2021 April 16/ 05:05: 52am

–केशव थापा
संघीय राजधानी काठमाडौबाट पुगनपुग २५ कि. मी. र भौगोलिक हिसाबले भक्तपुर जिल्लाले काठमाडौबाट अलग्याएको काभ्रेपलाञ्चोक जिल्ला भौगोलिक अवस्थिति, सबैखाले हावापानीको सहजता, प्रचुर प्राकृतिक स्रोतसाधनको उपलब्धता, तराई, पहाड र हिमाली जिल्लाहरुसँग सिमाना जोडिएको नेपालका वर्तमान सत्तहत्तर जिल्लाहरुमध्येको सुन्दर, संभावनायुक्त, ऐतिहासिक एवं धार्मिक विरासत भएको जिल्ला हो । नमोबुद्ध, श्रीस्वास्थानीमा वर्णित श्रीभालेश्वर, धनेश्वर महादेवको मन्दिर, शक्तिकी पर्याय पलाञ्चोक भगवती, चण्डेश्वरी, नालाभगवती, शारदादेवी, मानेश्वरी जस्ता प्रशिद्ध भगवतीहरुको विराजमानता, प्रत्येक बा¥हबर्षमा माघ महिनामा लाग्ने मकरमेला लाग्ने पनौतीस्थित त्रिवेणीधाम लगायतका हिन्दु एवं बौद्धधर्मालम्बीहरुको आस्थाको केन्द्रसँग संबन्धित हजारौंको संख्याका मठ, मन्दिरले यसलाई पवित्र धार्मिक जिल्लाको रुपमा पनि चिनाएका छन् । ज्ञानविज्ञानको विभिन्न विधाका  उच्चकोटीका सपूतहरुलाई जन्म दिएर काभ्रेको माटो धन्यधन्य बनेको छ ।  
जीवन निर्वाहका लागि बन्दव्यापारमा निमग्न सहिरया काभ्रेलीहरु र अन्नपात उब्जनीका लागि अहोरात्र खेतबारीको माटो ओल्टाइपल्टाई गर्ने धर्तिपुत्रहरुको जन्मभूमि काभ्रेले नेपालको हरेक परिवर्तनकामी आन्दोलन र जुनसुकै प्रकृतिको विद्रोहमा अग्रमोर्चामा उभिएर आफ्नो ऐक्यवद्धता प्रदर्शन गरेको छ । निरङ्कुशता विरोधी अभियानका अभियन्ताहरु काठमाडौंमा असुरक्षित हुँदा बास बस्ने ठाउँ पनि काभ्रे जिल्ला नै हो । यी सबै हुँदाहुँदै पनि के राणा शासनकाल, के पञ्चायतीकाल वा के संसदीय वहुदलीय प्रजातान्त्रिक शासनकाल सबै समयमा राजधानीको बगलमा उभिएर पनि काभ्रेले आफ्नो आवश्यकता, संभाव्यता,  अपेक्षा र समयको पदचाप अनुसारको विकास÷निर्माणको अवसर प्राप्त गर्न सकेन । त्यतिबेला लाजले वाध्य भएर फाट्टफुट्ट समावेश गरिने कम महत्वका परियोजना वा उच्चपदस्थ काभ्रेली कर्मचारीहरुले परिस्थित अनुकूल भएको बखत मातृभूमिप्रतिको कर्तव्यबोधले पार्ने योजनाबाहेक विकास, निर्माणको सम्बन्धमा राज्यले न्याय नगरेको जिल्लामध्येको एक हो काभ्रे जिल्ला । 
दशवर्षे जनयुद्धकै सेरोफेरोमा देशका सबै ठूलासाना दलहरु मिलेर आव्हान गरिएको वि.सं. २०६२÷६३ को वृहत् जनान्दोलनको क्रममा काभ्रे नालाका भीमसेन दाहाल पोखरामा पहिलो सहिद बन्न पुगे । जिउँदो सहिद मुकेश कायस्थ अद्यावधि बनेपामा अचेत अवस्थामा नै निक्कै नाजुक र जोखिमयुक्त जीवन बाँची रहनु भएको छ । यो दशकमा पनि काभ्रे राज्यको नजरमा पटक्कै छाउन सकेन । यी यावत परिघटनाले आम काभ्रेलीहरुलाई केन्द्रीय राजधानीसँगको निकटता जिल्लाको निमित्त अभिशाप बन्दै गएको अवस्थाले दिनदिनै चिन्तित तुल्याउँदो थियो । गुणस्तरीय खाद्यान्न, तरकारी फलफूल, दूग्धजन्य