2021 March 05/ 10:04: 54pm

— राकेश प्रसाद चौधरी
धार्मिक ग्रंथ रामायणमा चर्चा गरिएको अयोध्या नगरीको विषयमा थप अध्ययन हुन थालेको छ । भारतमा रहेको अयोध्या रामायणकालीन नै भएको अन्तर्राष्ट्रिय मान्यतालाई नेपालमा रहेको अयोध्याबारेको खोज र अनुसन्धानले चुनौती दिने विषयमाथिको बहस केही बर्षपछि अवश्य नै हुनेछ । अहिले चर्चा हुने गरेको धार्मिक एवं ग्रामिण पर्यटनमा रामायणकालीन मार्गको विषय उठान गरिनु अपयुक्त लागेको छ ।
रामायणकालीन जनकपुर र अयोध्याबीचको मार्गको चर्चा अझैसम्म कायम छ । अर्थात जनकपुरमा मनाइने रामजानकी बिवाहोत्सवमा अयोध्याबाट आउने जन्ती झाँकीले प्रयोग गर्ने मार्गको अत्याधिक चर्चा हुने गर्दछ । भारत सरकारले रामायण सर्किट भनेर चर्चा थालेको धेरै भइसकेको छ । तर वर्तमान अवस्थामा जनकपुरबाट अयोध्यासम्म पुग्ने बसले प्रयोग गर्ने मार्ग पक्कै रामायणकालीन नरहेकोमा दाबी गर्न सकिन्छ । रामायणमा चर्चा गरिएको मार्ग धार्मिक पर्यटनको हिसाबले उपयुक्त रहेकोमा दुईमत छैन ।  
समय समयमा चर्चा हुने रामायण सर्किटले जंगली अवस्थामा अयोध्याबाट भगवान रामले गुरु बशिष्ठका साथ जनकपुरसम्म तय गरेको मार्गको बिकास गर्ने योजना अनुसार काम गरिरहेको छ । त्यही रामजानकी बिवाहोत्सवका लागि जन्ती आएको र बेहुलीसहित फर्किएको मार्गबारे रामायण सर्किटमा खासै चर्चा गरिएको छैन । यस विषयमा चर्चा गर्न नेपाल र भारत सरकारले चाँसो नदेखाए पनि स्थानीयस्तरबाट पहल भइसकेको छ । यसबर्ष कोभिड१९ को कारण हंसानन्द गिरीको नेतृत्वमा संत तथा साध्वीहरुको २८ जनाको समूह मात्र अयोध्याबाट जनकपुर आउनुभएको थियो । यस जन्तीको एक मात्र उद्देश्य बिवाहोत्सवपछि डोलीमा बसेर सीतालाई अयोध्या लगिएको मार्गको पहिचान गर्नु रह्यो । 
रामजानकी बिवाहोत्सव नाम दिइएपनि रामका तीन भाई लक्ष्मण, भरत र सत्रुधन र सीताकी तीन बहिनी उर्मिला, माण्डवी र श्रृतिकीर्तीको बिवाह र बिदाई एकसाथ भएको थियो । रामायणमा रामको यशगान रहेकोले रामायण सर्किटमा बेहुलीहरुसहित जन्ती फर्किएको मार्गको अध्ययन अनुसन्धानमा बेबास्ता भएको मान्न सकिन्छ । 
जनकपुत्री सीताको बिवाहोत्सवमा मण्डपको वेदी बनाउन माटो लगिएको मृतखनी वर्तनको मटिहानी हो भने त्यस समयको महेशपुर अहिलेको जलेश्वर हो । सीताको स्वयंवरमा राखिएको धनुषलाई धुन नित्यदिन प्रयोग हुने जलको कुण्ड पुरन धोइ सरोवरको नाम पुरन्धर सर भइसकेको छ । जन्तीहरुको लागि एकत्र गरिएको अन्न राखिएको ठाउँ अहिले अनैठा, सुन भण्डारण भएको ठाउँ सोनागढी (हालको सोनउखडा), जन्तीलाई रोकेर राखिएको ठाउँ ठाँडी हो । बिवाहोत्सवपश्चात जनकपुरबाट बेहुलीहरुको डोली एकछिन ठाँडीमा रोकिएर जलेश्वर महादेवको दर्शन गरि पंथपाखरमा बिश्राम भएको मानिन्छ । 
