2021 October 19/ 06:41: 33pm

सन्दर्भः १९औं केपी सापकोटा तथा सिंहविर तामाङ स्मति दिवस
-प्रदीप सापकोटा
मुलुक परिवर्तनको लागि भनेर दश वर्षे हिंसात्मक द्वन्द्वको भुङग्रामा पारियो । यो यस्तो तातो भुङग्रो थियो कि यसमा परेर हजारौं आमाका काखहरु रित्याइए  । कैयन चेलीको सिन्दुर पुछिए  । हजारौंलाई टुहुरा पारिए  । कैयन् अंगभंग पारिए  । शारीरिक र मानसिक हिंसाको चपेटा पर्नेहरुको संख्या गनि साध्यै भएन  । परिवर्तन नेताहरुमा आयो  । सर्वहाराहरुका नेता भनिएकाहरु पटक पटक सत्तामा पुगे । तर जनताका समस्या ज्युँ का त्युँ । विद्रोहमा मारिनेका सपनाहरुको धज्जी उडाइएको छ अहिले । सत्तास्वार्थमा निहित छन् हिजोका विद्रोहको अगुवाई गर्नेहरु । त्यतिखेर विद्रोही र राज्यपक्षबाट भएका गैह्रन्यायिक हत्याहरुमा हालसम्म छानविन हुन सकेको छैन् ।
२०५९ सालको भदौको ३० गते । रात निष्पट अँध्यारोतिर बग्दै थियो । सुनसान अध्याँरो पर्दा धर्तीमा पोतिएको थियो । रातको भयवित वातावरणमा झ्याउकिरीहरु समेत निदाइसकेका थिए । म पनि लगातार विभिन्न स्थानमा गरिएको रेडक्रसको तालिम सकेर थकित र गलित शरीरलाई ओछ्यानमा विश्राम लिइरहेको थिए । मध्यरात हुनुपर्छ । आमाले मेरो कोठाको ढोका ढक्ढकाउनु भयो । म आँखा मिच्दै उठें । भीमसेन दाई आमासँगै कोठामा प्रवेश गर्नुभो । ‘ल प्रदीप उठ ।कृष्ण दाईको माओवादीद्धारा अपहरण भएछ ।’हल्ला थियो राज्यले घोषणा गरेको निर्वाचन बिथोल्न माओवादीले स्थानीय तहका लोकप्रिय जनप्रतिनिधिहरुको अपहरण गर्दैछन रे । आखिर त्यहि गरे । म उठें र भिमसेन दाईसँग बाहिरिएँ । हामीसँगै अरु थुप्रै दाईहरु पनि हुनुहुन्थ्योे । हामी कुशादेवी पुग्यौं । केही साथीहरु कमरेड भीम न्यौपानेको घरतिर लाग्नु भयो । केही साथी नेता कमरेडहरुलाई अपहरण गरेको खवर सुनाउन कुशादेबीका भएको टेलिफोनवाट कुरा गर्न थाल्यौं । विहानीपख हुन थाल्यो । हामी पनौती बजारमा थियौं । तर केपी सापकोटाको पत्तो थिएन । हामी धेरै बेचैनी र तनावमा थियौं । उपल्ला तहका नेताहरुले केपीको अवस्था बुझ्न पहल गर्ने र हामीलाई धैर्य गर्न र गाउँ फर्केर सानो कोणसभा  गरेर रिहाईको माग गर्न निर्देशन दिए । हामी गह्रुँगो मन लिएर फकियौं । खाना खाएर सबैजना जुट्ने कुरा गरेर घर फर्किएका थियौं । घरमा आएर खाना खाँदै थिए बाहिर हल्ला गरेको सुने बाटोमा । म खाँदै गर्दाको खाना छोडेर बाहिरिएँ । केपी दाईको हत्या भएको खबरले म पनि अरुहरुसँगै घटनास्थल लागें ।
