2024 March 28/ 02:12: 18pm

–    यादव थापा
शत्रु आफ्नै कोखबाट जन्मन्छ
    हाम्रा पुर्खाहरुले आफ्नो जीवनकालको लामो संघघर्ष अनुभव र प्रयोगबाट प्राप्त भनाईहरु अहिले हाम्रो दैनिक जीवनमा यथार्थमा परिणत भइ सत्य सावित हुन पुगेका छन् । पुर्खाहरुले भन्ने गरेका र अहिले सत्तारुढ नेकपाको पार्टी जीवनमा ठ्याक्कै मिल्न गएका केहि सान्दर्भिक र मननयोग्य भनाईहरु–“बाघको मुख हेर्नु परे बिरालोको मुख हेर्नु, शत्रुको मुख हेर्नुपरे आफ्नै भाईको मुख हेर्नु । शत्रु आफ्नै कोखबाट जन्मन्छ ।” फलामको शत्रु फलाम नै हुन्छ । 
    पुर्खाहरुले भोगेर अनुभूत गरेका माथिका यी तीनवटै भनाई हामी सबैले हाम्रो जीवन र समाजमा प्रत्यक्ष भोग्दै आएका छौं र अहिले त्यो भनाई संसद् विघटन, पार्टी विभाजन र नेकपाका दुवै समूहहरुले आफ्नै आकार र उचाई घटाउन गरिएका अर्थहीन शक्ति प्रदर्शनको होडबाजीमा पनि प्रष्ट देखिएको छ । यो सत्य कुरा हो बाहिरी शत्रुले गर्ने हमलाभन्दा आफ्नै घरभित्रको शत्रुले गर्ने हमला बढी खतरा र पीडादायी हुने गर्छ । किनभने बाहिरी शत्रु हमला गर्न आएको र उसले गरेको तयारी देख्न सकिन्छ तर आफ्नै कोखबाट जन्मेको र घरभित्रको शत्रुले गर्ने हमला भुसको आगोजस्तो भित्रभित्रै सल्किरहेको हुन्छ, अर्थात क्यान्सर रोगको रुपमा फैलिएको हुन्छ । नेकपाभित्रको ओली समूह र प्रचण्ड–नेपाल समूहबीच हाल विकसित यो दुर्भाग्यपूर्ण अवस्थाको उपज पार्टीभित्र लामो समयदेखि देखिएको चिरा र दन्केको भुसको आगो नै हो भन्दा अतिशयोक्ति हुनेछैन । पार्टीभित्र रहो शीर्ष नेताहरु पिच्छेकै समूह र गुटले जब आफ्नै पार्टीका प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेपछि त्यसबाट बच्न प्रधानमन्त्रीले बाध्यात्मक अवस्थामा संसद् विघटन गर्ने अप्रिय निर्णय गर्न पुगेका हुन् । पौष ५ गते संसद् विघटन भएपछि सिङ्गो नेकपा औपचारिक रुपमै ओली समूह र प्रचण्ड नेपाल समूहमा विभाजित हुन पुगेको छ । 
शक्ति प्रदर्शनमा देखिएका अमर्यादित दृष्यहरुः
बाहिरबाट झट्ट हेर्दा दुई तिहाईको बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीले अवधि पूरा नहुँदै संसद् विघटन गर्नु नपाकेको टर्राे फल खाएजस्तो भएको छ भने पार्टीभित्र आन्तरिक रुपमा विकसित अवस्था गतिविधिलाई मिहिन ढंगले नियालेर हेर्दा प्रधानमन्त्रीले चालेको कदम उपयुक्त र सान्दर्भिक नै देखिन्छ, किनभने जब विपक्षीले आफूलाई हत्या नै गर्न खोज्छ भने प्रतिरक्षामा उत्रनु मानवीय स्वभाव नै हो । संसद् विघटन पछि ओली समूह र प्रचण्ड नेपाल समूहमा विभाजित नेकपाका दुवै समूह शक्ति प्रदर्शनमा उत्रिएका छन् । दुवै समूह आफूलाई ठूलो र बलियो देखाउन हिमाल, पहाड र तराईदेखि आफ्ना समूहका कार्यकर्ता र सर्वसाधारण जनतालाई गाडीमा काठमाडौं उतारेर एक आपसमा कटाक्ष, गाली गलौज र स्तरहीन अभिव्यक्ति बोलेर एकले अर्काे समूहलाई खुइल्याउने नंग्याउने काममा रमाईरहेका छन् । माघ १० गते प्रचण्ड नेपाल समूहले काठमाडौंमा