अयोध्याबाट आउनुभएका संत हंसानन्द गिरीले जनकपुरबाट आउने क्रममा मटिहानीको मार्ग प्रयोग गर्दै फर्किने क्रममा ठाँडी र जलेश्वरमा एक÷एक रात बिश्राम गरि भारत बिहारको बथनाहा प्रखंडमा रहेको पंथपाखरमा पुग्नुभयो । हंसानन्द गिरीको उद्देश्य थाहा पाउनुभएका महोत्तरी गाउँपालिका अध्यक्ष सुनिल कुमार रायले आफ्नो क्षेत्रमा स्वागत र व्यवस्थापन गर्नुभयो । नेपालमा सानो जन्तीको समूहलाई मटिहानीका मानमहन्थ जगन्नाथ दास, मेयर हरिप्रसाद मण्डल, जलेश्वरका मेयर रामशंकर मिश्र, राजनारायण साहसहितका व्यक्तिहरुले आ–आफ्नो क्षेत्रमा स्वागत तथा व्यवस्थापनमा कुनै कसर बाँकि राखेनन् । 
कोभिडको कारण नेपाल भारत सीमानामा निजी सवारीसाधनको आवागमन बन्द रहेपनि दुबैतर्फका  जिल्लाधिकारीको पहलमा भारतीय नम्बर प्लेटको सवारीसाधन नेपाल प्रवेश गर्न सफल भएको थियो । काठमाडौं र दिल्लीले दिएकै अधिकारको उपयोग गर्दै विपद्को बेला धर्म,संस्कृति र परम्पराको पालना गर्नु नितान्त आवश्यक रहेको कुरा जिल्लाधिकारीहरुले बुझेकै कारण बिशेषाधिकार प्रयोग गर्नुभयो ।
गिरीसँग अत्याधिक समय साथ रहेको महोत्तरी गाउँपालिकाका अध्यक्ष रायले पंक्तिकारसँग बिवाहोत्सवको समयमा अयोध्याबाट जनकपुर आउने जन्ती सोनागढी, अनैठा, ठाँडी, रतवार हुँदै जलेश्वरसम्म फर्किने वातावरण मिलाउन तत्पर रह्ने बताउनुभयो । जनकपुरदेखि जलेश्वरसम्मको भित्री ग्रामिण सडकको नामाकरण बृहत जलेश्वर सीताराम मार्ग राख्दा उपयुक्त हुने देखिन्छ । पर्यटन पूर्वाधार बिकासमा यो मार्गले टेवा पु¥याउने आंकलन गर्न सकिन्छ । यो मार्गमा रामायण वर्णन भएका बाहेक राजा चेदीकालिन, राजा नान्यकालिन तथा राजा पूरादित्यकालिन गढ एवं मूतिहरु हेर्न सकिन्छ । जलेश्वरलाई सतयुगदेखि कलयुगको संगम नै भन्निछ । यो मार्गको नामाकरण र बिकासको लागि प्रदेश सरकारले तत्काल पहल गर्नु उचित देखिन्छ ।      
बिवाहोत्सवको अवसरमा स्वामी हंसानन्द गिरी नेपाल प्रवेश गरेदेखि भारतीय छापा मेडियामा सीताराम मार्गको बहस शुरु भइसकेको छ । यो बहसलाई आफ्नो अनुकूल बनाउन मटिहानी, पिपरा, जनकपुर, लोहारपट्टि, महोत्तरी र जलेश्वरका स्थानीय सरकारहरुबीच एकमत हुनु आवश्यक छ । त्यही मटिहानी, पिपरा, महोत्तरी र जलेश्वर जोड्ने ग्रामिण पर्यटन मार्गको विषयमा समेत बहस आवश्यक छ । मटिहानी हुँदै विद्यापति गढ, सोनागढी, ठाँडी, रतवारा र जलेश्वर हुँदै सुगा, मटिहानी जोड्ने पर्यटन चक्रपथको लागि तत्काल छलफल गर्न आवश्यक छ । मधेश दर्पण फिचर सेवा