको इतिहासमा मात्र नभै बिश्वको इतिहासमै पनि फुटेर बनेको नयाँ पार्टीले कही पनि सबभन्दा ठूलो दल बन्न सकेको ईतिहास छैन । न त २०५० (?) मा नेपाली काँग्रेस ७४ रे र ३६ से को रुपमा बिभाजित भएर नयाँ बनेको शेर बहादुरको पार्टी नेपाली काँग्रेस(प्रजातान्त्रिक) ले आशातित जित्न सके न त २०५४ मा नेकपा एमालेबाट बिभाजित भएका सि पि मैनाली, बामदेव गौतमको नेकपा (माले) ले नै एकसिटसम्म जित्न सके । बल्लतल्ल तत्कालिन अवस्थाको मापदण्ड ६% पु¥याउन सफल भएपनि संसद्मा प्रतिनिधित्व भने शून्य हुन पुग्यो । तर यस विभाजनले तत्कालिन अवस्थामा सहजै रुपमा दुईतिहाइ बहुमत ल्याउन÷आउन सक्ने अवस्थालाई भने दोस्रो ठूलो दलमा सीमित गर्न सफल भयो । स्मरण रहोस् कि त्यो बेलाको नेकपा(माले) को हाउगुजी माहौल हेर्दा एमाले शून्य भै बामदेव समेतको(माले)देशको सबभन्दा ठूलो दल बन्नु पर्ने थियो तर बन्न सकेन । तसर्थ यो इतिहासलाई हेर्दा  नेताहरू जति नाम चलेका र हस्ती कहलिएकाहरू भएपनि, गएपनि जनताहरू त्यही रुपमा नेताका पछाडि सती जाँदैनन भन्ने तथ्य सावित भैसकेको छ । यति मात्र नभै जनताहरू पार्टीको सही नीति र बिचारको पछाडी लाग्छन् भन्ने पनि पुष्टि भैसकेको छ । त्यही पनि अहिले विभाजित भएर गएका माधव नेपाल समेतको (एस) पार्टी देश र जनताको भलाईका खातिर कुनै सैद्दान्तिक मतभेद भएर भन्दा पनि नितान्त आफ्नो ब्यक्तिगत पदीय महत्वाकांक्षा  र सत्ता स्वार्थका लागि विभाजित भएको भन्ने कुरा घाम जतिकै छर्लङ्ग भएकोले पनि माधव नेपालको(एस)पार्टीमा नलाग्ने स्पष्ट भएको छ । हुँदाखाँदाको आफ्नै पार्टीको सरकार ढालेर राजनीतिक र सैद्धान्तिक प्रमुख शत्रु एवं प्रमुख प्रतिस्पर्धी दल नेपाली काँग्रेसलाई सत्ता सुम्पिन पुगेका यस पार्टीका नेताहरू प्रति सबै सचेत छन् । यिनीहरूले नै मूल मुद्दाको रुपमा उठाउने गरेको केपि ओलीले दुईदुई पटक संसद्को हत्या ग¥यो भन्ने कुरालाई लिने हो भने पनि केपि ओलीलाई संसद् विघटन गर्न बाध्य पार्ने कोको हुन् भन्ने कुरापनि सबैलाई थाहा भएकै छ । जनताको सार्वभौम अधिकारलाई कुण्ठित बनाएर सर्वोच्चको परमादेशबाट स्थापित भएको भनेर पनि सबैलाई थाहै छ । केपि ओली अर्थात एमालेको सरकारलाई सत्ताच्युत गराएर गठन गरिएको वर्तमान गठबन्धनको कम्फरटेबल देउवा सरकारले यो लेख लेख्दा (६७ दिन) सम्म सरकारले किन पूर्णता पाउन सकेन त्यो पनि सबैलाई थाहा छ । अहिलेको सरकारले विकास निर्माणका काम रोक्ने र भुमिहीन सुकुम्बासी आयोगलाई खारेज गर्ने