जनसभा प्रदर्शन गरेपछि, त्यो सभालाई खिसीटिउरी गर्दै, जनसभा भनेको यस्तो हुन्छ भनेर ओली समूहले माघ २३ गते काठमाडौंमा विशाल जनसभा प्रदर्शन ग¥यो । फेरि प्रचण्ड नेपाल समूहले ओली समूहलाई देखाउन माघ २८ गते काठमाडौंको भृकुटीमण्डपमा देशैभरीबाट कार्यकर्ता र मानिसहरु ओसारेर विशाल जनप्रदर्शनको शक्ति प्रर्दशन ग¥यो । संवैधानिक आयोगमा पद बहाली गरेको विरोधमा प्रचण्ड नेपाल समूहले माघ २२ गते सबैले नरुचाएको नेपाल बन्द गरी आम हड्ताल समेत ग¥यो र आलोचित बन्न पुग्यो । दुवै समूहले आयोजना गरेका शक्ति प्रदर्शन र जनसभामा एक अर्का विरुद्ध सामान्य राजनैतिक मर्यादाको समेत ख्याल नराखी स्तरहीन शब्द प्रयोग गरी एक आपसमा कटाक्ष र शत्रुतापूर्ण शैलीमा उत्रिन पुगेको दृष्यले नेपालका वामपन्थी शिर्ष नेताहरुको उचाईलाई होच्याइरहेको दृष्य प्रष्ट रुपमा देख्न र मापन गर्न सकिन्थ्यो । 
पार्टीको आधिकारिकता र सूर्य चिन्हको दावी ः
    नेकपामा विभाजनको रेखा कोरिएपछि दुवै समूहले आफूलाई आधिकारिक पार्टीको घोषणा गर्दै पार्टीको लोकप्रिय चुनाव चिन्ह ‘सूर्य’ आफ्नो भएको दावी गर्दै आएका छन् र एकले अर्काे समूहका नेतालाई पार्टीको जिम्मेवार पद र सदस्यताबाट हटाएको कारवाही गरेका भनिरहेका छन् । प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई पार्टी अध्यक्षबाट हटाई पार्टी सदस्य समेत खारेज गरी माधव नेपाललाई पार्टी अध्यक्ष बनायो भने ओली समूहले पनि प्रचण्डलाई अध्यक्षबाट हटाई कारवाही गरेको छ । अर्काेतिर प्रचण्ड नेपाल समूहले नेकपाको केन्द्रिय कमिटीका बहुमत सदस्यहरु आफ्नो पक्षमा भएकोले आफ्नो समूह नै आधिकारिक भएको भनेको छ, त्यसैगरी ओली समूहले पार्टी अध्यक्ष र महासचिव आफ्नो समूहमा भएकोले आफू नेकपाको आधिकारिक भएको र सूर्य चिन्ह आफ्नो भएको दावी गरेको छ । निर्वाचित आयोगले यसबारे छानबिन गरी सकेको छैन र २०७४ को निर्वाचन आयोगमा दर्ता भएको नेकपा सूर्य चिन्हलाई नै मान्यता दिएको छ । यसबाट ओली समूह हौसिएको र प्रचण्ड नेपाल समूह सशंकित भएको छ ।
सर्वाेच्चमा भएका दुवै पक्षका बहसहरु
    प्रधानमन्त्रीले गरेको संसद् विघटन विरुद्ध संसद् पुनस्र्थापनको लागि सर्वाेच्च अदालतमा १३ वटा रिट निवेदन परेको र त्यसमा रिट निवेदकका तर्फबाट वरिष्ठ कानून व्यवसायीहरुले बहस गर्ने क्रम पूरा भई माघ २९ गतेबाट सरकार पक्षका कानून व्यवसायीहरुको बहस पैरवी पनि सकिएको छ । अब केहि दिन दुवै पक्ष बाहेकका कानुनी व्यवसायीहरुको समूह एमिकस क्युरीको तर्फबाट सर्वाेच्चमा बहस चल्नेछ । सबै पक्षका कानून व्यवसायीहरुको बहस पैरवी सकिएपछि सर्वाेच्चको संवैधानिक ईजलासले संसद् विघटन सम्बन्धी विगतका नजिर र वर्तमान संविधानको मर्म र भावनालाई प्रतिकूल नहुने गरी आफ्नो फैसला सार्वजनिक गर्नेछ ।