पदार्थ, मरेर काम गर्ने इमान्दार र साहसिक जनशक्ति राजधानीलाई उपलब्ध गराउँदैगराउँदै पनि काभ्रे यतिसारो वञ्चितीकरणमा पर्ने कारणका सम्बन्धमा काभ्रेलीहरुकाबीच व्यापक बहस तथा अन्तर्कि्रया चल्न थाल्यो । केन्द्रीय राजधानीबाट टाढा रहेर पनि कतिपय जिल्लाहरु नेताको अग्रसरतामा विकासपथमा निक्कै अगाडि बढेको तथ्यलाई दृष्टिगत गर्दा दराजनीतिक दलको केन्द्रीय नेतृत्वमा काभ्रेलीहरुको गरिमामय उपस्थित नहुनु र सक्ने जिल्लाबासीहरुबाट पनि आफ्नो मातृभूमिप्रति उचित न्याय गर्न नसक्नु हो भन्ने निष्कर्षमा पुग्दै सबैलाई “काभ्रेको लागि केही गरौं !” आव्हानका साथ आम काभ्रेलीहरु अटाउन सक्ने गैरराजनीतिक, गैरनाफामूलक सेवादायी साझा संस्थाको रुपमा वि.सं. २०६९ सालमा काभ्रे सेवा समाज, काभ्रेको गठन गरिएको थियो । स्थापनाकालदेखि नै काभ्रेको समृद्धि र काभ्रेलीहरुको सम्बद्धक्षेत्रमा उत्तरोत्तर उन्नयनको उपासक रहेको छ यो संस्थाले प्रारम्भदेखि नै राजनीतिक दलको केन्द्रीय तह, राज्यको नीतिनिर्माण तहमा काभ्रेलीहरुको प्रभावकारी उपस्थिति र काभ्रेको संभाव्यताको अधिकतम सदुपयोगको पक्षमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै आएको छ । 
दुई कार्यकाल लगाएर संघीय लोकतान्बिक गणतान्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति,सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाले मिति २०७२÷०६÷०३ मा देशको मूल कानुनको रुपमा संविधान जारी गरेपछि भएको पहिलो आमनिर्वाचन पछि सभासद्मा विजयी माननीय गोकुलप्रसाद बाँस्कोटा दल एकीकरण भएर बनेको ने.क.पा.को केन्द्रीय सदस्यमा र नेपाली कांग्रेसका काभ्रेली नेता श्रीशिवप्रसाद हुमागाँई नेपाली कांग्रेस पार्टीको केन्द्रीय सदस्यमा मनोनयन हुनु भएपछि ठूला राजनीतिक दलको केन्द्रीय तहमा अब काभ्रेलीको प्रतिनिधित्व भयो भन्न्ने हर्षले काभ्रे सेवा समाजको तत्कालीन कार्य समितिको बैठकले सर्वसम्मतिबाट केन्द्रीय सदस्यद्वयलाई हार्दिक बधाई र उहाँहरुको लामो राजनीतिक जीवनको उचित मूल्याङ्कन गरी स्थान उपलब्ध गराउने दल र दलका नेताहरुप्रति हार्दिक आभार प्रस्ताव पारित गरेको थियो । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले करीब ६ वर्ष अघि यस समाजका सल्लाहकार समितिका संस्थापक अध्यक्ष उमेशप्रसाद मैनालीलाई लोकसेवा आयोग जस्तो सम्मानित निकायको अध्यक्षमा गर्नु भएको नियुक्तिले पनि समस्त काभ्रेलीहरुलाई गौरवान्वित बनाएको थियो ।  