आङ नै सिरिंङ पार्ने दृष्यले मुटु नै हल्लियो मेरो । हतियारको आडमा बहुला कुकुर जस्तै बहुलाएछन् माओवादीहरु । उफ् घटनास्थल वरिपरिको अवस्था देखेर आँखै तिरमिराए । हामी सबैको हृदयमा कोलाहल मच्चियो । एकनाश छातीमा उम्रियो आक्रोशको काँडा । अवाक भयौं हामी । टोलाए हाम्रा आँखा । अनायासै बगे आँसु । मनले क्षोभ ब्यक्त ग¥यो । धिक्कार छ हातमा राता झण्डा बोकेर क्रान्तिकारी सुगा रटान गाउनेहरुले हाम्रा साँच्चै अर्थमा जनताका प्रिय नेताको कायरतापूर्वक हत्या गरे । कालो बाज जस्तो बनेर जननायकको निंश्रस जीवनलीला समाप्त पारे । धिक्कार लाग्यो तिनको क्रान्ति । कायर आततायी लागे मलाई तिनीहरु । समय टक्क रोकियो । स्तब्ध रह्यो त्यो दिन । जनताको सपना पूरा गर्न अनवरत लागिरहने योद्धालाई जनताकै निम्ति क्रान्ति गरेको भन्नेहरुले पाशविक पीडा र यातना दिएर जीवन समाप्त गरे । तमाम विहावरबासी मात्र नभएर सिंगो काभ्रे जिल्लाका आम जनताको हृदय शोकग्रस्त आँसुले भिजे । जनताले शोकका धुन र आक्रोशको ज्वार उचाले । यस्तो शोकमा डुबेका जनतालाई त्यो समयमा धम्कीहरु पmैलाइरहे आततायी बगरेहरुले । तर जनताले विरोध ओकले । निन्दा र भत्र्सना गरे ।
कृष्ण प्रसाद, अन्याय र अत्याचारका बाछिटाहरुले उनको मनलाई सदैव आक्रान्त पाथ्र्याे । उनको मनले सधैं उज्यालोको खोजी गथ्र्याे । नेपाली राजनीतिको बिडम्बना, गरिखाने श्रमजिवी बर्गको लागि जीवनभर संघर्षको अगुवाई गर्ने अगुवाको सोही बर्गको हितको लागि सशस्त्र द्वन्द्व गरेका भनिएका लालझण्डाहरुबाटै वीभत्स र कायरतापूर्ण हत्या गरिनु के माफीयोग्य छ ? नैतिकता छ उहाँहरुमा जवाफ दिनसक्ने ? क्रान्तिकारी सिद्धान्त र सर्वहारा विचारधाराले सुसज्जित भनिएको पार्टीबाटै विना कुनै कारण कुत्सित मनसाय पुरा गर्न गरिएको बर्बर हत्याको के इतिहासले क्षमा देला ?
कृष्ण प्रसाद सापकोटाको बारेमा केही लेख्न खोजिरहेको छु । शब्दहरुमा उनलाई सम्झने यत्न गर्न खोजिरहेको छु  । तर मन गह्रुगो भएको छ । अलमलिएको छु कहाँबाट शुरु गरेर कसरी अन्त्य गरौं । कमरेड केपी सापकोटा काभ्रेली कम्युनिष्ट राजनीतिका एक स्मरणयोग्य र सशक्त पात्रको नाम हो । जीवन र जगतलाई द्वन्द्वात्मक भौतिकवादी आँखाले हेर्ने जनवादी केन्द्रियताको अनुशासनका जंगे पिलर थिए । आफ्नो कुरा दर्बिलो तर्कसाथ राख्ने निर्भिक योद्धा थिए उनीु । सधैं सरल रहनसहन, खानपान र
भेषभुषामा देखिन्थे । श्रमको सम्मान गर्ने उनी आफैं पनि श्रमका पर्याय थिए । आफ्नो स्वार्थमा उनी कहिल्यै महत्वाकांक्षी देखिएनन् । डर भन्ने कुरा केपीको निम्ति विजातीय चिज थियो । विचारमा बेइमान कहिल्यै भएनन् सायद यिनै कारणहरुले उनी सच्चा कम्यूनिष्ट जोधाहा बने । कमरेड केपी संघर्षको अर्काे नाम थियो त्यहि भएर होला उनले बच्चादेखि अभावहरुसँग संघर्ष गरे । बुझ्ने भएपछि मिहेनत जनताको पक्षमा निरन्तर संघर्ष गरे । लोभ लालचमा कहिल्यै फसेनन् उनी । प्रलोभनमा परेनन् । दृष्टिकोणमा दृढ, भनाई र गराइमा समानता, उच्च आत्मबल, आशाबादीता, अध्ययनमा अभिरुची उनको अनुकरणीय पक्ष थियो । उनको बोलीमा गंभिरता, सहजता, आफ्ना कुराहरु र अडानहरु स्पष्ट राख्नसक्ने उनको