    नेकपाका दुवै समुहहरु सर्वाेच्चले फैसला आफ्नो पक्षमा गर्ने र गर्नुपर्ने तर्कहरु प्रस्तुत गरिरहेका छन् । ओली समूह र स्वयं प्रधानमन्त्री के.पी.ओली कुनैपनि हालतमा संसद् पुनस्र्थापना हुन नसक्ने जिकिर गरिरहेका छन् भने, प्रचण्ड नेपाल समूह संसद् पुनस्र्थापना नभए देशमा ठूलो दुर्घटना हुने र आफूहरु दशौं लाखको जनशक्ति प्रदर्शन गर्दै वालुवाटार सिंहदरबार र निर्वाचन आयोग घेर्न जाने धम्किपूर्ण अभिव्यक्ति दिइरहेका छन् । 
निर्वाचन आयोग निर्वाचनको तयारीमा 
    सरकारले संसद विघटन गरेसँगै आगामी २०७८ वैशाख १७ र २७ गते दुई चरणमा संघीय संसद्को निर्वाचन मिति घोषणा गरेको छ । सोहि अनुसार निर्वाचन आयोगले आफ्नो निर्वाचन कार्यक्रमको तयारी अघि बढाएको छ । मतदाताको नाम प्रकाशन, निर्वाचन सामग्री खरिद प्रक्रिया प्रारम्भ गरी पहिलो चरणमा चालिस जिल्ला र दोस्रो चरणमा सैतीस जिल्लामा निर्वाचन सम्पन्न गर्ने कार्यक्रममा जुटेको छ । यसबाट संसद पुनस्र्थापना हुने सम्भावना कम र निर्वाचन हुने सम्भावना बढी देखिएको छ । 
नेकपा विभाजनले विगतमा देखिएका नतिजाहरु
नेपालमा वि.सं. २०४८ देखि २०५६ सम्म भएका संसदीय र स्थानीय निर्वाचन, वि.सं. २०६४ र २०७० मा भएका संविधान सभा निर्वाचन र २०७४ मा सम्पन्न भएको संघ, प्रदेश र स्थानीय तहको निर्वाचनले नेपालका ७०% जनता वामपन्थीको पक्षमा रहेको तथ्य देखाउँछ । तर जुट्न भन्दा फुट्न रमाउने कम्युनिष्ट नेताहरुको कारण प्रायःजसो सत्ता संचालनको बागडोर ३०%, जनमत भएको नेपाली काँग्रेसको हातमा गएको देखिन्छ । विगतको यहि तीतो अनुभव र कार्यकर्ताको दबावमा गत २०७४ को संसद् र प्रदेश तहको चुनावमा साविक नेकपा एमाले र माओवादी केन्द्र बीच चुनावी गठबन्धन कायम हुँदा राम्रो नतिजा प्राप्त भई दुई तिहाईको बलियो कम्युनिष्ट सरकार गठन गर्ने सफलता प्राप्त भएको थियो ।
साविक एमाले र माओवादीबीच भएको एकता वालुवाको घरभन्दा पनि कच्चा सावित भयो, अर्थात स्वस्थानी ब्रतकथामा तारकासुर दैन्त्ये बनाएका त्रिपुर सुन्दर शहरहरु एक निमेषका लागि एक ठाउँमा जोडिएको बेला महादेवले प्रहार गरेको आग्नेयास्त्रबाट ध्वस्त भएजस्तो भयो । नेकपाका दुवै समूहले जति बढी उफ्रेर फूर्ति गरे पनि आगामी निर्वाचनमा कसैले पनि बहुमत ल्याउन सक्दैन, थोरै मतान्तरले दुवै समूह हार्छन् र काँग्रेसले ठूलो पार्टी बन्ने अवसर पाउन सक्छ । यदि संसद् पुनस्र्थापना भएको अवस्थामा पनि संसद्मा फेरी कुर्सी हानाहान र सांसद् तानातानको घृणित खेल र दृष्य सुरु हुनेछ । 
कहिले जन्मेलान् नेपालमा मनमोहनहरु
    नेपालको सरकार गठन, संचालन र लोकप्रियताको इतिहासमा स्वर्णिमकाल मानिएको र अहिलेसम्मका सरकार प्रमुख र प्रधानमन्त्रीहरुमा स्वच्छ छवि बनाउन सफल हुनु भएका साविक नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित नौ महिने अल्पमतको सरकार र त्यसले देश विकासमा ल्याएको लहरलाई इतिहासमा स्वर्ण अक्षरमा लेख्नुपर्ने हुन्छ । सर्वत्र बेथिति, लथालिङ्ग र चरम भ्रष्टाचारले गाँजेको यो देशलाई उद्धार गर्नसक्ने महान् सोच भएका मनमोहनहरु नेपालमा कहिले जन्मेलान् हामी त्यहि प्रतिक्षामा छौं ।