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो निर्वाचनको परिणाम ने.क.पा.को पक्षमा हुन पुग्यो । ने.क.पा.ले संसदीय दलको नेता तथा पार्टी अध्यक्ष (प्रतिनिधिसभाको विघटन, पुनःस्थापना आदि घटनाक्रमको सिलसिलामा नेकपामा पनि टुटफुट, विभाजन र कार्यकर्ताहरुको चाहना विपरीत नेताहरुको एकार्कालाई हिलो छ्रयाप्ने अप्रिय खेल र सम्बन्धितको निजी स्वभाव तथा शैलीले पछिल्लो दिनमा आलोचना प्रत्यालोचनाको अस्वभाविक प्रतीत हुनेक्रम अलि बढी नै देखिएता पनि) केपी ओलीको नेतृत्वमा बनेको सरकारले मन्त्रीमण्डलको पुनर्गठनको सिलसिलामा माननीय गोकुलप्रसाद बाँस्कोटालाई सूचना सञ्चार र प्रविधिमन्त्री एवं नेपाल सरकारको प्रवक्ता तोकेपछि काभ्रेको समग्र आर्थिक विकासको घुम्टो मज्जाले उघारिएको हो भन्न हिच्किचाउनु पर्दैन । 
काभ्रेका दूरदराजका बस्तीहरुमा प्रदेश तथा स्थानीय सरकार समेतको सहमतिमा समृद्धिका अत्यावश्यक अवयवहरुको गतिशीलता र प्रभावकारिताको सशक्त माध्यम सडक सञ्जालको विस्तार, इन्द्रावती सरोवरको निर्माणबाट खानेपानी वितरण, जलविद्युत उत्पादन लगायत सोको क्रमशः वहुपक्षीय उपयोग, आयआर्जन र स्वरोजगारको पर्याय प्राविधिक शिक्षाको लागि पाँचखालमा मदनभण्डारी विश्वविद्यालय निर्माण, सामरिक तथा राष्ट्रिय सुरक्षा तथा विपद् व्यवस्थापन आदि विषयमा विश्वविद्यालयस्तरको गुणस्तरीय शिक्षा दिने डिफेन्स विश्वविद्यालयको साँगामा स्थापना, पनौती, कुशादेवी, रयाले हुँदै ललितपूर पुग्ने साविकको कच्ची बाटोलाई राजमार्गकोरुपमा स्तरीकरण, पाँचखालमा विशेष आर्थिक क्षेत्र स्थापनाको कामको सुचारुता, पनौती, धुलिखेल र बनेपको सङ्गमस्थलको रुपमा रहेको धनेश्वरमा विश्वस्तरको सुरक्षित, गुणस्तरीय, सुपथमूल्यमा बैंकका नोट, चेक आदि जस्ता महत्वपूर्ण सामाग्री छपाई गर्ने अत्याधुनिक सेक्युरिटी प्रेसको स्थापना (यसै संबन्धी टेप प्रकरणले नैतिकताको आधारमा राजिनामा दिएको र यस संबन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको) बनेपा, पनौती, धुखिलेल एकीकृत खानेपानी आयोजनाको शीघ्र कार्यसम्पादन, नेपाल सरकार र दातृनिकायको सहयोगमा सम्पूर्ण सुविधासहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने दुइदुइवटा नमूना सामुदायिक माध्यमिक विद्यालय भवनको निर्माण, पनौती, बनेपा, धुलिखेल नगरपालिका र बेथानचोक गाउँपालिकासहित एकीकृत भ्याली निर्माणको संभाव्यता अध्ययन, धार्मिक सांस्कृतिक तथा ऐतिहासिक सहर पनौतीको विश्वसम्पदामा सूचीकरणमा सक्रियता, काभ्रेकै उपयुक्त स्थलमा घरेलु विमानस्थल निर्माणको संभाव्यता अध्ययन, स्वदेशमा भएको बखत हरेक हप्ता काभ्रेका विभिन्न स्थलहरुमा पुगेर नियमित स्थलगत अवलोकन भ्रमण र सर्वसाधरणलाई विकासप्रति अभिप्रेरित गर्ने जाँगरले उहाँ स्वयम्को ख्याति बढाउनुको साथै छोटै समयमा काभ्रेको समृद्धिको नवक्षिजित फराकिलो भएर उघारिएको छ । यसैले काभ्रेको आर्थिक विकासलाई वर्तमान तथा भावीपुस्ताले आयन्दा गोकुलप्र्साद बाँस्कोटा (उहाँको मौलिक निजी शैली र व्यवहारप्रति यस समाजको कुनै टिप्पणी र प्रतिकृया नरहेको) को समय अघि र पछिको भनेर अध्ययन र विश्लेषण गर्ने संभावना टड्कारो बनेको काभ्रे सेवा समाज, काभ्रेको ठम्याई रहेको छ । नेपालको राजनीतिमा उदाउने भावी राजनीतिज्ञहरुलाई पनि आगामी दिनमा काभ्रेली माटोप्रति कम्तिमा पनि उहाँको जति गर्न दवाव पर्ने निश्चित नै छ । बाँस्कोटा लगायत विभिन्न तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुप्रति यस समाजको साधुवाद छ ।  