ब्यक्तित्व थियोे भने विपक्षीहरुलाई कडा प्रहार गर्न सिपालु थिए । बाल्यकाल मध्यम बर्गीय परिवारमै जन्मि हुर्किएका भएपनि अभाव र कष्ट आँ मुख गरेर निल्न खोजे जस्तै थियो उनको । सानैदेखि जुझारु उनी अभाव र पीडामा पनि खुशीको रंग पोत्थे । परिवर्तन प्रति आशावादी थिए । जब उमेर बढ्दै गयो चेतनाको ढोका झन्झन् उघ्रियो  । र राजनीति बुझ्न थालेदेखि होमिए केपी कम्यूनिष्ट पार्टीमा । अथाह राजनीतिक र आर्थिक शोषणको जाँतोमा पिधिंदै गरेको गाउँ र वेदनाले च्यापेका जनताहरुको मुक्तिको लागि समाजमा राजनीतिक चेतनाका बीउ रोप्ने काममा निरन्तर सक्रियता बढाएका कमरेड केपी पछिल्लो समयमा रयाले गाउँ विकास समितिको अध्यक्षमा अत्याधिक मतका साथ दुई पटक निर्वाचित पनि भए । उनकै नेतृत्वमा रयालेले आफ्नो मुहार फे¥यो । भाग्यमा हैन कर्ममा विश्वास गर्ने उनी अन्यायको विरुद्धमा सतिसाल जस्तै उभिन्थे । उत्पिडित र मिहेनतकस जनताको मुक्तिको लागि समरमा होमिएका कमरेड केपी आफ्नो विचार प्रति दृढ संकल्पित र प्रतिबद्ध नेता थिए । पंचायती निरंकुशता विरोधी आन्दोलनहरुमा अग्रपंक्तिमा थिए उनी, समाजमा सकारात्मक परिवर्तनको लागि साँस्कृतिक कार्यक्रमहरु संचालनको अगुवाई गर्थे । विपक्षीहरुप्रति स्पात झैं थिए  । सहहृदयी केपी स्पष्ट तथा खरो बक्ता थिए । उनको राजनीतिमा लगाव अनुकरण योग्य थियो ।
कमरेड केपी जहिले पनि जनताको शक्तिमा विश्वास र भरोसा गर्थे त्यहि भएर नै अपहरणको आशंकामा नेताहरुले सुरक्षित रहन गरेको आग्रहलाई टार्दै म जहिले पनि आफ्ना जनताको बीचमा सुरक्षित छु भन्ने भावना ब्यक्त गरेका थिए । उनलाई युवाहरुप्रति भरोसा थियो र त युवालाई नेतृत्वमा पु¥याउन र अघि बढाउन उनको योगदान रहेको थियो । यसको पछिल्लो दिन क्रुरतापूर्वक हत्या गरे कमरेड सिंहविरको । जनजातीको छोरो जो अलिकति लेखपढ गरेको थियो । समाजमा आफ्नो केही भूमिका खोज्दै गाउँमा आएर बसेको उ । मिहेनती मान्छे । श्रममा विश्वास गरेर पसिना बगाउने सिंहविर सदैब कर्ममा विश्वास गर्थे । उनी पनि लाल झण्डा बोकेकाहरुको निसानमा परेर मारिए ।  रातो रक्तरंजित झण्डा वोकेर हिड्दैमा कोही पनि कम्यूनिष्ट हुदैन् । रगतको आहालमा डुब्दैमा कोहिपनि महान् क्रान्तिकारी हुँदैन । जिब्रोमा क्रान्तिको भाषा बोकेर जीब्रो फड्काउँदैमा कोहिपनि क्रान्तिकारी योद्धा बन्न सक्दैन । क्रान्तिको कथित जामा पहिरिएर हिड्दैमा पनि कोही क्रान्तिकारी हुन सक्दैन । नत गोजीमा कम्युनिष्ट नामधारी पार्टीको चवन्नी सदस्यता बोकेर हिड्दैमा कोही कम्युनिष्ट ठहरिन्छ । 
