2021 March 05/ 11:02: 27pm

निमिष झा
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको पार्ने लागि अहिलेसम्म कुनै ’विशिष्ट’ औषधि फेला परेको छैन । त्यसैगरी कोरोनाविरुद्धको एकमात्र आशाको रुपमा विश्वभर विकास भइरहेका खोपहरुलाई लिइएको छ । सन् २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोनाले एक वर्षमा नियन्त्रणमा आउन सकेको छैन । संक्रमण थप फैलिँदै गएको छ भने स्वास्थ्य प्रणालीलाई कमजोर बनाइरहेको छ ।
    यहि सन्दर्भमा भारतले छिमकी मित्र राष्ट्रहरु नेपालसहित अफगानिस्तान, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र मौरिसस लाई १० मिलियन डोज खोप कोरोना खोप उपलब्ध गराएको छ । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप पनि निःशुल्क उपलब्ध गराएको छ । भारतीय केन्द्रीय स्वास्थ्य समितिले नेपाल र भुटानलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो । भुटानका प्रधानमन्त्री लोते छिरिङले ट्वीट गर्दै भारतले भुटानलाई कोरोनाको खोप उपलब्ध गराउने लागेको उल्लेख गरेका छन् । 
बंगलादेशले भने २ करोड डोज खोप पाउने छ । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाले निर्माण गरेको कोभीशिल्ड र भारत बायोटेक इन्टरनेशनलले निर्माण गरेको कोभ्याक्सिन खोप भारतले यी राष्ट्रलाई दिन लागेको हो । सेरमले १ करोड १० लाख डोज कोभिशिल्ड खोप भारत सरकारलाई बिशेष मूल्य अर्थात प्रतिडोज ३२० रुपैयाँमा उपलब्ध गराएको छ, जुन डलरमा औसतमा प्रतिडोज ३ डलर हो । त्यस्तै भारत बायोटेकले १ करोड ६५ लाख डोज अनुदान र ३ करोड ८५ लाख डोज बिशेष मूल्य अर्थात प्रति डोज ४८० रुपैयाँमा उपलब्ध गराएको छ ।
भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियानको माघ ३ देखि सुरु भएको छ । विश्वव्यापी महामारीको रूप लिएको कोरोनाविरुद्धको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका हुन् । 
भारतको खोप अभियान कोरोनाविरुद्धको लडाइँको निर्णायक चरण मानिएकोे छ । खोप अभियानसँगै भारत कोरोनाविरुद्धको लडाइँमा निर्णायक चरणमा प्रवेश गरेको छ भने उसले यस अभियानमा छिमेकी देशहरुलाई पनि समेटेको छ । भारतले आगामी जुलाईभित्रमा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य बनाएको छ । पहिलो चरणमा भने करिब ३ करोडलाई निःशुल्क खोप दिने घोषणा यसअघि गरिएको छ । त्यही पहिलो चरणअन्तर्गत खोप लगाउन थालिएको हो । 
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोग बैठकमा पनि खोपको विषयमा छलफल भएको थियो । साथै त्यसअघिको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका समकक्षी एस जयशंकरबीचको भेटवार्तामा पनि नेपाललाई चाँडै खोप उपलब्ध गराउने विषयमा छलफल भएको थियो । ती छलफलमा नेपालले कोरोना खोपको आपूर्तिलाई सहज बनाइदिन अनुरोध गरेअनुसार भारतले नेपाललाई खोप उपलब्ध गराएको हो । खुल्ला सीमाना र निकै नजिकको सम्बन्ध भएकाले पनि भारतले नेपाललाई भ्याक्सिन प्रदान गरेको हो ।
भारतले खोप वितरणमा पाँचवटा मोडल तयार गरेका छन् । जसमा पहिलो मोडलमा नजिकका छिमेकीहरु अफगानिस्तान र सार्क मुलुकहरुलाई निःशुल्क वितरण गर्ने जनाएको छ । यसमा पाकिस्तानलाई भने खोप उपलब्ध नगराउने विषयमा छलफल भइरहेको जनाइएको छ । पाकिस्तानलाई चीनले खोप दिने भएका कारण भारतले नदिने विषयमा छलफल भइरहेको बताइएको छ । दोस्रोमा भारतको अन्तर्राष्ट्रिय दायित्वका रूपमा विश्वका अन्य गरिब मुलुकहरुलाई ठूलो अनुदान दिएर वितरण गरिनेछ । भारतको यस योजनाबाट अधिकांश अफ्रिकी मुलुकहरु लाभान्वित हुनेछन् । 