संघीयमन्त्री नै विकास निर्माणको काममा अभिरुचीपूर्वक खट्ने, त्यसमा चासो राख्ने भएपछि स्थानीय तहहरु पनि विकासको लयमा उत्साहपूर्वक सामेल हुनुपर्ने अवस्था पैदा हुँदो रहेछ । आफ्नो ठाउँमा हुने विकास र त्यसको दीर्घकालीन उपादेयताको बारेमा जानकारी पाएपछि सर्वसाधरणमा पनि प्रस्तावित विकास आयोजनाप्रति अपनत्वबोधको भावना जागृत हुने रहेछ । एक ठाउँमा विकास आयोजना प्रारम्भ भएपछि अर्का स्थानका जनताले पनि हामीलाई विकास खै भनी माग गर्ने आँट जुटाउँदा रहेछन् । यस अर्थमा पनि महत्वपूर्ण रहेको छ, काभ्रेको विकासको सन्दर्भमा यस अघिको तीनवर्ष । 
सञ्चालन भई काम सकिने चरणमा रहेका, कोही भटाभट निर्माणको चरणमा रहेका र केही प्रारम्भ हुने चरणमा रहेका उपर्युक्त परियोजनाहरु पछिल्लो दिनमा विकसित राजनीतिक अस्थिरता र अन्यौलताको कोपभाजनमा परेर वेवारिसे नबनून भनी सम्पूर्ण काभ्रेलीहरु सजग हुनुपर्ने भएको छ । खाद्यान्न, दूग्धव्यवसाय, फलफूलखेती, पर्यटन (धार्मिक, सांस्कृतिक, साहसिक, मनोरञ्जनात्मक, शैक्षिक आदि), खानीजन्य उद्योग, परिवहनका साधनको मर्मत तथा पार्टपूर्जा जडान, र परम्परागत व्यापार काभ्रेमा फस्टाएका र फस्टाउन सक्ने व्यवसाय भएकोले यिनीहरुको समुचित उत्थानको निमित्त पनि आवश्यक पहल गर्नुपर्ने देखिन्छ । काभ्रे एकीकृत भ्यालीको परिकल्पना साकार पार्न पुण्यमति तथा रोशमती खोलाको सरसफाई र पानीको मुहानको संरक्षणमा गम्भीर बन्दै काभ्रेको गौरवको रुपमा रहेको पनौती जलविद्युत योजना र रेसमखेतीको पनि पुनरुत्थानतर्फ कदम चाल्नु उपयुक्त हुनेदेखिन्छ । विकासमध्ये पनि सबैभन्दा महत्वपूर्ण विकास मानवीयपुँजीको विकास भएको हुँदा शिक्षा, स्वास्थ, तालिम, प्रशिक्षण, प्रोत्साहन र अवसरको माध्यमबाट काभ्रेलीहरुको क्षमता र समूहमा मिलेर व्यावसायिक एवं खुला र प्रजातान्त्रिकढङ्गले काम गर्ने क्षमताको विकास गरी साझेदारी वा संयुक्तपुँजी कम्पनी वा सहकारी प्रारुप अनुसार काम गर्नेहरुलाई आवश्यक प्रोत्साहन, प्रेरणा, आर्थिक अनुदान, औचित्यपूर्ण क्षतिपूर्ति समेतको व्यवस्था गरी संविधानले परिकल्पना गरे अनुसारको समाजवादोन्मुख अर्थव्यवस्थाको आधारशीला निर्माणमा पनि अग्रणी भूमिका निभाउने जनशक्ति उत्पादनतर्फ पनि काभ्रेको पहल रहनुपर्छ । नित्य काभ्रेको समृद्धि र सम्पन्नताको आरधना गर्ने यस समाज काभ्रेको आर्थिक समृद्धिको गति भावीदिनमा पनि अखण्डित रही कम्तिमा पनि यसै गतिमा अघि बढोस् भन्ने कामना गर्छ । (लेखक थापा काभ्रे सेवा समाजका अध्यक्ष हुनुहुन्छ ।)