कमरेड केपी तथा सिंहविरको १९आंै पुण्य तिथी मनाई रहँदा उनका सदिच्छा र सपनाहरुलाई केलाएर पूरा गर्नुपर्ने उनका केही सहयोद्धाहरु अहिले विभाजित छन् । तर यो विभाजन कुनै नीति, विचार, सिद्धान्तप्रतिको विमती नभएर अवसर र लोभ लालचको कारणले भएको छ । कमरेड केपी, बलराम, सिंहविरका सायद तपाईहरुलाई थाहा छैन् । अहिले एकाध तपाईहरुका सहयात्रीहरु बाटो विराइरहेका छन् । तिनै सहयात्रीका भूमिकाको कारण तपाईका सपनाहरु चूर चूर हुने खतरा बढिरहेको छ कमरेड । म दुःखका साथ भन्दैछु केपी कमरेड तपाई र उहाँहरु मिलेर खनेको बाटोलाई भत्काउने प्रयास सहयात्रीबाटै भएको छ । र पनि कमरेड तपाई जन्मथलोको मिट्टी हातमा लिएर तपाईको राजनीतिक विरासतलाई तपाई र तपाई पछिका पुस्ताले एकमना एकतासाथ जोगाईरहेका छौं । प्रण गरेका छौं तपाईले बोकेको त्यो रातो झण्डा कदापि भूइँमा झर्न दिनेछैनौं भनेर । जिउँदो, एकबद्ध भएर जाग्दैछ विहावर नेकपा एमाले प्रतिको आस्था बोकेर ।
बाँचुन्जेल मूल्य, मान्यताको राजनीति गर्नुहुने केपीको अभाव पूरा हुन नेकपा एमालेभित्र देखापरेका निम्न पूँजीवादी चिन्तन, गुटगत अराजकता, अनुशासनहिनता, जिम्मेवारीपालन नगर्ने प्रवृत्तिहरुको अन्त्य गरेर पार्टीलाई सुदृढ, शुद्ध र आउने चुनौतिको सामना गर्न सक्षम पार्टीको रुपमा रुपान्तरण गर्न सक्यौं भने, राजनीतिलाई मागी खाने भाँडो बनाउनेहरु र व्यक्तिगत स्वार्थसिद्ध गर्ने माध्यम वनाउने रोगको विरुद्ध लड्न सक्यौं भने, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र संरक्षण गर्न नेकपा एमालेको झण्डालाई उँचो राख्न सक्यौ भने मात्र कमरेडहरुको अभाव पूरा हुनेछ र साँचो अर्थमा उहाँप्रति श्रद्धाञ्जली हुनेछ । फुटपरस्तहरु हो याद गर तिमीहरुले कमरेड केपीहरुको सपनामा खेलेका छौ । तुहाउन खोजेका छौ । तर मेरो आग्रह छ अवसर र ब्यक्तिगत लोभको पछि नलागौं । त्यस्ता कुराप्रति धेरै आशक्तिपन नदेखाउँ । जनताको लागि अल्पायुमै जीवन गुमाउने आफ्ना सहयोद्धाहरुको आँसुले पोल्ला तिमीहरुलाई । फेरी पनि दिवंगत कमरेडका सहयोद्धाहरु उनीहरुको सपनामा होली नखेलौं । उनीहरुका सकारात्मक योगदानहरुको श्रृंखलामा लामबद्ध होऔं । योगदानभित्र बाँचिरहनेछन् केपी, बलराम, सिंहबिर । 
कार्तिकको सयपत्री फूलजस्तै कम्युनिष्ट र परिवर्तनकारी आन्दोलनहरुमा फूलिरहनेछन् । फुटेर पुरा हुँदैनन् तिनका सपना, जुटेर पुरा हुन्छन् । ब्यक्तिगत स्वार्थ र असन्तुष्टिका लागि विचारलाई नकुल्चौं । यो त बर्गीय आन्दोलनको घिनौनो हर्कत हो । यसो गरिएन भने केपीका सहयात्रीहरु बाँचेर पनि मुर्दा सरह हुनेछन् जो फगत बाँचेको घोषणा गर्छन् तर अर्थहीन जीवन बाँच्छन् । तसर्थ बाटो विराउनेहरु घर फर्कनुस नत्र स्वर्गीय कमरेडहरुको श्राप लाग्नेछ । केपी सिंहविरको १९ औं स्मृति दिवसमा हामी सबैले फिंजाउनुपर्ने सन्देश भनेकै यहि हो । कमरेड केपी सापकोटा, सिंहविर तामाङ आँखाहरुमा क्यान्भास बोकेर श्रद्धापूर्वक पढिरहेको छु म तिमीहरुकै नाम । जतनले सम्हालिरहेछु भावी दिनहरुको निम्ती तिमीहरुले बोकेको त्यो दृढ विचार । हार्दिक श्रद्धाञ्जली ।