तेस्रोमा भारतबाट खोप लिन चाहने केही सम्पन्न मुलुकहरुले बजार मूल्यमा खोप प्राप्त गर्नेछन् । चौथोमा भारतले तेस्रो चरणमा केही मुलुकहरुमा परीक्षणमा सहभागी गराउने र ती मुलुकहरुलाई केही डोज निःशुल्क उपलब्ध गराउनेछ । र पाँचौंमा भारतले दुई खोपको सहउत्पादनको लागि केही देशहरूलाई अवसर प्रदान गर्न सक्ने जनाइएको छ । जसले गर्दा खोप उत्पादनमा तीव्रता आउनेछ ।
भारतले अनुदानमा दिएको १० लाख कोरोना खोपबाट नेपालले कोभिड परीक्षण सुरु भएको ठीक एक वर्षपछि कोभिड– १९ विरुद्धको खोप अभियान गरेको छ । देशैभरिका खोप केन्द्र रहेका अस्पतालहरूमा अस्पतालका प्रमुख चिकित्सकहरूले खोप लगाएपछि खोप अभियान सुरु भएको हो । सरकारले भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ खोप लगाउन सुरु गरेको हो । 
अभियानको पहिलो चरणमा महामारीका बेला फ्रन्टलाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स र शवबाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, एयरपोर्ट र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप लगाउन थालिएको हो । 
भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ खोप अक्सफोर्ड÷एस्ट्राजेनेकाले विकास गरेपछि सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । यो भ्याक्सिन भारतमा मात्रै होइन, अन्य धेरै देशमा पनि आकस्मिक प्रयोगमा रहेको छ । यो बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेको परीक्षणको थर्ड फेज पार गरिसकेको भ्याक्सिन हो । फेरि यही कम्पनीले विश्वका ६० भन्दा बढी देशमा भ्याक्सिन सप्लाई गरिरहेको छ, त्यसैले पनि सुरक्षित छ ।
सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको थियो । तर, सरकारसँग अहिले भारतबाट अनुदानमा पाएको एक लाख भायल खोप मात्रै छ । त्यसैले अहिले करिब साढे चार लाखले मात्रै खोप पाउने सुनिश्चित छ । भारतले दिएको यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । 
खोप आउनु भनेको नेपाली जनता पहिलो प्राथमिकतामा पर्नु, दुई देशको मित्रता प्राथमिकतामा पर्नु हो र छिमेकीलाई पहिलो प्राथमिकतामा राख्नु पनि हो । भारतको कोभिडविरुद्धको खोप उत्पादन तथा निर्यात क्षमता सबै वर्गका लागि लाभदायी हुने विश्वास गरिएको छ । सोहीअनुसार भारतले अनुदानका रुपमा खोप उपलब्ध गराएको हो ।
    गत मार्चमा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले महामारीविरुद्घ लड्न सामूहिक क्षेत्रीय प्रयासका लागि आह्वान गरेका थिए । सार्क राष्ट्रका प्रमुखहरूसहितको भिडियो कन्फरेन्सको आयोजना गरी महामारीविरुद्घ लड्न साझा रणनीति बनाइनुका साथै कोभिड–१९ सँग लड्न संयुक्त ‘आपत्कालीन कोष’ को स्थापना गरियो । यसका साथै सदस्यराष्ट्रहरूमा महामारीविरुद्घ लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री एवं उपकरणहरूको खरिद र आपूर्तिमा सहयोग गरियो । यसको स्थापनासँगै, सो फोरमले सार्क क्षेत्रका एवं विविध मेडिकल, फर्मास्युटिकल्स, क्लिनिकल ट्रायल, व्यापार तथा अर्थतन्त्र क्षेत्रका विज्ञहरू झिकाई विविध अन्तरक्रियामा सहजीकरण गरेको छ ।
    खुला सिमानाका कारण कायम रहेको दुई देशको जनस्तरीय सम्बन्ध र सदियौं पुरानो नाता रहेको नजिकको छिमेकी भएको हैसियतले पनि स्वाभाविक रूपले नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिको अग्रपंक्ति र कोभिड–१९ विरुद्ध खोप अभियानको प्राथमिक हिस्सेदारका रूपमा रहेको छ । भारतले नेपाललाई निरन्तर कोरोनासम्बन्धी आवश्यक सहयोग गरिरहेको छ । 
धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक हरेक क्षेत्रमा भारत र नेपालबीचको प्रगाढ सम्बन्ध विद्यमान छ । महामारीविरुद्धको सामूहिक लडाइँमा भारतका जनता नेपालका जनतालाई यस महामारीलाई जित्नका लागि आवश्यक छ । (मधेश दर्पण फिचर सेवाबाट)