वाहेक अरू जनताको सरोकारमा के नै काम ग¥यो त्यो पनि सबैलाई थाहा छ । अन्तमाः अबको निर्वाचन पछि माधव नेपाल मात्र एक्लो ठिङ्ग रहने कुरालाई हेर्न मात्र बाँकी रहेको छ । सायद यस्तै संकेत पाएर नै हुनसक्छ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको दुईवर्षमा “म” एक्लो हुन्छु कि जस्तो लाग्छ भन्ने अभिब्यक्तिले पनि प्रष्ट हुन्छ कि अब यिनीहरू प्रति नत जनता कै बिस्वास रहन्छ न त अन्य पार्टीहरू संग नै पूर्ण बिश्वासको वातावरणमा पार्टी एकीकृत हुँदै जाने सम्भावना रहेको छ । जनता एवं देशको विकासको लागि पार्टी निर्माण गरेको भए सबैको उद्देश्य मिल्थ्यो र एक हुने सम्भावना पनि रहन्थ्यो तर नेपालका राजनीतिक नेताहरू देश र जनताको हितको लागि भन्दा पनि आफ्नै हितका लागि कथित रूपमै जानकारी पेशागत राजनीति गर्न पुगेबाट नै यहाँका राजनैतिक दल र यसको नेतृत्व गर्ने नेताहरू एकहुने सम्भावना छैन । यदि नेताहरूमा देशप्रतिको सामूहिक स्वार्थ भैदिएको भए नेपालका सम्पूर्ण बाम पार्टीहरू एक भएर जानु पथ्र्याे र दर्जनौँ चिरामा विभक्त हुनुपर्ने थिएन । ब्यक्तिगत स्वार्थ केन्द्रित राजनीति गरिएको कारणले नै नेपालमा बामपन्थी सरकारले सफलता पाउन नसकेको स्पष्ट भएको छ । अझै भन्ने हो भने पूँजीवादी बुर्जुवा पार्टी भन्दा एककदम अघि बढेर बामपन्थी विचारधारा बोकेका पार्टीहरू झन एक आपसमा बढी शत्रुता रहेबाट पनि देशको लागि नभै आफ्नै लागि भन्ने स्पष्ट हुन्छ । यहि ब्यक्तिगत स्वार्थीहरूको हाबी भएबाट नै अहिलेसम्मको कम्युनिष्ट आन्दोलन असफल हुनुको कारक हो भन्दामा फरक नपर्ला । एक आपसमा खुट्टा तान्ने प्रवृत्ति यसको ज्वलन्त उदाहरण हो । यसैको निरन्तर प्रकृयाको रुपमा आएको छ हालैको माधव नेपालको पार्टी विभाजन । जसलाई यो स्तभकार यो पार्टीलाई छिचिम्रा पार्टीको रुपमा लिएको छु । जसको अर्थ माथि नै उल्लेख भैसकेको छ ।
जे होस् फुट विभाजन सफल क्रान्तिको उपाय नभए पनि नेताहरूमा बिकसित हुने ब्यक्तिवादी अहम्ता र एक आपसको इगोको पराकाष्ठाले पार्टी बिभाजनसम्म पु¥याउने कामले परम्परा बनेको छ । “नयाँ जोगीले खरानी धेरै घस्छ” भनेझै अहिले माधव नेपाल अध्यक्ष बनेको नेकपा (एस) पार्टी केपि ओली नेतृत्वको एमालेलाई माथ गर्ने उद्देश्यका साथ माहोल बनाउने प्रयास रहेपनि अन्तमा उहीँ छिचिम्रा बनेर समाप्त हुनेमा कुनै शंका छैन । यसैमा मलाई चिन्ता छ, कथैबरा छिचिम्रा रुपी नेकपा (एस) पार्टी यति छिट्टै किन राजनीतिबाट अन्त्य हुन्छौ ?